Skip This
कांग्रेसको ‘पर्मानेन्ट आइसोलेसन’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ २३ आइतबार
  • Tuesday, 23 July, 2024
पुरञ्जन आचार्य
२o७८ जेठ २३ आइतबार o९:१७:oo
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कांग्रेसको ‘पर्मानेन्ट आइसोलेसन’

Read Time : > 6 मिनेट
पुरञ्जन आचार्य
नयाँ पत्रिका
२o७८ जेठ २३ आइतबार o९:१७:oo

कम्युनिस्ट फुट्छन्, सत्ता हातमा आउँछ र निर्वाचन जितिन्छ भन्ने राजनीतिक ‘न्यारेटिभ’मा कांग्रेस ढुक्क देखिन्छ 

कांग्रेस सभापति शेरबहादुर देउवा यतिखेर के सोचिरहेका छन्, बुझ्न कठिन छ । उनले मुलुकबारे केही सोचिरहेका छन्, यो अनुमान गर्न झनै मुस्किल छ । मुलुकमा के भइरहेको छ र नागरिकको स्थिति कसरी चौतर्फी घेराबन्दीमा पर्दै छ भनी कांग्रेसका प्रभावशाली नेताहरूले बुझी पनि रहेका छन् या कांग्रेस ‘ग्रस’मा ‘पर्मानेन्ट आइसोलेसन’मा गयो, भेद छुट्याउनै नसकिने भएको छ ।

कम्युनिस्ट अति नै बिग्रिए : कांग्रेसको ‘महाराजा चालले’ राजनीतिक दुर्घटना निम्त्याउने हो कि भन्ने आशंकाले यसको सक्रिय र जीवन्त उपस्थिति खोजिएको हो । अन्यथा, कांग्रेसबारे लेख्न र बोल्न रुचि लाग्दैन हिजोआज । कति लेख्ने ? कैयन्ले लेखे । कांग्रेस सुध्रियोस् भनी कति मात्र अपेक्षा राख्ने र कहिलेसम्म राख्ने ? तैपनि, विकल्प देखिँदैन । कांग्रेस नसुध्रिए र जीवन्त नभए नागरिकको जीवनरक्षा र अभिभावकत्व नै देशमा नहुने जस्तो भयो । ‘घुम्दैफिर्दै रुम्जाटार’ भने जस्तो कांग्रेसलाई झकझकाउन ‘जिन्जर गु्रप’ अझै सक्रिय रहनुपर्ने बाध्यता सिर्जना भयो । 

नेपालमा निर्वाचित कम्युनिस्ट सरकारको जुन नग्न रूप अहिले देखिँदै छ, योभन्दा खतरनाक ‘म्युटेड कम्युनिस्ट भाइरस’ अन्यत्र नभेटिएला । नेपालका कम्युनिस्टले सकेनन्, नसक्ने भए भनी प्रधानमन्त्री केपी शर्मा ओली प्रमाणित गर्दै छन् । कम्युनिस्टविरोधीमा ओलीको निकम्मापनले हर्षोल्लास थप्दै छ । नेपालको सात दशक लामो कम्युनिस्ट आन्दोलन समाप्त गर्न कम्युनिस्टकै ‘भष्मासुर’ आएकामा दक्षिणपन्थीहरू खुसी छन् । तर, कम्युनिस्टप्रति भरोसा र विश्वास गर्ने नागरिकको निराशा र कुण्ठाको ‘वेभ’ भने सम्पूर्ण राजनीतिक प्रणालीमाथि नै आक्रमणको मुडमा छ । 

कम्युनिस्ट भाइरसको ‘म्युटेसन’ विकृत, कुरूप र डरलाग्दो भएको छ । कोरोनाको भाइरसभन्दा सत्ताको विकृत भाइरसको ‘पेन्डामिक’ले आमनागरिक बेवारिसे भएका छन् । समाजका हरेक क्षेत्रमा जसरी कोरोनाको त्राहिमाम छ, त्योभन्दा खतरनाक प्रधामन्त्री ओली र तिनका आसेपासेको भ्रष्टाचार र कुशासनको भाइरस मडारिरहेको छ । म यसलाई अस्वाभाविक मान्दिनँ । मानसिक र शारीरिक रूपले अशक्त शासक हुँदा समानान्तर शासन त्यो देशमा चल्छ नै । प्रधानमन्त्री ओली जति भाषण छाँटे पनि यी निरोगी छैनन् । यी निरोगी र स्वस्थ छैनन् भन्ने प्रमाण यिनको उपचार पद्धतिमा जानुपर्दैन भन्ने वाणी र व्यवहारमै भेटिन्छ । यहाँ चिन्ता कांग्रेसको हो । कांग्रेस नेतृत्व के गर्दै छ भन्ने हो । 

के कांग्रेसमा प्रतिरोधात्मक क्षमता छ ? : कांग्रेस सभापति देउवा यतिखेर वर्तमान सरकार र यसको विकल्पबारे के सोच्दै होलान् भनी ‘कम्युनिस्ट भाइरस’को कारण चिन्ता प्रकट गर्नुपरेको हो । कम्युनिस्ट भाइरस डरलाग्दा यसकारण छन् कि यिनले कुनै वैधानिक पदमा बसेर मन्त्रालय या विभाग चलाएका छैनन् । तिनले पार्टी, आफ्ना बाबुबाजे र नातागोताका नाममा सम्पूर्ण सरकारी ‘सिस्टम’ र स्रोत–साधनमाथि कब्जा जमाएका छन् । नेपालको स्वास्थ क्षेत्रदेखि, ऊर्जा, सुरक्षा र सडक, सर्वत्र अवैधानिक व्यक्तिको शासन चलिरहेको छ । यो रोक्ने तागत अब प्रधानमन्त्रीलगायत कुनै कम्युनिस्ट मन्त्रीमा छैन । तसर्थ, यसलाई अभैm नेपालीले भोग्नुपर्छ, संसद् पुनर्स्थापना नभएसम्म ।  

विगतमा प्रचण्ड र अहिले ओलीको छलका कारण कांग्रेसभित्रका बिपी अनुयायी तर्सेका हुन् भने तिनले त्यस्तो नेतृत्व फेर्न सक्नुपर्छ । कम्युनिस्टलाई राजनीतिक रूपले तर्साउन सक्ने नेतृत्व चयन गर्नुपर्छ । 

सर्वोच्च अदालतबाट संसद् पुनस्र्थापना भएर देउवा प्रधानमन्त्री बने भने उनले पहिलो दिनदेखि कसरी देश हाँक्लान् ? कस्तो ‘टिम’ लिएर अघि बढ्लान् ? आफ्नो विगतको छविबाट माथि उठ्लान् वा विगतकै शैलीको निरन्तरता हुनेछ ? यस्ता अनेकन् कोणबाट बहस र छलफल चल्नुपर्छ र चलाउनु पनि पर्छ अहिले । 

देउवासामु सरकार चलाउने चुनौती मात्र छैन, कांग्रेसको १४औँ महाधिवेश सम्पन्न गर्नुपर्ने जिम्मेवारी पनि छ । तर, उनीसँग न सरकार चलाउने टिम छ, न समयमै महाधिवेशन गराउने स्पिरिट नै देखिन्छ । 

कांग्रेस महाधिवेशनविना कुनै कारण पटक–पटक सार्दा देउवा अहिले पछुताएका छन् कि छैनन्, थाहा छैन । त्यस्तै, देउवासँगै पार्टीलाई यो भिरसम्म पु¥याउने कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य यतिखेर कहाँ कुन दुलोमा छन्, त्यो पनि थाहा छैन । अहिले तोकिएको समयमा महाधिवेशन नहुने स्थिति देखिँदै छ । अब यस्तो अक्षमताको जिम्मेवारी कसले लिने ? सभापति र महामन्त्रीले लिने कि प्रभावशाली भनिने केन्द्रीय कार्यसमितिले ?  

कांग्रेसको भविष्य अँध्यारो सुरुङमा प्रवेश गरेको छ यतिखेर । यसको जिम्मेवारी कसैले लिनेछैनन् । जसरी विगतमा निर्वाचनमा पराजय भोगेर पनि कसैले त्यसको जिम्मेवारी लिएनन् । कांग्रेस सुरुङपारिको उज्यालोमा पुग्न देउवाको मात्र प्रयत्नले सम्भव नै छैन, थिएन । कांग्रेसलाई ‘रेस्क्यु’ गर्न एकपटक सबै सच्चा कांग्रेसजनले ‘कम्फोर्ट जोन’बाट बाहिर नआई सुख छैन । तर, त्यसबाट बाहिर आउन पार्टीसत्ता र राज्यसत्ताको हालीमुहाली गरेर विगत तीन दशकभन्दा बढी समय देशमा रजगज गरेकासँग कुनै ऊर्जा बाँकी छ ? छैन । त्यसो भए यो कर्म गर्ने कसले ? 

दोषी देउवा मात्र हुन् त ? : भारतीय कांग्रेसमा २३ जना सिनियर नेताले नेतृत्वलाई पार्टी सुधारका उपाय लिखित रूपमै दिएका छन्, भर्खर । पाँचवटा राज्यमा गत महिनाको चुनावमा कांग्रेस नराम्ररी पराजित भयो । पराजयको कारण बुझ्न बनेको टिमको प्रतिवेदन यसै साता सार्वजनिक भएको छ । रिपोर्ट पढ्दा नेपाली कांग्रेसबारे गम्भीर रिपोर्ट लेखिएको अनुभूति भयो । नेपाली कांग्रेसमा पार्टी सुधारको सामूहिक प्रयत्न हुन सकिरहेको छैन, अहिले भारतीय कांग्रेसमा भए जस्तो । कम्युनिस्ट फुट्छन्, सत्ता हातमा आउँछ र निर्वाचन जितिन्छ । यो राजनीतिक ‘न्यारेटिभ’मा कांग्रेस ढुक्क देखिन्छ । यस्तो मनोदशा थाकेको नेतृत्वमा देखिने लक्षण हो । प्रधानमन्त्री ओली जति अस्वस्थ छन्, त्यति नै ऊर्जाहीन छ कांग्रेसको नेतृत्व ।

कांग्रेस ‘ग्रस’मा फसेको छ । विचार, संगठन र नेतृत्व सबै ‘आउटडेटेड’ भएका छन् । थाकेको नेतृत्वले यसमा ऊर्जा भर्न सम्भव छैन । कैयन् कांग्रेस विचारमा शीतयुद्धकालीन संसारमै छन् । कम्युनिस्टको भूत त्यसैको लक्षण हो । अझ कैयन् कांगे्रसी मध्ययुगीन चर्चको शासन युगमा छन् । धर्म र राजनीतिलाई जोड्नुपर्छ भन्ने सोच त्यही समयको अभ्यास हो। 

‘स्मार्ट’ राजनीतिक अधिवेशन : राजतन्त्र र भारदारतन्त्रको अपेक्षा कैयन् कांग्रेसजन गर्दै छन् । यिनले ‘राजा आऊ, देश बचाऊ’को नारा लगाउन मात्र बाँकी छ । धर्म र राज्यलाई मिसाउने अभियानमा कांग्रेसका बहुमत सदस्य छन् भनिन्छ । सनातन हिन्दूधर्म र राज्य जोडिएर हिँडेको छैन भन्ने ज्ञान सिकाउने कोही छैन कांग्रेसमा । राजकाज गर्ने क्षत्रीयहरू धर्मगुरु र ऋषिमुनिलाई भेट्न पाँच सय मिटर परै रथ रोकेर जाने गर्थे भनी कैयन् शास्त्रमा वर्णित छ । धर्मको आडमा राजकाज गर्नेलाई अपराध गर्ने छुट नदिन हिन्दू सनातन धर्मले सधैँ नैतिक र धार्मिक शिक्षालाई अगाडि सार्दै आएको छ । नेपालको संविधान एकातिर छ, कैयन् कांग्रेसको सोच, विचार र अभियान ठीक त्यसविपरीत छ । यस्तो संविधान किन कांग्रेस नेतृत्वमा जारी भएको होला भनी पश्चात्ताप गर्ने ठूलो समूह कांग्रेसभित्रै छ । यसको छिनोफानो कुन थलोमा र कसरी हुन्छ ? कसले गर्छ ? विचारको प्रस्टताको अभावमा कांग्रेसले कम्युनिस्टसँगको राजनीतिक युद्ध कसरी जित्ला ?

अब कांग्रेसको चौधौँ महाधिवेशन पार्टी विधानका सबै अंग पुर्‍याएर सम्भव देखिँदैन । राजनीतिक पार्टीले स्मार्ट राजनीतिक अधिवेशन गर्न सिक्नुपर्छ । यो नयाँ अभ्यासमा प्रविधिको भूमिका हुने भएकाले कांग्रेसलाई यसले फाइदा नै गर्छ ।

पार्टीका मेसेज, मेसिन र मेसेन्जर : कुनै पनि राजनीतिक पार्टीलाई जीवन्त र सक्रिय रहन नागरिकबीच ‘मेसेज’ निरन्तर प्रवाह गर्नुपर्छ । आशा र भरोसाको सन्देश पार्टी नेतृत्वबाट बन्द भएपछि पार्टी नै बन्द डब्बाझैँ बन्न पुग्छ । बिपी, गणेशमान, गिरिजाप्रसाद सबैको विगत हेर्दा यिनले पार्टीलाई जीवन्त राख्न केही समाजसँग, केही कार्यकर्तासँग र केही तत्कालीन व्यवस्थासँग जोडिएका विषयमाथि टिप्पणी वा विचार प्रवाह गरिरहन्थे । त्यही सन्देशमा पार्टी कार्यकर्ता चलायमान हुन्थे, पत्रपत्रिकाले कलम चलाउँथे र समाजमा हलचल आउँथ्यो । 

मेसेज प्रवाह गर्न ‘मेसिन’ अर्थात् संगठन चाहिन्छ । नागरिकसँग सरल भाषामा संवाद गर्ने ‘पार्टी मेसिन’ हो, संगठन । तर, पार्टीको ‘मेसिन’ अर्थात् संगठनमा खिया लागेको छ, कांग्रेसको । अझै पनि कांग्रेसको जिल्ला र गाउँस्तरका कार्यकर्तामा ऊर्जा छ । प्रतिरोधात्मक क्षमता पनि छ । ती धेरै हदसम्म इमानदार पनि छन् । तर, सहरिया कांग्रेस अधिकांश बिग्रेका छन्, काम लाग्ने छैनन् । सहरिया कांग्रेससँगको संगतले गाउँको कांग्रेस पनि बिग्रिने क्रम बढ्दो छ । कांग्रेसको केन्द्रीय नेतृत्व चुनावको समयमा गाउँसम्म पुग्छ । अन्यथा, केन्द्रीय समितिका अधिकांश नेता सहरिया कांग्रेसको ट्र्यापमा घेरिन रुचाउँछन् । कांग्रेस नामको संगठन गाउँदेखि केन्द्रसम्म आपसी झगडा गर्न तीव्र रूपमा सञ्चालित हुन्छ । चार वर्ष खिया लागेर नचली बस्ने संगठन झगडा गर्न र महाधिवेशन र चुनावको समयमा पद लिन सक्रिय हुन्छ । अहिले कांग्रेस महाधिवेशन नै क्रियाशील सदस्यको झगडाले नहुने परिस्थिति निर्माण भयो । ‘बोगस क्रियाशील’को अभियानमा रमाएर कांग्रेस आफ्नो वैधानिकता नै समाप्त गर्न लागिरहेको छ ।

भारतीय राष्ट्रिय कांग्रेसमा त्यसका नेता राजीव गान्धी कराइरहन्थे, यो बोगस क्रियाशीलले पार्टी समाप्त हुन्छ भनेर । कसैले सुनेन तिनताका । आज भारतीय कांग्रेसको सदस्यता लिन कोही तयार छैनन् भारतमा । र, यो स्थिति आउला भन्दै गर्दा उनको हत्या भयो । राजीव गान्धीले बारम्बार बोगस क्रियाशील बन्द गरौँ भने । त्यसलाई नसुनेकै कारण भारतीय कांग्रेस आज पतनोन्मुख छ । एकपटक भारतीय कांग्रेसको पतनबारे लेखिएका रचना पढ्न ‘क्रियाशील क्रेजी’ कांग्रेसहरूलाई अनुरोध नै भयो मेरो ।  

कांग्रेस कुन बाटो हिँड्ने, अहिलेको नेतृत्वले ठम्याउन सकिरहेको देखिन्न । नेतृत्व ‘कन्फ्युज्ड’ र अलमले भएको छ । कांग्रेसमा मेसेन्जर नै छैन अहिले । को हो पार्टीको मेसेन्जर ? कसले बोलेको कार्यकर्ता र नागरिकले सुन्छन् र पत्याउँछन् । पत्यारलाग्दो कोही देखिँदैन । सभापति र महामन्त्रीबाट यस्तो अपेक्षा गरिन्छ । तर, देउवा र शशांकले सभापति र महामन्त्री पदमाथि न्याय गरेका छन् कि छैनन्, यो कांग्रेस महाधिवेशन प्रतिनिधिहरूले बुझ्ने विषय हो ।

अलमलका दुई बाटा :  अहिलेको कांग्रेसले बिरासतमा दुईवटा बाटा पाएको छ । एउटा बाटो बिपीको हो । बिपीको बाटो भनेको कम्युनिस्टसँगको सत्संगले ठीक भएन भनी बुझिने बाटो हो । यसका अनुयायी कांग्रेसमा प्रशस्तै छन् । कांग्रेसको कम्युनिस्टसँग सत्संगको तीन दशकभन्दा बढी समय भइसक्यो । निर्वाचनमा यी दुई दल नै मुख्य प्रतिस्पर्धी छन् । कम्युनिस्ट नभएको भए कांग्रेसले कोसँग प्रतिस्पर्धा गथ्र्यो होला, नेपालमा ? फेरि नेपालमा कम्युुनिस्ट नै को छन् र ? प्रधानमन्त्री ओलीलाई संसारले दक्षिणपन्थीका रूपमा चिन्छ । नेपालीबीच पनि उनको छवि दक्षिणपन्थीकै छ । ओली चीनबाट मुख फर्काई भारतीय प्रधानमन्त्री मोदीका अनुयायी भएका छन् ।

नक्कली कम्युनिस्टसँग कति र कसरी संगत गर्नुपर्छ भन्ने रणनीति र चातुर्य कांग्रेस नेतृत्वमा नभएपछि प्रजापरिषद्ले पनि यो पार्टीलाई नचाउँछ । विगतमा प्रचण्ड र अहिले ओलीको छलकपटका कारण कांग्रेसभित्रका बिपी अनुयायी तर्सेका हुन् भने त्यस्तो नेतृत्व फेर्न सक्नुपर्छ । कम्युनिस्टलाई राजनीतिक रूपले तर्साउन सक्ने नेतृत्व चयन गर्न सक्नुपर्छ । कटहर रोपेर आँप फल्छ र ? कांग्रेसका महाधिवेशन प्रतिनिधिहरू जहिले पनि कटहरलाई आँपजस्तो भएन भनी निरर्थक गुनासो गर्छन् । यस्ता गुनासा अन्त्य गर्न के कांग्रेसको १४औँ महाधिवेशन सक्षम होला ? पत्यारै लाग्दैन ।  

गणेशमान, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसादको बाटो बिपीभन्दा केही फरक छ । गणेशमान सिंहले राजनीतिक इन्जिनियरिङ गर्नुभएको हो, प्रजातन्त्रका लागि तीन दशकपहिले । वाममोर्चासँगको ‘एलायन्स’ सुविचारित थियो तिनताका । तर, गिरिजाप्रसादको माओवादीसँगको सहकार्य खासै सुविचारित र दूरगामी सोचको साबित हुन सकेन । तत्कालीन राजनीतिक परिस्थितिको उपज थियो यो सहकार्य । 

कांग्रेसले नअलमलिने एउटै बाटो समात्ने अपेक्षा गरौँ, चौधौँ माहाधिवेशनपछि । विचारहरू जति पनि फल्न र फुल्न सक्छन् । तिनै विचार अग्रगामी हुँदा पार्टी जीवन्त हुन्छ । पश्चगामी विचारका लागि त अन्य पार्टी छँदै छन् भूमिका खेल्न ।