मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २८ शनिबार
  • Saturday, 13 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २८ शनिबार १o:५७:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फोनिक्सको प्रशिक्षणमा जोडिइन् सावित्रा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २८ शनिबार १o:५७:oo
  • युरोप तथा अस्ट्रेलियाली लिग खेल्ने पहिलो नेपाली फुटबलर बनेकी भण्डारीले आगामी दुई सिजन न्युजिल्यान्डको फोनिक्स वेलिङटनबाट प्रतिस्पर्धा गर्ने 

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले अस्ट्रेलियन ‘ए’ लिगको टोली वेलिङ्टन फोनिक्स फुटबल क्लबबाट प्रशिक्षण सुरु गरेकी छिन् । गत ३ सेप्टेम्बरमा न्युजिल्यान्डको बेलिङटन पुगेकी सावित्राले क्लबसँग दुई वर्षको सम्झौता गरेकी छिन् । नेपाली फुटबल इतिहासमा अस्ट्रेलियन लिग खेल्ने सावित्रा पहिलो नेपाली खेलाडी हुन् । यसअघिको दुई सिजन सावित्राले फ्रान्सको महिला लिग खेलेकी थिइन् । वेलिङ्टन न्युजिल्यान्डको क्लब भए पनि अस्ट्रेलियाको शीर्ष डिभिजन क्लब खेल्ने गर्छ । अस्ट्रेलियन ‘ए’ डिभिजन लिग प्रतियोगितामा प्रतिस्पर्धा गर्ने वेलिङटन एक मात्र न्युजिल्यान्डको क्लब हो । 

फ्रेन्च क्लबबाट खेलिरहँदा उनलाई फोनिक्सबाट प्रस्ताव आएको थियो । उनले सहजै स्वीकार गरिन् । फोनिक्ससँग आबद्ध हुँदा उनले त्यहाँ धेरै गोल गर्ने योजना रहेको बताएकी थिइन् । ‘फोनिक्समा आबद्ध हुन पाउँदा धेरै खुसी छु । त्यहाँ धेरैभन्दा धेरै गोल गर्नेछु र समर्थकलाई खुसी बनाउनेछु,’ न्युजिल्यान्ड जानुअघि उनले भनेकी थिइन् । अस्ट्रेलियन क्लबहरूको बाहुल्य रहेको लिगमा फोनिक्स एक मात्र विदेशी क्लब हो । लिगको नयाँ सिजन ३१ अक्टोबरदेखि सुरु हुँदै छ । लिगमा प्रतिस्पर्धा गर्ने १२ मध्ये ११ टोली अस्ट्रेलियाका हुन् । गत सिजनमा वेलिङटन नवौँ स्थानमा रह्यो । उसले २३ खेलमा सात खेल मात्र जितेको थियो । 

सावित्रा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी १३औँ कप्तान हुन् । डेढ महिनाअघि उज्वेकिस्तानको तासकन्दमा भएको एएफसी महिला एसियन कप छनोटमा उनले टोलीको कप्तानी गरेकी थिइन् । छनोटअन्तर्गत तीन खेलमा उनले नौ गोल गरेकी थिइन् । सन् २०१४ मा उनले नेपाली महिला राष्ट्रिय टोलीबाट डेब्यु गरिन् । पाकिस्तानमा भएको साफ च्याम्पियनसिपमा भुटानविरुद्धको खेलमा डेब्युसँगै पहिलो अन्तर्राष्ट्रिय गोल पनि गरिन् । अहिले राष्ट्रिय टोलीमा सर्वाधिक गोलकर्ताको कीर्तिमान उनकै नाममा छ ।

एसियादेखि युरोपसम्मको अनुभव
दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकर सावित्रासँग एसियादेखि युरोपसम्म प्रतिस्पर्धा गरेको अनुभव छ । नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी विभिन्न विदेशी क्लबमा आबद्ध छन् । यसमध्ये सावित्रा अगाडि छिन् । न्युजिल्यान्डको क्लबसँग आबद्ध हुनुअघि सावित्राले दुई वर्ष युरोपमै बिताइन् । फ्रान्सको शीर्ष डिभिजनको लिग खेल्ने गुइनगाम्पाबाट उनले दुई वर्ष प्रतिस्पर्धा गरिन् । युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबल पनि उनी नै हुन् । फ्रान्समा उनको पहिलो सिजन राम्रो भयो । तर, दोस्रो सिजन भने त्यति उत्कृष्ट बनाउन सकिनन् । उनी आबद्ध गुइनगाम्पा यस वर्ष रेलिगेसनमा परेको थियो ।

सावित्रा गुइनगाम्पामा आबद्ध भएको पहिलो सिजनमा क्लब दसौँ स्थानमा रहेको थियो । त्यसवेला क्लब बल्लतल्ल रेलिगेसन क्षेत्रबाट माथि उठेको थियो । गत दोस्रो सिजनमा यो क्लब दोस्रो डिभिजनमा झर्‍यो । यद्यपि, उनले क्लबबाट उनले ६ गोल गरिन् । यी ६ मध्ये दुई गोल उनले युरोपकै बलियो र खर्चिलो क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)विरुद्ध रह्यो । फ्रेन्च क्लबमा आबद्ध उनले इजरायलकोे शीर्ष डिभिजन क्लब हापोइलबाट प्रतिस्पर्धा गरेकी थिइन् । तर, उनले इजरायलमा लिगको साइकल पूरा गर्न सकिनन् ।