१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
भवानीश्वर गौतम काठमाडाैं
Invalid date format o६:२२:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज डिजिटल संस्करण

२३ वर्षपछि त्रिवि परीक्षामा नयाँ सफ्टवेयर

दक्ष जनशक्ति नहुँदा कार्यान्वयनमा समस्या, स्नातक तहको नयाँ प्रथम वर्षका विद्यार्थीको मार्कसिट अब कलेजबाटै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:२२:oo

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा २३ वर्षपछि नयाँ सफ्टवेयरबाट काम सुरु भएको छ । नयाँ सफ्टवेयर भित्र्याए पनि विद्यार्थीको सेवासँग प्रत्यक्ष सरोकार राख्ने दक्ष जनशक्ति नहुँदा प्रभावकारी रूपमा काम हुन सकेको छैन । तर, नयाँ सफ्टवेयर चलाउने दक्ष जनशक्ति नहुँदा ट्रान्सक्रिप्टलगायतका सामग्री पाउन हप्तौँ लाग्ने गरेको छ । 

जनशक्तिको अभावले सबै कार्यक्रममा नयाँ सफ्टवेयर प्रयोग गरेर परीक्षाका काम गर्न नसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए । विद्यार्थीलाई छिटो र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न चाहे पनि दक्ष जनशक्ति अभावले सबै कार्यक्रमका परीक्षामा नयाँ सफ्टवेयरबाट काम गर्न नसकेको उनको भनाइ छ ।

२३ वर्ष पुरानो सफ्टवेयर ढिला प्रोसेसिङ हुने, डाटा मेमोरी कम भएको लगायतका कारण प्रभावकारी नभएपछि नयाँ सफ्टवेयर भित्र्याइएको थियो । ०५४ सम्म त्रिविका विद्यार्थीले हस्तलिखित ट्रान्सक्रिप्ट पाउने गर्दथे । ०५४ देखि सफ्टवेयरमा डाटा इन्ट्री गरी विद्यार्थीको ट्रान्सक्रिप्ट प्रिन्ट गरेर प्रदान गर्न सुरु गरेको थियो । नयाँ सफ्टवेयर भित्र्याएर काम सुरु गरे पनि जनशक्ति अभावले विद्यार्थीले समयमै पाउन सकेका छैनन् । अहिले कतिपय विद्यार्थीको ट्रान्सक्रिप्ट पाउन एक महिनासम्म पर्खिन परेको गुनासो आउन थालेको छ । 

कम्तीमा ६ जना कम्प्युटरविज्ञ भएमा नयाँ सफ्टवेयरबाट परीक्षाका काम गर्न सकिने नियन्त्रक जोशीले बताए । ‘नयाँ सफ्टवेयर पूर्णरूपमा लागू गर्न तयारी अवस्थामा छौँ,’ उनले भने, ‘त्रिवि सेवा आयोगबाट छनोट भएर कम्प्युटरका दक्ष जनशक्ति आउने आशामा थियौँ, मुद्दा मामिलाले ढिलाइ भइरहेको छ ।’ सामान्यतया नयाँ सफ्टवेयर कार्यान्वयन हुँदा दुई दिनमा ट्रान्सक्रिप्ट वितरण गर्न सकिने उनले बताए । 

परीक्षा नियन्त्रक जोशीले बिएड, बिएलायत कार्यक्रममा नयाँ सफ्टवेयरमा गर्न थालेको जानकारी दिए । अहिले आइटी निर्देशनालयमा विज्ञ राखेर काम भइरहेको उनको भनाइ छ । अब डिन कार्यालयबाट लिइने परीक्षा र त्यहाँबाट नतिजा आउनेबित्तिकै बल्खुले डाटा तानेर ट्रान्सक्रिप्ट दिन सक्ने अवस्था छ । यसअघि डिन कार्यालय र पनिका बल्खुबीचमा समन्वयमा कमी हुँदा समस्या हुने गरेको थियो । 

ट्रान्सक्रिप्टका लागि महिना दिनसम्म कुनुपर्ने बाध्यता
अहिले एमबिएसका विद्यार्थीले ट्रान्सक्रिप्टका लागि महिना दिनसम्म पनि कुर्नुपरेको छ । जोशीले भने सामान्य अवस्थामा एमबिएसमा दुई हप्ता र नयाँ सफ्टवेयरबाट त्रुटि भेटिएका विद्यार्थीको दुई हप्ताभन्दा बढी समय लागेको बताए । उनले भने, ‘नयाँ सफ्टवेयरले विद्यार्थीको रजिस्ट्रेसन नम्बरका आधारमा पुरानो सबै हिस्ट्री तान्छ, कतै पढेर बीचैमा छाडेको पनि देखाउँछ, त्यस विषयमा निर्णय गरेर त्रुटि सच्याउँदा समय लाग्छ ।’

पुरानो सफ्टवेयर चलाउने जनशक्तिसमेत अभाव हुँदा अवकाश पाएका पुराना कर्मचारीलाई करारमा राखेर पनिकाले काम गरिरहेको छ । नयाँ सफ्टवेयरबाट पूर्णरूपमा काम हुन थालेपछि प्रभावकारी हुने पनिकाका अधिकारीको भनाइ छ । 

यस वर्ष स्नातक तहमा भर्ना भएका विद्यार्थीको कलेजबाटै परीक्षाको प्रवेशपत्र र मार्कसिट प्रिन्ट गर्न मिल्ने गरी पनिकाले व्यवस्थापन गर्न लागेको छ । परीक्षा नियन्त्रक जोशीले नयाँ सफ्टवेयर आएपछि अब स्नातक तहको नयाँ प्रथम वर्षका विद्यार्थीको अनलाइनबाटै परीक्षा फारम भराउने र कलेजबाटै प्रवेशपत्र तथा मार्कसिट प्रिन्ट गर्न सक्ने गरी व्यवस्थापनमा जुटेको बताए । 

नयाँ सफ्टवेयरले परीक्षाको व्यवस्थापनमा समेत सहज हुने उनको दाबी छ । त्रिविको परीक्षामा विद्यार्थीको हाजिरी प्रिन्टेड हुने र परीक्षा सकेपछि उत्तरपुस्तिकाको ‘डिस्प्याच’ पनि नयाँ व्यवस्था हुने जोशीले बताए । ‘अहिलेको सफ्टवेयरमा धेरै प्रकारका काम लिन सकिन्छ,’ उनले भने । त्यसैगरी, नयाँ विद्यार्थीको रजिस्ट्रेसन कार्ड, फोटोसहितको व्यवस्थापन गर्ने र त्यसले नक्कली परीक्षार्थीलगायतका अमर्यादित क्रियाकलाप रोक्न सहयोग मिल्ने अपेक्षा छ ।