मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ असार २९ मंगलबार ०८:३०:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यी हुन् युरोकपमा चम्किएका खेलाडी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असार २९ मंगलबार ०८:३०:००

युरोकप २०२० च्याम्पियनसिपमा २४ राष्ट्रले सहभागिता जनाएका थिए । सयौँ खेलाडीले युरोकपको अनुभव बटुलेका छन् । यीमध्ये कैयौँ प्रतियोगिताअघि नै स्टार खेलाडी थिए भने कतिपयलाई सम्भावित स्टार खेलाडीका रूपमा चर्चा गरिएको थियो । युरोकपले स्टार बनाउने भनिएकामध्ये धेरैजसो असफल हुँदै घर फर्किए, तर केही खेलाडी भने अपेक्षाकृत खेल देखाउन सफल भएका छन् । यसपटक युरोकपमा डिफेन्डर, गोलरक्षकदेखि स्ट्राइकरसम्मले अस्वाभाविक रूपमा उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन् । 

ह्यारी केन (इंग्ल्यान्ड) 
रसिया विश्वकपको सेमिफाइनलमा २८ वर्षपछि इंग्ल्यान्ड पुग्दा कप्तान ह्यारी केन इंग्लिस टोलीका सर्वाधिक चर्चित खेलाडी बनेका थिए । विश्वकप खेल्दासम्म केनसँग अन्तर्राष्ट्रिय फुटबलको खासै अनुभव थिएन । प्रशिक्षक गेराथ साउथगेटको विश्वासमा अगाडि बढेका केनले इंग्ल्यान्डलाई विश्वकपको अन्तिम चारमा स्थान पुर्‍याउँदै ऐतिहासिक सफलता दिलाए । त्यसैवेला केनलाई रेसकै लामो घोडा भनिएको थियो । इंग्ल्यान्ड ५५ वर्षपछि युरोकप २०२० को फाइनलमा पुग्दा केनले मुख्य भूमिका निर्वाह गरेका थिए । समू्ह चरणमा सुस्त देखिएका केन नकआउट चरणमा अब्बल देखिए । केनले ७ खेलमा ६ सय ४९ मिनेट मैदानमा बिताउँदै चार गोल गरेका छन् । यसपटक पनि उनी युवा पिँढीका उत्कृष्ट खेलाडीका रूपमा प्रमाणित भएका छन् । 

प्याट्रिक सिक (चेक रिपब्लिक)
जर्मन क्लब बायर्न लेभरकुसेनका स्ट्राइकर प्याट्रिक सिक युरोकपका एक स्टार खेलाडीका रूपमा बिदा भए । चेक रिपब्लिक क्वार्टरफाइनलसम्म पुग्ला भन्ने अनुमान कसैले गरेका थिएनन् । समूह चरणदेखि प्रिक्वार्टरफाइनलसम्म सिकले गोल गर्दै चेक रिपब्लिकलाई क्वार्टरफाइनलको स्थान पक्का गराए । उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्समाथि प्रिक्वार्टरफाइनलमा २–० को जितमा सिकले पनि गोल ठोकेका थिए । समूह चरणको पहिलो खेलमा उनले स्कटल्यान्डविरुद्ध मध्यभागबाट गरेको गोल प्रतियोगिताकै उत्कृष्ट गोलका रूपमा दर्ता छ । क्वार्टरफाइनलमा डेनमार्कसँग चेक रिपब्लिक २–१ ले पराजित हुँदा सिकको यात्रा पनि यहीँसम्मै रह्यो । उनले पाँच खेलमा चार सय चार मिनेट मैदानमा बिताउँदै पाँच गोल गरेका छन् । उनले १६ पटक गोलका लागि प्रयास गरेका थिए । 

रहिम स्टर्लिङ (इंग्ल्यान्ड)
पछिल्लो केही वर्षयता म्यानचेस्टर सिटीबाट रहिम स्टर्लिङ इंग्लिस प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाका नजरमा स्टर्लिङ एक म्यान विनर खेलाडी नै हुन् । स्टर्लिङले प्रिमियरसिपको फर्मलाई युरोकपमा पनि निरन्तरता नै दिएका छन् । इंग्ल्यान्डले प्रिक्वार्टरफाइनलमा जर्मनीमाथि २–० को सनसनीपूर्ण जित निकाल्दा रहिमले सुरुवाती अग्रता दिलाएका थिए । विपक्षी डिफेन्डरलाई सहजै कटाएर गोल गर्न सक्ने खुबी भएका स्टर्लिङ साथीहरूलाई गोल गर्न अवसर निकाल्न त्यत्तिकै माहिर छन् । समूह चरणको पहिलो खेलमा इंग्ल्यान्डले विश्वकपकै साविक उपविजेता क्रोएसियाविरुद्ध १–० को कठिन जित निकाल्दा स्टर्लिङले नै निर्णायक गोल गरेका थिए । स्टर्लिङले ७ खेलमा ६ सय ४१ मिनेट खर्चदै तीन महत्वपूर्ण गोल गर्न सफल भएका छन् । 

रामेलु लुकाकु (बेल्जियम)
इन्टर मिलानले एक दशकपछि युभेन्ट्सको दबदबा तोड्दै सिरिए लिग उपाधि उचाल्दा रामेलु लुकाकुले प्रेरणादायी प्रदर्शन गरेका थिए । लुकाकुले क्लब लेभलमा देखाएको प्रदर्शन राष्ट्रिय टोली बेल्जियमले सहभागिता जनाएको युरोकपसम्म पनि जारी राख्न सफल भए । बेल्जियममा एकसेएक स्टार खेलाडीले भरिएका छन् । तीमध्ये चम्केका खेलाडीमध्ये लुकाकु पनि एक हुन् । समूह चरणदेखि क्वार्टरफाइनलसम्मको बेल्जियमको यात्रामा लुकाकुले कुनै न कुनै भूमिकामा आफूलाई म्याच विनर खेलाडीकै रूपमा प्रस्तुत गर्न सफल भए । समूह चरणमा तीन तथा क्वार्टरफाइनलमा एक गोल गरेका लुकाकुले पाँच खेलमा चार सय ४४ मिनेट मैदानमा बिताएका छन् । विपक्षी पोस्टमा उनले १४ पटक पोस्ट चार्ज गरेका छन् । 

लियोनार्डो बुनिची (इटाली)
सन् १९६८ पछि इटालीले युरोकप च्याम्पियन्ससिपमा दोस्रोपटक फाइनल स्थान बनाउँदा डिफेन्स लाइन असाध्यै बलियो बनाएको छ । रोबर्टो मान्सिनीले डिफेन्समा विश्वास गरेका खेलाडी नै लियोनार्डो बुनिची हुन् । सिरिए लिगमा युभेन्ट्सबाट दुई सय १७ खेल खेलिसकेका बुनिची सहजै विपक्षीका स्टार खेलाडीलाई रोक्न सक्छन् । डिफेन्स लाइनबाट लङ पास दिन सक्ने र एट्याकिङ मिडफिल्डर भूमिकामा अगाडि बढ्न सक्ने बुनिचीको खुबी हो । बुनिचीजस्ता भरपर्दा डिफेन्डर रहँदा नै इटालीले समूह चरणमा एक गोल पनि व्यहोरेन । उनले ७ खेलमा १६ पटक गोल हुनबाट बल क्लियर गरेका छन् । यसैगरी उनले गोल हुने अवसर तीनपटक ब्लक गरेका छन् । 

जोअकिम महले (डेनमार्क) 
युरोकप २०२० स्ट्राइकर मात्र होइनन्, डिफेन्डर पनि त्यत्तिकै चम्के । यसपटक डिफेन्डरले विपक्षी टोलीका गोल अवसर विफल मात्र पारेनन्, उनीहरूले प्राप्त अवसरमा गोल गर्दै आफूलाई अलराउन्डर खेलाडीका रूपमा प्रमाणित गरेका छन् । यसैमध्ये डेनमार्कका जोअकिम महले पनि एक हुन् । सन् १९९२ पछि डेनमार्कले दोस्रोपटक युरोकप उपाधि उचाल्ने दाबेदारी दिँदा जोअकिमले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ६ खेलमा पाँच सय ७० मिनेट मैदानमा बिताउँदै दुई गोल गरे । डिफेन्स लाइनबाट जोअकिमले तीनपटक शतप्रतिशत गोल प्रयास क्लियर गर्नुका साथै ६ पटक ट्याकल गरे । उनले समूह चरणमा रसिया तथा प्रिक्वार्टरफाइनलमा वेल्सविरुद्ध एक–एक गोल गरेका थिए ।

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
साविक विजेताका रूपमा प्रतिस्पर्धा गरेको पोर्चुगलको यात्रा प्रिक्वार्टरफाइनलसम्म रह्यो । पोर्चुगलले अन्तिम १६ को स्थान सुरक्षित गर्दा कप्तान क्रिस्टियानो रोनाल्डोले लगभग एकल प्रयासमै पुर्‍याएको भन्दा फरक नपर्ला । प्रतियोगिताको ‘ग्रुप अफ डेथ’मा पोर्चुगल जर्मनीसँग ४–२ ले पराजित भयो । पोर्चुगलले चार खेलमा सात गोल गर्दा रोनाल्डोले नै पाँच गोल गरेका थिए । जसमध्ये उनले तीन गोल पेनाल्टीबाटै गरेका थिए । विश्व च्याम्पियन फ्रान्सलाई २–२ को बराबरीमा रोक्दा उनले दुई गोल गरेका थिए । तीन सय ६० मिनेट मैदानमा बिताएका रोनाल्डोले एक असिस्ट गरेका थिए । युरोकपबाट उनले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा इरानी खेलाडी अलि दाईले राखेको एक सय नौ गोलको विश्व कीर्तिमानसमेत बराबरी गर्न सफल भए ।