१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
हेटौँडा–काठमाडौं आवतजावत गरिने सडकमार्गका १० ठाउँ–ठाउँमा यस्तो पहिरो आएको छ । तस्बिर : सुदीप सिवाकोटी/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १o:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

२० दिनमा देशभरका  १०२ राष्ट्रिय राजमार्ग अवरुद्ध 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:३५:oo

मनसुन सुरु भएपछि पछिल्लो २० दिनमा देशभरका १ सय २ स्थानमा राजमार्ग अवरुद्ध भएको छ । त्यसमध्ये शनिबार साँझसम्म १६ ठाउँमा पूर्ण रूपमा सडक अवरुद्ध छ । ५७ ठाउँमा एकतर्फी सञ्चालनमा आइसकेको छ भने २९ ठाउँमा सुचारु भएको सडक विभागका महानिर्देशक अर्जुनजङ थापाले जानकारी दिए । पछिल्ला तीन दिनमा मात्र ४३ ठाउँमा सडक अवरुद्ध भएको हो । पछिल्ला दिनमा पहाड र हिमाली क्षेत्रमा पहिरोले मात्र होइन, तराईमा पनि समस्या देखिन थालेको उनको भनाइ छ ।  

मनसुनले सबैभन्दा बढी प्रभावित डुम्रे, बेँसीसहर, चामे, मनाङ सडक योजनाको डुम्रे, बेँसीसहर, चामे सडक भएको छ । यो सडकखण्डको ७ ठाउँमा शनिबार साँझसम्म अवरुद्ध रहेको छ । बर्सेनि मनसुनले प्रभावित यो सडकमा अघिल्ला वर्षहरूमा पनि पहिरोको समस्या देखिँदै आइरहेको छ । केही ठाउँमा ठूलो ढुंगासहितको पहिरो गएको इन्जिनियर सुरज महर्जनले जानकारी दिए । सम्भव भएका केही ठाउँमा भने पहिरो सफा गरिएको छ । तर, केही स्थानमा बाढीले ट्रयाक नै बगाएको छ । यसकारण तत्कालै सडक सुचारु गर्न कठिन हुने सडक विभागका अधिकारीहरूको भनाइ छ । 

शनिबार साँझ मात्र त्रिभुवन राजपथको सिर्सिया, पथलैया, हेटौँडा, भैँसे, पालुङ, नौबिसेखण्ड अवरुद्ध भएको छ । यो सडकको लामीडाँडा–सिमभञ्ज्याङ खण्डमा अवरुद्ध भएको हो । त्यस्तै, कान्ति राजपथको हेटौँडा, बागमती, टीकाभैरव खण्डको बगुवा र जितपुर भन्ने ठाउँमा पनि सडक अवरुद्ध भएको छ । पूर्व–पश्चिम राजमार्गको नवलपुरस्थित थुम्सी–पितौजी भन्ने ठाउँमा पनि सडक अवरुद्ध छ । त्यस क्षेत्रमा ह्युम पाइप राखेर डाइभर्सन मर्मत भइरहेको इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । रसुवास्थित ठोरी, भण्डारा, मलेखु, गल्छी, मैलुङ, रसुवागढी सडकको पनि त्रिशूली खोला, सानो भार्खु खोलामा सडक अवरुद्ध छ । 

अरनिको राजमार्गको सिन्धुपाल्चोक क्षेत्रमा पर्ने विभिन्न ठाउँमा सडक अवरुद्ध छ । गत शनिबार लिपिङमा पुल बगाएपछि अझै सडक अवरुद्ध छ । अप्ठ्यारो भौगोलिक अवस्थाले गर्दा तत्कालै नियमित गर्न सकिएको छैन । 

सम्भव भएका ठाउँमा आवश्यक उपकरणमार्फत सडक सञ्चालनमा ल्याउन कोसिस भइरहेको महानिर्देशक थापाले बताए । कतिपय ठाउँमा तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गरेर पनि सुचारु राख्ने प्रयास भइरहेको उनको भनाइ छ । 

ad
ad