१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शान्ति तामाङ काठमाठौं
२०७८ जेठ ३ सोमबार ०६:३३:००
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सक्रियता बढाउँदै उपत्यकाका स्थानीय तह

Read Time : > 5 मिनेट
शान्ति तामाङ, काठमाठौं
२०७८ जेठ ३ सोमबार ०६:३३:००

कोरोना संक्रमितको उपचारका लागि काठमाडौं महानगरले गर्‍यो १२ वटा अस्पतालसँग सम्झौता, ललितपुर महानगरद्वारा बागडोलमा एक सय १० शैयाको आइसोलेसन केन्द्र सञ्चालन

ललितपुर महानगरपालिकाले बागडोलमा सञ्चालनमा ल्याएको एक सय १० शैयाको आइसोलेसन केन्द्र

कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि तीव्र रूपमा फैलिरहेको छ । गत वर्षभन्दा यसपटक संक्रमणदर र मृत्युदर दुवै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर सात हजार तीन ६८ मा संक्रमण पुष्टि हुँदा एक सय ४५ जनाको मृत्यु भएको छ । थपिएका संक्रमितमध्ये उपत्‍यकामा मात्र दुई हजार ६ सय नौजना छन् । काठमाडौंमा एक हजार आठ सय ८१, ललितपुरमा चार सय ३६ र भक्तपुरमा दुई सय ९२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

 थप तीन अस्पतालसँग काठमाडौं महानगरको सहयोग सम्झौता
देशकै सबैभन्दा धेरै जनघनत्व भएको काठमाडौं महानरपालिकाले कार्यपालिकाको बैठक राखेर विभिन्न चरणमा नीतिगत निर्णय गरेर काम गरिरहेको छ । काठमाडौं महानगरले कोरोना संक्रमितलाई सहज उपचारका लागि थप तीन अस्पतालसँग सहयोग सम्झौता गरेको छ । शनिबार सम्झौता भएका अस्पतालहरूमध्ये सहिद गंगालाललाई पाँच थान भेन्टिलेटर, शुक्रराज ट्रपिकल अस्पताललाई १० बेडको स्टाफ अब्जर्भेसन कक्ष स्थापनाका लागि करिब ११ लाख रुपैयाँ नगद र १० हजार थान अट्राक्टस किट खरिद गर्दाको बिलबमोजिम भुक्तानी गर्नुपर्ने रकमबराबर अनुदान सहयोग गरेको छ ।

काठमाडौं महानगरले संक्रमितको उपचार सहज होस् भनेर सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालसँग सम्झौता गरेको हो । यसअघि ३१ वैशाखमा सातवटा, २४ र २७ वैशाखमा एक–एक गरी काठमाडौं महानगरले १२ वटा सरकारी र सामुदायिक अस्पतालसँग सम्झौता गरिसकेको छ । महानगरले २५ वैशाखमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई १० थान भेन्टिलेटर उपलब्ध गराइसकेको छ ।

२७ वैशाखमा नरदेवी आयुर्वेदिक अस्पतालसँग अक्सिजनसहितको एचडियू (हाई डिफिसेन्सी युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन सम्झौता गरेको थियो । २८ वैशाखमा महानगरले सरकारी र सामुदायिक अस्पतालका प्रमुख तथा प्रतिनिधिहरूलाई बोलाएर बढ्दो कोभिड संक्रमणविरुद्ध लड्न कस्तो सहयोग आवश्यक पर्छ भनेर सोधेको थियो । यसपछि अस्पतालहरूले आफ्नो क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनका लागि सहयोग माग गरेका थिए । अस्पतालहरूको मागअनुसार सम्झौता गरिएको हो ।

सम्झौताअनुसार महानगरको लगानीमा सामाखुसीमा रहेको राधा स्वामी सत्संग व्यासको भवनमा अक्सिजनसहितको दुई सय बेडको आइसोलेसन केन्द्र र क्षेत्रपाटी निःशुल्क चिकित्शालयमा ३५ बेडको कोभिड अस्पताल सञ्चालन हुनेछ । त्यसैगरी, विभिन्न अस्पतालले ४२ वटा भेन्टिलेटर, ५० थान मोनिटर, १० थान कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप), १० थान वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी–प्याप), १० हजार थान अट्राक्सन किटसहित उपकरण प्राप्त गर्नेछन् ।

यस्तै, स्टाफ अब्जर्भेसन, भौतिक संरचना मर्मत–सम्भार र व्यवस्थापनका लागि आर्थिक अनुदान प्राप्त गर्नेछन् । महानगरले अनुदान दिएका अस्पतालहरूले आफूले दैनिक दिएको सेवाको विवरण महानगरलाई हरेक दिन पठाउनुपर्छ । यस्तै खर्च र लेखा परीक्षण प्रचलित कानुनले दिएको अधिकारबमोजिम गर्नुपर्छ । लेखा परीक्षणको प्रतिवेदन महानगरलाई पनि बुझाउनुपर्छ । यसैगरी, महानगरको सहयोगमा खरिद गरिएका उपकरणमा ‘काठमाडौं महानगरको सहयोगमा’ लेख्नुपर्नेछ । 

‘कोरोना भाइरसको उपचारलाई प्रभावकारी बनाउने र संक्रमणको दर घटाउने दुवै कामलाई समान प्राथमिकता दिएर काम गर्नुपर्ने अवस्था छ । हाम्रो चाहना भेन्टिलेटर खरिद गर्नुभन्दा संक्रमण घटाएर स्वच्छ समाज निर्माण गर्नु हो । तर, महामारी फैलियो । अबको आवश्यकता भनेको अस्पतालमा भार घटाउनु नै हो,’ महानगर प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘महामारीको जोखिम घटाउन सरकार, अस्पताल र नागरिक सबैको समान दायित्व छ । सबैले आ–आफ्नो दायित्व पूरा गर्ने हो भने खतरालाई चाँडै नियन्त्रणमा लिन सकिन्छ ।’

काठमाडौं महानगरले स्थापना गरिदिएको अक्सिजन प्लान्टका कारण अहिले गंगालाल अस्पतालले अक्सिजन खोज्न हिँड्नुपरेको छैन । गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले यो विषम परिस्थितिमा अस्पताललाई अक्सिजन खोज्न बाहिर जानु नपर्ने बनाउनु महानगरको सहयोग वास्तवमै अनुकरणीय रहेको बताए । ‘अब भेन्टिलेटर प्राप्त हुने भएको छ । यसको प्रयोगले अहिले कोभिडका बिरामी र पछि मुटुको शल्यक्रिया गरेका बिरामीलाई जीवन रक्षा गरिनेछ,’ उनले भने । अधिकारीका अनुसार अस्पतालले विरामीसँग अक्सिजन र भेन्टिलेटरको अतिरिक्त शुल्क लिने गरेको छैन । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको समस्या अरूभन्दा भिन्न छ । अन्यत्र कतै पनि भर्ना नपाएका कोरोनाका बिरामी टेकु पुग्ने गरेका छन् । त्यसैले अस्पतालको प्यासेजमा राखेर संक्रमितको उपचार हुँदै आएको छ । ‘अन्यत्र भर्ना हुन नसकेका बिरामी हामीकहाँ आउनुहुन्छ । ठाउँ नहुँदा हामीलाई बेड चाहिँदैन, बाहिरै भए पनि अलिकति अक्सिजन सुँघ्न पाए हुन्छ भन्नुहुन्छ,’ अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले भने, ‘विकास समितिअन्तर्गत चलेको यो अस्पतालका केही कर्मचारीहरूको सेवा कसरी उपलब्ध गराउने भन्ने अस्पताललाई यो चिन्ता छ । नियमित आय छैन । अहिले महानगरबाट सहयोग पाएपछि आशा बढेको छ । हौसला मिलेको छ । यसप्रकारको सहयोग निरन्तर हुन्छ भन्ने अपेक्षा पनि छ ।’

 ललितपुर महानगरका २९ वडामै खोपकेन्द्र 
कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाउने ठाउँ व्यवस्थापन गर्न ललितपुर महानगरको आइतबार कार्यपालिका बैठक बसेको छ । महानगरका प्रमुख चिरिबाबु महर्जनका अनुसार बैठकले कोरोनाविरुद्धको खोप लगाउने ठाउँको व्यवस्थापनका लागि प्रत्येक वडा कार्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । ‘६ देखि १३ जेठसम्म महानगरमा खोप लगाउन प्रत्येक वडा कार्यालय वा वडाले धेरै वडाबासीलाई पायक पर्ने पार्टी प्यालेस र स्कुललाई पनि खोप केन्द्र बनाउनेछन् । यसका लागि हामी सार्वजनिक सूचना नै जारी गर्दै छौँ,’ मेयर महर्जनले भने । 

सोमबार विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाविरुद्ध लड्न थप रणनीति बनाउने भएको छ । जिल्ला खोप समन्वय तथा अनुगमन समितिको शुक्रबारको निर्णयअनुसार महानगरभित्र गत २५ देखि २८ चैतसम्म खोप लगाएकाले ६ जेठमा खोप लगाउन सक्नेछन् । २९ देखि ३१ चैतसम्म खोप लगाएकाले दोस्रो चरणको खोप ७ गते लगाउन सक्नेछन् । १ देखि ४ वैशाखसम्म खोप लगाएकाले ९ जेठ, ५ देखि ९ वैशाखसम्म लगाएकाले १० जेठ, १० देखि १३ वैशाखसम्म लगाएकाले ११ जेठ, १४ वैशाखमा लगाएकाले १२ जेठ र १५ वैशाखमा लगाएकाले १३ जेठमा खोप लगाउन सक्नेछन् । महानगरले आवश्यकताअनुसार वडामा एकभन्दा बढी खोपकेन्द्र पनि बनाउने भएको छ ।

ललितपुर महानगरपालिकाले पनि ज्यापू समाजले बनाएको वृद्धाश्रममा एक सय १० शैयाको आइसोलेसन केन्द्र सुरु गरिसकेको छ । ललितपुर महानगरपालिका, ज्यापू समाज र सुन्दर ढोका साथी सेवाबीच त्रिपक्षीय सम्झौतापछि केन्द्र सुरु भएको हो । सम्झौतापत्रमा महानगरको तर्फबाट मेयर चिरिबाबु महर्जन, ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जन, सुन्दर ढोका साथी सेवाका कार्यकारी निर्देशक विकास अधिकारीले हस्ताक्षर गरेका छन् । ओइसोलेसन केन्द्रमा रहने कोरोना संक्रमितका लागि सुन्दर ढोका साथी सेवाले खाना उपलब्ध गराउनेछ । ‘मदन स्मारक विद्यालय परिसरमा रहेको ठूलो हललाईसमेत आइसोलेसन सेन्टर बनाउन तयारी गरेका छौँ । तर, त्यस्तो अवस्था नआओस्, सुरु गर्न नपरोस्,’ मेयर महर्जनले भने ।

 चन्द्रागिरि नगरपालिकाले मेयर र उपमेयरको सवारीलाई बनायो एम्बुलेन्स
दक्षिणकाली नगरपालिकाले मेयर र उपमेयर चढ्ने सवारीलाई एम्बुलेन्स बनाएको छ । कोरोना महामारीको अवधिभर मेयर मोहन बस्नेत र उपमेयर बसन्ती तामाङले प्रयोग गर्दै आएको सवारीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्ने नगरपालिकाले जनाएको छ । यसैगरी, टोखा नगरपालिकाका मेयर र उपमेयरले पनि आफूले प्रयोग गर्दै आएको सवारीलाई नगरबासीको सेवाका लागि प्रयोग गर्दै आएका छन् ।

नगरपालिकामा कोरोना संक्रमितको संख्या बढिरहेको भन्दै नगरप्रमुख प्रकाश अधिकारी र उपमेयर ज्ञानमाया डंगोलले आफूले चढ्दै आएको गाडी नगरबासीको सेवाका लागि नगरमा प्रशासनिक कार्य गर्न सहज होस् भन्ने उद्देश्यले प्रयोग गर्न दिएका छन् । यसअघि नगरपालिकाले अक्सिजनसहित आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइसकेको छ ।

नगरपालिकाको वडा नम्बर २ स्थित टोखा प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजनसहित १५ शøयाको आइसोलेसन सेन्टर निर्माण गरिएको हो । कोरोना महामारी अवधिभर गर्भवती, सुत्केरी, दीर्घरोगी, डाइलासिस गर्नुपर्ने बिरामीलगायतका अन्य नन्कोभिड बिरामीका लागि चन्द्रागिरि नगरपालिकाले भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टर प्रालिको सहकार्यमा काठमाडौं उपत्यकाभर २४सै घन्टा निःशुल्क सवारीको व्यवस्था गरेको छ । योबाहेक नगरपालिकाले खोप केन्द्र तोक्ने, आइसोलेसन निर्माण गर्नेलगायतका कामसमेत गरिरहेको छ ।

 नागार्जुनमा अक्सिजनसहितको  ४० बेडको क्वारेन्टिन
नागार्जुन नगरपालिकाले २ जेठबाट खोप लगाउन थालेको छ । योबाहेक नगरपालिकाले १ र ८ नम्बर वडामा ४० बेडको क्वारेन्टिनलाई सञ्चालनमा ल्याएको छ । जहाँ अक्सिनसहितको बेडको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । १० वटै वडामा निःशुल्क एम्बुलेन्स र शववाहनको व्यवस्था गरेको छ । प्रत्येक वडामा भएका स्वास्थ्य केन्द्रलाई २४सै घन्टा सेवा दिनेगरी सञ्चालनमा ल्याएको छ । जनप्रतिनिधि, स्वास्थ्यकर्मी, क्लब, सेना, प्रहरीसँग समन्वय गरेर काम भइरहेको नगरप्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिए । ‘जनचेतनाका कामबाहेक हामीले कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न खालका तयारी गरेका छौँ,’ उनले भने ।

ललितपुरको गोदावरी नगरपालिकाले १३ नम्बर वडामा रहेको भलि पुचः पार्टी प्यालेसमा कोभिड बिरामीका लागि तयार पारिएको अक्सिजनसहितको आइसोलेसन कक्ष ३० वैशाखदेखि नै सञ्चालनमा ल्याएको छ । आइसोलेसन कक्ष सञ्चालनका लागि कोरोना संक्रमितलाई ओसारपसार गर्न छुट्टै एम्बुलेन्सको व्यवस्था गरिएको छ । कागेश्वरी मनहरा नगरपालिकाले पनि मूलपानीमा रहेको नगर अस्पतालमा आइसोलेसन वार्ड निर्माण गरिसकेको छ । 

मध्यपुरथिमि नगरपालिकाले नेपाल–कोरिया मैत्री अस्पतालमा स्थापना गरेको एयरबेस अक्सिजन प्लान्ट
 

मध्यपुरथिमि नगरपालिकाले थाल्यो अक्सिजन उत्पादन
भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले ६५ लाख रुपैयाँको लागतमा नेपाल–कोरिया मैत्री अस्पतालमा स्थापना गरेको एयरबेस अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन थालेको छ । ३१ वैशाखबाट सञ्चालनमा आएको प्लान्टबाट दैनिक ३० देखि ३२ सिलिन्डर अक्सिजन उत्पादन हुनेछ । एयरबेस अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गरी परीक्षण सफल भएको छ । अक्सिजन उत्पादन र वितरण थालेको नगरपालिकाले जनाएको छ ।

एकीकृत रूपमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने प्रस्ताव
उपत्यका नगरपालिका फोरमले एकीकृत रूपमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने प्रस्ताव गरेको छ । कोभिड संकट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेटेर यस्तो प्रस्ताव गरिएको फोरमका उपाध्यक्ष चिरिबाबु महर्जनले बताए ।

उनका अनुसार उपत्यकाको १८ नगरपालिकामध्ये काठमाडौं महानगरले ३४, लतिलपुर महानगरले १६ र बाँकी ५० प्रतिशत अन्य नगरपालिकाले व्यहोर्ने गरी आइसोलेसन सेन्टर बनाउन प्रस्ताव गरिएको हो । ‘उपत्यकाभित्रका धेरै ठाउँमा १०–२० बेडको आइसोलेसन सेन्टर बनाउनुभन्दा तीन–चार सय बेडकै एकीकृत आइसोलेसन बनाउनु राम्रो हुन्छ भनेर हामीले प्रस्ताव राखेका छौँ,’ उनले भने, ‘उहाँ सकारात्मक हुनुभएको थियो । तर, अहिलेसम्म कार्यान्वयनका लागि कुनै पहल भएको छैन ।’