मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १८ शनिबार ०९:२८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

शीर्ष स्थानमा उक्लने अवसरबाट चुक्यो पोखरा र काठमाडौं

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १८ शनिबार ०९:२८:००

शुक्रबार भएको खेलमा गोलरहित बराबरी खेलेपछि पोखरा र काठमाडौंले अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर खेर फालेका छन् । पोखरा तेस्रो र काठमाडौं चौथो स्थानमा रहेको छ ।

आजको खेल
धनगढी एफसीविरुद्ध एफसी चितवन
समयः २:३० बजे (दशरथ रंगशाला)

बुटवल लुम्बिनी एफसीविरुद्ध बिराटनगर सिटी एफसी
समयः ५:३० बजे (दशरथ रंगशाला)

....                    ....

पोखरा थण्डर्स र काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल) अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर खेर फालेका छन् । प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा गोलरहित बराबरी खेल्दै काठमाडौं र पोखराले शीर्ष स्थानको अवसर खेर फालेका हुन् । प्रतियोगिताको यो पहिलो गोलरहित बराबरी हो । दुईमध्ये विजयी हुने टोलीसँग शीर्ष स्थानमा उक्लने अवसर थियो । यद्यपि प्रतियोगिताकै निरस खेल प्रदर्शन गरेपछि दुबै टोलीले अवसर सदुपयोग गर्न सकेनन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको पहिलो हाफ पोखरा र दोस्रो हाफमा काठमाडौंले उत्कृष्ट प्रदर्शन गर्‍यो । यद्यपि, दुबै टोलीले सिर्जना गरेको सीमित अवसर सदुपयोग गर्न सकेनन् । खेलको पाँचौ मिनेटमा नै मौसा अब्बाले काठमाडौंका गोलरक्षक विकेश कुथुसँगको वान भर्सेस वानको अवस्थामा प्राप्त बललाई प्रहार गर्न ढिला गर्दा पोखराले अग्रता बनाउने अवसर गुमाएको थियो । त्यसपछि खेलको २०औं र ३० औं मिनेटमा पोखराका कप्तान नवयुव श्रेष्ठले दुई राम्रा अवसर खेर फाले । 

पहिलो हाफ पोखराले एकपक्षीय बनाएर पनि गोल निकाल्न सकेन । दोस्रो हाफमा काठमाडौं लयमा देखियो । यद्यपि, उसले पनि पोखराकै शैलीमा एकपछि अर्काे राम्रा अवसर खेर फाल्यो । खेलको अन्तिम केही समय काठमाडौंले एकपछि अर्काे उत्कृष्ट अवसर खेर फालेको थियो । खेलको ८८औं मिनेटमा पोखराका गोलरक्षक दीप कार्की र अन्य खेलाडीलई बीट गर्दै आएको विश्वास श्रेष्ठको क्रस बललाई सुदिल राई र विदेशी खेलाडी मेसोउके ओलुमोऊले सन्जोक राईलाई वान टच पासमा दिए । सिक्स यार्ड बक्स भित्र सन्जोकले बलसँग राम्रो ‘कनेक्ट’ नै गर्न सकेनन् । 

बराबरीको नतिजापछि दुबै टोलीले एक–एक अंक बाढेका छन् । समान तीन खेलबाट चार–चार अंक बटुलेका पोखरा र काठमाडौं अंक तालिकाको क्रमस तेस्रो र चौथो स्थानमा रहेका छन् । खेलपछि पोखराका सहायक प्रशिक्षक राजेश शाहीले प्राप्त अवसर सदुपयोग गर्न नसक्दा अंक बाढ्नु परेको प्रतिकृया दिएका छन । ‘हामीले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्‍यौं । यद्यपि, दोस्रो हाफमा उनीहरूले राम्रो खेले । प्राप्त अवसर सदुपयोग भएन’, शाहीले भने, ‘नेपाली फुटबलमै स्कोरिङको समस्या छ । त्यो समस्या जारी लिगमा पनि दोहोरिएको देखिएको छ ।’

काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले पनि आफ्नो टोलीले दोस्रो हाफको खेलमा सुधारिएको प्रदर्शन गरेको बताए । उनको पनि गुनासो उही रह्यो, खेलाडीले अवसर सदुपयोग गर्न सकेनन् । यद्यपि, उनले तयारीका लागि पर्याप्त समय नपाएको र प्रतियोगिताकौ दौरान खेलाडीलाई ‘रिकभर’ हुने समयसमेत नपाउँदा सोचे जस्तो नतिजा निकाल्न नसकिएको बताए ।

‘यस्तो ठूलो प्रतियोगिताका लागि लामो समयको तयारी आवश्यक हुन्थ्यो । यद्यपि, यो प्रतियोगिताका लागि तयारीको समयनै छोटो रह्यो । त्यसले पनि प्रतियोगिताको स्तरअनुसारको खेल हुन सकिरहेको छैन’, उनले भने, ‘त्यसमाथि प्रतियोगिताको दौरान खेलाडीहरूले आराम गर्ने समय पनि पाइरहेका छैनन् । एक खेलदेखि अर्काे खेलको समय कम हुँदा खेलाडीहरूले रिकभर हुने समय निक्कै कम पाइरहेका छन् । त्यसकै असर हुनुपर्छ, खेलाडीहरूले आफ्नो स्तरअनुसारको प्रदर्शन दिन सकिरहेका छैनन् ।’