मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
२o८२ असार ३१ मंगलबार o७:२९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

राष्ट्रपति ट्रम्पले खेलाडीलाई दिए ‘सरप्राइज’ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार o७:२९:oo
  • क्लब विश्वकपको फाइनल खेल हेर्न रंगशालामा पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विजेता तथा उपविजेतालाई पदक वितरण गर्दा सबै अचम्मित

फिफा क्लब विश्वकप फुटबल प्रतियोगितामा चेल्सीले युरोपियन च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई ३–० को स्तब्ध पार्दै पहिलोपटक उपाधि हात पार्‍यो । क्लब विश्वकपको फाइनलमा युरोपियन विजेतामाथिको एकपक्षीय जित सबैलाई अप्रत्याशित थियो । उत्कृष्ट फर्ममा रहेको पिएसजीले क्लब विश्वकपमा नकआउट चरणमा युरोपका बलिया क्लबविरुद्ध सानदार जित हात पारेको थियो । यसले उसलाई प्रमुख दाबेदार रूपमा हेरिएको थियो । तर, फाइनलमा चेल्सीले यस्तो खेल्यो कि पिएसजीको केही लागेन । पहिलो हाफमा चेल्सीले पिएसजीमाथि तीन गोल ठोक्दै उपाधि नै पक्का पार्‍यो ।

पिएसजीका समर्थकका लागि यो सरप्राइज नतिजा थियो । तर, खेलपछि पुरस्कार र ट्रफी वितरणमा हजारौँ दर्शकले अर्को ‘सरप्राइज’ देखे । त्यो थियो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वयंले विजेता चेल्सीका खेलाडीलाई ट्रफी वितरण गरे । फिफाले आयोजना गर्ने प्रतियोगितामा अध्यक्षले ट्रफी वितरण गर्ने चलन छ । सोमबार बिहान पनि व्यवस्थापनले यस्तै कार्यक्रम तयार पारेका थिए । यद्यपि, चेल्सी र पिएसजीको फाइनल खेल हेर्न राष्ट्रपति ट्रम्प आउने पूर्व जानकारी सबैले पाएका थिए । 

तर, ट्रम्प रंगशालामा कति समयसम्म रहने कसैलाई पनि थाहा थिएन । ट्रम्प खेलको अन्तिमसम्मै बसेर फाइनल खेल हेरे । अर्को वर्ष अमेरिकाले नै विश्वकप आयोजना गर्दै छ । त्यसको प्रोमोसन गर्न पनि उनले उपाधि भिडन्तको पूरै खेल हेरेको विज्ञहरू बताउँछन् । पुरस्कार वितरण समारोह र स्टेजमै गएर ट्रम्पले खेलाडीलाई पुरस्कृत गर्ने अनुमान कसैले गरेका थिएनन् । 

ट्रम्पले दिए ट्रफी
फिफा अध्यक्ष गिआनी इन्फाटिन्होले भिआइपी बक्समा राष्ट्रपति ट्रम्पलाई खेलको बारेमा जानकारी दिइरहेका थिए । मेटलाइफ रंगशालामा ट्रम्पले उत्सुकतापूर्वक खेल हेरेनन्, गिआनीको विश्लेषणसमेत सुनेर बसेका थिए । रंगशालामा फाइनल खेल हेर्ने ८१ हजार एक सय १८ जना दर्शक थिए । स्टेजमा ट्रम्पसँगै गोलरक्षक रोबर्ट सान्चेज र फिफा अध्यक्ष थिए । सान्चेजले विश्वकै शक्तिशाली राष्ट्रपति ट्रम्पसँगै बस्दा ‘सपना वा विपना’जस्तै भएको प्रतिक्रिया दिएका छन् । ‘मलाई अझै पनि विश्वास लागेको छैन, मसँगै अमेरिकी राष्ट्रपतिसँगै थिए,’ सान्चेजले भने, ‘आयोजकले हामीसँग राष्ट्रपतिको आगमन हुने मात्र जानकारी दिएको थियो, तर स्टेजमा उहाँसँगै बस्ने जानकारी थिएन ।’ ट्रम्पलाई चेल्सीको खेल खुबै मन परेको रहेछ । गोलरक्षक सान्चेजलाई ट्रम्पले उनले भने, ‘चेल्सीले उत्कृष्ट खेल्यो, वास्तवमा चेल्सीका खेलाडी च्याम्पियन हुन् ।’ पिएसजीको पोस्टमा कोले पाल्मेरले दुई गोल गरेका थिए । पाल्मेर पनि ट्रम्प स्टेजमा देख्दा अच्चम्ममा परेका रहेछन् । ‘मलाई यति थाहा थियो, राष्ट्रपति फाइनल खेल हेर्न आउनेछन्, तर ट्रफी नै वितरण गर्ने थाहा थिएन,’ पाल्मेरले भने, ‘सुरुमा उहाँले मेडल वितरण गरिरहँदा म झुक्किएँ ।’

फिफा अध्यक्ष मिल्ने साथी
फाइनलअघि ट्रम्पले एउटा टेलिभिजन कार्यक्रममा फिफा अध्यक्ष गिआनीलाई मिल्ने साथीका रूपमा बताएका थिए । ‘तपाईंहरूलाई थाहा नहुन सक्छ । गिआनी मेरो मिल्ने साथीमा पर्छन्, वास्तवमा फिफा अध्यक्षले क्लब विश्वकपमा उत्कृष्ट काम गरेको पाएँ,’ गिआनीको प्रशंसा गर्दैै ट्रम्पले भने, ‘फिफाको परिभाषामा यसलाई फुटबल भनिन्छ, तर हामीहरूले यसलाई सकर भन्छौँ ।’ अर्को वर्ष विश्वकप फुटबल प्रतियोगितामा पनि गिआनीबाट यस्तै उत्कृष्ट प्रतियोगिताको व्यवस्थापनको अपेक्षा ट्रम्पले लिएका छन् । ट्रम्पलाई खेलकुद व्यवस्थापन र खेलाडीको आत्मबल कसरी बढाउनुपर्छ भन्ने थाहा छ । सन् १९९० को दशकमा उनी अमेरिकाको डब्लुडब्लुईका व्यवस्थापकसमेत थिए । डब्लुडब्लुईको अनुभवबाटै ट्रम्पलाई खेलाडीसँग कसरी कुराकानी गर्नुपर्छ भन्ने ज्ञात भएको हो । क्लब विश्वकपको ट्रफी वितरण गरिरहँदा उनले संक्षिप्तमा खेलाडीसँग खेलको बारेमा कुरा गर्न भ्याए ।