१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
अर्जुन अधिकारी काठमाडाैं
२o८१ जेठ ७ सोमबार o६:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कोटा प्रणाली हटेपछि अक्सिजन आपूर्ति केही सहज 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o६:१३:oo

सिसिएमसीले कोटा प्रणाली तोक्दै अक्सिजन आपूर्ति भद्रगोल बनाउँदा गत साता ठूलो संख्यामा कोरोना संक्रमितले ज्यान गुमाए

- कैलालीको टीकापुर अस्पतालमा गत २७ र २८ वैशाखमा अक्सिजन अभावमा १२ जना कोरोना संक्रमितको मृत्यु भयो । बिरामीको चापअनुसार अक्सिजन उपलब्ध नहुँदा संक्रमितले ज्यान गुमाउनुपरेको थियो । २९ वैशाखमै महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पतालमा पनि अक्सिजन सकिएर पाँचजनाको मृत्यु भयो । 

- अक्सिजन अभावकै कारण २९ वैशाखमा नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत ६ संक्रमितले ज्यान गुमाए । बिहान आठ बजेदेखि करिब आधा घन्टा अक्सिजन आपूर्ति बन्द हुँदा छटपटिँदै बिरामीको इहलीला समाप्त भयो । 

- २९ वैशाखमा अक्सिजन अभावका कारण रुपन्देहीमा नौजनाले ज्यान गुमाए । बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा पाँच र भैरहवाको भीम अस्पतालमा उपचाररत चारजनाले ज्यान गुमाएका थिए । भीम अस्पतालमा केहीबेर अक्सिजन आपूर्ति बन्द भएको थियो ।

- ३० वैशाखको राति राष्ट्रिय ट्रमा सेन्टरमा अक्सिजन सकिएपछि बिरामी र कुरुवाको रुवाबासी मच्चियो । चिकित्सकहरू पनि भयभित भए । सेन्टरका निमित्त निर्देशक डा. सन्तोष पौडेल अक्सिजनको खोजीमा रातभर उद्योग घुमे, तर पाएनन् । अन्ततः अक्सिजन अभावका कारण त्यो राति ट्रमा सेन्टर र वीर अस्पतालमा १४ बिरामीले ज्यान गुमाए । 

...                                ...

कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कोटा प्रणाली तोक्दै अक्सिजन आपूर्ति भद्रगोल बनाएपछि कोरोना संक्रमणबाट गत साता मृत्यु भएका यी केही उदाहरण मात्रै हुन् । अक्सिजन अभावका कारण त्यो साता ठूलो संख्यामा संक्रमितले ज्यान गुमाए । तर, स्वास्थ्य मन्त्रालयले पुनः जिम्मा लिएपछि अक्सिजन आपूर्ति केही सहज भएको छ । मन्त्रालयले कोटा प्रणाली पनि खारेज गरेको छ । 

सिसिएमसीले स्वास्थ्य मन्त्रालयको काममा हस्तक्षेप गर्दै गत २७ वैशाखमा अक्सिजन आपूर्ति र व्यवस्थापनको जिम्मा आफैँ लिएर कोटा प्रणाली लागू गरेको थियो । सेना र प्रहरीले अस्पतालहरूले प्रयोग गर्दै आएका सिलिन्डर अक्सिजन उद्योगबाट नियन्त्रणमा लिन थालेका थिए । सिसिएमसीको निर्णयपछि अस्पतालहरूमा अक्सिजनको चरम अभाव हुन थालेको थियो, जसले गर्दा पछिल्लो साता संक्रमणबाट मृत्यु हुनेको संख्यासमेत बढेको थियो । 

सिसिएमसीले कोटा प्रणाली लागू गरेको एक सातामा संक्रमणबाट एक हजार दुई सय ८१ जनाको मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २७, २८, २९, ३० र ३१ वैशाखमा क्रमशः एक सय ३९, दुई सय २५, एक सय ६८, दुई सय १४ र दुई सय तीनजनाको मृत्यु भएको थियो । त्यस्तै, १ जेठमा एक सय ८७ र २ जेठमा एक सय ४५ जनाको मृत्यु भएको थियो । २८ वैशाखमा मृत्युदर १.०५ प्रतिशत पुगेको थियो, जुन कोरोनाको दोस्रो लहरयताको सबैभन्दा धेरै हो । 

सिसिएमसीले हचुवाका भरमा अक्सिजनको कोटा निर्धारण गरेको भन्दै निजी तथा सामुदायिकसँगै सरकारी अस्पतालहरूले स्वास्थ्य मन्त्रालयसँग असन्तुष्टि जनाएका थिए । चौतर्फी विरोध भएपछि चार दिनमै सिसिएमसीले अक्सिजन व्यवस्थापनबाट हात झिकेको थियो ।

अहिले स्वास्थ्य मन्त्रालयले अक्सिजन सहजीकरणका लागि ११ तहका सहसचिव डा. प्रकाश शाह र डा. रोशन न्यौपानेको नेतृत्वमा दुईवटा छुट्टाछुट्टै टिम बनाएको छ । अस्पतालहरूले विगतमा जुन उद्योगबाट अक्सिजन लैजाने गरेका थिए तिनै उद्योगबाट आपूर्ति हुने व्यवस्था मिलाइएको छ । 

ट्रमा सेन्टरका निमित्त निर्देशक डा. सन्तोष पौडेलले अहिले अक्सिजनमा केही सहजता भएको बताए । ‘सिसिएमसीले कोटा निर्धारण गर्दा अक्सिजनको चरम अभाव भएको थियो,’ उनले भने, ‘अहिले स्वास्थ्य मन्त्रालयले नै जिम्मा लिएर कोटा प्रणाली हटाएपछि केही सहज भएको छ ।’ पाटन र वीर अस्पताल तथा निजी अस्पतालहरूले पनि अक्सिजनमा केही सहज अनुभूति भएको बताएका छन् । 

स्वास्थ्य मन्त्रालयका सहसचिव डा. प्रकाश शाहका अनुसार अस्पतालहरूमा संक्रमितको संख्या हेरेर अक्सिजन आपूर्ति गर्न थालिएको छ । उनका अनुसार १० जना संक्रमित आइसियूमा भर्ना भएको अस्पताललाई २४ घन्टामा २१ वटा सिलिन्डर उपलब्ध हुने व्यवस्था मिलाइएको छ । त्यस्तै, एचडियूमा ५० जना संक्रमित भर्ना भएको अस्पतालमा २४ घन्टामा ८१ वटा सिलिन्डर दिइएको छ । ‘अस्पतालमा कति बिरामी छन् र उनीहरूलाई कति सिलिन्डर आवश्यक पर्छ भन्ने मापदण्डका आधारमा उपलब्ध गराउँदा अभाव घट्दै गएको छ,’ डा. शाहले भने, ‘तर, अहिले पूरै सहज भयो भन्नचाहिँ मिल्दैन ।’

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि 

नेपालमा कोरोना संक्रमणका तीनवटा भेरियन्ट सक्रिय रहेको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा देशका विभिन्न भागबाट संकलन गरिएका ३५ नमुनाको जिन सिक्वन्सिङ गर्दा नयाँ भेरियन्ट पनि पत्ता लागेको जनाएको छ ।

गत हप्ता संकलन गरिएका ती नमुना विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को समन्वयमा जिन सिक्वन्सिङ गरिएको थियो । मंगलबार त्यसको रिपोर्ट आएको मन्त्रालयले जनाएको छ । ‘९७ प्रतिशत (३४ नमुना) मा बी १.६१७.२ र तीन प्रतिशतमा बी १.६१७.१ पुष्टि भएको छ । यससँगै हालसम्म नेपालमा परिवर्तित भाइरससहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको छ,’ मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । 

विश्व स्वास्थ्य संगठनले १० मे ०२१ मा अहिले पुष्टि भएको नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरिसकेको छ । ‘हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको छ,’ मन्त्रालयले भनेको छ, ‘त्यसैले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न–गराउन भूमिका बढाउन सबैको जानकारीका लागि विनम्र अपिल गर्दछौँ ।’

ad
ad