
वीर अस्पतालमा १८ शय्याको आइसियू वार्ड स्थापना एवं सञ्चालनका लागि चौधरी फाउन्डेसन र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) बीच सम्झौता भएको छ । समझदारीपत्रमा मंगलबार फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्रा.डा. देवनारायण शाहले हस्ताक्षर गरेका छन् ।
वीर अस्पतालमै नबिल बैंकले अक्सिजन प्लान्ट स्थापना गरिदिने भएको छ । अक्सिजन प्लान्ट स्थापनाका लागि नबिल बैंकका सिइओ अनिलकेशरी साह र नाम्सका उपकुलपति शाहले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटर–प्रतिघन्टा रहने अर्थात् १ दिनमा ४० लिटर क्षमताका १ सय ५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ । सरकारले वीर अस्पताललाई ‘केन्द्रीय कोभिड अस्पताल’ घोषणा गरेको छ ।
फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले आक्रान्त मुलुकलाई जिम्मेवार कर्पोरेट नागरिकका रूपमा सहयोग गर्न पाउँदा सन्तोष लागेको बताए । ‘कोरोनालाई परास्त गर्न हाम्रो संयुक्त प्रयास आवश्यक छ,’ उनले भने, ‘हरेक नागरिक, सामाजिक संघ–संस्था, कर्पोरेट हाउस अहिले एकजुट भएर सार्वजनिक अस्पतालहरूसँग सहकार्य गर्दै अत्यावश्यक पूर्वाधार निर्माणमा सरिक हुनुपर्ने वेला आएको छ ।’
नाम्सका उपकुलपति शाहले चौधरी फाउन्डेसनले निर्माण गरिदिने आइसियू वार्डले सयौँ कोरोना बिरामीलाई जीवनदान दिने विश्वास व्यक्त गरे । नबिल बैंकका सिइओ शाहले अब केन्द्रीय कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुने वातावरण तयार हुने विश्वास व्यक्त गरे । उनले भने, ‘जताततै अक्सिजनको हाहाकार भइरहेको खबरले हामीलाई मर्माहत बनाइरहन्छ । त्यसैले पहिले अक्सिजनकै व्यवस्थापनमा लागेका हौँ ।’
वीर अस्पतालको नयाँ भवनलाई अक्सिजन प्लान्टसहितको अत्याधुनिक आइसियू वार्ड बनाउन चौधरी फाउन्डेसन र नबिल बैंकले पहलकदमी गरेको चौधरी ग्रुपका प्रवक्ता मधुसूदन पौडेलले जानकारी दिए ।