मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format o८:५९:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गुरुयोजना नहुँदा चन्दननाथ मन्दिर संकटमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:५९:oo

गुरुयोजना नबन्दा कर्णालीकै बहुप्रतिष्ठित धार्मिक सम्पदाका रूपमा रहेको जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिर संकटमा पर्दै गएको छ । गुरुयोजनाकै अभावमा मन्दिर संरक्षणमा बेवास्ता हुँदै आएको स्थानीयको भनाइ छ । 

मन्दिरआसपास कस्ता संरचना निर्माण गर्न दिने भन्ने कुनै नियम नभएकाले अहिले धमाधम मन्दिर छेकिने गरी संरचना बन्न थालेका छन् । पछिल्लो समय मन्दिरको छेउमै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले पाँचतले भवन बनाइरहेको छ । कार्यालयको तीन तला निर्माण भइसकेको छ । यति निर्माण सम्पन्न हुँदा नै मन्दिर पूर्ण रूपमा छेकिएको छ । 

भवन निर्माण गर्नुअघि कार्यालयले गुठी समितिसँग कुनै समन्वय नगरेको समितिले बताएको छ । ‘हामीसँग कुनै समन्वय भएको छैन,’ चन्दननाथ भैरवनाथ गुठी समितिका अध्यक्ष कृष्णबहादुर रोकायाले नयाँ पत्रिकासँग भने, ‘एक्कासी पाँचतले भवन बन्ने भन्दै तीन तलाको काम सुरु भएपछि मात्र हामीले थाहा पाएका हौँ । यो भवनले मन्दिर छेकिसकेको छ ।’ 

यसअघि मन्दिर वरिपरि एकतले संरचना मात्र बनाउने गरिएको थियो । ‘मन्दिरमा खडा गरिने ५२ हाते लिंगाभन्दा अग्ला भवन बनाउन थालेपछि यहाँको धार्मिक आस्था संकटमा पर्न थालेको अनुभूति भइरहेको छ,’ अध्यक्ष रोकायाले भने । पुरातत्व विभाग, गुठी समितिले पनि धार्मिक तथा सांस्कृतिक महत्वबारे बेवास्ता गर्दा यस्तो अवस्था आएको कतिपय स्थानीयको भनाइ छ । गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले परम्परादेखि चलिआएका पहिचान अहिले मेटिएको बताए । 

‘मन्दिरआसपासमै जिल्ला अदालतको भवन बनेको छ । त्यो ठाउँमा पहिले मन्दिरका भकारी राखिन्थे,’ पूर्वअध्यक्ष आचार्यले थपे, ‘पहिले पहिले चन्दननाथ भैरवनाथ मन्दिर आसपास घर बनाउँदा जानकारी दिने गरिन्थ्यो, अहिले जानकारी नै हुँदैन ।’
नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले तत्काल मन्दिरको गुरुयोजना निर्माण गर्नुपर्ने बताए । ‘चाँडोभन्दा चाँडो गुरुयोजना बनाऔँ,’ उनले भने, ‘गुरुयोजनाले मात्र मन्दिरको भलाइ हुन्छ ।’

संस्कृतिसम्बन्धी जानकार पूर्णसिंह कठायतले धार्मिक आस्थाको केन्द्रमाथि भइरहेको हस्तक्षेप र बेवास्ता अन्त्यका लागि सबैले पहल गर्नुपर्ने बताए । जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले मन्दिर छेक्ने गरी घर निर्माण गर्न नहुने भन्दै त्यस्तो संरचना निर्माणको कार्य रोक्न पहल गरिने बताए ।