१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार ११:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिग : धनगढीको उत्कृष्ट पुनरागमन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार ११:o९:oo

धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित हात पारेको छ । खेलको अन्तिम २२ मिनेट १० जनामा सीमित भएर पनि धनगढीले काठमाडौं रेजर्समाथि मंगलबार ३–० को जित हात पारेको हो । 

प्रतियोगितामा धनगढीको यो उत्कृष्ट पुनरागमन हो । पहिलो खेलमा विराटनगर सिटी एफसीसँग ३–० गोलअन्तरले पराजित धनगढीले दोस्रो खेलमा उत्ति नै गोलअन्तरको जित हात पार्न सफल भएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीले तीनै गोल पहिलो हाफमा गरेको हो । धनगढीलाई खेलको १९औँ मिनेटमै टंक बस्नेतले १–० ले अगाडि बढाएका थिए । उनको प्रहार ‘साइड पोल’मा लागेर फर्किएको अवस्थामा काठमाडौंका गोलरक्षक विकेश कुथुलाई लागेर गोलमा परिणत भएको थियो । 

त्यसपछि टोलीका अफ्रिकी खेलाडी ओलाडिपो ओलावाले अफिजले लगातार दुई गोल गर्दै धनगढीलाई ३–० ले अगाडि बढाए । काउन्टर अट्याकमा गोल गर्दै अफिजले खेलको २३औँ मिनेटमा धनगढीको अग्रता दोब्बर बनाए । खेलको मध्यभागबाट बल अगाडि बढाएका अफिजले काठमाडौंका एकजना रक्षकलाई बिट गर्दै गोल गरेका थिए । 

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा दर्शन गुरुङले क्रस गरेको बललाई गोलमा परिणत गर्दै अफिजले व्यक्तिगत दोस्रो र टोलीको तेस्रो गोल गरेका थिए । एकपक्षीय देखिएको पहिलो हाफमा यससँगै धनगढी तीन गोलले अघि रहेको थियो । 

दोस्रो हाफमा काठमाडौंले केही सुधारिएको प्रदर्शन गर्‍यो । यद्यपि, टोलीले गोल गर्न भने सकेन । काठमाडौंविरुद्ध धनगढी खेलको ६८औँ मिनेटमा १० जनामा सीमित भएको थियो । खेलमा २२ मिनेटभन्दा बढी समय धनगढीको १० जनाविरुद्ध खेलेर पनि काठमाडौंले गोल निकाल्न सकेन । 

खेलपछि काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो टोलीको खेलमा सुधारको आवश्यकता देखिएको बताए । ‘हामी केही ठाउँमा चुक्यौँ । जसरी खेल्नुपथ्र्याे, त्यसरी खेल्न सकेनन्,’ प्रशिक्षक महर्जनले भने, ‘यसबाट हामीले पाठ सिक्नुपर्छ । हाम्रा विदेशी खेलाडीबीचमा पनि त्यति तालमेल देखिएन । आगामी दिनमा हाम्रो यो खेलमा सुधारको आवश्यकता देखिएको छ ।’

प्रतियोगितामा काठमाडौंको यो पहिलो हार हो । काठमाडौंले पहिलो खेलमा ललितपुर सिटी एफसीलाई १–० ले पराजित गरेको थियो । प्रतियोगितामा महत्वपूर्ण जित हात पारेपछि धनगढीका प्रशिक्षक युगलकिशोर राईले आफ्नो खेलाडीको प्रदर्शनमा सन्तुष्टि जनाए । उनले अघिल्लो खेलमा गरेको गल्तीमा सुधार गर्दा सहज जित सम्भव भएको प्रतिक्रिया दिए ।

‘हामीले अघिल्लो खेलमा पनि कमजोर प्रदर्शन गरेका होइनौँ । यद्यपि, त्यो खेलमा सानो–सानो गल्ती हुँदा हामी ठूलो अन्तरले पराजित हुन पुगेका थियौँ,’ उनले भने, ‘आजको खेलमा हामीले त्यही गल्तीमा सुधार ल्यायौँ । त्यसको नतिजा देखिएको छ । यो खेलमा खेलाडीको प्रदर्शनबाट खुसी छु ।’

ad
ad