१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o६:४१:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

मनाङीका दुःख : जेठको बाढीले पुल भत्काएपछि यातायात अवरुद्ध, ज्यानको बाजी लगाएर फड्के तर्दै यात्रु

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o६:४१:oo

आङै सिरिंग हुने डरलाग्दो बाटो पार गर्दै जानुपर्ने हिमालपारिको जिल्ला मनाङमा भएका काठेपुल पनि बाढीले बगाएपछि स्थानीयलाई फड्केकै भर

गत १३ जेठमा अविरल वर्षासँगै आएको बाढीले मनाङको चामे गाउँपालिका–१ तिमाङ छहरामा रहेको अस्थायी काठेपुल बगाएपछि स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । काठेपुल बगाएपछि अहिले कोभिडका बिरामीका लागि अक्सिजन सिलिन्डर, स्वास्थ्य सामग्री, अत्यावश्यक दैनिक उपभोग्य सामग्री तिमाङको छहरामा स्थानीय प्रशासन र सुरक्षाकर्मीले बनाएको फड्केबाट तारेर लैजानुपर्ने बाध्यता छ । 

चामे गाउँपालिका–१ स्थित तिमाङ झरनाको काठेपुल बाढीले बगाएपछि अक्सिजन सिलिन्डर बोकेर फड्के तर्दै कामदार । तस्बिर सौजन्य : उषा महतो, जिल्ला अस्पताल, मनाङ

गण्डकी प्रदेश सरकारले जिल्ला अस्पताल मनाङका लागि दिएको पाँचवटा अक्सिजन सिलिन्डर २० जेठमा मनाङ सदरमुकाम लग्ने क्रममा बेँसीसहरबाट गएको गाडी तिमाङ छहरा पार गर्न सकेन । बाढीले त्यहाँको अस्थायी काठेपुल बगाएकाले सिलिन्डर तिमाङ झरना तार्न १५ मिनेट लागेको स्वास्थ्यकर्मी उषा महतोले बताइन् । ‘१० जना मजदुरले अक्सिजन सिलिन्डरसहित मेडिकल सामग्री तार्न सहयोग गरे,’ उनले भनिन्, ‘त्यसबापत मजदुरलाई तीन हजार रुपैयाँ दिएँ ।’

अक्सिजन सिलिन्डर लिन जिल्ला अस्पतालले महतोलाई पठाएको थियो । उनी जिल्ला अस्पताल मनाङकी स्टाफ नर्स हुन् । जिल्ला अस्पतालमा पाँचवटा सिलिन्डरले चारजना कोरोना बिरामीको उपचार भएको उनले बताइन् । यस्तै, २७ जेठमा पनि काँधमै बोकेरै अक्सिजन सिलिन्डर जिल्ला अस्पताल लगिएको थियो । मनाङका अस्पतालमा अक्सिजन सिलिन्डर सकिए भर्न पोखरा आउनुपर्ने बाध्यता छ ।

जिल्ला अस्पताल मनाङकी मेडिकल सुपरिटेन्डेन्ट डा.प्रतिभा गौलीका अनुसार सडक अवरुद्ध हुँदा कोरोना संक्रमितको पिसिआर परीक्षण पनि प्रभावित बनेको छ । ‘पिसिआर परीक्षण गर्न मनाङबाट स्वाब पोखरा पठाउनुपर्ने हुन्छ । तर, सडक सुचारु नहुँदा पठाउन सकिएको छैन,’ उनले भनिन्, ‘एन्टिजेन परीक्षण गरेर उपचारमा खटेका छौँ ।’ अहिले अस्पतालमा १८ वटा अक्सिजन सिलिन्डर छ । गण्डकी सरकारको सहयोगमा जिल्ला अस्पताल मनाङले आइसियू वार्ड स्थापना गरेको छ । तर, आइसियू चलाउन चाहिने विशेषज्ञसहितको जनशक्ति पठाउन सकेको छैन । जिल्लामा हाल कोरोनाका ३२ जना सक्रिय संक्रमित छन् । जसमध्ये ११ जना जिल्ला अस्पतालमा उपचाररत छन् । जिल्लाभर हालसम्म कोरोना संक्रमितको संख्या एक सय ३४ पुगेको छ । कोरोनाबाट अहिलेसम्म दुईजनाको मृत्यु भइसकेको छ ।

मनाङ पुग्न काठेपुलकै भर

अन्नपूर्ण पदमार्गमा पर्ने मनाङ पुग्न ठाउँठाउँमा काठेपुलकै भरमा यात्रा गर्नुपर्ने बाध्यता अझै टरेको छैन । आङै सिरिंग हुने डरलाग्दो बाटो पार गर्दै जानुपर्ने मनाङमा काठेपुलकै भरमा खोला तर्नुपर्दा झनै जोखिम बनेको छ । मनाङको चामे गाउँपालिकादेखि सडकको अन्तिम बिन्दु खाङ्सारसम्म पुग्दा ठाउँठाउँमा काठका पुल भेटिन्छन् । ६५ किलोमिटरको दूरीमा रहेको लमजुङ–मनाङ सडकखण्डमा बर्खामा दैनिकजसो यस्ता समस्या आउने चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए ।

पक्की पुलको अभावमा काठेपुलबाट यात्रा गर्नुपर्ने स्थानीयको बाध्यता अझै हट्न सकेको छैन । पर्यटन व्यवसायी विनोद गुरुङ खोलाहरूमा काठेपुल निर्माण गर्नुपर्ने मनाङवासीको बाध्यता रहेको बताउँछन् । ‘यो हाम्रा लागि बाध्यता हो,’ उनी भन्छन्, ‘पक्की पुल एक–दुई ठाउँमा मात्र छ, त्यसैले काठको पुल प्रयोग गर्नुको विकल्प छैन ।’ मनाङ सडकखण्डमा तिमाङ छहरा, तिमाङ गाउँको पुछारमा रहेको स्याल्कु खोला, थानचोकनजिकैको स्र्याक्यु खोला, पिसाङ, सब्जे खोला, भ्राकास्थित मुङेज, थोराङखोलामा स्थानीयले काठको पुल बनाएर यातायातका साधनलाई आवतजावतमा सहयोग गरेका छन् ।

नेपाली सेनाले सडक निर्माणका वेला निर्माण गरेको काठेपुलबाटै अहिले मनाङमा यातायातका साधन गुडिरहेका छन् । सडक विभागले नेपाली सेनासँग सडक लिएको नौ वर्ष बितिसक्दा पनि पक्की पुल निर्माण गर्न नसकेको मनाङको चामेस्थित लोकप्रिय माविका शिक्षक सुरेश थापाको गुनासो छ । उनी भन्छन्, ‘डराई–डराई कहिलेसम्म काठेपुलकै भरमा यात्रा गर्ने हो ।’ मनाङका सडकमा दैनिक ३० भन्दा बढी सवारीसाधन गुड्ने गरेका छन् । सबैले जोखिम मोलेर यात्रुलाई गन्तव्यसम्म पु¥याउँदै आएको सवारीचालक सोम मगराती बताउँछन् । लमजुङ–मनाङ सडकखण्डमा बर्खा लागेसँगै दैनिकजसो विभिन्न समस्या पर्ने गरेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने बताउँछन् । 

गत वर्ष पनि बाढीले तिमाङखोलाको काठेपुल बगाएको थियो । सो पुल पछि चामे गाउँपालिका, प्रशासन र सुरक्षा निकायको समन्वयमा निर्माण गरेको मनाङका डिएसपी सुवास खड्काले बताए । सशस्त्र प्रहरी बल नेपाल मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीले निरन्तरको वर्षासँगै आएको बाढीले तिमाङ खोलामा निर्माण गरिएको बेलिब्रिज पुलसमेत जोखिममा रहेको जानकारी दिए । 

बेँसीसहरबाट तिमाङ छहरासम्म सवारीसाधन पुगे पनि खोलामा पुल नभएकाले मनाङबाट आएका सवारीसाधन मनाङतर्फ नै फर्किएका छन् भने लमजुङबाट मनाङतर्फ गएका सवारीसाधन तिमाङ छहरासम्म पुगेर फर्कने गरेको स्थानीय शिक्षक चेकमान गुरुङले बताए । बेँसीसहर–चामे ६५ किलोमिटर, चामे–माथिल्लो मनाङ ३५ किलोमिटर र माथिल्लो मनाङदेखि खाङसारसम्म करिब सात किलोमिटर सडकखण्ड गरी करिब एक सय सात किलोमिटर यात्रा निकै जोखिमपूर्ण रहेको यात्रु राजु थापा बताउँछन् ।

ad
ad