मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दिपेश शाही काठमाडाैं
२०७८ बैशाख २३ बिहीबार ०६:१९:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रिय सभा उपनिर्वाचनका लागि विपक्षी गठबन्धन : बागमतीको सिट खनाल–नेपाल समूहलाई, लुम्बिनीको एक सिट कांग्रेसलाई

Read Time : > 2 मिनेट
दिपेश शाही, काठमाडाैं
२०७८ बैशाख २३ बिहीबार ०६:१९:००

राष्ट्रिय सभाको उपनिर्वाचनबाट विपक्षीहरूको औपचारिक गठबन्धन सुरु भएको छ । गठबन्धनले लुम्बिनीमा कांग्रेस र बागमतीमा एमालेको खनाल–नेपाल समूहले उम्मेदवारी दिने सहमति भएको छ । 

बागमती प्रदेशमा राष्ट्रिय सभाको सदस्य पदका लागि आगामी ६ जेठमा हुने उपनिर्वाचनमा विपक्षी गठबन्धनले खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहसहित विपक्षी गठबन्धनले देवकोटालाई अगाडि सार्ने सहमति गरेको छ ।

कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता नेपालबीच देवकोटालाई उम्मेदवार बनाउने विषयमा सहमति भएको हो । कांग्रेसले एमाले प्रदेश सभाबाट राजीनामा दिई आफ्नो पार्टी प्रवेश गरेका दीर्घनारायण पाण्डेलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय लिएको छ । उनी विपक्षी गठबन्धनका साझा उम्मेदवार हुनेछन् ।

नेता नेपालको प्रस्तावमा देवकोटालाई उम्मेदवार बनाउने सहमति गरेर कांग्रेस र माओवादी केन्द्रले बागमतीमा एमालेविरुद्ध एमालेलाई नै अगाडि सारेका छन् । ‘यो निकै रणनीतिक कदम हो । यसले ओलीलाई उनकै पार्टीभित्रबाट बलियो दबाब दिन्छ,’ कांग्रेसका एक नेताले भने, ‘विपक्षी गठबन्धनले भने उम्मेदवार जसलाई बनाए पनि एमालेकै असन्तुष्ट पक्ष खनाल–नेपाल समूहबाटै उठाउने निर्णय गरिसकेको छ ।’

माओवादीका स्थायी कमिटी सदस्य देव गुरुङले तीनै दलका शीर्ष नेताहरूबीच यस विषयमा मोटामोटी सहमति भएको बताए । ‘एमालेका माधव पक्ष, कांग्रेस र हामी गठबन्धन बनाएर चुनावमा जाने सहमति भएको छ । त्यसमा शीर्ष नेताबीच खिमलाल देवकोटालाई उम्मेदवार बनाउने विषयमा मोटामोटी सहमतिसमेत भएको छ,’ गुरुङले नयाँ पत्रिकासँग भने, ‘थप छलफल र सहमति हुन अझै बाँकी नै छ । सम्भवतः उहाँ नै उम्मेदवार बन्नुहुन्छ होला ।’ 

उनले तीन दलको गठबन्धनमा जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष पनि जोडिन सक्ने सम्भावना रहेको बताए । महन्थ ठाकुरलगायत नेताले के गर्ने भन्ने विषयमा ठोस निक्र्योल भइनसकेको हुँदा जसपाले के गर्छ भन्नेबारेमा अहिल्यै बोल्न नसकिने उनको भनाइ छ । यसअघि माओवादी केन्द्रका तर्फबाट चुनाव जितेका रामबहादुर थापा बादलले पार्टी छोडेर एमालेमा प्रवेश गरेपछि पार्टीले उनलाई कारबाही गरेको थियो । बादल कारबाहीमा परेपछि उक्त राष्ट्रिय सभा पद रिक्त रहेको छ । एमालेको गत १० वैशाखमा बसेको दशौँ महाधिवेशन आयोजक कमिटी बैठकमा उपनिर्वाचनमा बादललाई नै उम्मेदवार बनाउने विषयमा छलफल गरेको थियो । एमाले नेता प्रदीप ज्ञवालीले बादल नै उम्मेदवार हुने सम्भावना रहेको बताएका थिए । यद्यपि, अहिलेसम्म औपचारिक निर्णय गरिसकेको छैन । 

आगामी ६ जेठमा हुने मतदानका लागि निर्वाचन आयोगले यसअघि नै कार्यतालिका प्रकाशन गरिसकेको छ । जसअन्तर्गत २१ वैशाखमा मतदाता नामावली प्रकाशन तथा दाबी–विरोधको उजुरी दिने, २२ र २३ गते निवेदन तथा उजुरीउपर छानबिन र कारबाही गर्ने, २३ गते नै अन्तिम मतदाता नामावली प्रकाशन गर्ने र २४ वैशाखमा उम्मेदवारी दर्ता गराउने रहेको छ । 

त्यस्तै, २५ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, २६ र २७ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय लिने तालिका रहेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार २७ वैशाखमा उम्मेदवारको नामावली प्रकाशन गर्ने, २८ गते उम्मेदवारले नाम फिर्ता लिने र २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि आगामी १७ जेठमा चुनाव गर्ने निर्णय गरेको छ । आयोगको बुधबार बसेको बैठकले लुम्बिनी प्रदेशमा हुने उपनिर्वाचनको कार्यतालिकासमेत स्वीकृत गरेको छ । त्यसका लागि लुम्बिनी प्रदेशको राजधानी तोकिएको दाङ सदरमुकाम घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा नै निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्णयसमेत भएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आफ्नो पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्कालाई माओवादी केन्द्रले कारबाही गरेपछि उक्त पद रिक्त छ । आयोगले त्यही पदपूर्तिका लागि चुनाव गराउँदै छ ।