१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २ बुधबार
  • Thursday, 01 May, 2025
घट्टे र च्याट्टु खोलामा आएको बाढीले मर्स्याङ्दीको बहाब बढेपछि डुबानमा परेको मनाङको सदरमुकाम चामे । तस्बिर सौजन्य : सशस्त्र प्रहरीका डिएसपी होमनाथ पन्थी
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o७८ असार २ बुधबार o६:oo:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

महाव्याधिबीच बाढीको विध्वंस

Read Time : > 5 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७८ असार २ बुधबार o६:oo:oo

मनसुनको सुरुवातमै भएको अविरल वर्षाले देशका विभिन्न भागमा विनाश, जोखिमपूर्ण क्षेत्रमा रहेका दुई लाख ५० हजारलाई सुरक्षित ठाउँमा जान एसएमएस पठाइयो, यो वर्ष बाढीपहिरोबाट १८ लाख जनसंख्या प्रभावित हुने राष्ट्रिय विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुमान

सिन्धुपाल्चोक

मेलम्चीमा बाढी, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार बाढीले बगाउँदा मंगलबार साँझ कम्तीमा सातजना सम्पर्कविहीन

मनाङ
नासो गाउँपालिका–१ तालगाउँका ५० घर डुबानमा, त्यस्तै घट्टेखोला र च्याट्टु खोलामा आएको बाढीले सदरमुकाम चामेका ६ घर पनि डुबे, जिल्ला हुलाक कार्यालय बग्यो, जिल्लामा दुई सय परिवारका हजार सर्वसाधारण विस्थापित

बाजुरा
बडिगार्ड खोलामा बाढी आउँदा एक महिला र किमनी खोलामा बाढी आउँदा १२ वर्षीय बालक बेपत्ता

गोरखा
ठोट्नी खोलामा बाढी आउँदा आरुघाट गाउँपालिका–२ ढोडेनीनिवासी गोविन्द चौधरी बेपत्ता 

चितवन
नारायणी नदीमा पानीको सतहले खतराको स्तर (आठ मिटर) नाघ्यो, गण्डक ब्यारेजका सबै ३६ ढोका खोलिए

लमजुङ
अपर दोर्दी जलविद्युत् आयोजनाको ड्याम क्षतिग्रस्त, उदीपुरस्थित हिमालयन जलविद्युत्को पावर हाउस पनि जोखिममा

...                    ...


मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा बाढी–पहिरोले तहसनहस गर्न थालेको छ । पछिल्लो २४ घन्टामा सिन्धुपाल्चोक, बाजुरा र गोरखामा बाढीले १० जना बेपत्ता बनाएको छ । मनाङमा मात्रै बाढीपहिरोबाट दुई सय परिवारका एक हजार बासिन्दा विस्थापित भएका छन्, ५५ घर डुबानमा परेका छन् । 

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार मंगलबार साँझ मेलम्ची खोलामा आएको बाढीले किनारका घरहरू बगाउँदा कम्तीमा सातजना बेपत्ता भएका छन् । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रआसपासका स्थानीयलाई बाढीले बगाएकोे उनले बताए । 

मेलम्ची घ्याङमाथि नाम्साङसाङ क्षेत्रमा गएको ठूलो पहिरोले मुहान थुनेपछि मेलम्ची खोलामा बाढी आएको हो । बाढीले हेलम्बु– १ को तिम्बुस्थित खोला किनारका केही घर बगाएको अध्यक्ष शेर्पाले बताए । वर्षा निरन्तर भएकाले खोला बढिरहेको र उद्धार गर्न कठिन भएको उनले बताए । ‘कति बेपत्ता भएका छन् अझै यकिन भइसकेको छैन । कम्तीमा सातजना आएका छैनन्,’ उनले भने । राति अबेरसम्म प्रहरी र स्थानीयले खोला किनारआसपासका मानिसलाई उद्धार गरिरहेको उनले बताए । 

बाढीले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र अम्बाथाङनजिक नाकोतेमा बनेको नवनिर्मित मोटरेबल पुल पनि बाढीले बगाएको छ । त्यस्तै, वडा नम्बर २, ३ र ४ मा रहेका आठवटा ट्राउट माछा फार्म पनि बगाएको छ । 

मेलम्ची आयोजनामा काम गर्ने कर्मचारी र मजदुर तिम्बुदेखि अम्बाथाङसम्म ठाउँठाउँमा छन् । मुहान क्षेत्रभन्दा माथिबाट पुलसमेत बगाएर ल्याएकाले आयोजनाका कर्मचारी र मजदुरको अवस्था खतरामा परेको अध्यक्ष शेर्पाले बताए । 

खोला किनारमा रहेको क्युल र चनौटे बजारमा बाढी पसेको छ । तटीय क्षेत्रका स्थानीय राति नै सुरक्षित स्थानतर्फ भागेका छन् । त्यसैगरी यांग्रीलार्के खोलाबाट आएको पहिरो र बाढीले पाँचपोखरी–थांपाल गाउँपालिकाको तिपेनीस्थित इन्द्रावती जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्‍याएको छ ।

बाजुराको बड्डीगाड खोलामा सोमबार आएको बाढीले बुढीनन्दा नगरपालिका– ३ वड्डालाकी मोतीकला लुहार र किमनी खोलाको बाढीले त्रिवेणी नगरपालिका– ३ का १२ वर्षीय कमल बुढालाई बेपत्ता बनाएको छ । त्यस्तै, गोरखाको ठोट्नी खोलामा आएको बाढीमा आरुघाट गाउँपालिका– २ ढोडेनी घर भएका गोविन्द चौधरी बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । 

मनाङमा ५५ घर डुबानमा, एक हजार नागरिक विस्थापित 
विभिन्न स्थानीय खोलामा उर्लिएको बाढी बस्तीमा पस्दा चामे र नासोँ गाउँपालिकामा ठूलो क्षति भएको छ । कैयौँ घर डुबानमा परेका छन् भने भौतिक संरचनामा क्षति पुगेको छ । बाढीका कारण जिल्लाभर दुई सय घरका एक हजार नागरिक विस्थापित भएका छन् । अविरल वर्षासँगै विभिन्न ठाउँमा पहिरो पनि खसेको छ । 

स्थानीय प्रशासनका अनुसार घट्टे र च्याट्टु खोलामा आएको बाढीले सदरमुकाम चामेमा ६ घर पूरै डुबानमा परेका छन् । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार ती घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । बाढीले चामे बजारमै रहेको हुलाक कार्यालयसमेत बगाएको छ । दुई खोलाका बीचमा रहेका निजी घरदेखि सरकारी कार्यालयहरू जोखिममा परेका छन् । 

नासोँ गाउँपालिका– १ तालगाउँमा ५० घर डुबानमा परेका छन् । त्यहाँ ६० घर छन् । चामे गाउँपालिका– ५ भक्तपुरमा मस्र्याङ्दीकै बाढी पस्दा पाँच घर डुबेका छन् । गाउँको आडैमा रहेको तातोपानी कुण्ड पनि बगाएको स्थानीय मेलिना गुरुङले बताइन् ।

बाढीले सदरमुकाम चामे गाउँपालिकाभित्रका करिब ७० घर र नासोँ गाउँपालिका– १ तालगाउँका ५० घरपरिवार विस्थापित भएका छन् । मस्र्याङ्दी नदीमा पानीको बहाव बढेर आएकाले बजारका तीन सय नागरिकलाई मनाङको कारागारको नवनिर्मित भवनमा सारिएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए । बाढीले चामे गाउँपालिका– १, तिमाङ खोलाको बेलिब्रिज बगाएको सशस्त्र प्रहरी बल मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले बताए । यसअघि १३ जेठमा तिमाङ छहराको काठेपुल बगाएको थियो । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघु जलविद्युत् पनि बगाएको छ । 

बाढीबाट विस्थापित तथा जोखिममा रहेका स्थानीयलाई चामे गाउँपालिका– ५ माडाकुनामा निर्माण गरिएको कारागारको नयाँ भवनमा सारिएको छ । गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार चामे बजार, नयाँ बजार, तिमाङ र स्यार्कु क्षेत्रका बासिन्दालाई त्यहाँ राखिएको छ । 

चामेस्थित जिल्ला प्रहरी कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को कार्यालय बाढीको जोखिममा परेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए । बाढीका कारण लमजुङ सदरमुकाम बेंसीसहर र चामेको सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ । 

चामे गाउँपालिकाका अध्यक्ष लोकन्द्रबहादुर घलेले मनाङमा बाढीले पहिलोपटक यति धेरै घरमा क्षति पुर्‍याएको बताए । उनले भने, ‘जिल्लामा हिउँपहिरोका सानातिना घटना त भइरहन्थ्यो । तर, बाढीले क्षति पुर्‍याएको यो पहिलो घटना हो ।’ स्थानीय प्रशासन र गाउँपालिकाले विपत् प्रतिकार्य योजनासमेत बनाएको गाउँपालिकाका अध्यक्ष घलेले बताए । 

नासोँ गाउँपालिका– १ ताल गाउँकी विमला गुरुङले मस्र्याङ्दीमा पानीको बहाव बढेसँगै सोमबार रातिदेखि नै जाग्राम बसेको बताइन् । ‘मस्र्याङ्दीको छेउमै घर छ, कति वेला बाढी आएर लैजान्छ, ज्यादै डर भयो,’ सोमबार रातिदेखि जाग्राम बसेकी उनले भनिन् । 

तालगाउँका प्रभावितको उद्धार तथा राहतका लागि काठमाडौंबाट हेलिकोप्टर पठाउने गृह मन्त्रालयको तयारी भए पनि मौसमको खराबीका कारण नसकिएको मनाङका प्रतिनिधिसभा सांसद पाल्देन गुरुङले बताए ।

त्यस्तै, मंगलबार साँझ नारायणी नदीको जलसतहले खतराको स्तर पार गरेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको छ । जलस्तर आठ मिटर पार गर्दा खतरास्तर नाघेको मानिने नारायणीमा मंगलबार साँझ ८ मिटर २६ सेन्टिमिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मञ्जु वासीका अनुसार गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी तथा बागमतीको पश्चिमी भूभागमा अति ठूलो वर्षा भएको छ । देशभर वर्षा भइरहेको छ । बुधबार बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै ठूलो पानी पर्ने आकलन महाशाखाले गरेको छ । झरी पर्ने प्रणाली केही दिनमा पूर्वतिर सर्दै जाने प्रक्षेपण गरिएको छ ।

पछिल्लो २४ घन्टामा भैरहवा १३४.८, पोखरामा १८०.२, पाल्पाको तानसेनमा २०३ र चितवन २५२.८ मिलिमिटर वर्षा मापन गरिएको छ । ‘गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा व्यापक पानी परेको छ,’ बाढी पूर्वानुमान महाशाखाका जलस्रोतविज्ञ मौसम भण्डारीले भने, ‘पश्चिम राप्ती, बबई र तिनाउमा बुधबारसम्म जलसतह उच्च हुने देखिन्छ । यी क्षेत्रलाई क्रिटिकल रूपमा लिएका छौैँ ।’

सुरुवातमै मनसुन सक्रिय बनेसँगै झरीका कारण बाढीपहिरो जान थालेको छ । २८ जेठयता मात्र डेढ दर्जन जिल्लाका पहिरो गएको छ भने आधा दर्जन जिल्लामा बाढी आएको छ । पछिल्ला दिनमा रसुवा, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, सल्यान, कालिकोट, बाजुरा, अछाम, बैतडी र दार्चुलामा पहिरो गएको छ । मनाङ, मुस्ताङ र दैलेखमा बाढीले क्षति पुर्‍याएको छ । 

निरन्तरको झरीले भिरालो जमिन गल्दा पहिरोको जोखिम झनै बढाएको जलस्रोतविज्ञ भण्डारीले बताए । ‘मझौला र साना नदीमा बाढीको जोखिम छ । पहाडी भूभागमा पहिरो जाने क्रम बढेको छ,’ उनले भने, ‘चुरेबाट बग्ने खोलामा आकस्मिक बाढीको त्रास पनि उत्तिकै छ । पश्चिम राप्ती र बबाई मझौला नदी हुन् । यी नदीमा बुधबार बाढी आउने सम्भावना रहेको उनले बताए । 

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले देशैभर बाढीपहिरोको जोखिम रहेकाले जिल्ला विपत् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी, स्थानीय स्वंयसेवक परिचालन गरिएको र रेस्पोन्स टिम पनि बनाइएको बताए । 

यस वर्ष बाढीपहिरोबाट १८ लाख जनसंख्या प्रभावित हुने अनुमान
राष्ट्रिय विपत् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष १८ लाख जनसंख्या बाढीपहिरोको चपेटामा पर्ने आकलन गरेको छ । २८ जेठबाट भित्रिएको मनसुन सुरुवाती चरणमै सक्रिय बन्दा देशका डेढ दर्जन जिल्लामा बाढीपहिरो गएको छ । यस वर्ष बाढीबाट १७ लाख र पहिरोबाट एक लाख १७ हजार जनसंख्या प्रभावित हुने अनुमान छ । पहिरोमा २४ हजार ६ सय ७८ घरपरिवार प्रभावित हुने आकलन प्राधिकरणले गरेको छ । 

‘नेपाल मनसुनजन्य विपत्बाट अति प्रभावित देश हो, बर्खायाममा बाढीपहिरोका घटना बढी हुने गर्छन्,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘यो वर्ष बाढीपहिरोका घटना अझ धेरै हुन सक्ने भएकाले सतर्कता अपनाएका छौँ ।’

यो हिउँद र प्रिमनसुनमा धेरै डढेलो लागेकाले पनि भूस्खलनका घटना बढ्ने आकलन गरिएको पोखरेलले बताए । जल तथा मौसम विज्ञान विभागले यस वर्ष बर्खामा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा र धनुषाबाहेकका जिल्लामा औसतभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिसकेको छ । त्यसमा पनि बागमतीदेखि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा अझ बढी पानी पर्ने देखिएको छ । पहाडी जिल्लामा धेरै पानी पर्दा पहिरोको जोखिम बढ्ने बाढी पूर्वानुमान महाशाखाका जलस्रोतविज्ञ मौसम भण्डारीले बताए ।

अढाई लाखको मोबाइलमा एसएमएस– बाढीको जोखिम छ, सुरक्षित ठाउँमा जानुहोस्
जल तथा मौसम विज्ञान विभागले दूरसञ्चार सेवाप्रदायकसँग सहकार्य गरेर बाढीको पूर्वसूचना सर्वसाधारणको मोबाइलमा पठाउन थालेको छ । बाढी पूर्वानुमान महाशाखाका जलस्रोतविज्ञ मौसम भण्डारीका अनुसार मनसुन सुरु भएयता ‘...खोला, नदीमा बाढीको जोखिम छ, सुरक्षित ठाउँमा जानुस्’ भन्ने खालका सन्देशसहित साढे दुई लाख मोबाइलमा एसएमस पठाइएको छ । ‘हामीले बाढीको मात्र पूर्वानुमान गर्छाैँ । निरन्तर वर्षा र नदी, खोलामा जल सतह बढ्ने देखिएपछि तटीय क्षेत्रका नागरिकलाई सुसूचित हुन एसमएस पठाउने गरिएको छ,’ उनले भने ।

मंगलबार साँझसम्म नेपाल टेलिकमबाट एक लाख ७२ हजार एक सय ३९ र एनसेलबाट ८२ हजार ६ सय ३४ गरी दुई लाख ५४ हजार सात सय ७३ वटा एसएमएस पठाइएको महाशाखाले जनाएको छ । 

सरकारले वर्षाको मापन गर्न स्वचालित केन्द्र स्थापना गरेको छ । ती केन्द्रबाट हरेक १० मिनेटमा नदी तथा खोलामा पानीको मात्रा कति छ थाहा हुन्छ । जोखिमको सम्भावना भएमा स्थानीय बासिन्दाको मोबाइलमा एसएमएस पठाउने गरिन्छ ।