१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार ११:४९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

कालोपत्रे सडकभन्दा ढलान सडक गुणस्तरीय र टिकाउ बन्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार ११:४९:oo

रसुवामा कालोपत्रे सडकभन्दा सिमेन्टेड (ढलान) सडक गुणस्तरीय र टिकाउ बन्दै गएको पाइएको छ । अत्यधिक वर्षा, हिमपात तथा चिसो हुने रसुवाको उच्च हिमाली क्षेत्रमा कालोपत्रे सडकभन्दा ढलान सडक बढी टिकाउ बन्दै गएको हो । 

सडक डिभिजन कार्यालय नुवाकोटले कालोपत्रे सडक टिकाउ नभएपछि गएको वर्षदेखि सडकमा सिमेन्टेड (ढलान) सुरु गरेको थियो । अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी पुग्ने जिल्लाको स्याउबारीदेखि रसुवागढीसम्मको सडक साँघुरो र खाल्डाखुल्टी रहेको छ । जसले गर्दा आवतजावतमा कठिनाइ हुने गरेको छ । सवारी सञ्चालनमा कठिनाइ भएका स्थानमा सडक ढलानको कार्यलाई तीव्रता दिँदै गएको सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ । 

भौगोलिक अवस्थितिका कारण पासाङल्हमु सडकअन्तर्गत रसुवाको स्याउबारीदेखि स्याफ्रुबेसीसम्म २८ किलोमिटर सडकमध्ये आठ किलोमिटर सडक ढलान गरिसकेको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । पक्की सडक कालोपत्रे सडक र ढलान सडक गरी दुई प्रकारको हुन्छ । कालोपत्रे सडकहरू सुरुको लागत रकम कम परे पनि मर्मत रकम बढी हुन्छ । त्यसैगरी ढलान सुरुको लागत रकम बढी हुन्छ भने मर्मत लागत रकम कम हुन्छ । कालोपत्रे सडक पनि विभिन्न प्रकारका हुन्छन् । जहाँ बढी लोडहरू आउछन्, माटोको अवस्था कमजोर हुन्छ । सतहको तापक्रम कम हुन्छ र हिउँ पर्ने ठाउँहरूमा विशेषगरी ढलानहरूको प्रयोग हुन्छ । सडक डिभिजन कार्यालय नुवाकोटले पनि स्याउबारीदेखि त्रिशूलीखोलासम्म आठ किलोमिटर सडक ढलान गरेको उनले जानकारी दिए । 

ढलान सडक निर्माणलाई प्राथमिकता दिएसँगै आगामी वर्षमा यसलाई बढावा दिँदै जाने उनले बताए । ‘विगतका वर्षजस्तो सवारी सञ्चालनमा असहज नहोस् र यातायात सञ्चालनमा सहज हुन्छ भन्ने आशा गरेको छु,’ उनले भने । ग्रेड नमिलेका, पानी जम्ने, घुम्ती तथा दोहोरो यातायात सञ्चालन भएका स्थानहरूमा ढलानको कामलाई प्राथमिकता दिइएको सडक डिभिजन कार्यालय नुवाकोटले जनाएको छ । दुई दशकअघिदेखि मूलखर्क तथा राम्चेका विभिन्न स्थानमा सडकको अवरोध भोग्दै आएका यातायात सञ्चालक तथा रसुवाका उत्तरी क्षेत्रका बासिन्दामा पनि यस खालको कामले दिगोपन बन्दै गएको बताएका छन् । 

‘सडक कालोपत्रे त गरिएको छ, तर एक वर्ष पनि टिकेको छैन्, विगतका वर्षमा गरिएको कालोपत्रेको कामलाई हेर्ने हो भने दुई महिना पनि टिकेको छैन, कालोपत्रे गर्‍याे भन्ने देखाउनका लागि मात्र गरिएको देखिन्छ,’ स्थानीय छिरिङ तामाङले भने, ‘तर, पछिल्लो सडक ढलान गरिएको सडक भने गुणस्तरीय र टिकाउ हुँदै गएको पाइन्छ, त्यसैले सडकको मर्मत तथा स्तरोन्नतिमा ढलान सडक निर्माणलाई जोड दिनुपर्ने देखिन्छ ।’

उत्तरी नाका रसुवागढीबाट चीनसँग हुँदै आएको व्यापारलाई समेत सडक ढलानले सहजता मिल्ने देखिएको व्यवसायीहरूले बताएका छन् । सडक विभागले गरेको पछिल्लो अध्ययनले आस्फाल्ट (बिटुमिन) कालोपत्रे सडकभन्दा सिमेन्टेड (ढलान) सडकको लागत १३ दशमलव ११ प्रतिशत न्यून पर्ने देखाएको छ । कालोपत्रे सडकको तुलनामा ढलान सडकको आयु लामो हुने,  पानीले नबिग्रने, इन्धन खपत न्यून हुनेजस्ता फाइदा रहेको बताइएको छ । 
 

ad
ad