मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ ३० आइतबार
  • Sunday, 13 June, 2021
बेलेन फर्नान्डेज
२०७८ बैशाख ९ बिहीबार ०९:४३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

आप्रवासी मुद्दामा ट्रम्पलाई पछ्याउँदै बाइडेन

Read Time : > 2 मिनेट
बेलेन फर्नान्डेज
२०७८ बैशाख ९ बिहीबार ०९:४३:००

अमेरिकी सरकारले आप्रवासी संकट समाधानका लागि पुनः एकपटक सैन्यकरणको सहारा लिएको छ 

 मार्चको मध्यमा रोयटर्सको एउटा समाचारमा मेक्सिकोले ‘ग्वाटेमालासँग जोडिएको दक्षिणी सिमानामा आवागमन रोकेको’ लेखिएको थियो । कारण कोरोना–१९ को विस्तार रोक्ने दिइएको थियो । तर, सोही समाचारमा अमेरिकास्थित जो बाइडेनको सरकारले मेक्सिकोलाई कोरोना खोप ऋणमा दिने योजनाबारे निर्णय गर्दै गरेको उल्लेख थियो । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले यी दुई घटना एकैपटक हुनुका पछाडि संयोग मात्र भएको बताइन् । उनका अनुसार ‘अनधिकृत आप्रवासन’ रोक्न मेक्सिकोसँग कुनै लेनदेन भएको छैन । 

तर अमेरिका जान लागेका गरिब प्रवासीमाथि कारबाहीका लागि महामारीको समय रोजिएको छ । अघिल्लो वर्षको स्वास्थ्य संकट सुरु भएदेखि म मेक्सिकोमा बसिरहेकी छु । पर्यटक तथा जहाजबाट मेक्सिको आइरहेका ‘मूल्यवान्’ मानिसको आवागमनमा कुनै नियन्त्रणात्मक कदम चालिएको छैन । जबकि मेक्सिको आउनेहरू धेरैजसो अमेरिकाजस्ता कोरोना भाइरसको केन्द्रबिन्दुका नागरिक छन् । 

मेक्सिकोले दक्षिणी सिमानामा कडाइ गर्दा पनि अमेरिकामा आउने आप्रवासीको संख्या कम भएन । एसोसियट प्रेसका अनुसार मार्च महिनामा ‘हालसम्मकै धेरै अभिभावकविहीन बालबालिका’ले अमेरिका प्रवेश गर्ने प्रयास गरे । ह्वाइट हाउसकी प्रवक्ता साकीले अप्रिल १२ को पत्रकार साक्षात्कारमा अमेरिकाले ‘सीमा सुरक्षा बढाउन’ अतिरिक्त कदम चालेको खुलासा गरिन् । उनले दिएको जानकारीअनुसार ‘मेक्सिकोले ग्वाटेमालासँगको सिमानामा १० हजार फौज तैनाथ गर्नेछ’ भने ग्वाटेमालाले होन्डुरसको सिमानामा ‘१५ हजार प्रहरी र सैन्य अधिकारी बढाएको’ छ । र, होन्डुरसले ‘आप्रवासीको ठूला लहरलाई तितरबितर पार्न सात हजार प्रहरी र सेना बढाएको छ ।’ आप्रवासीविरुद्ध एक प्रकारको युद्ध नै छेडिएको छ । बाइडेनले केही मुद्दामा उनका पूर्ववर्ती डोनाल्ड ट्रम्पले भन्दा मानवीय कदम उठाएको भए पनि आप्रवासीको सबालमा विगतको युद्धलाई निरन्तरता दिएका छन् । 

बाइडेनले केही मुद्दामा उनका पूर्ववर्ती डोनाल्ड ट्रम्पले भन्दा बढी मानवीय कदम उठाएका भए पनि आप्रवासीको सबालमा विगतको सैन्यकरणलाई निरन्तरता दिएका छन् 

अहिले बाइडेननजिकका अधिकारी यस कदमको फाइदाबारे व्याख्या गर्न थालेका छन् । आप्रवासन नीतिमा बाइडेनका विशेष सहयोगी टाइलर मो¥यानले एमएसएनबिसीमा बोल्ने क्रममा मेक्सिको, ग्वाटेमाला र होन्डुरससँग भएको सैन्य परिचालन सहमतिले ‘लागुऔषध व्यापारी, तस्कर तथा कार्टेललाई पनि रोक्ने’ बताए । यो समूहले ‘बालबालिकालाई बढी प्रयोग गर्ने भएकाले यिनमाथि अवरोध आएपछि बालबालिकाको पनि सुरक्षा हुने’ मोर्‍यानको तर्क छ । जबकि सम्झौतामा संलग्न तीनवटै देशका सुरक्षाकर्मीको आप्रवासीविरोधी हिंसाको लामो इतिहास छ । यस्तोमा बालबालिकाको सुरक्षा कसरी बढ्ला ? सीमाक्षेत्रमा फौजको संख्या वृद्धि गर्ने बहसमा अमेरिकातर्फको बसाइँसराइमा अमेरिकाको समर्थनमा मेक्सिको र दक्षिण अमेरिकामा भएको सैन्यकरणको भूमिका रहेको विषय छुटाउनु हुँदैन । मेक्सिकोमा छेडिएको ‘लागुऔषधविरुद्ध युद्ध’को नाममा अमेरिकाले वर्षौं भ्रष्ट तथा दमनकारी सुरक्षा फौजमाथि पैसा खन्यायो । सुरक्षा फौजका वरिष्ठ अधिकारीको कार्टेलसँग मिलेमतो भएका धेरै घटना पाइएका छन् । ‘लागुऔषधविरुद्धको युद्ध’मा भएको हिंसाबाट उम्किन धेरै मेक्सिकन अमेरिकातर्फ उत्तर लाग्छन् । 

सन् १९५४ मा अमेरिकी कर्पाेरेट स्वार्थ जोगाउन सिआइएको योजनामा ग्वाटेमालामा ‘कु’ भयो । त्यसपछि देश ३६ वर्ष लामो गृहयुद्धमा फस्यो, जसमा दुई लाख ग्वाटेमालावासी मरेका वा बेपत्ता भएका छन् । युद्धको विभीषिकाबाट बच्न धेरै उत्तरतर्फ हिँडे । अझ अमेरिकाले सघाएको ग्वाटेमाला सरकार र सेना युद्ध समयका अधिकांश मानवअधिकार उल्लंघनका लागि जिम्मेवार रहेको पाइएको छ । 

होन्डुरसमा पनि अमेरिकाको सहयोगमा भएको सैन्यकरणले कैयौँ नागरिक प्रवासी र शरणार्थी हुन बाध्य भए । सन् २००९ को दक्षिणपन्थी कु (अमेरिकाले अवैध शासनको पक्षमा गरेको षड्यन्त्रले कु सफल भएको थियो)ले हिंसा र दण्डहीनता उल्लेख्य वृद्धि हुन पुग्यो ।  कुपछि बाराक ओबामा प्रशासन (जसमा बाइडेन उपराष्ट्रपति थिए) ले हत्या, बलात्कार तथा आतंकमा संलग्न होन्डुरसको सुरक्षा फौजलाई अनुदान बढायो । यी फौजले सिर्जना गरेको आतंकबाट उम्किरहेका आप्रवासीको समूहलाई तितरबितर बनाउन तिनै सुरक्षा फौजको संख्या बढाइँदै छ । अमेरिकाले सेनाका कारण बढेको ल्याटिन अमेरिकी क्षेत्रको समस्याका लागि सैन्य समाधान प्रवद्र्धन गर्न खोज्नु बुद्धिमत्तापूर्ण छैन । 

(फर्नान्डेज ज्याकोबिन म्यागजिनकी सम्पादक हुन् । उनका विभिन्न पुस्तक प्रकाशित छन्) 
अलजजिराबाट