१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
मिलन पाण्डे काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o९:४o:oo
Read Time : > 8 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

अनलाइन कक्षालाई कसरी प्रभावकारी बनाउने ?

समय–सापेक्ष

Read Time : > 8 मिनेट
मिलन पाण्डे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:४o:oo

अनलाइन कक्षाको सबभन्दा ठूलो समस्या शिक्षक–विद्यार्थीको प्रत्यक्ष सम्बन्ध एवं आत्मीयताको अभाव हो, शिक्षकले यसमा एकदमै ध्यान दिनुपर्छ 

सबै विद्यार्थीलाई कुनै पनि हालतमा शिक्षा दिलाउने जिम्मेवारी राज्यको नै हो । गत वर्ष कोरोना कहरको पहिलो लहरको बखत म संसारका अरू ठाउँमा के हुँदै छ भनेर अध्ययन गर्दै थिएँ । आम्स्टर्डमको एलन टर्निङ प्राइमरी स्कुलले कोरोना संक्रमण फैलिनेबित्तिकै अनलाइन कक्षा सुरु गर्‍यो । स्कुलमा १९० मध्ये २८ विद्यार्थीले अनलाइन कक्षामा आउन नपाएपछि उनीहरूका लागि स्कुलले हप्तामा तीन दिनका लागि पूर्ण सुरक्षासहित स्कुलको ढोका खोल्यो । त्यसमा पनि १३ जना विद्यार्थी स्कुल आउन नपाएपछि विद्यार्थीकै छिमेकी र स्वयंसेवकहरूलाई परिचालन गरेर उनीहरूको पढाइको व्यवस्था गरियो । उनीहरूले विद्यार्थीको शिक्षा तल–माथि नपरोस् भनेर पूर्ण प्रतिबद्धता व्यक्त गरे । 

यो उदाहरणमा मैले छलफल गर्न चाहेको विषय भनेको राज्यले विद्यार्थीको सिकाइलाई कसरी प्राथमिकतामा राखेको छ भन्ने हो । हाम्रो राज्यसँग स्रोत साधनको कमी रहेकामा हामी सबै जानकार छौँ, तर मलाई सधैँ हाम्रो राज्यसँग स्रोत साधनभन्दा इच्छाशक्तिको कमी रहेको र त्यो जिम्मेवारी वहन गर्ने उत्तरदायित्वमा कमी रहेको महसुस हुन्छ । 

कोरोना कहरले फेरि स्कुलहरू बन्द छन् । सेयर कास्ट इनिसियटिभले अघिल्लो वर्ष गरेको अध्ययनअनुसार करिब ३० प्रतिशत विद्यार्थी मात्र अनलाइन शिक्षाको पहुँचमा छन् । यो वर्ष केही थपिए होलान्, तर ठोस प्रगति हुन सकेको छैन । अनलाइन कक्षामा बाँकी ७० प्रतिशत किन छैनन्, राज्यले खोजेको, चासो देखाएको र ल्याउने पर्याप्त प्रयत्न गरेको छैन । यो राज्यको गैरजिम्मेवारी हो । आज म यो आलेखमा यी विषयमा प्रवेश गर्दिन, अनलाइन कक्षा कसरी प्रभावकारी गराउन सकिन्छ भनेर छलफल गर्न चाहन्छु । महामारीबीच अहिले अनलाइन शिक्षाको विकल्प हामीमाझ छैन । तर, अहिले भइरहेका अनलाइन कक्षाहरू पनि प्रभावकारी ढंगबाट सञ्चालन भइरहेका छैनन् ।

कक्षाकोठाविनाका कक्षा : हामीले बुझ्न जरुरी छ, कोरोना कहरसँगै शिक्षामा पनि नयाँ युगको सुरुवात भएको छ । शिक्षाको यो नयाँ युग हामी सबैका लागि नयाँ छ । घरमा बसेर पढ्नु–पढाउनु सजिलो विषय होइन । घरको जिम्मेवारी निभाउँदै पढ्नु अनि पढाउनु सजिलो पक्कै छैन । झन् यस्तो माध्यम जहाँ विद्यार्थी देखिँदैनन्, एउटा डिभाइसलाई हेरेर पढ्नुपर्छ वा पढाउनुपर्छ, त्यो माध्यमबाट सिक्नु सजिलो विषय होइन । 

कक्षाको अन्त्यमा आज के पढाइ भयो, विद्यार्थीले के गर्न सक्छन्, शिक्षकले कक्षामा सारांश प्रस्तुत गर्न जरुरी हुन्छ । विद्यार्थीलाई अन्तिम पाँच मिनेटमा आज मैले के पढेँ ? के राम्रो भयो ? के कुरामा मजा आयो ? के भएन ? के समस्या आयो ? लेख्न लगाउन जरुरी छ ।
 

नयाँ माध्यम, नयाँ परिस्थिति, नयाँ उपकरण, धेरै च्याट ग्रुप, ई–हाजिरी, राइटिङ प्याड, विभिन्न भिडियो आदि शिक्षकहरूका लागि सजिलो विषय हुँदै होइन । तर, शिक्षकहरूसँग यी सबैसँग अभ्यस्त हुनुको विकल्प पनि छैन । कहिले इन्टरनेट जान्छ, कहिले ह्याङ हुन्छ, कहिले विद्यार्थी कराउँछन्, कहिले कसैले स्क्रिनमा कोरिदिन्छन्, कहिले विद्यार्र्थीले आवाज र भिडियो बन्द गरेर अन्यत्रै ध्यान दिएको छ, कहिले विद्यार्थीले शिक्षकलाई नै कक्षाबाट निकालेको छ । प्रत्यक्ष कक्षामा हुने प्रकृतिका वा त्योभन्दा केही नयाँ किसिमका समस्या छन् । तर, अब यो विधि सिक्नु र यो प्रविधिसँग दोस्ती गर्नुको विकल्प देखिएको छैन ।

म एउटा विद्यालयको शिक्षकसँग कुरा गर्दै थिएँ । दिनमा चार विषयमध्ये केही विषयमा विद्यार्थी पूरा बस्छन्, तर त्यसपछि अर्काे विषयमा आधा विद्यार्थी पनि कक्षामा हुँदैनन् । यसको मतलब विद्यार्थीले शिक्षक अनि कक्षा छानेर पढिरहेका छन् । यो शिक्षकका लागि इतिहासमा सबैभन्दा ठूलो चुनौती हो । समयले शिक्षकको अस्तित्वलाई नै चुनौती दिएको छ ।

अनलाइन कक्षा राम्ररी सञ्चालन भएका स्कुललाई हेर्ने हो भने विद्यार्थीले अनलाइन माध्यमबाट झन् बढी सिक्न पाइरहेका छन् । विद्यार्थीलाई संलग्न गर्न, बुझाउन जान्ने हो भने यो विधिले शिक्षालाई थप सहज बनाइदिएको छ । थोरै समयमा धेरै कुरा सिक्न सकिने माध्यम हो, अनलाइन कक्षा । ब्रान्डन हलको एउटा अनुसन्धानअनुसार अनलाइन कक्षा ४०–६० प्रतिशत कम समयमै सकिन्छ ।

प्रभावकारी अनलाइन सिकाइले भौतिक कक्षाकोठामा भन्दा अझ बढी पूर्वतयारी, अझ बढी मिहिनेत र बढी प्रयत्न खोज्छ । यो माध्यमले थप स्वअनुशासन, ऊर्जा र उत्सुकताको माग गर्छ । हाम्रा अनलाइन कक्षाहरूलाई प्रभावकारी बनाउन यी सात तरिकासहित थप प्रभावकारी बनाउन सकिन्छ ।

१. सिकाइको वातावरण : भिडियो अन गरेर सीधै विषयमा छिरेर पढाउनु अनलाइन पढाउने सबैभन्दा खराब तरिका हो । विद्यार्थीले केही समय कक्षामा जम्न पाउनुपर्छ । यो म्याराथन दौडनुअघिको ‘वार्मअप’जस्तै हो । सुरुमा न्यानो अभिवादनसहित शिक्षकले कक्षामा आत्मीयताको माहोल बनाउन जरुरी छ । यो कोरोना कहरको अवस्थामा शिक्षक–विद्यार्थी सबै तनावमा छन्, कक्षा सुरु गर्नुअघि हामीले पहिला हामीभित्र नै एउटा शान्त वातावरण निर्माण गर्न जरुरी छ । कक्षाको सुरुवातको पाँच मिनेट शिक्षकले विद्यार्थीलाई ऊ कस्तो महसुस गर्दै छ, अहिलेको अवस्थामा के गर्दै छ, समस्यासँग कसरी जुध्दै छ, सोध्न जरुरी छ । यसले विद्यार्थीलाई सहज महसुस गराउँछ र शिक्षक तथा विषयप्रतिको रुचि बढाउँछ । 

पाठ सुरु गर्नुअघि भने आज पढाउने पाठलाई एउटा कथा वा प्रसंगसँग जोडेर सुरु गर्न सकिन्छ । उदाहरणका लागि बालश्रमको बारेमा पढाउन सुरु गर्दैगर्दा एउटा वातावरण बनाउन यसो भन्न सकिन्छ : ‘एउटा कार्यक्रममा बालश्रमविरुद्ध बहस गर्दैगर्दा एकजना बालकले होटेलबाट सबैलाई ल्याएर चिया बाँड्दै थियो । यो घटना हुँदैगर्दा त्यहाँ भएका मानिसको मनमा के प्रश्न उठ्यो होला ?’ यसले विद्यार्थीलाई विषयमा प्रवेश गराउँछ । 

 

वा, नेपाली विषयको कुनै कथाको बारेमा पाठ छ भने त्यो पाठसम्बन्धी कुनै चित्र देखाएर दिमागमा के आयो भनेर बोल्न वा च्याटमा लेख्न लगाउँदा विद्यार्थीको विषयप्रति रुचि जाग्छ । छोटो कुराकानीपछि शिक्षकले एउटा छोटो गेम खेलाएर माहोल बनाउन पनि सक्छन् । कुनै क्विज खेलाउन वा एउटा शब्द दिएर दिमागमा के आयो भनेर सोध्न सक्छन् । अर्काे उपाय, प्रत्येक दिन एक विद्यार्थीलाई एउटा वस्तुसँग आफूलाई तुलना गर्न भन्न सक्छन् । जस्तै कुनै विद्यार्थीले ‘म पेन्सिल हुँ, लेख्छु पनि, अनि आफ्नो गल्तीलाई मेट्छु पनि’ भन्न सक्छ । वा कसैले ‘म मैनबत्ती हुँ, उज्यालो छर्न सक्छु’ भन्लान् । शिक्षक र विद्यार्थी दुवैले अनलाइन कक्षालाई पनि वास्तविक कक्षासरह मान्नुपर्छ । शिक्षकले विद्यार्थीलाई उसको आफ्नो र विषयको महत्व देखाइदिन सक्नुपर्छ ।

हिजोका कक्षाकोठामा शिक्षकको भूमिका महत्वपूर्ण हुन्थ्यो, तर अनलाइन कक्षामा शिक्षकजत्तिकै विद्यार्थी र अभिभावकको भूमिका पनि महत्वपूर्ण रहन्छ । शिक्षक, विद्यार्थी र अभिभावक मिलेर अनलाइन शिक्षालाई प्रभावकारी बनाउन प्रयत्न गर्ने हो भने यो प्रयासले शिक्षाकै नयाँ युगको सुरुवात गर्न सक्छ ।
 

२. ग्राउन्ड रुलको पालना : कक्षाको माहोल बनेपछि शिक्षक र विद्यार्थीले मिलेर सबैलाई मान्य हुने नियम बनाउन जरुरी छ । कक्षाको पहिलो दिन नियमहरू बनाउने र अन्य दिन सबैलाई स्मरण गराउने गर्नुपर्छ । अनलाइन कक्षाले सबैभन्दा ठूलो माग स्वअनुशासनको गर्छ । समयमै सबैजना आउने, सम्भव भएसम्म सबैको भिडियो अन गर्ने, मोबाइलमा वा ल्यापटपमा कक्षा अवधिभरि फेसबुक, सामाजिक सञ्जाल बन्द गर्ने, पाठको नोट आ–आफ्नो बुझाइअनुरूप विद्यार्थीलाई आफैँ बनाउन लगाउने, राम्रोसँग कुर्सीमा बसेर अनलाइन कक्षामा सामेल हुन लगाउने गर्नुपर्छ । 

विद्यार्थीले ‘हेडफोन’मार्फत कक्षामा ध्यान दिन सक्छन् । यी विषयबारे विद्यालयले अभिभावकलाई पनि अनलाइन नै बोलाएर प्रबन्ध गर्न भन्नुपर्छ । विद्यार्थीले पनि पढ्दा यस्तो ठाउँमा बस्न जरुरी छ, जहाँ विद्यार्थीले सिक्न सकून् । खाटमा सुतेर, भाइबहिनी वरिपरि राखेर, हल्लाको माहोलमा विद्यार्थीले सिक्न सक्दैनन् । अभिभावकले यसबारे बुझ्नुपर्छ । साथै, अहिलेको पुस्ता पढ्दै गेम खेल्ने, च्याट गर्ने विविध काम एकैचोटि गर्छन् । अनलाइन कक्षा प्रभावकारी बनाउन विद्यार्थीको ध्यान कक्षाबाहेक अन्त कतै हुनुहुँदैन ।

३. शिक्षक–विद्यार्थी सम्बन्ध : अनलाइन कक्षाको सबभन्दा ठूलो समस्या शिक्षक–विद्यार्थीको प्रत्यक्ष सम्बन्ध एवं आत्मीयताको अभाव हो । शिक्षकले यसमा एकदमै ध्यान दिनुपर्छ । केही प्राविधिक विषयमा पनि ध्यान दिन जरुरी हुन्छ । शिक्षकले आफ्नो ‘आई कन्ट्याक्ट’ क्यामेराको लेन्ससँग गर्न जरुरी छ, ताकि विद्यार्थीलाई शिक्षकले हेरिरहेको महसुस होस् । शिक्षकले आफ्नो आवाज कस्तो गइरहेको छ वा कत्तिको बुझिएको छ भन्नेमा पनि ध्यान दिन जरुरी छ । आफ्नो बडील्यांग्वेज, एक्स्प्रेसन, भोइस मोडुलेसन आदिमा पनि ध्यान दिन जरुरी हुन्छ । फेरि भन्छु, शिक्षण कला हो । हरेक शिक्षकले पढाउन सिक्न जरुरी छ । झन् अनलाइन माध्यम त सबैका लागि नयाँ विधि हो । 

विद्यार्थीलाई समय–समयमा नाम लिएर बोलाउने, उनीहरूलाई महत्वपूर्ण महसुस गराउने, केही व्यक्तिगत विषयमा कुरा गर्ने काम शिक्षकले गरिरहनुपर्छ । विद्यार्थीलाई शिक्षकले शिक्षकको बारेमा, पढाइ, अध्ययन, करिअरको बारेमा सोध्ने मौका दिन जरुरी छ । यसले विद्यार्थी–शिक्षकको सम्बन्ध पनि राम्रो बनाउँछ, कक्षालाई बाँधेर जीवन्त राख्न मद्दत गर्छ । 

४. विद्यार्थीलाई बुझ्ने र सहयोग गर्ने : विकासोन्मुख देशमा विभेदको मुद्दा महत्वपूर्ण हुन्छ । शिक्षामा पनि त्यसको गहिरो प्रभाव परिरहेको हुन्छ । अनलाइन शिक्षामा सामाजिक, आर्थिक समानता मात्र होइन, डिजिटल समानताको पनि समस्या छ । डिजिटल शिक्षामा राम्रो इन्टरनेट, उपकरण नहुँदा विद्यार्थीले सहज महसुस नगरिरहेका हुन सक्छन्, यस्ता विषयमा पनि शिक्षकले ध्यान दिनुपर्छ । यस्ता समस्या भएका विद्यार्थीले पढाइ छाड्ने वा कक्षामा नआउने समस्या हुन सक्छ । अहिले विद्यार्थीहरू मानसिक तनावबाट पनि गुज्रिरहेका हुन सक्छन् । तिनका घर वा आफन्तलाई समस्या परिरहेको हुन सक्छ । 

शिक्षामा समानुभूतिको खाँचो सबैभन्दा धेरै आवश्यक कुनै वेला थियो भने त्यो यो वेला छ । त्यसैले अनलाइन कक्षालाई प्रभावकारी बनाउन शिक्षकहरू थप सजग हुन जरुरी छ । त्यसैले शिक्षकले विद्यार्थीलाई अनलाइनबाट नै भए पनि वेला–वेलामा हेरचाह गर्न जरुरी छ । केही समस्यामा देखिए शिक्षकले विद्यार्थीलाई सहयोग गर्न जरुरी छ । यो वेलामा शिक्षकको काम पढाउने मात्र होइन, विद्यार्थीलाई आवश्यक पर्दा कक्षासमयभन्दा बाहिरको समय उपलब्ध गराएर समस्यामा परेका विद्यार्थीलाई व्यक्तिगत रूपमा पनि सहयोग गर्नुपर्छ । प्राविधिक वा कोर्सभन्दा बाहिरको कुरामा विद्यार्थीलाई सहयोग गर्ने, गृहकार्य तथा परीक्षामा पनि शिक्षक लचक हुने काम गर्न जरुरी छ ।

५. सिकाइ प्लस–प्लस : पुरेतले चण्डी पाठ लगाएजस्तो शिक्षकको एकोहोरो प्रवचन हाम्रो कक्षाको सबैभन्दा ठूलो समस्या हो । अनलाइन कक्षामा एकोहोरो पढाउनु त झन् निद्राको औषधि दिनुबराबरै हो । तसर्थ, विद्यार्थीलाई बोल्न, बुझेको बताउन वा तयारी गराएर विद्यार्थीलाई नै पढाउन लगाउन जरुरी छ । साथै, हाम्रा धेरै सिकाइहरू कक्षाकोठाबाहिर हुने गर्छन् । अनलाइनमा पनि हामीले सिकाइको दयारा अनलाइन कक्षाभन्दा बाहिर रहनुपर्छ भनेर बुझ्न जरुरी छ । त्यसैले पाठ कक्षा सकिएपछि पनि रोकिनुहुँदैन । शिक्षकले कक्षापछि पनि विद्यार्थीहरूबीच छलफल, बहस, खोजको वातावरण बनाउन सक्नुपर्छ । शिक्षकले पाठ सकिएपछि विद्यार्थीलाई पाठको बारेमा सेमिनार राख्न, भिडियो बनाएर ब्लगमा राख्न, इन्टरनेटमा खोज्न सिकाउनुपर्छ ।

अनलाइन बहस तथा सेमिनार विद्यार्थीको बुझाइ, सिकाइ र मूल्यांकनको नयाँ तर प्रभावकारी तरिका हो । खुला प्रश्न सोध्नु, बहस गर्नु ज्ञान र खोजको निकै महत्वपूर्ण माध्यम हो । अहिले त झन् संसारभरिका मानिससँग बहस गर्न धेरै वेबसाइटहरू पनि निर्माण भएका छन् । विद्यार्थीले एक–अर्काका विचारलाई लेखेर, चित्र र भिडियोका माध्यमले अभिव्यक्त गर्न सक्छन् । शिक्षकले कक्षालाई ४–६ भागमा बाँडेर विभिन्न विषयमा अनलाइन कक्षाको समयमा नै प्रस्तुति गर्न लगाउन सक्छन् ।

अबको सिकाइ स्व–अध्ययन हो । अब शिक्षकले पढाउने होइन, विद्यार्थीमा सिकाइको भोक जगाउने हो । अब पढाइ–सिकाइ ४५ मिनेटको कक्षा मात्र रहेन । विद्यार्थीले कक्षापछि आज के पढेँ भनेर एक मिनेटको भिडियो बनाउन सक्छन् । त्यही भिडियो उसको मूल्यांकनको आधार बन्न सक्छ । वा, आफूले पढेको विषयमा विद्यार्थीहरू सामूहिक प्रोजेक्ट गर्न सक्छन् । टिमवर्कले विद्यार्थीलाई त राम्रो गर्छ–गर्छ, यसले शिक्षकलाई समेत पढाउन मद्दत पुग्छ । साथीहरूको सुझाब र सहयोगले सामूहिक भावना विकास हुन्छ, विद्यार्थीको सिकाइ बलियो हुन्छ, साथसाथै आलोचनात्मक चेतको पनि विकास हुन्छ ।

हामीले अनलाइन कक्षामा पनि सिर्जनशीलता खोज्न सक्छौँ । विडम्बना ! हाम्रो शिक्षाले सिर्जनशीलतालाई निकै थोरै स्थान दिएको छ । आफ्नो बुझाइलाई म्युजिक, फोटो, लेख, चित्रमार्फत प्रस्तुत गर्न विद्यार्थीलाई प्रेरित गर्दा त्यसले सिर्जनशीलतालाई थप मजबुत बनाउँछ । सिर्जनशीलता बढाउँदै विद्यार्थीलाई विषयको थप गहिराइमा पुर्‍याउँछ । अब पाठलाई ४५ मिनेटको भिडियो कक्षाभन्दा बाहिर पु‍र्‍याउन जरुरी छ ।

६. निद्रा नलागोस् : अहिले विद्यार्थीहरूको एकाग्रता समय निकै घट्दै गएको छ । मनोरञ्जनका लागि बन्ने फिल्मसमेत अब ८–१० मिनेटको बन्न थालेका छन् । मनोरञ्जनका लागि त मानिस एकाग्र हुन सकिरहेको छैन भने विद्यार्थीलाई निरस कक्षामा एकाग्र हुन त्यति सजिलो छैन । त्यसैले विद्यार्थीको ध्यान खिच्न पढाएर मात्र सकिन्न । तसर्थ, १०–१५ मिनेटको अन्तरालमा दुई–तीन मिनेटको क्विज वा गेम खेलाउन सकिन्छ । केही बेरअघि पढाएको विषयमा प्रश्न सोधेर कसले पहिला उत्तर दिन सक्छ भनेर कक्षामा रमाइलो वातावरण सिर्जना गर्न सकिन्छ । काहुट वा फ्याक्टाइलजस्ता अनलाइन प्लाटफर्ममार्फत विद्यार्थीलाई रमाइलोसँग खेलाउँदै पढाउन सकिन्छ । यस्ता विधि एवं वेबसाइटबारे शिक्षकले इन्टरनेटमा खोज्न सक्छन् ।

७. अन्त्यमा सारांशिक रिप्ले : कक्षाको अन्त्यमा आज के पढाइ भयो, विद्यार्थीले के गर्न सक्छन्, शिक्षकले कक्षामा सारांश प्रस्तुत गर्न जरुरी हुन्छ । विद्यार्थीलाई अन्तिम पाँच मिनेटमा आज मैले के पढेँ ? के राम्रो भयो ? के कुरामा मजा आयो ? के भएन ? के समस्या आयो ? लेख्न लगाउन जरुरी छ । यसो गर्दा विद्यार्थीमा खोजको भोक हुन्छ र अब के गर्ने भन्ने दिशा पाउँछ । साथै, शिक्षकले वेलावेलामा कक्षाको अन्तिममा विद्यार्थीसँग अनलाइन फारममार्फत प्रतिक्रिया लिन पनि जरुरी छ, ताकि पहिलेका कक्षाको समस्या र कमजोरी शिक्षकले अर्काे कक्षामा सुधार्न सकून् । 

निष्कर्ष : हिजोका कक्षाकोठामा शिक्षकको भूमिका महत्वपूर्ण हुन्थ्यो, तर अनलाइन कक्षामा शिक्षकजत्तिकै विद्यार्थी र अभिभावकको भूमिका पनि महत्वपूर्ण रहन्छ । शिक्षक, विद्यार्थी र अभिभावक मिलेर अनलाइन शिक्षालाई प्रभावकारी बनाउन प्रयत्न गर्ने हो भने यो प्रयासले शिक्षाकै नयाँ युगको सुरुवात गर्न सक्छ । भोलि कोरोना कहरपछि पनि अहिलेको स्कुले शिक्षासँगै अनलाइन शिक्षा पनि अब शिक्षाकै अभिन्न अंग बन्नेछ । त्यसैले अहिलेको यो महामारीमा अनलाइन शिक्षालाई रमाइलो, प्रभावकारी बनाउन माथि उल्लिखित काम गर्न सकिन्छ । अनलाइन शिक्षामा शिक्षकले धेरै सिक्न जरुरी देखिएको छ । 

यो महामारीको समयमा साध्य, पाठ, परीक्षाभन्दा महत्वपूर्ण अरू धेरै कुरा छन् । त्यसैले हामीले केही समय कक्षामा रमाइलो गर्दैमा केही हानि हुनेवाला छैन । अनलाइन शिक्षाको चुनौती भनेको विद्यार्थीलाई कक्षामा संलग्न गराउनु हो, यी विधिले विद्यार्थीलाई अनलाइन कक्षामा मज्जाले संलग्न गर्न सकिन्छ । तर, पर्याप्त तयारी, सिकाइको भोक, स्वअनुशासन र सही माध्यमको आवश्यकता भने जरुरत छ । तयारी गर्ने हो भने कक्षाकोठाजत्तिकै राम्ररी वा अझ प्रभावकारी हुने गरी अनलाइन कक्षा सञ्चालन गर्न सकिन्छ । प्रभावकारी अनलाइन कक्षाले समानुभूतिको माग गर्छ । मानवताको माग गर्छ, त्यसको नेतृत्व शिक्षकले लिन जरुरी छ ।

(पाण्डे विवेकशील साझा पार्टीका संयोजक हुन्) 

ad
ad