१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर ७ आइतबार
  • Friday, 08 November, 2024
२o७७ मङ्सिर ७ आइतबार १o:१२:oo
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कांग्रेस र कम्युनिस्ट आत्महत्याको बाटोमा

Read Time : > 6 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर ७ आइतबार १o:१२:oo

नेकपाको लोभको झगडालाई जतिसुकै सैद्धान्तिक आवरण दिए पनि त्यसको मूलमा सांस्कृतिक र नैतिक विचलनको चिन्ता छैन

नेपाल–भारत सीमामा अवस्थित पूर्वी चम्पारण जिल्लाको मोतिहारी भन्ने ठाउँमा पाँच वर्षअगाडि एउटा ‘फकिर’ परिवार रातारात करोडपति परिवारमा रूपान्तरण भएको थियो । चम्पारण त्यही ठाउँ हो, जहाँ आजभन्दा झन्डै सय वर्षअघि एउटा फकिर पुगेका थिए, जसको नाम मोहनदास करमचन्द गान्धी थियो । उपनिवेशबाट मुक्त गर्न भारतको नेतृत्व गरिरहेको भारतीय राष्ट्रिय कंग्रेसमा मोहनदासको प्रवेशपूर्व यो पार्टी सहरिया उच्च र मध्यम वर्गको क्लब पार्टीजस्तो थियो, झन्डै आजको नेपालमा भएका कांग्रेस र कम्युनिस्ट पार्टीजस्तै । भारतका गरिब, मजदुर, किसान र गाउँको पार्टी भनी नयाँ परिचय दिने कामको थालनी मोहनदासले यही चम्पारण भन्ने ठाउँबाट प्रारम्भ गरेका थिए । मोहनदास यही क्रममा महात्मा गान्धी भए । उनकै नेतृत्वमा भारत स्वतन्त्र भयो । 

म यहाँ माहात्मा गान्धी र उनले चम्पारणमा गरेको किसान आन्दोलनबारे चर्चा गर्न गइरहेको छैन । मोतिहारीका फकिरबाट करोडपति भएका मुकेशकुमारको चर्चा यतिखेर नेपालको राजनीतिमा सान्दर्भिक हुन सक्ला भनी उनको विगत कोट्याउँछु । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा प्रधानमन्त्रीमाथि दर्ता गरेको अभियोगपत्र पढिरहँदा मलाई केही दिनअघि मुकेशकुमारको फेसबुक स्टाटसमा लेखिएका शब्दहरूसँग तालमेल मिल्न गएकाले उनको स्मरण आएको हो । भारतका महानायक भनी चिनिने अमिताभ बच्चनद्वारा सोनी टेलिभिजनमा सञ्चालन गर्ने ‘कौन बनेगा करोडपति’ कार्यक्रमबाट मुकेशकुमारले पाँच करोड जिते । मुकेशकुमारसँग सत्ता, सम्पत्ति र संसार अगाडि आयो, पाँच करोड जितेपछि । उनी ‘आम आदमी’बाट ‘खास आदमी’भए । बिए पढिरहेका मुकेश सेलिब्रेटी भए भारतमा । विहारका मुख्यमन्त्री नितीश कुमारले फोन गरेर उनीसँग भेट्ने इच्छा व्यक्त गरे । मुकेशको आन, बान र सान नै फेरियो। 

पैसा र सत्तासँगै मुकेशसँग नयाँ संस्कृति र संस्कार आयो । उनी सराबी, जुवाडी र लम्पटराम भए । मोतिहारी छाडे । मुम्बई र दिल्लीको आधुनिक संस्कृति तथा सभ्यतामा रमाए । श्रीमतीले अनेकन् प्रयत्न गरिन् कुसंगत छुटाउन, पुरानो संस्कृतिमा फर्काउन । तर, मुकेशले श्रीमती छाडे, कुसंगत छाडेनन् । पथभ्रष्ट भए । एकछिन टक्क अडिएर मुकेश र नेपालका नेताहरूबीच सांस्कृतिक रूपान्तरणमा आएको समानताबारे सोचौँ । चाकरीबाज र चाप्लुसीबाजबाट घेरिने क्रममा मुकेशकुमारले जितेको पाँच करोड सके । पैसा र ग्ल्यामर सकियो । साथीभाइ पनि क्रमशः उनीबाट टाढिए । यही क्रममा मुम्बईमा आश्रय दिइरहेकाले गलहत्याएर घरबाट निकाले । उनी अपराधबोध र अपमानको अनुभव बोकेर गाउँ मोतिहारी फर्किए । अब मुकेशकुमारसँग गुमाउने केही थिएन । मोतिहारीमा पनि उनलाई सम्मान थिएन । तर, पनि उनलाई सम्हाल्न उनको परिवार अगाडि आयो । मुकेश सुध्रिए, अहिले मोतिहारीमा शिक्षक छन् र साधारण जीवन व्यतीत गर्दै छन्, शान्तिपूर्वक । 

प्रचण्ड मात्र होइन, आज कुनै पनि दलका नेताको नैतिक शक्ति त्यो उचाइमा देखिँदैन, जसले पतनउन्मुख राजनीतिलाई फेरि ०४६ सालपूर्व स्थापित नेतामा देखिएको नैतिक शक्तिको केही अंश पनि फर्काउन सकून्
 

मलाई यो भनिरहँदा दुःख लागिरहेको छ कि नेपालका अधिकांश नेताको सांस्कृतिक विचलन मुकेशकुमारको भन्दा खतरनाक छ । प्रचण्डको प्रधानमन्त्रीमाथिको अभियोगपत्रको सबैभन्दा आकर्षक पक्ष नैतिक र सांस्कृतिक विचलनको लागेकाले मैले मुकेशकुमारलाई अगाडि सारे । अन्यथा मेरो आँखाअगाडि ती कैयन् परिवारको नैतिक र सांस्कृतिक विचलन नाचिरहेका छन्, जसलाई हामी नेता भन्छौँ । तिनको त्याग र बलिदानको महिमा गाउँछौँ । कांग्रेस र कम्युनिस्टभित्र कुसंस्कारी मुकेशकुमारहरूको संख्या धेरै छ । प्रश्न छ, के अब यिनलाई फेरि संस्कारी र शिक्षक बनाउन सम्भव छ ? जसरी मुकेशकुमारलाई उनको परिवारले बनायो । यो काम गाह्रो मात्र छैन, असम्भवझैँ देखिन्छ । 

भर्खरै कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा दर्ता गराएको प्रधानमन्त्रीविरुद्धको अभियोगपत्रमा कम्युनिस्ट पार्टीमा सांस्कृतिक विचलन आएको उल्लेख गरेका छन् । सांस्कृतिक रूपमा मात्र होइन, सभ्यताकै रूपमा कम्युनिस्ट–कांग्रेस दुवैमा विकराल विचलन आएको छ । संस्कृति र सभ्यतामा फरक के छ ? केही दशकअघिसम्म पनि नेपालको राजनीतिक केन्द्रमा धेरै नै फोहोर थियो । यो सिंहदरबारको सत्ता संस्कृति थियो । सिंहदरबारको कुर्सी क्रेजमा सांस्कृतिक विचलन नेताहरूमा यथेष्ट नागरिकको आँखा अगाडि आयो । यो विचलन यतिखेर झांगिएको छ र यसको विस्तार नेपालभरि भएको छ । भर्खरै नेकपाका नेता माधवकुमार नेपालले यसतर्फ चिन्ता प्रकट गरेका छन् । चिन्ता नेपालले भनेभन्दा धेरै नै भयावह छ, अहिले त राजनीतिमा प्रवेश गर्ने युवा चाहना नै त्यही सांस्कृतिक विचलनको आकर्षणबाट प्रेरित छ । 

विगत तीन दशकको यात्रामा संस्कृतिको यो विचलन नेपाली राजनीतिको सभ्यताझैँ भएर सहर, गाउँ, घर, राजनीतिक दल, गैरसरकारी संस्था र सरकारी निकायमा नयाँ उचाइ प्राप्त गर्न सफल भएको छ । राजनीतिक दलका नेतामा मात्र यस्तो विचलन आएको होइन, नेपालको नोकरशाहीमा देखिएको विचलन नेतामा भन्दा पनि बढी छ । शासक र प्रशासकको संस्कृतिको विचलन काठमाडौं खाल्डोबाट देशभरि फैलियो । अब विराटनगर, पोखरा, भैरहवाजस्ता सहर मात्र होइन, नेपालका हिमाल, पहाड र तराईमा पनि सांस्कृतिक विचलन व्यापक छ । अहिलेको पुस्ताले नयाँ पुस्तालाई तीव्र गतिमा राजनीतिमा केही हस्तान्तरण गर्र्दै छ भने त्यो हो– नैतिक र सांस्कृतिक पतन ।

कांग्रेस र कम्युनिस्टले निःसृत गरेको राजनीतिको फोहोरी सभ्यता अब सानोतिनो सुधारबाट सुध्रिने सम्भावना देखिँदैन । नेकपा नेता प्रचण्ड नैतिक शक्तिको त्यो सामथ्र्य राख्छन् जस्तो लाग्दैन, जसले नेपालको बिग्रिँदो राजनीतिलाई सुधार्न सकून् । प्रचण्डलाई प्रधानमन्त्री ओलीले निःसन्देह नैतिक र सांस्कृतिक विचलनको जवाफ ओठे रूपमा फर्काउने छैनन् । त्यो पढ्न रोचक हुनेछ । प्रचण्ड मात्र होइन, आज कुनै पनि दलका नेताको नैतिक शक्ति त्यो उचाइमा देखिँदैन, जसले पतनउन्मुख राजनीतिलाई फेरि ०४६ सालपूर्व स्थापित नेतामा देखिएको नैतिक शक्तिको केही अंश पनि फर्काउन सकून् ।

०४६ सालको परिवर्तनपछि विराटनगरको राजनीतिमा नयाँ संस्कृति देखा पर्‍यो । लामो समय आस्थाको राजनीति गर्ने र समाजमा सम्मानित व्यक्तिहरू राजकाजमा पुगे । राजकाजमा पुग्ने क्रममा सत्ताको संस्कृतिअनुरूप ती ढले, रूपान्तरित भए स्वभाविक रूपमा । तर, दुर्भाग्यले ती अधिकांश परिवार जो कुनै समय आस्था र सम्मानका पुञ्ज थिए, तिनको सन्तानको सांस्कृतिक विचलन भयानक भयो । सत्ता र सम्पत्ति परिवारमा आयो, सन्तान पुस्ताको संगत र संस्कारले नयाँ मोड लियो । अधिकांश सत्तामा पुग्ने घरका केटाकेटी बिग्रिए । घरकलह सामान्य कुरा भयो । विराटनगर सत्ताको केन्द्रमा थियो र यहाँ मात्र त्यस्तो भएको हो कि भन्ने मेरो मनमा जिज्ञासा उठ्यो । केही प्रसंगमा देश घुम्ने अवसर जुट्यो, कैयन् पटक ।

मेरो रुचि थियो, लोकतान्त्रिक परिवर्तनपछि सत्तामा पुग्ने परिवारका केटाकेटीको अवस्था बुझ्नेबारे । मैले भयानक विचलन भेटेँ नेपालभरि । केही अपवादबाहेक सन्तानको उद्दण्डता, उग्रता र पथभ्रष्टतालाई आस्थाको राजनीतिबाट देशको सत्ता सम्हाल्ने परिवारका मुली सन्तानको सांस्कृतिक पतनलाई सहयोग र समर्थन गर्ने वा टुलुटुलु हेर्ने भूमिकामा सीमित देखिए । कांग्रेस नेताका परिवारहरू जसरी पथभ्रष्ट भए, कम्युनिस्ट नेताका परिवार अझ वेगवान् गतिमा भ्रष्ट भएका हुन् भनी मैलै देशभरि चर्चा भएको पाएँ । कांग्रेसलाई बिग्रिन दशक लाग्यो भने कम्युनिस्ट अझ खासगरी तत्कालीन माओवादीका नेता र तिनका परिवारलाई दश महिना पनि लागेन भन्ने चर्चा सामान्य छ ।

देश निर्माणमा लाग्नुपर्ने कांग्रेस र कम्युनिस्ट नेताहरूले सत्ता प्राप्तिपछि आफ्नै साथीभाइसँग लड्दै समय खेर फाले र अझै फालिरहेकै छन् । कम्युनिस्ट पार्टीको एकता प्रक्रियाले पूर्णता पाएको छैन, झगडा सुरु मात्र भएन, यसले अन्तर्राष्ट्रिय आयाम समातेको बुझिन्छ । केही नेताको झगडा पार्टीका कार्यकर्ता, समर्थक र शुभेच्छुकको विषय पनि हुन सकेन । सामान्य कार्यकर्ताको निरीहता र कम्युनिस्ट सांसदको मौनताले नेपालको लोकतान्त्रिक आन्दोलन र वर्तमान संविधान धरापमा परेको प्रस्टै छ । नेकपाको लोभ–लालचको झगडालाई जतिसुकै सैद्धान्तिक आवरण दिए पनि त्यसको मूलमा पार्टीको सांस्कृतिक र नैतिक विचलनको चिन्ता छ भन्ने आधार छैन । त्यसैले होला प्रधानमन्त्री ओलीले त्यसलाई खारेज गर्छु भने । सर्पको खुट्टा सर्पले देख्छ भनिन्छ, नागरिकले त्यही बुझ्ने हो । पार्टीका कार्यकारी अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई हटाउन अनेकन् पटक यथेष्ट आरोप फेर्दै लगाउँदै गरेका छन् । आरोप स्थापित गर्न नसकेर प्रचण्ड पक्कै गलेका र निराश पनि होलान् । प्रचण्डको निराश र हतास हुने दिन अझै सकिएको छैन । अगाडि अझै उनले अपमान र बेइज्जती खेप्न बाँकी छ भनी अनुमान लगाउन सकिन्छ । 

संसदीय दलको बैठक राखी संवैधानिक तरिकाले सत्ताको शान्तिपूर्ण हस्तान्तरण गर्ने उपाय अपनाउन जाँगर देखाएको भए अहिले प्रचण्डले यस्तो अपमान व्यहोर्नुपर्ने थिएन । प्रचण्ड मात्र होइन, उनका पिछलग्गुझैँ देखिएका पूर्वप्रमद्वय र सचिवालयका अन्यले पनि प्रधानमन्त्री पदबाट कसरी मुक्त हुन्छन्, भनी संविधानमा लेखिएको प्रावधान पढ्न नभ्याएजस्तो छ । प्रधानमन्त्री ओलीलाई सचिवालय बैठकले नियुक्त गरेको हो र ? प्रधानमन्त्री के नेकपाको मात्र हुन्छ र ? प्रधानमन्त्रीलाई जुन ढंगले हटाउन खोजियो, त्यो विषय आजभन्दा तीन दशकअघि नेपाली कांग्रेसभित्र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादलाई हटाउन खोज्दा नै खरेज भइसकेको थियो ।

इतिहासबाट त केही शिक्षा लिनुपर्ने हो, त्यो पनि प्रचण्ड र उनका सहयोगीबाट देखिएन । सत्तापक्षको निबन्ध प्रतियोगिता जारी छ । प्रधानमन्त्रीलाई नेकपाको सचिवालयले आक्रामक निबन्ध लेख्न १० दिनको समय दिएको छ । प्रचण्ड थप मर्माहत हुनेछन् । कम्युनिस्ट पार्टीले बहुमत प्राप्त गरी केपी ओलीलाई प्रधानमन्त्री बनाएको दिनपछि प्रचण्ड त्यो पार्टीमा अस्वीकृतझैँ छन् । ट्र्याकले त्यही देखाउँछ । उनी गनगने र बोझिल लागेका होलान् प्रधानमन्त्री केपीलाई । निजी भेटघाटमा ओलीबाट सुगर कोटेड वाणीमा दंग परेका प्रचण्डलाई अहिले प्रधानमन्त्रीका तिनै वाणी, विषवाणी लाग्दो हो । 

अनुमान मात्र गर्न सकिन्छ, नेकपामा आएको तुफान चियाको कपमा आएकोझैँ हुनेछ । पार्टी नफुट्ला । केही लेखनदासलाई दुवै अध्यक्षद्वारा प्रेषित निबन्धको सार संक्षिप्त लेख्न र पार्टीमा अभूतपूर्व एकता कायम गरेको घोषणा गर्ने जिम्मेवारी आउला । नेपाली राजनीतिमा यस्ता नाटक पटक–पटक मञ्चन भइरहेकाले अहिले पनि त्यही हुने अनुमान गर्न सकिन्छ । यसपटक नाटक मञ्चनमा केही फरक दृश्य दखिएको छ । नेपाली कांग्रेस प्रतिपक्षमा भएर पनि सत्तापक्षलाई कुनै आरोप लगाउन जाँगर देखाइरहेको छ्रैन । नेकपाको प्रतिपक्ष पनि नेकपा नै हुँदै गर्दा कांग्रेसको वर्तमान भूमिकाले यसको भविष्यप्रति चिन्ता भने जगाउँछ । देशमा कोरोनाको सुनामी आएको छ । कोरोनाको सुनामीसँगै बेरोजगारी र गिर्दाे अर्थतन्त्रको सुनामीबाट युवा आक्रोश सडकमा आउने नै छ ।

भ्रष्टाचारको सुनामीले देशमा छाएको नैराश्यलाई प्रतिपक्षले नदेखे पनि आमनागरिक सडक तताउन फेरि व्यग्र छन् । कुनै पनि नेता र पार्टी चौबीस क्यारेटको शुद्ध हुँदैन । कांग्रेस पनि छैन, तर कांग्रेसले ओलीलाई समर्थन गर्ने नाममा प्रतिपक्षको भूमिकाबाटै आफूलाई अलग्गै राख्नु भनेको वर्तमानमा मात्र होइन, भविष्यप्रति पार्टी नेता लापर्बाह भएको ठहर्छ । कांग्रेसमा सबै अब ‘स्लिपिङ पार्टनर’जस्ता नेता देखिन्छन् । झन्डै ४० लाख नेपाली बेरोजगार हुँदा पनि विगतका मूर्धन्य अर्थविज्ञको मुखमा टेप लागेको देख्दा उदेक लाग्छ । सबै प्रतिपक्षको काम कम्युनिस्टभित्र कम्युनिस्ट मात्रले गर्ने हो भने नेपालको संविधानमा व्यवस्था गरेको बहुदलीय प्रजातन्त्र किन चाहियो ? नेपालको राजनीतिलाई एकदलीय प्रणालीमा लग्ने कम्युनिस्टको भित्री इच्छालाई कांग्रेस सफलीभूत गर्न अग्रसर भएको हो ?

अन्त्यमा, मुकेशकुमार मोतिहारी फर्किए । शिक्षकको रूपमा सम्मानित साधारण जीवनमा फर्किए । कांग्रेस कम्युनिस्टले कुन बाटो रोज्ने ? अहिले सामूहिक आत्महत्याको बाटोतर्फ अग्रसर छन् । युवा ऊर्जा सडकबाट छिनोफानो गर्न कुनै समय पनि विस्फोट हुन सक्छ । यो बाटो हिँड्दा संविधान जोगिँदैन, लोकतन्त्र खतरामा परि नै सक्यो । कम्युनिस्टहरू अब भूमिगत हुन सक्दैनन् । यिनको नैतिक र सांस्कृतिक रूपान्तरण भइसक्यो । कांग्रेसीको अब प्रवास र जेल जान सम्भव छैन, किनकि राजनीतिक भूमिकामा उसको उपादेयता स्लिपिङ पार्टनरको छ । कांग्रेसका अधिकांश नेताहरू ऊर्जाविहीन, थकित र गलित छन् । चुनावमा यसो तंग्रिन्छन् अनि सुत्छन् । तसर्थ, सबैको सम्मानको बाटो भनेको दल र तिनका नेता अलि–अलि सुध्रिए पुग्छ । २४ क्यारेट राजनीतिको चाहना जनता र कार्यकर्तालाई कहाँ छ र ? तर, १३ क्यारेटसम्म त होस् ।