
एमाले प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतामाथिको कारबाही फिर्ता लिने स्थायी समितिको निर्णयले पार्टी एकतामा सकारात्मक प्रभाव पार्ने बताएका छन् । बैठकपछि उनले पार्टी एकता कायम राख्न, उदार भावना र जिम्मेवारीबोधसहित निर्णय गरिएको दाबी गरे ।
‘हाम्रोतर्फबाट एकताका पक्षमा हदैसम्म प्रयास गरेका छौँ । कुनै वेला आफ्नो अध्यक्षलाई दलको नेता, पार्टी अध्यक्ष र साधारण सदस्यसमेत नरहने गरी उहाँहरूका तर्फबाट बर्खास्त गरिएको अवस्था थियो । २७ वैशाखको त्यति महत्वपूर्ण मतदानमा अनुपस्थित भएर सरासर प्रतिपक्षी गठबन्धनलाई टेवा पुर्याउँदा पनि अध्यक्ष उदारतापूर्वक लचिलो भएर र उदारतापूर्वक जिम्मेवारीबोधका साथ प्रस्तुत भएर निर्णय गरिएको छ,’ ज्ञवालीले भने, ‘यसले सकारात्मक प्रभाव पर्ने हामीलाई विश्वास छ ।’
राष्ट्रपति विद्या भण्डारीले दुई वा दुईभन्दा बढी दललाई बहुमत पुर्याएर प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न दिएको समयसीमा आज राति ९ बजे सकिँदै छ । प्रधानमन्त्री केपी ओलीले पार्टी एकता बचाउन कुनै पहल नलिएको भन्दै वरिष्ठ नेता नेपाल र झलनाथ खनाल समूहका सांसदहरूले सामूहिक राजीनामाको अन्तिम तयारी गरिरहेका वेला संस्थापन पक्षको बैठकले नेपालसहितको नेताहरूमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको हो । बैठकअघि प्रधानमन्त्री ओलीको सन्देश लिएर उपमहासचिव विष्णु पौडेल नेपालनिवास कोटेश्वर पुगेका थिए ।
बैठकले पार्टीभित्रको परिस्थिति, राष्ट्रिय राजनीतिको परिस्थितिबारे आवश्यक निर्णय गर्ने अधिकार अध्यक्षलाई प्रत्यायोजन गरेको ज्ञवालीले जानकारी दिए । त्यस्तै, बैठकले कोभिडविरुद्धको लडाइँमा सरकारले गरिररहेको कामको समीक्षा गर्दै अक्सिजन र औषधिजन्य सामग्रीलाई अझ प्रभावकारी ढंगले व्यवस्था गर्न सरकारलाई सुझाब दिएको छ । त्यस्तै, पार्टी नेता तथा सांसद पशुपति चौलागाईंको कोभिड– १९ बाट भएको निधनमा शोक व्यक्त गर्दै श्रद्धाञ्जली प्रस्ताव पास गरेको छ ।