मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
जीवन बस्नेत काठमाडौं
२०७८ बैशाख १२ आइतबार ०८:२३:००
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

भूकम्पको ६ वर्ष : ठडियो धरहरा, भरियो रानीपोखरी

Read Time : > 4 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७८ बैशाख १२ आइतबार ०८:२३:००

१२ वैशाख ०७२ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पको आइतबार ६ वर्ष पूरा भएको छ । भूकम्पले ध्वस्त बनाएका कैयौँ संरचना पुनर्निर्माण भएका छन् । विशेषगरी विद्यालय भवन, सुरक्षा निकाय भवन र सडक निर्माणमा राम्रो प्रगति भएको छ । आमसर्वसाधारणको चासो रहेको ऐतिहासिक महत्वका धरहरा, रानीपोखरीजस्ता सम्पदाको पुनर्निर्माण पनि सम्पन्न भएका छन् । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार अब तीनवटा मात्र सरकारी भवन निर्माण गर्न बाँकी छ । पुनर्निर्माण र पुनस्र्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशतको उपलब्धि प्राप्त भएको छ । सांस्कृतिक सम्पदा र स्वास्थ्य संस्थाको निर्माणको गति भने अझै न्यून छ । 

बबरमहल, केशरमहल वसन्तपुर दरबार क्षेत्रको प्रबलीकरण जारी छ । नारायणहिटी संग्रहालयभित्रको रणोद्दीपको दरबार पुनर्निर्माणको काम भइहेको भने बालमन्दिर पुनर्निर्माणको काम पनि भइरहेको छ । बृहत्तर रानीपोखरी–टुँडिखेल–रत्नपार्क–खुलामञ्च–भृकुटीमण्डप–रंगशाला–लोकतान्त्रिक संग्रहालय, नारायणहिटी संग्रहालय, गोरखा र नुवाकोट दरबार क्षेत्र एवं उपत्यकाका सातवटै पुरातात्विक सम्पदाको गुरुयोजना स्वीकृतिको चरणमा छन् । 

प्राधिकरणले ०७८ असार मसान्तसम्म मात्र नियमित काम गर्नेछ । प्राधिकरणका अनुसार १ साउन ०७८ देखि १० पुससम्म रानीपोखरी, धरहरा, सिंहदरबारको पश्चिम खण्ड र नारायणहिटी संग्रहालयभित्रको रणोद्दीपको दरबार पुनर्निर्माणबाहेक सबै योजना–कार्यक्रम सम्बन्धित मन्त्रालय वा निकायमा हस्तान्तरण गर्ने कार्ययोजना तयार गरिएको छ । 

विनाशकारी भूकम्पले ध्वस्त बनाएको ऐतिहासिक धरहरा पुनः ठडिएको छ । भूकम्पको ६ वर्षपछि ठडिएको २२ तले धरहरा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उद्घाटन गरे । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा पहिलेभन्दा अग्लो पनि छ । बाहिरबाट हेर्दा ११ तले देखिए पनि जमिनमुनि दुई र जमिनमाथि भुइँतला गरी समग्रमा धरहरा २५ तलाको छ । तीन अर्ब ४८ करोड रुपैयाँ लागतमा जिआइइटिसी रमन जेभीले पुनर्निर्माण गरेको हो । 

संघीय राजधानीको प्रमुख आकर्षक केन्द्र मानिएको रानीपोखरीसहित बालगोपालेश्वर मन्दिर र पुल पुनर्निर्माण भइसकेको छ । रानीपोखरी र अन्य संरचना तथा सौन्दर्यकरणका लागि सिए/तुलसी कन्स्ट्रक्सन जेभीसँग २४ असार ०७६ मा ठेक्का सम्झौता भएको थियो । ५ कात्तिक ०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरीसकेकी छिन् । बालगोपालेश्वर मन्दिरको शिरमा १२३.७ केजी तामाबाट बनेको र सुनको जलप लगाइएको गजुर स्थापना गरिएको छ । रानीपोखरीको लम्बाइ १८० मिटर र चौडाइ १४० मिटर छ । जसको नौ फिट गहिराइमा पानी भरिएको छ । ०७२ को भूकम्पले क्षति पुर्‍याएपछि लामो समय अलपत्र परेको रानीपोखरी अहिले सुन्दर र मनमोहक देखिएको छ । रानीपोखरीलाई थप आकर्षक बनाउन गार्डेन बनाउने काम भइरहेका छन् । रानीपोखरीको अन्य स्वरूप, प्रविधि र संरचना पनि प्राचीनकालकै जस्तो रहनेछ । 

सिंहदरबारको प्रबलीकरण र पुनर्निर्माण 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको सिंहदरबारको प्रबलीकरण र पुनर्निर्माण पनि सम्पन्न भइसकेको छ । पश्चिमबाहेकका तीन मोहडाको निर्माण कार्य २ फागुन ०७६ मै सम्पन्न भएको हो । यसको पनि प्रधानमन्त्री ओलीले उद्घाटन गरिसकेका छन् । भूकम्पले भवन क्षतिग्रस्त भएपछि देशका प्रमुख कार्यकारीको कार्यालय सिंहदरबार परिसरकै तत्कालीन स्थानीय विकास मन्त्रालय रहेको भवनमा सारिएको थियो । पुनर्निर्माण सम्पन्न भई उद्घाटन हुन लागेका मोहडा ०३० को आगलागीमा परेपछि ०३७ मा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको थियो । 

दुई चरणमा ठेक्का व्यवस्थापनमार्फत यी मोहडाको पुनर्निर्माणमा हालसम्म भ्याटबाहेक ८७ करोड रुपैयाँ खर्च भएको छ । उत्तर, दक्षिण र पूर्व खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री जस्तै सिमेन्ट, बालुवा, छड, बोन्डिङ केमिकल प्रयोग गरी पुरानै स्वरूप नबिग्रिने गरी प्रबलीकरण गरिएको छ । निर्माण कम्पनी शर्मा–न्यु टेक्निकलले प्रथम चरणको काम गरेको हो भने शर्मा–माइक्रोटेक–न्यु टेक्निकल जेभीले दोस्रो चरणको काम गरेको हो । 

आगलागीबाट बचेको पश्चिम मोहडाको पुरानै प्रविधि तथा निर्माण सामग्री प्रयोग गरी प्रबलीकरण भइरहेको छ । २७ असोज ०७६ बाट सुरु भएको पश्चिम मोहडाको पुनर्निर्माण कार्यको हालसम्म ५० प्रतिशत प्रगति भइसकेको छ । भ्याटबाहेक करिब ४६ करोड ८८ लाख रुपैयाँमा शर्मा–गौरी पार्वती–न्यु टेक्निकल जेभीले प्रबलीकरण गरिरहेको छ ।

लाप्राक एकीकृत बस्ती निर्माण
पुनर्निर्माणका क्रममा तयार भएको सबैभन्दा ठूलो एकीकृत बस्तीका लाभग्राहीलाई जग्गाधनी पुर्जासहित तयार भएको घर हस्तान्तरण गरिएको छ । ९ वैशाख ०७८ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले गोरखा धार्चे गाउँपालिकास्थित लाप्राक एकीकृत बस्तीमा आयोजित एक कार्यक्रममा संयुक्त रूपमा घर हस्तान्तरण गरे । प्राधिकरण र एनआरएनएको सहयोगमा गुप्सीपाखामा पाँच सय ७३ घरसहितको एकीकृत बस्ती तयार भएको हो । प्राधिकरणले जग्गा उपलब्ध गराउने तथा पूर्वाधार निर्माणमा सहयोग गरेको हो भने गैरआवासीय नेपाली संघले घर निर्माणमा सहयोग गरेको हो ।

दरबार हाइस्कुल 
चीन सरकारको ८९ करोड रुपैयाँको सहयोगमा ऐतिहासिक दरबार हाइस्कुल निर्माण भएको छ । माघ ०७७ मा निर्माण सम्पन्न भएको यो ऐतिहासिक दरबार हाइस्कुलभित्र अहिले भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय छ । उक्त विद्यालयमा कक्षा १२ सम्म पठनपाठन हुन्छ । पुनर्निर्माण भव्य भवन चारतले छ । साढे ९ रोपनी क्षेत्रफलमा निर्मित नयाँ भवनमा ४५ वटा कोठा छन् । जंगबहादुर राणा बेलायत भ्रमणबाट फर्केपछि विस १९१० मा दरबारियाका छोराछोरीलाई मात्र पढाउन दरबार हाइस्कुल स्थापना गरिएको थियो । वि.सं १९५७ मा देवशमशेर प्रधानमन्त्री भएपछि दरबार स्कुलमा सर्वसाधारण जनताले पढ्न पाउने व्यवस्था गरिएको हो ।

महान्यायाधिवक्ताको कार्यालय
रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालय भवन पनि पुनर्निर्माण सम्पन्न भएको छ । सो भवनको पनि ८ पुस ०७७ मा प्रधानमन्त्री ओलीले उद्घाटन गरेका थिए । २४ असोज ०७५ मा शिलान्यास भएको सो भवन निर्माणका लागि ७३ करोड ६९ लाख ३५ हजारमा ठेक्का सम्झौता भएको थियो । सो भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजनाअन्तर्गत निर्माण गरिएको हो । 

नेपाली सेनाको मुख्यालय
गोरखा भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा निर्माण सम्पन्न भएको यो सबैभन्दा ठूलो आयोजना हो । २४ जेठ ०७३ मा निर्माण सुरु भएको भवन दुई वर्ष १० महिनामा तयार भएको हो ।

भवन निर्माण गर्न प्राधिकरणमार्फत सरकारले तीन अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको थियो । भूकम्प प्रतिरोधात्मक भवनमा क्युबिकलसहित चार सय ३० कोठा रहेको छ । भवनमा महानिर्देशनालय, विभाग, निर्देशनालयसहित ४७ कार्यालय सञ्चालन हुनेछ । अलग–अलग सातवटा भवन जोडेर तयार गरिएको मुख्यालय भवन सात तलाको छ । भूकम्पपछि सेनाको जंगी अड्डासहित एक हजार एक सय नौ भौतिक संरचना क्षति भएका थिए । भवनको उद्घाटन १० वैशाख ०७६ मा राष्ट्रपति एवं सेनाका परमाधिपति विद्यादेवी भण्डारीले गरेकी हुन् । 

पुनर्निर्माण र प्रबलीकरण भइरहेकाअन्य महत्वपूर्ण भवन
ऐतिहासिक महत्वको बबरमहल, केशरमहल वसन्तपुर दरबार क्षेत्रको प्रबलीकरणको काम भइरहेको छ । यी काम आगामी असोज ०७८ सम्ममा प्रबलीकरण गरिसक्ने योजना छ । त्यस्तै, नारायणहिटी संग्रहालयभित्रको रणोद्दीपको दरबार पुनर्निर्माणको काम भइहेको भने बालमन्दिर पुनर्निर्माणको काम पनि भइरहेको छ । त्यस्तै, बृहत्तर रानीपोखरी–टुँडिखेल–रत्नपार्क–खुलामञ्च–भृकुटीमण्डप–रंगशाला–लोकतान्त्रिक संग्रहालय, नारायणहिटी संग्रहालय, गोरखा र नुवाकोट दरबार क्षेत्र एवं उपत्यकाका सातवटै पुरातात्विक सम्पदाको गुरुयोजना स्वीकृतिको चरणमा रहेका छन् । 

अहिलेसम्म तीन खर्ब ५७ अर्ब खर्च 
भूकम्प र त्यसपछिका परकम्पबाट भएको क्षतिको पुनर्निर्माण र पुनस्र्थापनाको मूल उद्देश्यसहित १० पुस ०७२ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन भएको थियो । प्राधिकरण स्थापना भएको ६४ महिना पूरा भएको छ । पुनर्निर्माणका लागि स्वीकृत पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्र्थापना योजनाअनुसार परिमार्जित कुल बजेट आवश्यकता चार खर्ब ८८ अर्ब रुपैयाँ रहेको छ । यसमध्ये अहिलेसम्म सरकार र दातृ निकायहरूको समेत गरी ०७७ चैत मसान्तसम्म तीन खर्ब ५७ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।