मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विजयराज खनाल काठमाडौं
२०७८ श्रावण ४ सोमबार १४:४५:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर बजारबाट सरकारलाई १४ अर्ब कर, ब्रोकरलाई ११ अर्ब कमिसन : सरकारको कर १२ गुणा र ब्रोकरको कमिसन ८ गुणा बढ्यो

Read Time : > 2 मिनेट
विजयराज खनाल, काठमाडौं
२०७८ श्रावण ४ सोमबार १४:४५:००

आव ०७६/७७ मा एक खर्ब ५० अर्बको सेयर कारोबार भएकोमा ०७७/७८ मा करिब १० गुणा बढेर १४ खर्ब ६० अर्ब पुग्यो : सरकारले पाउने पुँजीगत लाभकर एक अर्ब १७ करोडबाट १२ गुणा बढेर १४ अर्ब १४ करोड पुग्यो भने ब्रोकरको कमिसन १ अर्ब ३९ करोडबाट ८ गुणा बढेर १० अर्ब ८५ करोड

गत आर्थिक वर्ष ०७७/७८ मा करिब १५ खर्बको सेयर कारोबार हुँदा सरकारले १४ अर्ब कर उठाएको छ  । त्यस्तै, लगानीकर्ताले कमिसनबापत मात्रै ब्रोकरलाई ११ अर्ब रुपैयाँ बुझाएका छन् । यसरी लगानीकर्ताले शुल्क, कमिसन र पुँजीगत लाभकरबापत समेत गरी २५ अर्ब रुपैयाँ खर्च गरेका छन् । वार्षिक सेयर कारोबार नै १ खर्ब ५० अर्बबाट १० गुणा बढेपछि कर र ब्रोकर कमिसन रकमसमेत उच्च रूपमा वृद्धि भएको हो ।

गत आर्थिक वर्षसम्म सरकारले व्यक्तिलाई ५ प्रतिशत र कम्पनीलाई १० प्रतिशतका दरले पुँजीगत लाभकर लिँदै आएको थियो । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)का अनुसार लगानीकर्ताबाट सरकारले गत आवमा १४ अर्ब १४ करोड पुँजीगत लाभकर पाएको छ । त्यो अघिल्लो आव ०७६/७७ को तुलनामा १२ गुणा बढी हो । सो आर्थिक वर्षमा सरकारले सेयर कारोबारबाट पुँजीगत लाभकरबापत १ अर्ब १७ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो । 

गत आवमा १४ खर्ब ६० अर्बको सेयर किनबेच हुँदा लगानीकर्ताले प्रत्येक कारोबार रकमका आधारमा धितोपत्र बोर्डलाई शुल्कबापत ४३ करोड र कारोबार कमिसनबापत ब्रोकरलाई १० अर्ब ४२ करोड बुझाएका छन् । अघिल्लो आर्थिक वर्षमा ब्रोकरको कमिसनबापत १ अर्ब ३९ करोड रुपैयाँ संकलन भएकोमा त्यो ८ गुणा बढेर १० अर्ब ८५ करोड पुगेको हो । 

३ वर्षपछि गत पुसमा ब्रोकर कमिसन परिमार्जन गरिएकाले गत आवमा दुई थरी कमिसन २ दरमा लागू भएको थियो । १३ पुसअघिसम्म बजारमा ३ खर्ब ४८ करोडको सेयर कारोबार हुँदा ब्रोकर कमिसनबापत औसत शून्य दशमलव ४५ प्रतिशतका आधारमा लगानीकर्ताले ३ अर्ब १३ करोड रुपैयाँ बुझाएका थिए । त्यसपछि ११ खर्ब रुपैयाँको कारोबार हुँदा लगानीकर्ताले कमिसनबापत ७ खर्ब २९ करोड खर्चिएको तथ्यांक छ । १३ पुसयता औसत शून्य दशमलव ३३ प्रतिशतका दरमा कमिसन शुल्क लाग्ने व्यवस्था गरिएको छ । लगानीकर्ताले सेयर किन्दा र बेच्दा दुवैमा शुल्क र कमिसन लाग्ने गर्छ । यसरी कुल १४ खर्ब ६० अर्ब रुपैयाँबराबरको कारोबार भएको बजारमा लगानीकर्ताले २९ अर्ब २० करोड रुपैयाँका आधारमा शुल्क र कमिसन बुझाउँछन् । 

हरेक कारोबारमा धितोपत्र बोर्डले शुल्कबापत शून्य दशमलव शून्य १५ प्रतिशत र ब्रोकरमार्फत उठेको कमिसन रकमबाट थप शून्य दशमलव ६ प्रतिशत रकम प्राप्त गर्छ । नेप्से र सिडिएससीले पनि कमिसन रकमबाटै २० प्रतिशत प्राप्त गर्छन् । यसरी गत वर्ष धितोपत्र बोर्डले शुल्कबाहेक कमिसनबापत ६ करोड २५ लाख, नेप्से र सिडिएससीले २ अर्ब ८ करोड र ब्रोकरहरूले ८ अर्ब २७ करोड रुपैयाँ पाएका छन् । 

ब्रोकर कमिसन घटाउन माग 
विश्वका विभिन्न मुलुकहरूको तुलनामा नेपालमा ब्रोकर कमिसनदर उच्च भएको भन्दै धेरैले घटाउन माग गरिरहेका छन् । ‘कमिसन अहिले पनि धेरै नै छ,’ नेपाल पुँजी बजार संघकी अध्यक्ष संरचना चौधरीले भनिन्, ‘या त यो शून्य दशमलव २ प्रतिशतमा सीमित पार्ने, या त एउटा अधिकतम सीमा तोकेर कमिसनको निर्णय ब्रोकरले नै गर्न सक्ने व्यवस्था जरुरी हुन्छ ।’

लगानीकर्ताको संख्यामा भइरहेको वृद्धि, अनलाइनबाट कारोबार गर्नेको संख्यामा भइरहेको वृद्धिले ब्रोकरको भूमिका कम भएको भन्दै कमिसन शुल्क घटाउन लगानीकर्ताले माग गर्दै आएका हुन् । ‘बजारमा नियमित २ देखि ३ अर्बको कारोबार भएमा अहिलेको ब्रोकर कमिसनदर उचित हुने र ब्रोकरहरू पनि सहजसँग सञ्चालन हुने हाम्रो विश्लेषण हो,’ धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले भने, ‘त्योभन्दा कम रुपैयाँको कारोबार भएमा ब्रोकरदर घटाउन नमिल्ने भएकाले हामीले अहिले त्यसमै ध्यान दिइरहेका छौँ ।’ ढुंगानाले ब्रोकरदर घटाउने बोर्डको एजेन्डा भए पनि कारोबारको अवस्था हेरेर निर्णय लिइने बताए ।  

विभिन्न मुलुकको तुलनामा नेपालमा ब्रोकरदर महँगो नै छ । विदेशमा कतिपय ब्रोकरले सेयर कारोबारका क्रममा अन्य सेवाहरू लिने गरे पनि कमिसन नलिने गरेका छन् । यस्तै, उदाहरण पाइन्छ भारतमा । त्यहाँ राफसाफ नै हुने गरी गरिने कारोबारमा कमिसन लाग्दैन ।  हङकङका विभिन्न ब्रोकरले फोनबाट आदेश दिएर गरिने आधारमा वा मासिक कारोबार रकमका आधारमा कमिसनदर तोकेका छन् । १ करोड ३० लाख हङकङ डलरभन्दा कम रकममा धेरै (०.१३ प्रतिशत) र ५० करोड हङकङ डलरसम्ममा ०.००५ प्रतिशत लिने गर्छन् । त्यस्तै, चीनमा ० दशमलव ०८ देखि ०.२५ प्रतिशतसम्म कमिसन लिने गरिएको छ । सिंगापुरमा भने ० दशमलव ०८ देखि ०.२८ प्रतिशतसम्म लाग्ने गरेको छ ।  

पछिल्लो समय अनलाइनको कारोबार र सेयर विद्युतीय अभिलेखीकरणका कारण लगानीकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । सिडिएससीका अनुसार गत आवमा डिम्याट खाता खोल्नेहरूको संख्या २० लाख १२ हजारले बढेर ३७ लाख ५१ हजार पुगेको छ ।  नेप्सेका अनुसार अनलाइन कारोबारका लागि खाता लिनेको संख्या भने ७ लाख ९१ हजार र कारोबारीको संख्या भने करिब ९ लाख २० हजार पुगेका छन् ।