१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवराज मैनाली काठमाडाैं
२०७७ चैत २७ शुक्रबार ०६:२२:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

तक्माको गरिमा घट्दो, खर्च बढ्दो

Read Time : > 4 मिनेट
नवराज मैनाली, काठमाडाैं
२०७७ चैत २७ शुक्रबार ०६:२२:००

- आज ६३३ लाई र आगामी बुधबार ५९४ जनालाई विभूषण प्रदान गर्ने कार्यक्रम

- विपन्न देशमा महँगा तक्मा : सुनदेखि हिरासम्म जडान, एक दशकमा ६० करोड खर्च, गत वर्ष ८ करोड र यसपालि १२ करोड

राष्ट्रपतिले ६ सय ३३ लाई शुक्रबार तथा पाँच सय ९४ जनालाई आगामी बुधबार विभूषित गर्नेछिन् । संख्या र विवाद बढेर गरिमा घटे पनि विभूषणमा राज्यको भार भने बढ्दो छ । एक दशकमा तक्मामा मात्रै ६० करोड रुपैयाँ खर्च भएको छ । 

सरकारले करिब २० करोड रुपैयाँ लागतमा निर्माण गरिएका विभिन्न विभूषण यही एक साताभित्र वितरण गर्दै छ । शुक्रबार ०७६ मा घोषणा गरिएका र आगामी बुधबार ०७७ मा घोषणा गरिएका विभूषण वितरण गर्न लागिएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए । गत वर्ष कोरोना महामारीका कारण वितरण रोकिएकाले यस वर्ष वितरण गर्न लागिएको छ । 

यसरी एक हजार दुई सय २७ जनालाई वितरण हुने विभूषण निर्माणमा करिब २० करोड रुपैयाँ खर्च भएको गृह मन्त्रालय स्रोत बताउँछ । ०७६ मा घोषणा गरिएका विभूषण गत वर्ष नै निर्माण गरिएका थिए, जुन बनाउन करिब आठ करोड खर्च भएको थियो । यस वर्ष सुनको भाउ बढेकाले विभूषण खर्च करिब १२ करोड पुगेको गृहको विभूषण शाखाका एक कर्मचारीले नयाँ पत्रिकालाई बताए । 

तजबिजी निर्णयका आधारमा हरेक वर्ष विभूषण वितरण हुने गरेको छ । गणतन्त्र स्थापनापछि सरकारले ०६७ देखि विभूषण वितरण गर्न थालेको हो । ०६७ मा दुई सय ६९ जनालार्ई दिइएकोमा संख्या बढ्दै गएको छ । पछिल्ला वर्षमा ५–६ सयलाई विभूषण दिन थालिएको छ । 

पछिल्लो १० वर्षमा विभूषणमा मात्र राज्यको करिब ६० करोड रुपैयाँँ खर्च भएको गृह मन्त्रालयको तथ्यांक छ । १० वर्षमा तीन हजार नौ सय १७ जनालाई विभिन्न प्रकारका विभूषण दिने निर्णय भएका छन् । 

धेरैजसो विभूषणमा सुन प्रयोग हुने र सुनको मूल्य बढ्दै गएकाले पनि लागत बढ्दै आएको छ । विभूषणमा सुन राख्ने प्रावधान भएकाले महँगो भए पनि अन्यथा गर्न नसकिने गृहका प्रवक्ता बुढा बताउँछन् । ‘विभूषण भनेको राज्यले दिने सम्मान हो,’ उनी भन्छन्, ‘यसमा धेरै कन्जुस गर्नु पनि त भएन । विनियमावलीमा पनि त्यही प्रावधान छ ।’

तर, विभूषण नियमावलीमा ठ्याक्कै कति जडान गर्ने भनेर उल्लेख छैन । लागत घटाउन सक्ने भए पनि धेरै सुन तक्मामा प्रयोग हुने गर्दछ । अझ कतिपयमा हिरासमेत जडान हुन्छ ।

सधैँको विवाद 
पछिल्लो तीन वर्षमा विभूषण पाउने व्यक्तिहरूको छनोट उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा हुँदै आएको छ । यही तीन वर्षमा विभूषण सबैभन्दा धेरै विवादित बनेको छ । यस वर्ष कोभिड– १९ विरुद्ध लडिरहेका फ्रन्टलाइनरलाई दिने बताइए पनि अन्य कर्मचारी र सत्तानिकट व्यक्तिको हालिमुहाली छ । तक्मा–सूचीमा फ्रन्टलाइनका राष्ट्रसेवक उपेक्षित छन् र गृह मन्त्रालयका कर्मचारीको हालिमुहाली छ । 

यस वर्ष सबैभन्दा धेरै सुप्रबल जनसेवाश्री (तृतीय) दुई सय ४२ जनालाई दिने निर्णय भएको छ, जुन एउटै बनाउन करिब डेढ लाख रुपैयाँ खर्च हुन्छ । जनसेवाश्री दोस्रो बनाउने करिब तीन र प्रथम बनाउन पाँच लाख रुपैयाँ खर्च हुन्छ । 

आफ्नै कार्यविधि लत्याएर विभूषण 
ठूलो संख्यामा वितरण गर्दा विभूषणको महत्व घटेको निष्कर्षसहित गत साउनमा मन्त्रिपरिषद्ले नियमावली संशोधन गरी एक वर्षमा बढीमा दुई सयजनालाई मात्र दिने निर्णय गरेको थियो । तर, तीन महिनाभित्र नियमावली संशोधन गरेर सरकारले तोकेअनुसार दिने प्रावधान राखियो । यसरी तजबिजका आधारमा दिन सकिने प्रावधान राखिएपछि यसै वर्ष पाँच सय ९४ जनालाई तक्मा दिने निर्णयसमेत भयो । 

विभूषणमा हरेक वर्ष गृह मन्त्रालयकै हालिमुहाली हुने गरेको छ । यसपालि पनि गृहका तत्कालीन सहसचिव पुस्कर सापकोटा, अध्यागमन विभागका महानिर्देशक रमेश केसी, सिडिओहरू विष्णु पौडेल, भरत शर्मा, चन्द्रप्रसाद गैरे, कृष्णप्रसाद शर्मा, विश्वराज न्यौपाने र कृष्ण पौडेलले जनसेवाश्री (तृतीय) पाउँदै छन् । गृहका उपसचिवहरू भूपेन्द्र सापकोटा, निर्मल न्यौपाने, लीलाकुमारी केसी, ईश्वरीप्रसाद ढकाल, परमानन्द घिमिरे, अधिकृतहरू दीपक पौडेल, लोकमान श्रेष्ठ, विमल पौडेल, राधाकुमारी श्रेष्ठ, डा. दयाराम श्रेष्ठ, रञ्जना राई मानपदवी पाउने सूचीमा छन् ।

नियमावलीमा भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण तथा नैतिक पतन देखिने अन्य फौजदारी मुद्दा लागेका व्यक्तिले विभूषण नपाउने उल्लेख छ । नियमावली संशोधन गरेर विभूषण लिइसकेपछि पनि त्यस्तो अपराधमा दोषी ठहर भएमा फिर्ता गरिने व्यवस्था गरिएको छ । विभूषण लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, व्यवसायी मीनबहादुर गुरुङ हाल भ्रष्टाचार मुद्दा झेलिरहेका छन् । 

विगतमा सरकारले घोषणा गरे पनि व्यक्तिले अस्वीकार गरेका तक्मा गृह मन्त्रालयको स्टोरमा

तक्मा छनोट अपारदर्शी र विवादित भएपछि यसको गरिमा घटेको छ, र सरकारले घोषणा गरे पनि अस्वीकार गर्ने बढेका छन् । यसअघि विभूषणका लागि छनोट गरिएका निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेती, पूर्वराजदूत ज्ञानचन्द्र आचार्य र वरिष्ठ अधिवक्ता शम्भु थापालगायतले विभूषण लिएका छैनन्, उनीहरूको तक्मा गृह मन्त्रालयको स्टोरमै छ । 

कलाकारहरू मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गायक पशुपति शर्मा, लेखक झलक सुवेदी, पत्रकार शिव गाउँले, क्रिकेटर पारस खड्का, सन्दीप लामिछानेले समेत विभूषण नलिएको मन्त्रालय स्रोत बताउँछ  । 

विभूषणको सुशोभन समारोह भएको एक वर्षभित्र सम्बन्धित व्यक्ति लिन नआएमा विभूषण स्वतः खारेज हुने प्रावधान छ । लिन नआउनेको हकमा अन्तिम सूचना निकालेर खारेज गरिने गृहकी सहसचिव हुमकला पाण्डेले बताइन् । तर, विगतमा अस्वीकार गरिएका विभूषण अहिले गृहमै छन् । 

कुन विभूषणमा कस्तो धातु ?
तीन वर्गमा विभाजन गरेर सरकारले विभूषण दिने गरेको छ । मानपदवी, अलंकार र पदक । यसमध्ये मानपदवी महत्वपूर्ण हो, जुन धेरै वितरण हुने गरेको छ । ०७६ मा ६ सय ३३ मध्ये चार सय ५० वटा तथा ०७७ मा पाँच सय ९४ मध्ये चार सय ५२ मानपदवी दिने निर्णय भएको थियो । मानपदवी राष्ट्रपतिबाट सुशोभन गराइन्छ भने अलंकार र पदक सीधै गृृह मन्त्रालयबाट दिने गरिन्छ । 

विभूषणमध्ये सबैभन्दा ठूलो नेपाल रत्न हो, जुन पछिल्लो दुई वर्ष कसैलाई दिइएको छैन । यो विभूषण बनाउन करिब २५ लाख खर्च हुन्छ ।

विभूषणमध्ये सबैभन्दा ठूलो नेपाल रत्न हो, जुन पछिल्लो दुई वर्ष कसैलाई दिइएको छैन । यो विभूषण बनाउन करिब २५ लाख खर्च हुने गृह मन्त्रालय स्रोत बताउँछ । यस्तो विभूषणको मध्यमणि आठवटा कोण हुने र प्रत्येक कोणमा पाँच–पाँचवटा हिरा जडान गरिन्छ । अष्टकोणको बीचमा सुनको रश्मि आकारका कोणहरू हुन्छन् । सुनको रश्मि आकारभित्र कमलको पात आकारका आठवटा रातो मीना, दुईवटा नीलो मीना हुन्छन् । यसको मध्यभागमा सुनबाट बनेको नेपालको नक्सा र सगरमाथा हुन्छ । माथिल्लो भागमा नेपाल रत्न तथा तल्लो भागमा ‘राष्ट्रोत्थानको बिन्दु राष्ट्रप्रेम’ लेखिएको हुन्छ । यसको माला चाँदीबाट बनेको ७५ सेन्टिमिटर लामो हुन्छ । 

त्यसपछिको ठूलो राष्ट्रगौरव मानपदवीको ८.५ सेन्टिमिटर व्यास हुन्छ । यसको अग्रभागमा चारवटा खड्गको आकार र चारवटा गोलाकारको बीचमा दुईवटा सुनका वृत्त हुन्छन् । प्रत्येक खड्कको बीचमा रातो मीना र प्रत्येक रातो मीनाको बाहिर सातवटा हिरा राखिन्छ । गोलाकारभित्र सुनबाट बनेको पाँच पत्रयुक्त फूलको आकार हुन्छ । फूलको बीचभागमा मीना हुन्छ । माथिल्लो भागमा राष्ट्रगौरव र तल्लो भागमा मातासमान मातृभूमि लेखिएको हुन्छ । त्यसको दायाँबायाँ सुनको बिन्दु हुन्छ । त्यसमा अझै सुनबाट बनेको पूर्णकलशको आकृतिसमेत राखिन्छ । 

राष्ट्रदीप मानपदवीमा पनि प्रशस्त सुन राखिन्छ । यसको मण्डपमा सुनबाट बनेको तीन पातयुक्त लालीगुराँस, प्रोलम्बिकामा सुनबाट बनेको आठवटा घेरा हुन्छन् भने पट्टा झुन्डिने ठाउँमा समेत सुनको हुक राखिन्छ । 

राष्ट्रदीप द्वितीयको मण्डपमा पनि सुनबाट बनेको तीन पातयुक्त लालीगुराँस हुन्छन् । यसमा हरियो मीनासमेत राखिन्छ । यसको पनि पट्टा झुन्डिने ठाउँमा सुन राखिएको हुन्छ । राष्ट्रदीप तृतीयमा कमलभित्र हरियो मीना र हरियो मीनाको बीचमा तीन पातयुक्त सुनबाट बनेको लालीगुराँस रहन्छ । 

राष्ट्रदीप चौथोको कमलपत्रभित्र पनि तीन पातयुक्त सुनबाट बनेको लालीगुराँस हुन्छ । यसमा सुनबाट बनेको नेपालको नक्सा र बलिरहेको दियो राखिएको हुन्छ । यसका साथै मीना र चाँदीको समेत प्रयोग हुन्छ । राष्ट्रदीप पञ्चममा भने चाँदीबाट बनेको लालीगुराँस हुन्छ । यसमा पनि सुनबाट बनेको नेपालको नक्सा र बलिरहेको दियो राखिन्छ । 

धेरै वितरण गरिने जनसेवाश्री मानपदवीमा पनि सुन राखिन्छ । जनसेवाश्री प्रथममा सुनबाट बनेको अष्टकोणयुक्त मण्डप हुन्छ । यस्तो मानपदवीमा प्रशस्तै मणिकहरू राखिन्छ । यसको प्रोलम्बिक पनि सुनबाट बनाइन्छ । जनसेवाश्री द्वितीयमा हिरा पनि जडान गरिन्छ । यसको मध्यभागमा सुनको पृष्ठभूमिमा सुनबाट बनेको नेपालको नक्सा र राष्ट्रिय झन्डा बनाइएको हुन्छ । 

जनसेवाश्री तृतीय र चतुर्थमा पनि मध्यभागमा सुनबाट बनेको नेपालको नक्सा र राष्ट्रिय झन्डा बनाइएको हुन्छ । जनसेवाश्री पञ्चमको मध्यभागमा भने चाँदीको पृष्ठभूमिमा नेपालको नक्सा र राष्ट्रिय झन्डा राखिन्छ । यसमा निर्माणमा रातो मीना पनि राखिन्छ । अलंकार र पदकमा चाँदी र पदकमा तामा प्रयोग हुन्छ ।