१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १२ शनिबार
  • Saturday, 25 May, 2024
रमेश बस्ताकोटी
२o८१ जेठ १२ शनिबार १o:४o:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

कर्मकाण्डी नहोस् कांग्रेस महाधिवेशन

Read Time : > 3 मिनेट
रमेश बस्ताकोटी
नयाँ पत्रिका
२o८१ जेठ १२ शनिबार १o:४o:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि नेपाली कांग्रेसको महाधिवेशनबारे चर्चा पुनः सुरु भएको छ । तथापि, महाधिवेशन निर्धारित मितिमै हुनेमा अझै आशंका छ । यद्यपि, संवैधानिक बाध्यताका कारणै सही, निर्धारित मितिमै कांग्रेसको महाधिवेशन हुने अपेक्षा गरौँ ।

नेपाली राजनीतिको पुरानो दल नेपाली कांग्रेसको महाधिवेशनबारे यतिवेला कांग्रेसभित्र मात्र होइन, अन्य राजनीतिक दल र अन्तर्राष्ट्रियस्तरमा समेत चर्चा छ । यो महाधिवेशनले नेपाली कांग्रेसको नेतृत्व मात्र परिवर्तन गर्नेछैन, नीतिका विषयमा समेत गम्भीर छलफल गर्ला भन्ने आमबुझाइ छ । तर, विषम परिस्थितिका बीच जसरी पनि गर्नैपर्ने यो महाधिवेशनमा नीति र विचारमाथि घनीभूत छलफल होला भन्ने चाहिँ अझै पनि पत्याउन सक्ने अवस्था छैन । कांग्रेस महाधिवेशन नेता चयनमा मात्रै सीमित रहने हो कि भन्ने चिन्ता व्याप्त छ । यसो भए कांग्रेसलाई मात्र होइन, मुलुकलाई समेत ठूलो घाटा हुनेछ, कांग्रेसप्रति भरोसा गर्ने नेपाली जनतालाई धोका हुनेछ । 

यसर्थ, नेपाली कांग्रेसको आगामी महाधिवेशन नेता चयन गर्ने उत्सवका रूपमा मात्र आयोजना हुन हुँदैन । यो महाधिवेशनमा कांग्रेसले लिने नीति–निर्णयले नेपाली राजनीतिलाई डोर्‍याउन सक्नुपर्छ । नेपाली कांग्रेसलाई नेपाली जनताले पटक–पटक विश्वास गरेका छन्, सही नीति र निर्णय लिन सक्दा फेरि पनि नेपाली जनताले कांग्रेसलाई नै साथ दिने पक्का छ ।

देश गम्भीर संकटमा पुगेको यस घडीमा कांग्रेसले देशको नेतृत्व लिने गरी नीति तय गर्न आवश्यक छ । हालसम्मका सात आमनिर्वाचनमध्ये ०१५ को पहिलो आमनिर्वाचनमा दुईतिहाइ, ०४८ मा बहुमत, ०५६ मा बहुमत र ०७० मा सबैभन्दा ठूलो दल भएको पार्टी ०७४ सालको संसदीय र स्थानीय निर्वाचनमा फराकिलो सिटअन्तरसहित दोस्रोमा किन सिमटिनुपर्‍यो ? यसको उत्तर खोज्न आवश्यक छ । नेपाली कांग्रेसको यो महाधिवेशन नेताभन्दा नीतिप्रधान भयो भने यसको उत्तर पक्कै भेटिनेछ ।

हतारहतार महाधिवेशन सकेर नीतिमा बहस हुन सकेन भने चाहिँ लडखडाएको कांग्रेस फेरि उठ्न सक्दैन । अहिले कांग्रेस उठ्ने भनेकै सही नीति तय गरेर हो ।  राष्ट्रियता, लोकतन्त्र र समाजवाद कांग्रेसका सिद्धान्त हुन् । आफ्नो सिद्धान्तबाट वेलावेला कांग्रेस च्यूत हुने गर्छ भन्ने आरोप लाग्ने गरेको छ ।

यसकारण पनि आउने महाधिवेशनमार्फत कांग्रेसले धेरै प्रश्नको समाधान खोज्नुपर्ने बाध्यता छ । नेता चयन गर्नु महाधिवेशनको एउटा पाटो पक्कै हो, तर नीतिमा गहन छलफल गरेर नेपाली जनताको प्रिय पार्टी बन्नु अर्को महत्वपूर्ण कार्य हो । कोभिड महामारीले थिलथिलो भएको देशको मुहार फेर्नका लागि कांग्रेसले तय गर्ने नीति कस्तो हुने ? अहिलेको आमचासोको विषय हो, यो ।

अहिले कांग्रेस सत्तामा छैन, तर पनि सत्तारूढ दलप्रतिको चरम वितृष्णाका कारण कांग्रेसले नै जनताको अभिभावकत्व ग्रहण गर्नुपरेको छ । यस्तोमा कांग्रेसले लिने हरेक नीतिमा आमनेपालीको चासो हुने नै भयो । गरिबीको रेखामुनि रहेका र पुगेका जनताका दैनिक गुजाराका प्रश्नहरू यावत् छन् । त्यसलाई पनि कांग्रेसले यसै महाधिवेशनमार्फत सम्बोधन गर्न सक्नुपर्छ ।

नेपाली कांग्रेसको आगामी महाधिवेशन नेता चयन गर्ने उत्सवका रूपमा मात्र आयोजना हुन हुँदैन । यो महाधिवेशनमा कांग्रेसले लिने नीति–निर्णयले नेपाली राजनीतिलाई डोर्‍याउन सक्नुपर्छ । 

करिब ६० प्रतिशत जनताको निर्वाहको आधार रहेको कृषिमा वेलामा बिउ, मलका साथै उत्पादित सामग्रीको मूल्य नपाएर कहिल्यै सुधार हुन नसकेका कृषकहरूको आर्थिक स्तर सुधार्ने नीति निर्धारण पनि कांग्रेस महाधिवेशनले गर्न सक्नुपर्छ । अहिले देशको राजनीति एउटा गम्भीर मोडमा छ । यस्तोमा नेपाली कांग्रेसले आफ्नो साख र गरिमालाई जोगाउँदै आफ्नो गौरवपूर्ण इतिहासलाई साक्षी राखेर केही महत्वपूर्ण राजनीतिक निर्णयहरू लिन आवश्यक हुन्छ ।

आफूलाई अभिभावक पार्टी भन्ने तर महाधिवेशनजस्तो महत्वपूर्ण समयमा राजनीतिक कार्यदिशा र एजेन्डाहरूमाथि छलफल नै नगरी महाधिवेशनलाई कर्मकाण्डी बनाउने छुट नेपाली कांग्रेसलाई छैन । कार्यतालिकाअनुसार महाधिवेशनका लागि केवल दुई महिना मात्र बाँकी छ । कांग्रेसले आफ्नो राजनीतिक कार्यदिशा, नीति तथा मुद्दाहरूलाई यथाशीघ्र बहसमा ल्याउन आवश्यक छ । तर, विडम्बना ! कांग्रेस नेतृत्व कसरी नेतृत्व हत्याउने भन्ने एकसूत्रीय एजेन्डामा केन्द्रित देखिन्छ । महत्वपूर्ण मुद्दाहरूलाई ओझेलमा पारेर अघि बढ्दा आमजनतामा नैराश्य बढ्न सक्नेतर्फ ध्यान जाओस् । 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणापश्चात् ०७४ सालमा निर्वाचन नेपाली कांग्रेसको नेतृत्वमा सम्पन्न भइसकेपछि शक्तिमा आएको सत्तासीन कम्युनिस्ट दलले स्थानीय निकाय, प्रदेश सरकार र संघीय सरकारमा प्रचुर बहुमतका साथ सरकार चलाउने अवसर पाउँदा भ्रष्टाचारको दलदलमा परेर आन्तरिक राजनीतिक खिचातानीका कारण देशलाई सहज रूपले चलाउन सकेको छैन ।

दोस्रोपटक संसद् विघटन गरेर गम्भीर राजनीतिक संकटमा देशलाई धकेलिदिएको छ । वर्तमान सरकारको अकर्मण्यताले निराश जनताको आशाको स्रोतका रूपमा स्थापित हुन नेपाली कांग्रेसका लागि यो निकै सुनौलो अवसर पनि हो । त्यसैले पनि कांग्रेसको १४औँ महाधिवेशन नेतामा मात्र सीमित नहोस्, राजनीतिक कार्यदिशा र मूलभूत मुद्दाहरूमा घनीभूत छलफल गरेर नीति तय गरोस् । 

नेपाली कांग्रेसभित्र आशालाग्दा युवा नेता नभएका होइनन्, तर उनीहरू पनि कुनै न कुनै रूपमा शेरबहादुर दाइ, रामचन्द्र दाइ, शशांक दाइ वा सिटौला दाइकै पछि छन् । १४औँ महाधिवेशनमा कांग्रेसले गर्नुपर्ने बहसका बारेमा राम्रै जानकार भए पनि कतिपय अवस्थामा आफ्नै पद धरापमा पर्ने भएपछि दाइका यी भाइहरू पनि चुपचाप नै बस्नेछन् । यो विगतले पनि देखाएकै हो ।

आशा गरेका यी नेताहरूले कांग्रेसको आगामी राजनीतिक कार्यदिशाका बारेमा प्रशस्त छलफल र नीति तय गर्नमा समय खर्च गरून् भन्ने आमअपेक्षा हो । उनीहरूले शीर्ष नेताहरूलाई एजेन्डा दिएर बहसका लागि दबाब दिऊन् भन्ने आमअपेक्षा छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन कर्मकाण्डी मात्र नबनोस् भन्नाका खातिर तल्लो तहबाटै दबाब दिन आवश्यक छ । 

ad
ad