१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
बेलेन फर्नान्डेज
२०७८ माघ २८ शुक्रबार ०९:३६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

६० वर्ष लामो अमेरिकी नाकाबन्दीले नगलेको क्युबा

Read Time : > 2 मिनेट
बेलेन फर्नान्डेज
२०७८ माघ २८ शुक्रबार ०९:३६:००

अमेरिकाको ६० वर्ष लामो नाकाबन्दीले पनि क्युबामा वासिङ्टनको आशाअनुरूप ‘लोकतान्त्रीकरण’को भोक जागेको छैन


फेब्रुअरीको सुरुमा एक महिना लामो बसाइका लागि मेक्सिकोबाट क्युबा जाने तयारी गरिरहेको वेला एकजना क्युबाली साथीले मलाई केही सुझाब दिए । विशेषतः दूध र कफीजस्ता चिजहरू चाहिने भए आफैँसँग ल्याउन नबिर्सन उनले सुझाब दिए । अमेरिकाले क्युबामाथि ६० वर्षदेखि लगाएको नाकाबन्दीका कारण क्युबामा आधारभूत सामानसमेत पाउन कठिन छ । 

६० वर्षअघि ७ फेब्रुअरी १९६२ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको निर्देशनमा ‘क्युबासँगका सम्पूर्ण व्यापारमा प्रतिबन्ध’ लाग्यो । केनेडीले प्रतिबन्ध लागू गर्नुअगावै विश्वभर चर्चा कमाएको क्युबाली चुरोटको झन्डै १२ सय खिल्ली किनेर जोहो भने गरेका थिए । यो अमेरिकाले कुनै पनि देशमा लगाएको सबैभन्दा कष्टसाध्य नाकाबन्दी साबित भएको छ । जसअन्तर्गत औषधि र खानामाथि पनि प्रतिबन्ध लागेको छ । 

केनेडीले नाकाबन्दी लगाउनुभन्दा दुई वर्षअगाडि उनका पूर्ववर्ती ड्वाइट आइजेनहावरले ह्वाइट हाउसको एक भेलामा ‘सम्पूर्ण क्युबालाई क्वारेन्टाइन बनाउन सकिने र क्युबाली जनता भोकाए भने बल्ल तिनले क्यास्ट्रो (सरकार) लाई सत्ताच्यूत गर्ने’ बताएका थिए । यस्तो विचार राख्न सक्ने अमेरिकी राजनीतिज्ञहरूलाई कसले आकर्षक छैन भन्छ ? आइजेनहावरको भनाइको केही महिनापछि अप्रिल १९६० मा उनको प्रशासनका उप–सहायक विदेशमन्त्री (अन्तर–अमेरिकी मामिला हेर्ने) लेस्टर म्यालोरीले ‘क्युबाको आर्थिक जीवनलाई कमजोर पार्न सम्भव भएसम्मका सबै उपाय अंगिकार गर्नुपर्ने’ सुझाब दिए । ‘क्युबालाई पैसा र आपूर्तिबाट वञ्चित गराउन सकियो भने त्यहाँको मौद्रिक र वास्तविक ज्याला घटाउन सकिने, त्यसले निम्त्याउने भोक र अभावले सरकारविरुद्ध आक्रोश’ उत्पन्न गर्ने म्यालोरीको निष्कर्ष थियो ।

अब समयको सुईलाई घुमाएर सन् २०२२ मा ल्याएर हेर्नोस् । क्युबाविरुद्धको नाकाबन्दीमा लागू भएका प्रतिबन्धको संख्या घट्नुको साटो बढेकोबढ्यै छ । अमेरिकाले कुनै देशविरुद्ध लगाएको सबैभन्दा लामो यस नाकाबन्दीका कारण क्युबाले झन्डै १३० अर्ब डलर गुमाइसकेको छ । यो संयुक्त राष्ट्रसंघले खोजेको तथ्यांक हो । यति लामो प्रतिबन्धका बाबजुद आफ्नो नाकैमुनि सामूहिक हित, निःशुल्क स्वास्थ्य सेवा र शिक्षालाई महत्व दिँदै एक सानो टापु मुलुक ठाडो शिर लगाएर अघि बढिरहेको यथार्थले अमेरिकालाई क्षुब्ध बनाउँछ ।

यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबामाथि थप नयाँ २४३ प्रकारका प्रतिबन्ध थोपरे । उनले सन् १९५९ को क्युबाली क्रान्तिअघि क्युबाभित्र अमेरिकी नागरिकको स्वामित्वमा रहेको र पछि खोसिएको सम्पत्ति प्रयोग गर्ने अन्तर्राष्ट्रिय कम्पनी र व्यक्तिमाथि अमेरिकी नागरिकले मुद्दा दायर गर्न कायम कानुनी कठिनाइ फुकुवा गरिदिए । ट्रम्पभन्दा असल भनेर प्रचार गरिएका वर्तमान अमेरिकी राष्ट्रपति बाइडेनले पनि नयाँ प्रतिबन्ध थोपरेर क्युबामाथि जारी छद्म युद्धलाई तीव्र पारेका छन् । 

सन् २०२१ मा संयुक्त राष्ट्र संघको महासभाले लगातार २९औँ वर्ष क्युबामाथिको अमेरिकी आर्थिक नाकाबन्दी अन्त्य गर्ने प्रस्तावको पक्षमा मतदान ग¥यो । नाकाबन्दी अन्त्य गर्ने प्रस्तावमा १८४ मुलुकले पक्षमा मत हाल्दा अमेरिका र इजरायल मात्र विपक्षमा उभिएका थिए । आखिर इजरायल पनि नाकाबन्दी र घेराबन्दीमा पारिएका जनताको पीडाको कारण तिनै हुन् भन्ने विश्वास गर्ने मुलुक हो । 

संयुक्त राष्ट्र संघको महासभामा अमेरिकी मतको प्रतिरक्षा गर्दै राष्ट्र संघका लागि अमेरिकी नियोगका राजनीतिक संयोजक रोड्नी हन्टरले प्रतिबन्धहरू ‘क्युबामा लोकतन्त्र र मानव अधिकारलाई प्रवर्धन गर्ने बृहत्तर प्रयासअन्तर्गतको एक हिस्सा’ भएको बताए । उनले महासभासँग क्युबाली जनताको आफ्नो भविष्य आफैँ चयन गर्न पाउने अधिकारको पक्षमा उभिन आग्रह गरे । मानवअधिकारको सम्मानको कुरा हुँदा कसैको दिमागमा आउने पहिलो कुरा मानिसलाई अत्यावश्यक खाद्यान्न, औषधि र अन्य आधारभूत सामान रोक्ने सोच हुँदैन । क्युबाको एक मात्र ‘लोकतान्त्रिक भविष्य’ सधैँझैँ अमेरिकाले क्युबाली जनताले जे चाहनुपर्छ भनेर निर्धारण गरिदिन्छ, त्यही हुनुपर्ने त होला ।

अमेरिकाले क्युबामाथि यति धेरै प्रतिबन्ध लगाएको छ कि क्युबासँग व्यापार गर्नु टाउको दुखाइको विषय हुन्छ । अझ कानुनी र वित्तीय कारबाहीको सम्भावनासमेत रहन्छ । यहाँनेर क्युबाली सरकार पूर्ण छ र ऊ निर्दोष छ भन्न खोजेको होइन । तर, हाल त्यहाँ देखिएको समस्यालाई एक महाशक्ति मुलुकको आर्थिक दमनको सन्दर्भमा हेरिनुपर्छ । यस तर्कको प्रत्युत्तरमा धेरै पर्यवेक्षक के तर्क गर्छन् भने क्युबाको वर्तमान सरकारले उसका सम्पूर्ण अक्षमतालाई छोप्न नाकाबन्दी बहाना पाएको छ । त्यसो भए नाकाबन्दी अन्त्य गरेर उसलाई त्यो बहानाबाटै विमुख किन नबनाउने ? 

सौभाग्यवश, हवानामा मेरो पहिलो वार्ताकार एक ५० वर्षीय मानिस थिए, जो मियामीबाट क्युबा फर्किने प्रक्रियामा थिए, जहाँ उनी विगत पाँच वर्षदेखि मेकानिक र ट्रक चालकका रूपमा काम गरिरहेका थिए । बुढेसकाल लाग्दै गर्दा उनको निचोड छ, जीवनमा खुसी हुन निकै थोरै कुरा चाहिने रहेछ । जसमा अमेरिकी जीवन पर्दैन । किनकि, उनले अमेरिकामा जे भोगे, त्यो जीवन थिएन, पुँजीवाद थियो । अमेरिकामा उनी काममा यति घोटिनुपर्छ कि उनीसँग उनलाई मन पर्ने खोस माछा मार्ने समय पाउँदैनन् । ६० वर्ष लामो नाकाबन्दीपछि पनि औपनिवेशिक मानसिकता बोकेको अमेरिकामा मानवीय भावना र करुणा जागेको देखिँदैन । उता क्युबालीहरूको जीवनस्तर झन्–झन् अभावग्रस्त बन्दै गएको छ । यस्तोमा चे ग्वेभाराका शब्दहरू उल्लेख गर्नु उचित हुन्छ, ‘साँचो क्रान्तिकारी प्रेमको महान् भावनाले निर्देशित हुन्छन् ।’ अलजजिराबाट