मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
सलमान अर्सद
२०७८ श्रावण ७ बिहीबार ११:३०:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अन्यायपूर्ण जाति–व्यवस्था कहिलेसम्म ?

भारत आज पनि सयौँ वर्ष पुरानो अन्यायपूर्ण जाति–व्यवस्थालाई कायम राख्नका लागि हरसम्भव प्रयासरत छ

Read Time : > 2 मिनेट
सलमान अर्सद
२०७८ श्रावण ७ बिहीबार ११:३०:००

भारतीय समाज, राजनीति, धर्म र दर्शनमा समानता र स्वतन्त्रताको भाव धेरै कमजाेर  छ । समाजको पूरा आधारशिला नै असमानता र अन्यायमा आधारित जात–व्यवस्थामा सयौँ वर्षदेखि अडिएको छ ।  मानव सभ्यताको विकासको अध्ययनले निजी सम्पत्तिको उदयसँगै, सम्पत्ति हासिल गर्न र सुरक्षित राखिराख्ने प्रक्रियाले अन्यायपूर्ण व्यवस्थामा आधारित समाज अस्तित्वमा आयो । सारा संसारमै बिस्तार–बिस्तारै श्रम गर्नेहरू न्यून कोटीको र त्यो श्रमको उत्पादनको उपभोग गर्नेहरूलाई उच्च दर्जाको मान्ने सिलसिला सुरु भयो । यो सिलसिलाले अन्यायपूर्ण व्यवस्था निम्त्याए पनि भौतिक उन्नति भने भयो ।

पछिल्ला पाँच शताब्दीमा संसार निकै रफ्तारमा बदलियो र सय वर्षमा रफ्तार झन् तेज भयो । भारतीय समाजमा यो बदलाव निकै ढिलाइसाथ भइरहेको छ । त्यही भएर भारतलाई एक विशेष मामिलाका रूपमा लिएर समाजको चिरफार गर्नु जरुरी छ । भारतमा असमानता र अन्यायलाई पुष्टि गर्न दार्शनिक तर्क गरिन्छ, अर्थात् सत्व, रज र तमको असमान मिश्रणले संसारको रचना भएको हो । यिनै गुणको असमान मिश्रणको कल्पना मानिसमा देखिन्छ । यसका अनुसार सत्व गुणप्रधान ब्राह्मण सर्वोच्च शिखरमा हुन्छ भने तमो गुणप्रधान शूद्र सबभन्दा पिँधमा रहन्छ । यही काल्पनिकीका आधारमा भारतीय समाजलाई चार वर्णमा विभाजन गरियो ।

जब कि सत्व गुणप्रधान भनिएको ब्राह्मणमा यस्ता हरेक दुर्गुण विद्यमान छन्, जसको कल्पना तमप्रधान हुने भनिएको शूद्रमा गरिएको थियो । यति हुँदाहुँदै पनि मानिसहरू सत्व, रज र तमको कल्पना अन्यायपूर्ण व्यवस्थालाई पुष्टि गर्ने धुत्र्याइँ हो भनेर स्विकार्न तयार छैनन् । भारतीय दार्शनिक, आध्यात्मिक, धार्मिक एवं राजनीतिक व्यवस्थामा मानवीय बुद्धिद्वारा अर्जित एवं सिर्जित ज्ञान र कौशलमा समाजमा प्रभुत्व जमाउने वर्गको एकाधिकार सुनिश्चित गर्नका लागि वर्ण वा जाति व्यवस्थाको खाँचो परेको हो ।

जातहरूको निर्माण–विनिर्माण समयक्रमसँगै हुँदै गयो । यो प्रक्रिया शताब्दीऔँसम्म चलिरह्यो तर वर्ण–व्यवस्था र यिनीहरूबीचको विद्यमान अन्याय एवं असमानतामा कहिल्यै परिवर्तन भएन । खासमा मानिस स्वाभाविक रूपमा समानता, स्वतन्त्रता र न्यायको पक्षपाती हुन्छ । यी तीन पाटाविना मानिस शान्तिसँग बाँच्न सक्दैन । त्यही भएर जहाँ असमानता हुन्छ, त्यहाँ अन्याय हुन्छ नै र जागरूक मानिसले स्वाभाविक रूपमा यसको विरोध गर्छन् ।

शताब्दीऔँ पुराना संस्कारका बाबजुद जात–व्यवस्थाविरुद्ध आवाज उठिरहन्छन् र यी आवाजमा दिनानुदिन ऊर्जा थपिँदै जान्छ

अरब जगत्मा दासहरूका साथ प्रायः सम्मानजनक व्यवहारको उदाहरण पाइन्छ । यहाँसम्म कि बादशाहहरूले दाससँग आफ्ना छोरीहरूको विवाह पनि गराए र उनीहरूलाई उत्तराधिकारी पनि बनाए, इस्लामले दास वा दासी राख्नुलाई गलत पनि मानेको छैन तैपनि दासमुक्त गर्नुलाई ठूलो पुण्य मानियो । आज हामी देख्न सक्छौँ, अरब र अफ्रिकाबाट दासप्रथा लगभग समाप्त भइसक्यो । युरोप र अमेरिकाका दासले पनि संघर्ष गरेर र विशेष सुधारका माध्यमबाट आज आफ्नो स्थिति परिवर्तन गरेका छन् । तर, भारत आज पनि सयौँ वर्ष पुरानो यो अन्यायपूर्ण जाति–व्यवस्थालाई कायम राख्नका लागि हरसम्भव प्रयासरत छ । 

जातिगत अन्याय दासप्रथाभन्दा फरक हो भनेर हामी भन्न सक्छाैँ र स्वतन्त्र भारतले जातिगत अन्याय र असमानतालाई लगातार सुधार्दै गइरहेको छ पनि भन्न सक्छौँ । तर, जात–व्यवस्थालाई टिकाउने प्रवृत्तिले सत्ता र शक्तिका विभिन्न केन्द्रमा आज पनि हालीमुहाली गरिरहेको छ । परिणामतः हत्याको दोषी धनी र सवर्ण भए वृद्ध भनेर छुट्छ भने मानवअधिकार अभियन्ता जेलमा मर्न बाध्य हुन्छ ।

अपराध समान भए पनि धर्मका आधारमा एकलाई झुन्ड्याइन्छ, अर्कोलाई सांसदको उपहार टक्र्याइन्छ । अन्यायपूर्ण व्यवस्थामा अन्याय नै प्राकृतिक न्याय बन्न पुग्छ । त्यसपछि शिक्षक होस् वा न्यायाधीश, उनीहरूलाई अन्याय नै न्याय लाग्न थाल्छ । भारतीय समाजलाई अन्यायपूर्ण बनाउन कैयौँ शताब्दीदेखि चलिआएको संस्कार हो यो । यस अर्थमा अन्यायपूर्ण समाज स्वाभाविक बन्छ, तर मैले माथि भनेझैँ समानता र स्वतन्त्रता मानिसको स्वाभाविक तृष्णा हो र यो तृष्णा न्यायपूर्ण व्यवस्थाविना सम्भव छैन । त्यसैले शताब्दीऔँ पुराना संस्कारका बाबजुद जात–व्यवस्थाविरुद्ध आवाज उठिरहन्छन् । र, यी आवाजमा दिनानुदिन ऊर्जा थपिँदै जान्छ । 

तर, सबैभन्दा ठूलो प्रश्न हो, असमानतामा आधारित समाजको आमूल परिवर्तन कसरी गर्ने ? यस प्रश्नको एक मात्र समाधान निजी सम्पत्तिको उन्मूलन हो । अब निजी सम्पत्तिको उन्मूलन कसरी गर्ने ? यसको एक मात्र समाधान सत्ता परिवर्तन हो, जसले सामाजिक, आर्थिक र राजनीतिक व्यवस्थालाई परिवर्तन गरोस् । विडम्बना, मुलुकमा यो अठोट लिएको कुनै संगठन छैन । आर्को बाटो, हालको सामाजिक, आर्थिक र राजनीतिक ढाँचामा समावेशिता र सुधारका माध्यमबाट न्यायपूर्ण समाजको निर्माण गर्ने । यो विकल्प हेर्दा सहज जस्तो देखिए पनि यसमा कयौँ चुनौती छन् र ती चुनौतीविरुद्ध लड्दालड्दै रोहित वेमुला वा नजीब जस्ता कैयौँले प्राण गुमाउन पुग्छन् । यी अफ्ठ्याराबीच पनि समानता, स्वतन्त्रता र न्यायको तृष्णा मर्दैन र संघर्षको मार्ग देखिइरहन्छ । 
(अर्सद स्वतन्त्र पत्रकार एवं अध्येता हुन्) मिडियाभिजिलबाट