१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
टेकराज थामी काठमाडौं
२o८१ बैशाख ३० आइतबार o७:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भन्सार छलेर ल्याएको चोरीका गाडी नक्कली कागजात बनाई बिक्री

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार o७:४३:oo

बजार मूल्य एक करोड ४० लाख पर्ने कार ९० लाखमा बिक्रीमा संलग्न चारजना पक्राउ

भन्सार छलेर ल्याएको चोरीका गाडीको नक्कली कागजात बनाई बिक्री कार्यमा संलग्न चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण–२ का मधु सिलवाल, सूर्यविनायक–८ का अरुण खड्का, लमजुङ सुन्दरबजार–३ का कमलबाबु भट्ट र मोरङ कानेपोखरी–७ का रेवतीरमण निरौला छन् । महानगरीय अपराध महाशाखाले उनीहरूलाई चाबहिलस्थित गोपीकृष्ण हल र भक्तपुरको सूर्यविनायकबाट पक्राउ गरेको हो । 

प्रहरीले ग.३च १४६२ र प्रदेश ३–०१०२४ च ०२५३ नम्बर उल्लेख भएको दुईवटा क्रेटा कार पनि बरामद गरेको छ । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले पक्राउ परेकाले बरामद गाडीको नक्कली ब्लुबुक र अन्य कागजात तयार पारी ९० लाख रुपैयाँमा बिक्री गर्ने योजना बनाएका थिए । गाडीको बजार मूल्य अहिले एक करोड ४० लाख रुपैयाँ पर्छ । ‘भन्सार छलेर चोरीको गाडी काठमाडौं भित्रिएको सूचना थियो । सोही सूचनाका आधारमा हामी अनुसन्धानमा थियौँ । यही क्रममा गोपीकृष्ण हलनजिकबाट क्रेटाको गाडीसहित एक अभियुक्त पक्राउ परे । उनकै सहयोगमा भक्तपुरको सूर्यविनायकबाट अर्को एक गाडीसहित अन्य दुई अभियुक्त पक्राउ परे । दुवै गाडीको ब्लुबुक नक्कली रहेको भेटियो,’ उनले भने ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये कमलबाबु भट्टले चोरीको दुवै गाडी भन्सार छलेर काठमाडौं भित्र्याएका थिए । रेवतीरमण निरौलाको सहयोगमा दुवै गाडीको नक्कली ब्लुबुकसहित आवश्यक अन्य कागजात तयार पारे । ब्लुबुकमा सवारीधनी आफ्नै नाम लेख्न लगाए । बिक्रीका लागि भने भक्तपुरको सूर्यविनायकस्थित पशुपति रिकन्डिसनका सञ्चालक अरुण खड्का, मधु सिलवाल र विशाल खड्कालाई भने । उनीहरूले ३० लाख रुपैयाँमा अग्रिम भुक्तानी दिएर दुईमध्ये एउटा गाडी खरिद गरे । प्रहरीका अनुसार उनीहरूले बैनाबापत १९ लाख रुपैयाँ पुरी र मधुसुदन पाण्डेलाई दिइसकेका थिए । 

महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले चोरी गाडी नेपाल ल्याउने, नक्कली कागजात बनाउने र बिक्री गर्ने विगतका धन्दाकै एक शृंखला रहेको बताए । ‘विगतमा पनि भारतबाट यसैगरी चोरीका गाडी आउँथ्यो । नक्कली कागजातका आधारमा बिक्री हुन्थ्यो । लकडाउनका कारण बीचमा यो धन्दा केही सुस्तायो । अहिले फेरि सुरु भएको छ । अन्यको सूचना संकलन गर्ने र खोजी गर्ने क्रम जारी छ,’ उनले भने । प्रहरीका अनुसार विगतका गिरोहले अञ्चलीकरण (गाडीको नम्बर एक अञ्चलबाट अर्को अञ्चलमा स्थानान्तरण) को फाइदा उठाउँदै चोरीका सवारीसाधनको नक्कली कागजात बनाउँथे । तर, अहिले पक्राउ परेका अभियुक्तले चोरीका गाडीको सम्पूर्ण कागजात आफैँ बनाउने गरेको भेटिएको एसपी कोइरालाले बताए ।

नक्कली ब्लुबुक बनाउनेको धन्दा अरू पनि 

प्रहरीले चोरीका गाडीको नक्कली कागजात बनाउने धन्दामा संलग्न मोरङ कानेपोखरी–७ का रेवतीरमण निरौलालाई पशुपति क्षेत्रबाट पक्राउ गर्‍यो । प्रहरीले उनको शान्तिनगरस्थित डेरामा छापा मा¥यो । कोठाको दराजमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयलगायत विभिन्न शैक्षिक संस्थाका नक्कली कागजात फेला परे । एसएलसीदेखि एमएसम्मका नक्कली शैक्षिक प्रमाणपत्र पनि फेला परे । त्यसबाहेक विभिन्न सरकारी कार्यालय, विश्वविद्यालयका, यातायात व्यवस्था कार्यालयलगायत विभिन्न संस्थाका एक सय ९१ वटा छाप (स्ट्याम्प) उनको कोठाबाट फेला परेको छ ।

निरौलालाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । ‘निरौलाको कोठाबाट विभिन्न तहका नक्कली शैक्षिक प्रमाणपत्र, नक्कली ब्लुबुक, लाइसेन्स फेला परे । विभिन्न सरकारी कार्यालय, विश्वविद्यालय, यातायात व्यवस्था कार्यालयका छाप पनि बरामद भयो । उनीमाथि थप अनुसन्धान गर्नुपर्ने देखियो,’ खापुङले भने ।

ad
ad