१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
पोर्चुगलविरुद्ध ६०औं मिटेनमा गोल गरेपछि खुशी मनाउँदै जर्मनीका खेलाडी रोविन गोसेन्स । 
२०७८ असार ६ आइतबार ००:३९:००
Read Time : > 3 मिनेट
खेलकुद

साबिक विजेता पोर्चुगलमाथि जर्मनीको सानदार जित 

Read Time : > 3 मिनेट
२०७८ असार ६ आइतबार ००:३९:००

चालू युरोकपको सर्वाधिक रोमाञ्चक तथा प्रतिस्पर्धात्मक शनिबार रातिको खेलमा तीनपटकको विजेता जर्मनीले साबिक विजेता पोर्चुगललाई ४–२ को फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै युरोकपकै ‘ग्रुप अफ डेथ’ समूह भनिएको एफमा जर्मनीले प्रिक्वार्टरफाइनलको आशा जीवित राखेको छ ।

पहिलो खेलमा जर्मनी फ्रान्ससँग १–० ले पराजित भएको थियो । पोर्चुगलले हंगेरीमाथि ३–० को जित निकाली युरोकपमा उत्कृष्ट सुरुवात लिएको थियो । समूहको आफ्नो दोस्रो खेलमा जर्मनीबाट पराजित भएपछि पोर्चुगल अंकतालिकाको तेस्रो स्थानमा झरेको छ । यस समूहमा फ्रान्स चार अंकका साथ शीर्ष स्थानमा छ ।

जर्मनी र पोर्चुगलले समान दुई खेलबाट तीन–तीन अंक जोडेका छन् । गोलअन्तरमा जर्मनी दोस्रो स्थानमा रहेको छ । एक अंक बटुलेको हंगेरी चौथो स्थानमा छ । 
पोर्चुगलको हारमा चार मिनेटको अन्तरमा भएका दुई आत्मघाती गोल मुख्य रह्यो । दुई डिफेन्डरले आफ्नै पोस्टमा गोल गर्दा पोर्चुगललाई खेलमा फर्कन कठिन भएको हो । पोर्चुगलका लागि रुवेन डियास तथा राफयल गुइरेरोले आत्मघाती गोल गरेका हुन् । खेलको ३५औँ मिनेटमा डिफेन्डर डियासले काइ हाभेर्जको प्रहारलाई क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा बल छिराए । यो गोलसँगै जर्मनीले खेल १–१ को बराबरी गरेको थियो । 

खेलको ३९औँ मिनेटमा राफायलले आत्मघाती गोल गर्न पुग्दा जर्मनीले खेलमा २–१ को अग्रता लियो । जर्मन खेलाडी जोसुआले प्रहार गरेको कट ब्याक बचाउने क्रममा राफायलले आफ्नै पोस्टमा बल छिराएका थिए । यसअघि खेलको पाँचौँ मिनेटमै जर्मनीले पोर्चुगलमाथि १–० को अग्रता लिएको थियो । तर, भिएआरमा सर्जी जिनाब्रीको उत्कृष्ट गोल अफसाइड देखिएको थियो । जसका कारण जर्मनीले अग्रता गुमायो ।

खेलको १५औँ मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले काउन्टर एट्याक्टमा पोर्चुगललाई १–० को अग्रता दिलाए । डिएगो जोटाले सानो डिबक्सबाट दिएको क्रस पासमा रोनाल्डोले सहजै गोल गरे । रोनाल्डोले चालू युरोकपमा व्यक्तिगत तीन गोल पु¥याएका छन् । समग्रमा युरोकपमा उनको व्यक्तिगत १२औँ गोल हो । साथै, रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा एक सय सात गोल पु¥याएका छन् । अब इरानका अली दाईले राखेको विश्वकीर्तिमान एक सय नौ गोल बराबरी गर्न रोनाल्डोलाई दुई गोल आवश्यक छ । 

रोनाल्डोको गोलसँगै पोर्चुगलले नकआउट चरण पुग्ने आशा बलियो बनाएको थियो । जर्मनी भने हारबाट पहिलो चरणबाटै बाहिरिन सक्थ्यो । तर, जर्मनीले पोर्चुगलविरुद्ध आफ्नो परम्परागत फुटबल खेल्ने शैलीमै प्रतिस्पर्धालाई निरन्तरता दिइरह्यो । पोर्चुगलविरुद्ध जर्मनीले काउन्टर एट्याक्ट, लङ पास, डिबक्सभित्र हेडिङ गोल प्रयास तथा काउन्टर रणनीति अपनाएको थियो । पोर्चुगलले केवल काउन्टरमा मात्र जर्मनीमाथि दबाब राख्ने कोसिस गरेको थियो । दोस्रो हाफमा जर्मनीले थप दुई गोल गर्दै आफ्नो जित पक्का पा¥यो । 

खेलको ५१औँ मिनेटमा हाभेटज तथा खेलको ६०औँ मिनेटमा गोसेन्सले गोल गर्दा जर्मनी ४–१ को बलियो स्थितिमा पुग्यो । पोर्चुगलका लागि खेलको ६७औँ मिनेटमा जाटाले एक गोल गर्दै पोर्चुगललाई ४–२ को अन्तरमा ल्याए । 

फ्रान्स र हंगेरी बराबरीमा रोकिए 
विश्वकप विजेता फ्रान्स र हंगेरीबीच शनिबार राति सम्पन्न पहिलो खेल १–१ गोलमा टुंगिएको छ । हंगेरीले घरेलु मैदानमा पहिलो हाफको इन्जुरी समयमा गरेको गोल रक्षा गर्न नसक्दा अंक बाँड्नुपरेको हो । फ्रान्सका लागि एन्टोनियो ग्रिजम्यानले मध्यान्तरपछि गोल गर्दै सम्भावित हार टार्न सफल भए । यद्यपि, बराबरी नतिजाले फ्रान्सको नकआउट चरणमा पुग्ने सम्भावना जीवित छ । 

एक अंक बटुलेको हंगेरीको अंकगणितीय आधारमा प्रिक्वार्टरफाइनल पुग्ने आशा जीवितै छ । फ्रान्सले दुई खेलबाट चार र हंगेरीले भने दुई खेलबाट एक अंक बटुलेको छ । खेलको पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमै एटिला फिओलाले डिबक्सभित्र रोनाल्डो सालाईविरुद्ध वान भर्सेज वानमा उत्कृष्ट गोल गर्दै हंगेरीलाई १–० को अग्रता दिलाए । 

फिलाओेले फ्रान्सका डिफेन्डर भरानको निकै कमजोर क्लियरेन्सको फाइदा उठाएका हुन् । फिलाओको गोलसँगै पछिल्लो ६ खेलमा गोल नबेहोरेको फ्रान्सको रेकर्ड तोडिएको छ । 

रोनाल्डोले गोल गर्नुअघिसम्म फ्रान्सले लगातार पाँच सय २७ मिनेटसम्म गोल बेहोरेको थिएन । विश्व च्याम्पियन फ्रान्सले पहिलो हाफमा बल पोसेसन बलियो मात्र बनाएको थिएन, हंगेरीमाथि दबाब पनि राखेको थियो । पहिलो हाफमा केलियन एम्बाप्पेले नजिकको दूरीबाट गोल गर्न सकेनन् । 

पहिलो हाफमा हंगेरीका गोलरक्षक गुलाक्सी राम्रोसँग नियन्त्रण लिन नसकेको बलमा ग्रिजम्यानले गोल गर्न चुकेका थिए । खेलको १७औँ मिनेटमा डिबक्स अनमार्कमा रहेका एम्बाप्पेको हेडिङ पहिलो बारनजिक हुँदै बाहिरिएको थियो । खेलको ५९औँ मिनेटमा विस्थापन्न खेलाडी ओस्मान डिम्बेलेले सानो डिबक्सबाट प्रहार गरेको बल बारमा लागेको थियो ।

खेलको ६६औँ मिनेटमा ग्रिजम्यानले हंगेरीका गोलरक्षक ह्युगो लोरिस र डिफेन्डर विल्ली ओर्वानबीचको असमझदारीको फाइदा लिएका थिए । लोरिसले फ्याँकेको बललाई ओर्वानले नियन्त्रणमा लिन सकेनन् । त्यसपछि बार्सिलोनाका स्ट्राइकर ग्रिजम्यानले सहजै गोल गर्दै फ्रान्सलाई १–१ को बराबरीमा पु¥याए । ग्रिजम्यानले गोल नगरेको भए फ्रान्स सम्भवतः सन् १९७६ पछि हंगेरीसँग हारको नतिजा आत्मसात् गर्न नजिक पुगिसकेको थियो । 

खेलमा फ्रान्सले ६७ तथा हंंगेरीले ३३ प्रतिशत बल पोसेसन बनाएको थियो । आक्रामक रणनीति बनाएको फ्रान्सले हंगेरीको पोस्टमा १५ पटक गोल प्रयास गरेको थियो । ग्रिजम्यानले विश्वकप तथा युरोकपमा गरी ११ गोल गरेका छन् । फ्रान्स लगातार विश्वकप तथा युरोकपमा गरी नौ खेलमा अपराजित छ । यसक्रममा फ्रान्सले सात जित र दुई बराबरी नतिजा निकाल्यो । 

मेजर फुटबल प्रतियोगितामा फ्रान्सको लगातार पाँच जित रोकिएको छ । फ्रान्स मेजर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता समूह चरणका ११ खेलमा अपराजित छ । फ्रान्स अन्तिमपटक युरोकप २०१२ मा समूह चरणमा स्विडेनसँग २–० ले पराजित भएको थियो ।