१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
मल पाउने आसमा सहकारीको ढोकामा लाइन बसेका चितवनका किसान । तस्बिर : सराेज देवकाेटा/नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २१:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

१५ असारमा रोपाइँ छाडेर मलको लाइनमा किसान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २१:४४:oo

मानो खाएर मुरी फलाउने दिनका रूपमा मानिने १५ असारमा चितवनका किसानहरू भने मल पाउने आसमा सहकारीको ढोकामा लाइन बस्न बाध्य भएका छन् । रत्ननगर–१५, गणेश टोलका होमप्रसाद लामिछाने धान दिवसको दिन रोपाइँ गर्न मल पाउने आसमा स्थानीय सहकारीहरूमा पुगे पनि उनी रितो हात फर्कन बाध्य भए । डेढ बिघा खेतका लागि आवश्यक युरिया नपाएपछि एक हप्तादेखि सहकारीमा धाइरहेको उनी बताउँछन् ।

 रत्ननगर–१५, माधवपुर कृषि सहकारी संस्थाका व्यवस्थापक सन्तोष लामिछाने सहकारीको मागअनुसार मल नआउँदा वितरणमा असहज भएको स्वीकार गर्छन् । उनका अनुसार मल ल्याउने प्रक्रिया पनि सहकारीमा झन्झटिलो छ । उनी भन्छन्, ‘सहकारीले मल माग गर्नुप¥यो भने वडाको सिफारिस र लिएर नगरपालिका पुग्नुपर्छ । नगरपालिकाको सिफारिससँगै मल पाउने पक्का भएपछि उक्त मलबराबरको रकम बैंकमा भुक्तानी गरेर भौचर लगेपछि मात्र वितरकले मल दिन्छन् ।’ जिल्लामा ३० प्रतिशत मल साल्ट ट्रेडिङ कर्पोरेसनले र ७० प्रतिशत मल कृषि सामग्री कम्पनी लिमिटेडले वितरण गर्दै आएको छ । नेपाल सरकारले धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धिको नारासहित देशभरि विभिन्न कार्यक्रम गरेर असार १५ मनाउँदै गर्दा चितवनका अधिकांश किसानको चिन्ता मल पाइएन भने कसरी रोपाइँ गर्ने भन्नेमै रहेको उनीहरू बताउँछन् । 

भरतपुर–६, गीतानगर बजार रहेको सर्वोदय बहुउद्देश्यीय सहकारी संस्थामा १५ असारमै मल लिनेहरूको लस्कर थियो ।  संस्थामा २० बोरा मात्र युरिया मल आए पनि खरिद गर्न आउने किसानको संख्या ५ सयभन्दा बढी थियो । सहकारीका व्यवस्थापक राजु पौडेलले भने, ‘१० केजीका दरले पहिला आउने सयजनालाई मल दियौँ । बाँकी रित्तो हात फर्किनुभयो ।’ आवश्यकताअनुसार सहकारीलाई मल प्राप्त नभएकाले यो समस्या भएको उनी बताउँछन् । केन्द्रबाट नै मल खरिद कम हुने गरेकाले यस्तो समस्या सहज हुन नसक्ने कृषि सामग्री कम्पनी लिमिटेड भरतपुरका शाखा प्रबन्धक राजन बगाले बताउँछन् । यद्यपि, निश्चित कोटा र परिमाण तोकेर आएको मल वितरण प्रक्रिया असहज हुनाले पनि यो समस्या भएको उनी बताउँछन् । किसानको मागअनुसारको आपूर्ति नभए पनि मल अभाव नहुने उनको तर्क छ । 

कृषि ज्ञानकेन्द्र, चितवनका प्रमुख राजन ढकालका अनुसार जिल्लामा २७ हजार ४ सय ४५ हेक्टरमा धानखेती हुँदै आएको छ । एक कट्ठा जमिनलाई साढे दुई केजीसम्म रासायनिक मल आवश्यक पर्छ । चितवनमा  एक वडा एक सहकारीबाट मल बिक्री गर्ने भनिएको भए पनि सो कार्य भएको छैन । चितवनमा कोभिड–१९ को दोस्रो लहरको महामारीका कारण निषेधाज्ञा अझै कायम नै छ । तर, चितवनका किसानहरू ठेलमठेल मल पाउने आसमा लाइन बसिरहेका छन् । मलको लाइनमा बस्नेहरूलाई प्रहरीले लखेट्नेसमेत गर्छ । धानमा खेतमा डिएपी मल रोप्नेबित्तिकै हालिन्छ भने त्यसको २१ दिनपछि युरिया हाल्ने गरिन्छ । 

ad
ad