१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार o६:२६:oo
Read Time : > 9 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

सांसदसँगै राजनीतिक नैतिकता पनि आइसियूमा

Read Time : > 9 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o६:२६:oo

जनमोर्चाको प्रश्न : मुख्यमन्त्रीको कुर्सी जोगाउन हाम्रा सांसदलाई आइसियूमा राखिएको हो । उनी बिरामी हुन् भने हामीले भेट्न किन नपाउने ? खरिद–बिक्रीका लागि भएका भेटघाट र अस्पताल बसाइमा उनी साँच्चै संक्रमित भए भने उनको स्वास्थ्य र जीवनको जिम्मेवारी कसले लिन्छ ? 

सत्ताका लागि ५० को दशकमा मौलाएको असंसदीय राजनीतिको पुनरावृत्ति हुँदैछ । गण्डकी प्रदेशमा मुख्यमन्त्रीमाथि अविश्वास प्रस्तावमा मतदान हुने दिन एक निर्णायक सांसद नाटकीय रूपमा ‘आइसियुमा’ भेटिएका छन् । उनको दल राष्ट्रिय जनमोर्चाले यसका लागि सत्तारुढ दललाई आरोपित गरेको छ ।

बुधबार दिउँसो राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अचानक ‘बेपत्ता’ भएपछि गण्डकी प्रदेश सभाको सम्पूर्ण काम प्रभावित भयो । तर, जब प्रदेश सभा स्थगित भयो, कोरोना पजिटिभ भएको भन्दै शाही अस्पतालको ‘आइसियू’मा भेटिए । जबकि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले उनी कोरोना नेगेटिभ भएको रिपार्ट बुधबार बिहान नै दिएको थियो ।

गण्डकीको सत्तासमीकरणमा सांसद शाही कति महत्वपूर्ण थिए भन्ने त्यहाँको अंकगणितको तस्बिरले देखाउँछ, जुन तस्बिर बुझेपछि उनी ‘बेपत्ता’ भए वा बनाइए भन्ने प्रश्नलाई थप पेचिलो बनाइदिन्छ । अविश्वास प्रस्तावमाथि बुधबार प्रदेश सभामा मतदान हुँदै थियो, गण्डकी प्रदेश सरकारको भविष्यमाथि जनप्रतिनिधिले फैसला गर्दै थिए । प्रदेश सभामा ६० सदस्यमध्ये कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका तीन र जनता समाजवादी पार्टीका दुई गरी ३१ जनाले अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने योजना प्रतिपक्ष दलहरूको थियो । मंगलबार रातिसम्म उनीहरू यसमा विश्वस्त पनि थिए । 

तर, जब बुधबार ‘जनमोर्चा’का सांसद शाही ‘बेपत्ता’ भए, प्रतिपक्ष दलहरू तनावमा देखिए भने सत्तापक्ष सांसद उत्साही । जनमोर्चाको केन्द्रले नै अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । तीन सांसद रहेको जनमोर्चाका दुई सांसद पियारी थापा र कृष्ण थापा भने प्रदेश सभा बैठकमा उपस्थित थिए । 
जब कि अविश्वासको प्रस्ताव पारित गर्न ३१ सांसद आवश्यक पर्नेमा शाहीको अनुपस्थितिले ३० जना मात्र हुने भएपछि प्रस्ताव फेल हुने खतरा थियो । मतदानमा शाहीको अनुपस्थिति सत्तासमीकरणको दृष्टिकोणले निर्णायक थियो । यही कारण बुधबार दिनभर उनको ‘अज्ञात अवस्था’ शंकाको घेरामा परेको हो । संसद्मा एमालेका २७ र एक स्वतन्त्र सांसद छन् । मतदानपूर्वसम्म मुख्यमन्त्री स्पष्ट अल्पमतमा थिए । 

मंगलबार एमाले प्रदेश सभा सांसद मोहन रेग्मीले मत विभाजन हुने वेलासम्ममा अविश्वासको प्रस्तावको पक्षमा बहुमत नपुग्ने दाबी गरेका थिए । ‘केही दलका सांसदले हाम्रो इच्छा त सरकारलाई निरन्तरता दिने नै हो, तर केन्द्रबाट निर्णय भएर आएपछि गाह्रो भयो भनिरहनुभएको छ । उहाँहरूले पार्टीको केन्द्रमा कन्भिन्स पनि गर्न सक्नुहुन्छ । कर्णाली र लुम्बिनीको संस्कार पनि यहाँ आउन सक्छ । यी र यस्तै कारण सरकार जोगिनेमा विश्वस्त छु,’ उनले भनेका थिए । एमाले प्रदेश सभा सांसद रेग्मीको इसारा जनमोर्चाका सांसदतिर थियो ।

आफ्नो नेतृत्वको सरकार अल्पमतमा परेपछि एमालेले अविश्वासको प्रस्तावको अघिल्लो दिन संसद् अवरोध गरेको थियो । मंगलबारको बैठकमा सत्तापक्षका सांसदले उठेर कोरोना परीक्षणको विषय उठाउँदै बैठक अवरुद्ध गरेका थिए । बैठक अवरोधबारे एमाले सांसद राजीव पहारीले कोरोना परीक्षण नगरी बैठक बस्नु सबैका लागि खतरा रहेको बताएका थिए । त्यसअघि अविश्वास प्रस्ताव दर्ताको सूचनापछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मध्यरातमा संसद् अधिवेशन अन्त्य गराएका थिए ।

सांसद नाटकीय रूपमा ‘बेपत्ता’ जनमोर्चाका सांसद शाहीको अवस्था अज्ञात रहेको र अवस्था थाहा नहुँदासम्म संसद्को कारबाही रोक्न उनकै पार्टीका सचेतक पियारी थापाले निवेदन दिइन् । शाहीको खोजी माग गर्दै पेस भएको निवेदनका कारण गण्डकी प्रदेश सभामा मुख्यमन्त्री गुरुङविरुद्ध पेस भएको अविश्वास प्रस्तावउपरको मत विभाजन रोकिएको छ । 

उनकै निवेदनको व्यहोरा उल्लेख गर्दै प्रदेश सभा सचिव हरिराज पोखरेलले थापाको निवेदनमाथि सम्बोधन नगरी सदन सञ्चालन गर्न उपयुक्त नभएकाले अर्को सूचना नभएसम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको सूचनामार्फत जानकारी दिए । बुधबार १ बजेका लागि बोलाइएको बैठक १ः४० मा सुरु भएको थियो । ४ बजे सभामुखले खाजाका लागि भन्दै २० मिनेटका लागि बैठक स्थगित गरेका थिए । सोही समय थापाले निवेदन दिएपछि सभामुखको सोही निवेदनलाई आधार मान्दै बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन् । 

जनमोर्चाले मुख्यमन्त्रीको पद जोगाउन आइसियुमा राखिएको दाबी गरेको छ । पार्टीका नेताहरूको भनाइ छ, ‘उनी बिरामी हुन् भने हामीले भेट्न किन नपाउने ? सांसद खरिदबिक्रीका लागि भएका भेटघाट र अस्पताल बसाइका वेला उनी साच्चै संक्रमित भए भने उनको स्वास्थ्य र जीवनको जिम्मेवारी कसले लिन्छ ?’

जनमोर्चाकी सचेतक थापाले सांसद शाहीलाई कोरोना पजिटिभ भएर अस्पताल भर्ना भएको थाहा नपाएकै कारण आफूले खोजीका लागि निवेदन दिएको बताइन् । ‘उहाँ सम्पर्कमा आउनुभएन । अवस्था अज्ञात थियो । त्यस्तो अवस्थामा जीवनरक्षा गर्नुपर्छ भनेर हामीले निवेदन दिनु स्वाभाविक नै हो । उहाँ (सांसद शाही)ले संक्रमित भएको कुरा जानकारी दिनुपर्दथ्यो । त्यो दिनुभएन । एक मतले संसद्मा ठूलो महत्व राख्दथ्यो । त्यस्तो अवस्थामा हामीलाई शंका भयो । अब उहाँको नियत के हो भनेर हेर्नुपर्छ । कहिलेकाहीँ गल्ती हुन्छ । अवस्था बिग्रेको छैन । उहाँ निको भएपछि अनुसन्धान गरेर पार्टीले उपयुक्त निर्णय लिन्छ,’ उनले भनिन् ।

यता संसद् बैठक स्थगित भयो, अज्ञात भनिएका सांसद शाही पोखराकै चरक मेमोरियल अस्पतालमा पजिटिभ रोपोर्टसहित साँझ उपचाररत अवस्थामा भेटिए । अस्पतालले उनलाई भेट्न नदिए पनि उनी उपचाररत रहेको फोटो सार्वजनिक गर्र्दै अवस्था सामान्य रहेको बताएको छ । अस्पताल छाउनी बनेको छ । शाही भर्ना भएदेखि नै अस्पताल परिसरमा ठूलो संख्यामा प्रहरी खटाइएको छ । जनमोर्चाका नेता–कार्यकर्तालाई शाहीलाई भेट्न दिइएको छैन ।

‘मंगलबारसम्म कोभिड– १९ देखिएको छैन । रातारात के भयो, उहा“लाई आइसियूमा राख्नुपर्ने अवस्था आयो ?’ जनमोर्चा कास्कीका अध्यक्ष शंकर बरालको प्रश्न मात्र होइन शंका पनि छ, ‘अविश्वासको प्रस्ताव असफल बनाउन राज्य पक्षबाट षड्यन्त्र भएको छ । उनको जीवन खतरामा रहेको देखिन्छ ।’ उनका अनुसार अस्पतालका एक डाक्टरले ‘सांसद शाही मर्न पनि सक्छन्’ भनेका छन् । 

बुधबारको बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद शाही र स्वतन्त्र सांसद मनाङे अनुपस्थित भएका थिए । मंगलबार स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएका सांसद मनाङे र शाही अनुपस्थित भएपछि उनीहरू कहाँ गए भनेर खोजी सुरु भएको थियो । जब ‘बेपत्ता’ सांसद शाही अस्पतालमा भेटिए, केही शंकास्पद रहस्य खुल्न थाले । 

लाइफकेयर डाइग्नोस्टिक सेन्टरमा परीक्षण गरिएको पजिटिभ रिपोर्टमा उल्लेख भएअनुसार मंगलबार ४ बजे सांसद शाहीको स्वाब संकलन गरिएको छ । उनको पजिटिभ रिपोर्ट बुधबार बिहान ७ः३० बजे प्राप्त भएको छ । 

संसद् परिसरमा परीक्षण गरिएको समय उल्लेख छैन । त्यसको रिपोर्ट भने बुधबार बिहान ७ः२० मा प्राप्त भएको हो । लाइफकेयर डाइग्नोस्टिक सेन्टरका कन्सल्टेन्ट डा. अम्मर नागिलाले स्वाब लाइफकेयरमा नभई बाहिर संकलन गरेर ल्याइएको र परीक्षणका लागि दिइएको बताए । उनका अनुसार फेवासिटी हस्पिटलका हिमाल गौतमले स्वाब परीक्षणका लागि संकलन गरेर पु¥याएका थिए । फेवासिटीका इभेन्ट म्यानेजमेन्ट रहेका गौतम राष्ट्रिय जनमोर्चा कास्कीका सचिव हुन् । 

रिपोर्टमा स्वाब संकलन दिउँसो ४ बजे उल्लेख भए पनि उनले मंगलबार मध्याह्न १२ देखि १ बजेको बीचमा फेवासिटी अस्पतालमै गरिएको दाबी गरेका छन् । ‘फेवासिटी अस्पतालमा उहाँ (सांसद शाही) र भाइ सँगै आउनुभएको थियो । भाइलाई लक्षण देखेपछि दुवैको स्वाब संकलन गरेर लगेका हौँ,’ उनले भने । शाही बुधबार बिहान ११ बजेसम्म पार्टी नेताहरूसँग सम्पर्कमा थिए । मंगलबार रातिदेखि उनी कोठामा गएका थिएनन् । 

उनका अनुसार सांसद शाही र उनका भाइ जीवन दुवैमा कोरोना पजिटिभ देखिएको छ । तर, भाइलाई भने पजिटिभ आएको जानकारी नदिइएको उनले बताए । साँझ चरक मेमोरियल अस्पताल पुग्दा सांसद शाहीका भाइ विक्रम भने बाहिरै थिए । 

अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले सांसद शाही बिहान ९ बजे आफ्ना भाइसँगै उपचारका लागि आएको दाबी गरे । तर, सांसद शाहीको संसद् परिसरमा गरिएको स्वाबको रिपोर्ट भने नेगेटिभ आएको छ । उनी लाइफकेयर डाइग्नोस्टिक सेन्टरमा परीक्षण गरिएको पजिटिभ रिपोर्ट लिएर अस्पताल पुगेका थिए । ‘कोरोना पजिटिभ रहेको रिपोर्ट लिएर आफ्नो भाइसहित आउनुभएको हो । हामीलाई अर्को परीक्षण गरिएको थियो भन्ने नै जानकारी थिएन । आएपछि उपचार गर्दिनँ भन्न मिल्दैन । मलाई त उहाँ सांसद हो भन्ने नै थाहा थिएन,’ प्रबन्ध निर्देशक पोखरेलले भनेका छन् । 

उता संसद्मा उपस्थित नभई चरक मेमोरियल अस्पतालमा उपचार गराइरहेका सांसद शाहीलाई भेट्न बुधबार राति मुख्यमन्त्री गुरुङ र आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ अस्पताल पुगेका थिए । उनीहरू दुवै अस्पताल पुगे पनि सांसद शाहीलाई नभेटी अवस्थाको जानकारी लिएर फर्केका छन् । 

कोरोना संक्रमणको जोखिम रहने भन्दै बिरामीले स्वीकृत नदिएका कारण भेट्न नमिल्ने भन्दै अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले मुख्यमन्त्री र मन्त्रीलाई ब्रिफिङ गरेर फर्काएका थिए । सांसद शाहीको अस्पतालको छैटौँ तलामा उपचार भइरहेको छ । मुख्यमन्त्री र मन्त्री उक्त अस्पतालमै पुगेर फर्केका हुन् । कोरोना संक्रमित भएको थाहा पाएपछि आफूहरू जानकारी लिन आएको मुख्यमन्त्री गुरुङले बताए । 

यता, एमाले सांसद धनञ्जय दवाडीले इतिहासमै नभएको घटना सभामुखले गण्डकीमा गराएको भन्दै सभामुखले राजीनामा दिनुपर्ने बताएका छन् । उनले सांसद अनुपस्थित हुँदैमा सदन स्थगित गर्नु दलीय राजनीतिबाट प्रेरित काम भएको र अलोकतान्त्रिक रहेको बताए । ‘संसारमै नभएको घटना गण्डकीमा सभामुखले घटाउनुभयो, भोलिबाट एकजना सांसद अनुपस्थित भए पनि स्थगित गर्दै जानुपर्छ । नभए सभामुखले तत्कालै राजीनामा दिनुपर्छ,’ उनले भने । संसद् बैठकपछि सत्तारुढ दलका सांसद कृष्णबहादुर थापाले सभामुखले सही नगरेको टिप्पणी गरे ।

यसैबीच, सांसद शाहीको तेस्रो रिपोर्ट पनि पजिटिभ आएको अस्पतालले जानकारी दिएको छ । एउटा पजिटिभ र अर्को नेगेटिभ आएको रिपोर्ट भएपछि चरक अस्पताल आफैँले गरेको स्वाब संकलन परीक्षण गर्दा भने बुधबार साँझ पजिटिभ आएको अस्पतालले जनाएको छ ।

हाम्रा सांसद अपहरण गरिएको हो, बिरामी भएको भए हामीले भेट्न किन नपाउने ?

चित्रबहादुर केसी, अध्यक्ष जनमोर्चा 

गण्डकीमा बुधबार जे–जस्तो गतिविधि भए, त्यसमा जनमोर्चाका एक सांसद खिमविक्रम शाही जोडिएका छन्, तपाईंको प्रतिक्रिया के छ ?
एमालेले नांगो प्रदर्शन गरेको छ । मान्छे अस्पतालको आइसियूमा छ, भेट्न दिइएको छैन । हाम्रो साथीहरू भेट्न जाँदा पनि भेट्न दिनुहुन्न भनेर रोकिएको छ । त्यहाँ अस्पतालमा मिलेमतो कति छ, त्यो त भोलि थाहा होला । यसबारे हामीले पनि खोजिरहेका छौँ । के भएको हो भनेर जानकारी लिइरहेका छौँ । हिजो कोभिड– १९ ‘टेस्ट’ गर्दा कोरोना नेगेटिभ देखिएको थियो, आज कोरोनाको बिरामी भनेर मान्छेलाई अस्पतालमा लगिएको छ । रातारात के भयो आइसियूमा राखिएको छ । पार्टीलाई जानकारी छैन । १२ बजेसम्म सम्पर्कमा रहेको र संसद्मा आउँछु भनेको मान्छे बिहान ९ बजेदेखि अस्पतालमा छ । मिलेमतो हो कि अपहरण भएको हो, छानबिनपछि थाहा हुन्छ । हाम्रा साथी अस्पतालमा भेट्न गएका थिए, तर भेट्न दिइएन । यसले यसको गम्भीरता देखाउँछ । फेरि त्यो त एमालेकै अस्पताल पनि हो । 

१२ बजेसम्म सम्पर्कमा रहेको र संसद्मा आउँछु भनेको मान्छे बिहान ९ बजेदेखि अस्पतालमा छ । मिलेमतो हो कि अपहरण भएको हो, छानबिनपछि थाहा हुन्छ । हाम्रा साथी अस्पतालमा भेट्न गएका थिए, तर भेट्न दिइएन । 

तपाईंहरूको पार्टीले पोखरा घटनामा अहिलेसम्म पाएको सूचना के हो, के भएको हो ?
उनी अस्पतालको आइसियूमा छन् भन्ने थाहा भएको हो । त्यसपछि लगत्तै उनलाई भेट्नका हामीले साथी पठाएको, तर प्रशासनले भेट्नै दिएको छैन । हाम्रै सांसद र पोखराका अन्य जिम्मेवार साथी पनि अस्पताल पुगेका हुन् । सांसद बिरामी भएको छ, पार्टीका मान्छेलाई भेट्न दिइएन, यो सबैलाई थाहा भइसकेको छ । अस्पतालमा मिडिया पनि पुगिसकेका छन् । मिडियाबाट पनि धेरै सत्यतथ्य बाहिर आउँदै छन् । 

कतिपयले सांसद शाहीले सत्तारुढ दलसँग म्याच फिक्सिङ गरेकोसमेत आरोप लगाएका छन नि ?
ती सम्भावनालाई पनि इन्कार गर्न सकिन्न, सम्भावना जे पनि हुन सक्छ । किनभने एमालेमा यस्तो खेती चलिरहन्छ । तर, उनलाई त भेट्न पाउनुपर्‍यो नि ! हिजो कोरोना जचाउँदा नेगेटिभ आउने, आज त्यही बहानामा त्यहाँ लगेर राखेको छ । अपहरण गरेर राखेको हुनाले भेट्न नदिएको हो भन्ने हाम्रो बुझाइ छ । 

पोखरा घटनामा अब के गर्नुहुन्छ ?
पार्टीले के गर्छ भन्ने भोलि थाहा हुन्छ । अहिले नै सबै कुरा भन्न भएन । 

अन्य राजनीतिक दलको तुलनामा तपाईंहरूको पार्टीभित्र अनुशासन बढी नै थियो । यसले त जनमोर्चाको चरित्र पनि अन्य पार्टीभन्दा फरक देखाएन नि ?
व्यक्तिले गर्ने काम र पार्टीको नीतिले गर्ने काम एउटै हुँदैन । कुनै पार्टीका व्यक्तिले गर्ने कुकर्मलाई पार्टीको नीतिको अर्थमा बुझ्नुहुन्छ तपाईं ? सुनियोजित ढंगले कांग्रेस, एमालेले यस्ता खेती गरिरहन्छन् । तर, राष्ट्रिय जनमोर्चाको कुनै व्यक्तिले गर्‍यो भने दोषी त व्यक्ति हो नि ! संगठनको नीति दोषी हुन सक्दैन । म तीनपटक सदनमा बसेको छु । त्यसकारण राष्ट्रिय जनमोर्चाको नीति त्यस्तो छैन । व्यक्तिविशेषले त्यस्ता गतिविधि गर्न सक्छन् । यसबारेमा खोज–अनुसन्धान हुन्छ र नेपाली जनतालाई खास कुरा थाहा हुन्छ ।

 

विपक्षीको प्रश्न  बागमतीमा मन्त्री त थपिए, तर भेन्टिलेटर र आइसियू कति थपिए ?
विश्वप्रकाश शर्मा, प्रवक्ता, कांग्रेस

देशमा यस्तो संकट भएका वेला पनि राजनीतिक द्वन्द्व भइरहनु दुःखद हो । तर, अहिले चाहिँ राजनीतिक द्वन्द्व भइरहेकै वेला कोरोनाको संकट दोहोरियो । त्यसले प्रतिकूल परिस्थिति सिर्जना गरेको छ ।

सरकारले यसबीचको एक वर्षको अवधिमा त्यसका लागि पूर्वतयारी र रोकथामका काम जो गर्नुपथ्र्यो, त्यो गर्न सकेको छैन । राजनीतिक द्वन्द्व भइरहँदा पनि राज्यको कर्तव्य के हो, समाजको कर्तव्य के हो, नागरिकको कर्तव्य के हो भन्ने त भुल्नुभएन नि ! त्यो त निरन्तर सञ्चालन हुनुपर्‍यो नि ! गण्डकी प्रदेश सरकार आज ढल्थ्यो वा रहन्थ्यो भन्नेले त्यहाँ कति भेन्टिलेटर थपिने, कति आइसियू थप्ने भन्नेमा त केही फरक पर्दैन नि ! बागमती प्रदेशमा आज (बुधबार) मन्त्री थपिए, तर बागमती प्रदेशमा आजै कति भेन्टिलेटर थपिए, कति आइसियू थपिए, अनि यहीँ रहेको केन्द्र सरकारले महामारीप्रति कति जिम्मेवारीबोध गरेको छ ।

त्यो पनि स्पष्टै छ । मन्त्री त थपिए, तर भेन्टिलेटर र आइसियू कति थपिए भन्ने सूचनाचाहिँ अहिले जनताले हेरिरहेका छन् । कांग्रेसले पनि जनताकै दृष्टिकोणबाट मूल्यांकन गरिरहेको छ । 

यस्तो फोहोरी खेलको पराकाष्ठा पञ्चायतमा पनि देखिएको थिएन : लीलामणि पोखरेल, नेता, माओवादी

सरकार आफूलाई गैरसंवैधानिक कदम चालेरै भए पनि कसरी सत्ता जोगाउने भन्नेमा केन्द्रित रह्यो । जनताका आधारभूत समस्या समाधानमा नितान्त उदासीन भयो । साथै सरकारले अहिले कोरोना महामारीको बहानामा बढ्ता आतंक सिर्जना गर्ने कामसमेत गरिरहेको छ ।

एकातिर महामारी नै भयावह छ, अर्कोतिर त्यसैको बहानामा सत्ता जोगाउने खेलमा छ । गण्डकी प्रदेशमा मात्रै सोमबार कोरोनाकै बहानामा संसद् अवरोध गर्‍यो । त्यसपछि दोस्रो दिन बिरामी नै नभएका सांसदलाई लिएर आइसियूमा राखेको भन्ने खबर आइरहेको छ । अघिल्लो दिन स्वस्थ रहेको मानिस अर्को दिन नै त्यस्तो गम्भीर बिरामी के भएर आइसियूमा राखियो ? कोरोनाले नै हिजोको आज त यस्तो हुँदैन । लुम्बिनी प्रदेशमा अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका चारजनालाई नै लिएर मन्त्री बनाइदिएको छ । सरकारले अहिले खेलिरहेको सांसद किनबेचको संसदीय फोहोरी खेलको पराकाष्ठा पञ्चायतमा पनि देखिएको थिएन । 

हामी संसदीय प्रक्रियाबाट आउने कुनै पनि परिणामलाई स्विकार्न तयार छौँ  : प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री

देश कोरोनाको संकटमा छ । तर, सरकारको ध्यान सत्तामा देखिएको संकट टार्ने, सत्ता बचाउनेतिर केन्द्रित रहेको विपक्षीहरूको आरोप होला । तर, त्यो सर्वथा गलत हो । हामीले त पहिल्यैदेखि भन्दै आएका छौँ– अहिलेको प्राथमिकता सरकार परिवर्तन होइन, देशको समस्या समाधानमा केन्द्रित हुने हो ।

तर, यो स्थितिको सिर्जना त खासगरी माओवादी केन्द्रले एकता भत्काउने कुरा गरेर कहिले कांग्रेसलाई, कहिले राजपालाई सरकार परिवर्तन गर्न एकसूत्रीय ढंगले लाग्दा सिर्जना भएको हो ।

सरकार प्रस्ट छ– साथीहरू स्वस्थ र स्थापित संसदीय प्रक्रियाबाट आउनुहुन्छ र सरकार बनाउनुहुन्छ भने कहिल्यै अवरोध हुँदैन । तर, त्यसोचाहिँ गर्नै नसक्ने, अनि राष्ट्रको ध्यानचाहिँ अन्तअन्तै बराल्ने शतप्रतिशत गलत हो । हामी संसदीय प्रक्रियाबाट आउने कुनै पनि परिणामलाई स्विकार्न तयार छौँ ।

तर, अहिले हाम्रो सम्पूर्ण ध्यान राष्ट्रकै मुद्दामा केन्द्रित छ । सरकार कोभिड– १९ को जोखिम नियन्त्रणका लागि फैलिएका स्थानमा निषेधाज्ञा जारी गर्ने, स्वास्थ्य मापदण्ड पालना गर्न सचेतना अभियान चलाउने, स्वास्थ्य उपचारको क्षमता बढाउने, क्वारेन्टिन अभिवृद्धि गर्ने गरी अहिलेको आवश्यकता परिपूर्ति गर्नतिर लागिरहेको छ । तर, उहाँहरूको ध्यान त त्यता छैन ।

उहाँहरूको एकसूत्रीय ध्यान त केपी ओली नै देशको एक नम्बर समस्या हो, उहाँलाई हटाउँदा मात्रै कोभिडको मात्रै होइन, सबै कुराको अचुक औषधि हुन्छ भनेर जसरी लाग्नुभएको छ, त्यसैले अहिलेको परिस्थितिको प्रश्न हामीतिर होइन, त्यतैतिर (विपक्षीतिरै) फर्किन्छ जस्तो मलाई लागेको छ । 

ad
ad