मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवराज मैनाली काठमाडाैं
२०७८ असार ५ शनिबार ०५:५०:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

आलंकारिक राष्ट्रपतिको ‘अस्वाभाविक’ सक्रियता : गृहमन्त्री र चारवटै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा डाकेर कार्यकारीको शैलीमा निर्देशन

Read Time : > 1 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७८ असार ५ शनिबार ०५:५०:००

आलंकारिक राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रियता ‘अस्वाभाविक’ ढंगले बढाएकी छिन् । देशको कार्यकारी प्रमुखको शैलीमा उनले शुक्रबार गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर निर्देशन दिएकी छिन् ।

संविधानविद् डा. भीमार्जुन आचार्य भन्छन्–राष्ट्रपतिको अन्तर्मनमा सक्रिय शक्तिको उपभोग गर्ने अभिलाषा देखिन्छ

राष्ट्रपतिले मन्त्रिपरिषद्को सल्लाह र सहमतिमा काम गर्नुपर्छ । आफैँ सक्रिय भएर सुरक्षा निकायका मान्छेसँग बैठक राख्ने र निर्देशन दिने राष्ट्रपतिको भूमिका संविधानले परिकल्पना गरेको छैन । यसबाट उहाँभित्र शक्तिलाई उपयोग गर्ने अथवा सक्रिय शक्तिको उपयोग गर्ने अभिलाषा अन्र्तमनमा छ भन्ने देखिन्छ । अहिले मात्र होइन, अन्य धेरै घटनाबाट पनि यस्तो देखिन्छ ।

पछिल्लो समय देशभर आएको बाढीपहिरोको विषयमा ब्रिफिङ लिन राष्ट्रपति भण्डारीले गृहमन्त्री खगराज अधिकारी, गृहसचिव महेश्वर न्यौपाने, प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्रका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ अनिल पोखरेललाई शीतलनिवास डाकेकी थिइन् ।

राष्ट्रपतिले सुरुमा गृहमन्त्री अधिकारीबाट ब्रिफिङ लिएकी थिइन् । त्यसपछि उनले प्राकृतिक प्रकोप आउनै नदिने गरी नियन्त्रणमा लाग्न निर्देशन दिएको एक सहभागीले बताए । 

ब्रिफिङपछि प्राधिकरणले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपतिज्यूसमक्ष माननीय गृहमन्त्री खगराज अधिकारी, श्रीमान् गृहसचिव महेश्वर न्यौपाने र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलज्यूले मुलुकभर भएका बाढी र पहिरोका घटना र क्षतिको अवस्थाबारे जानकारी गराउनुभयो । यस अवसरमा राष्ट्रपतिज्यूबाट उद्धार र राहतमा भइरहेका कार्यहरूको जानकारी लिँदै विपत् प्रभावितहरूको उद्धार, बसोवास, खानपिन र उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो ।’ 

आलंकारिक राष्ट्रपतिले कार्यकारी प्रमुखको शैलीमा निर्देशन दिएको घटनालाई सुरक्षा निकायका प्रमुखहरूले पनि अनौठो मानेका छन् । विगतमा यस्तो परम्परा नभएको एक सुरक्षा अधिकारीले बताए । स्रोतका अनुसार ब्रिफिङको कार्यक्रमबारे राष्ट्रपति कार्यालयका कर्मचारीलाई समेत कुनै जानकारी गराइएको थिएन । 

राष्ट्रपतिबाट ब्रिफिङका लागि बोलाइएकोमा आफूहरूलाई समेत अचम्म लागेको गृह मन्त्रालयका एक अधिकारीले बताए । ‘यसले विपत्को काममा खटिएका सुरक्षा निकायलगायतका अधिकारीको समय अनावश्यक खर्च मात्र भएको छ,’ उनको टिप्पणी छ । 

संविधानविद् डा. भीमार्जुन आचार्यले गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखलाई बोलाएर निर्देशन दिने राष्ट्रपतिको कदम संविधानविपरीत भएको बताए । ‘अहिलेको संविधानमा प्रस्टसँग राष्ट्रपतिले मन्त्रिपरिषद्को सल्लाह र सहमतिबाट काम गर्नुपर्छ भनिएको छ । सक्रिय राष्ट्रपति भएको देशमा यस्तो प्रावधान राखिँदैन,’ उनले भने ।

राष्ट्रपतिमा शक्तिको उपयोग गर्ने अभिलाषा बढेको संविधानविद् आचार्यको भनाइ छ । ‘राष्ट्रपतिले मन्त्रिपरिषद्को सल्लाह र सहमतिमा काम गर्नुपर्छ । आफैँ सक्रिय भएर सुरक्षा निकायका मान्छेसँग बैठक राख्ने र निर्देशन दिने राष्ट्रपतिको भूमिका संविधानले परिकल्पना गरेको छैन । यसबाट उहाँभित्र शक्तिलाई उपयोग गर्ने अथवा सक्रिय शक्तिको उपयोग गर्ने अभिलाषा अन्तर्मनमा छ भन्ने देखिन्छ,’ उनले भने, ‘अहिले मात्र होइन, अन्य धेरै घटनाबाट पनि यस्तो देखिन्छ ।’ यसअघि अन्य देशमा खोपका लागि पत्राचार गर्नु पनि आपत्तिजनक भएको उनले बताए । 

यसअघि पनि राष्ट्रपति भण्डारीले कार्यकारी राष्ट्रपतिको शैलीमा विभिन्न देशका राष्ट्रप्रमुखलाई पत्राचार गरी कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेकी थिइन् । ‘प्रधानमन्त्रीले गर्नुपर्ने काम राष्ट्रपतिले गरेको’ भन्दै त्यतिखेर उनको आलोचना भएको थियो । विपक्षी कांग्रेसले मात्रै होइन, एमालेभित्रकै केही नेताले समेत राष्ट्रपतिको आलोचना गरेका थिए ।