मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख २१ मंगलबार १४:०६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भारतबाट दैनिक ४५ सय नागरिक नेपाल फर्कँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख २१ मंगलबार १४:०६:००

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले संसद्को  ‘महिला तथा सामाजिक समिति’मा कुरा गर्दै भारतबाट दैनिक ४५ सय नेपाली घर फर्किरहेको जानकारी दिएका छन् । समितिको मंगलबार बसेको ‘जुम मिटिङ’मा बोल्दै उनले भने, ‘अहिले दैनिक ४५ सय नेपाली भारतबाट नेपाल गइरहेको देख्छौँ । सबैभन्दा चाप सुदूरपश्चिममा रहेको छ ।’

सकेसम्म नेपाल नफर्कन पनि आचार्यको आग्रह थियो । ‘आफ्नै गाउँघर जान चाहने प्रवृत्तिलाई नाजायज भन्नुहुँदैन । तर, खतरा बढिरहेको छ । सकभर नगइदिनुस् भनेर हाम्रो आग्रह छ,’ उनले भने ।  नेपाल फर्किनेहरूको चाप अघिल्लो वर्षको जति नभए पनि कोभिडको खतरा बढी रहेको उनको भनाइ थियो ।

आचार्यले भारतमा अहिलेसम्म कोभिडबाट २३ जना नेपालीको मृत्यु भएको तथ्यांक दूतावाससँग रहेको बताए । तर, यो आधिकारिक तथ्यांक नभएकोसमेत उनले प्रस्ट पारे । ‘यहाँ पनि नेपालीहरू हताहत भएको अवस्था छ । हामीसँग पनि पूरा तथ्यांक छैन ।

२३ जनाको निधन भएको तथ्यांक छ । तर, त्यो तथ्यांकभन्दा धेरै आक्रान्त भएको अवस्था छ । हामीसँग भएको तथ्यांक अपूरो छ,’ उनले थपे, ‘नेपाली नागरिकलाई दूतावासका तर्फबाट सहयोग गरिरहेका छौँ । दूतावासमा जानकारी आइसकेपछि कुन–कुन अस्पतालमा सेवासुविधा उपलब्ध छन्, फोन गर्छौँ । बिरामी अस्पतालमा गइसकेका छन् भने हामीले अस्पताललाई नै फोन गरेर सहयोग गरिदिन भनिदिएका छौँ ।’

भारतमा रहेका नेपालीले आधारकार्ड नभएको अवस्थामा सेवा सुविधा नपाएको बताइरहँदा महिला मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले आधारकार्डको विकल्पबारे दूतावासले सोच्नुपर्ने बताइन् । उनको भनाइ थियो, ‘आधारकार्ड नहुँदा सेवासुविधा पाउन नसकिने भन्ने कुरा छ । आधारकार्डको अभावमा के गर्न सकिन्छ भन्नेबारेमा राजदूतावासले सोच्नुपर्ने र सहजीकरण गर्नुपर्ने देखियो ।’ महिला तथा सामाजिक समितिले भारतमा रहेका मजदुरको अवस्थाबारे छलफल गरेको थियो ।