१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
अर्जुन अधिकारी काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o६:२५:oo
Read Time : > 5 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

उकालो लाग्दै संक्रमण, स्वास्थ्य सामग्री सीमित

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:२५:oo

सोमबार देशभर दुई सय ६६ जनामा संक्रमण देखिएको छ, जुन १४ माघयताकै सर्वाधिक संख्या हो

कोरोना संक्रमण फेरि उकालो लाग्न थालेको छ । सोमबार अढाई महिनायताकै धेरै संक्रमित देखिएका छन् । तर, कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारसँग मौज्दात स्वास्थ्य सामग्रीहरू भने सीमित छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर दुई सय ६६ संक्रमित देखिएका छन् । यो संख्या गत १४ माघयताकै सर्वाधिक हो । १४ माघमा चार हजार तीन सय ८२ नमुना परीक्षण गर्दा दुई सय ८३ जनामा संक्रमण पुष्टि भएको थियो । त्यस्तै, १५ माघमा तीन हजार ६ सय ९१ नमुना परीक्षण गर्दा दुई सय १३ जनामा संक्रमण देखिएको थियो ।

त्यसयता दैनिक एक सयको हाराहारीमा देखिँदै आएका संक्रमितको संख्या फागुनबाट दुई अंकमा झरेको थियो । तर, सोमबार देखिएको संक्रमितको संख्याले सबैलाई झस्काएको छ । यही अढाई महिनाको बीचमा संक्रमणबाट चारजनाको मृत्यु भएको छ । 

काठमाडौं उपत्यकामा पनि अढाई महिनायताकै धेरै संक्रमित देखिएका छन् । गत १४ माघमा उपत्यकामा एक सय ४५ र १५ माघमा एक सय २३ संक्रमित देखिएका थिए । सोमबार देशभर देखिएका दुई सय ६६ संक्रमितमध्ये उपत्यकाका एक सय २७ जना छन् । यही अनुपातमा संक्रमण बढ्दै गए दुई महिनामा भयावह रूप लिने चिकित्सकहरूले बताएका छन् । 

‘अस्पतालमा सिरियस बिरामीहरू बढ्न थालेका छन् । पछिल्लो दुई हप्तामा मात्रै टेकु अस्पतालको आइसियूमा ११ जना संक्रमित भर्ना भएका छन् । सिकिस्त भएर बिरामी आउने क्रम बढेकाले संक्रमण समुदायस्तरमा बढ्दो अवस्थामा भएको बुझ्न सकिन्छ,’ टेकु अस्पतालका कोभिड चिकित्सक डा. अनुप बास्तोलाले भने, ‘यही अवस्था रहे आगामी जेठको पहिलो हप्तामा कोरोना संक्रमितको संख्या उत्कर्षमा पुग्ने देखिन्छ ।’ 

सरकारसँग कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री भने पर्याप्त छैन । केही सामग्री सीमित छन् भने केही सकिएका छन् । भिटिएम (प्याकिङ मेटेरियलसहित), सु कभर, सर्जिकल क्याप, बडी ब्याग, क्लोरिन एनएडिसिसी, बायो ह्याजर्डब्यागलगायतका स्वास्थ्य सामग्री मौज्दात छैनन् । 

कोरोनाको लक्षण देखिएका भारतबाट फर्किनेहरूको अहिले नाकामा एन्टिजेन परीक्षण गर्ने गरिएको छ । तर, सरकारसँग १८ हजार किट मात्रै एन्टिजेन मौज्दात छ । त्यस्तै, आरटिपिसिआर किट ९० हजार मौज्दात छ । 

अहिलेकै अवस्था रह्यो भने जेठ पहिलो हप्ता संक्रमण उत्कर्षमा पुग्ने देखिन्छ : डा. अनुप बास्तोला, कोभिड चिकित्सक

अस्पतालमा सिरियस बिरामीहरू बढ्न थालेका छन् । पछिल्लो दुई हप्तामा मात्रै ११ जना संक्रमित टेकु अस्पतालको आइसियुमा भर्ना भएका छन् । सिकिस्त भएर बिरामीहरू आउने क्रम बढेकाले संक्रमण समुदायस्तरमा बढ्दो अवस्थामा भएको बुझ्न सकिन्छ । यही अवस्थाले आगामी जेठको पहिलो हप्तामा कोरोना संक्रमितको संख्या उत्कर्षमा पुग्ने देखिन्छ । 

हामीहरूले स्वास्थ्य मापदण्ड पालना गरेनौं भने अवस्था सोचे भन्दा निकै खराब हुने जोखिम बढ्दै गएको छ । भारतबाट आएकाहरूलाई आइसोलेसन, क्वारेन्टाइनको उचित व्यवस्था गर्नु पर्छ । उनीहरूको निगरानी स्थानीय तहले राम्रोसँग गर्नुपर्छ । 

पिपिई सेट १७ सय, गाउन ५४ हजार दुई सय ३१, पन्जा ३८ हजार सात सय ४८ र एन९५मास्क ८५ हजार एक सय ८० थान मात्रै मौज्दात छ । सेफ्टी चस्मा ३६ हजार आठ सय ११ र फेससिल्ड २३ हजार चार सय मात्र मौज्दात छ । 

स्वास्थ्य मन्त्रालयले भने पर्याप्त सामग्री रहेको दाबी गरेको छ । ‘करिब ५–६ महिनालाई पुग्ने स्वास्थ्य सामग्री छ । सबैभन्दा बढी चाहिने एन्टिजेन हो, त्यो हामीसँग १८ हजार किट मात्रै छ । तर, त्यसको पनि अभाव हुँदैन । किनभने एक हप्ताभित्र युनिसेफले एक लाख किट उपलब्ध गराउँछु भनेको छ,’ स्वास्थ्य विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक भीमसिंह तिंकरीले भने । युनिसेफले आवश्यकताअनुसार एकदेखि दुई लाखसम्म किट दिने उनले बताए । 

समुदायमा पुग्यो युके भेरिएन्ट, १६ जनामा पुष्टि
नेपालमा पहिलोपटक गत २७ पुसमा तीनजनामा युके भेरिएन्ट पुष्टि भएको थियो । उनीहरूको सम्पर्कमा आएका अन्य १३ जनामा पनि युके भेरिएन्ट पुष्टि भइसकेको छ । 

स्रोतका अनुसार ‘एस जिन’ नेगेटिभ आएका एक सयभन्दा बढी नमुना छन् । यी सबैमा युके भेरिएन्टको आशंका गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले १५ वटा नमुना भाइरसको प्रजाति पत्ता लगाउन विश्व स्वास्थ्य संगठनको हङकङस्थित ल्याबमा पठाएको छ । प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार त्यसको रिपोर्ट आइसकेको छैन । 

राष्ट्रिय प्रयोगशालाले परीक्षणका लागि आएका नमुनाहरूको हप्तामा एकपटक ‘एस जिन’ नेगेटिभ वा पजिटिभ के हो भनेर हेर्ने गरेको छ । ‘एस जिन’ नेगेटिभ आएको नमुना भए नयाँ प्रजातिको भाइरस भएको अनुमान गरिन्छ । ‘अब कति भेरिएन्ट देखियो भन्नेले खासै अर्थ राख्दैन,’ निर्देशक झाले भनिन्, ‘युके भेरिएन्ट समुदायमा गइसकेकाले कोरोनाको सबै नमुनाको प्रजाति हेर्नुपर्छ भन्ने हुँदैन ।’ 

भारतमा युके भेरिएन्ट, साउथ अफ्रिकन भेरिएन्ट, ब्राजिलियन भेरिएन्ट र भारतीय भेरियन्ट देखिएको छ । टेकु अस्पतालका कोरोना चिकित्सक डा. अनुप बास्तोलाका अनुसार भारतमा १० हजार सात सयभन्दा बढीको ‘जिनोम सिक्वेन्सिङ’ गर्दा सात सय ७१ नमुनामा नयाँ भेरिएन्ट पत्ता लागेको छ । जसमा युके भेरिएन्ट सात सय ३६, साउथ अफ्रिकन ३४ र एकजनामा ब्राजिलियन भेरिएन्ट देखिएको थियो । 

‘८० प्रतिशत नमुनाको ‘जिनोम सिक्वेन्सिङ’ गर्दा पुरानै भाईरस देखिएको छ । महाराष्ट्रमा देखिएको नयाँ प्रजातीको भाइरस अन्यको तुलनामा तिब्र गतिमा फैलिन्छ । विगतमा कोरोना लागेर बनेको एन्टिबडीले पनि काम नगरेर संक्रमण हुने हो कि भन्ने आशंकाहरू प्रसस्तै देखिएका छन्,’ डा. वास्तोलाले भने । उनका अनुसार युके भेरिएन्ट विगतको भन्दा ५० प्रतिशत बढी संक्रामक छ ।

रोजगारीका लागि भारत गएका नेपाली फर्किने क्रम बढेकाले नाका व्यवस्थित गनुृपर्ने स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । ‘सरकारले प्रत्येक सात सय ५३ पालिकालाई यसअघि नै आवश्यक बजेट पठाएको छ,’ उनले भने, ‘सबै पालिकाले पाँच बेडको आइसोलेसन सेन्टर बनाउनु पर्छ ।’

दक्षिण एसियाका चार देशमा संक्रमण तीव्र, भारतमा नयाँ रेकर्ड

दक्षिण एसियाली देशहरूमा कोरोना संक्रमण फेरि तीव्र गतिमा फैलन थालेको छ । भारत, बंगलादेश र पाकिस्तानमा संक्रमणको दोस्रो लहर देखिएको छ भने नेपालमा पनि दोस्रो लहरको संकेत देखिएको छ । भुटान र अफगानिस्तानमा भने संक्रमण नियन्त्रणकै अवस्थामा छ । माल्दिभ्समा विगतमा भन्दा थोरै बढेको छ । 

भारतमा कोरोनाको दोस्रो लहर पहिलोभन्दा द्रुत रूपमा फैलिएको छ । महामारी सुरु भएयता भारतमा पहिलोपटक एकै दिन एक लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । आइतबार एक लाख तीन हजार पाँच सय ५८ जनामा संक्रमण भएको पुष्टि भएको छ । कोरोना महामारी सुरु भएयता पहिलोपटक एकै दिन एक लाखभन्दा धेरैलाई संक्रमण पुष्टि भएको हो । सोमबार ९६ हजार पाँच सय ५७ संक्रमित देखिएका छन् । 

पहिलो लहरको क्रममा गत सेप्टेम्बरमा भारतमा एकै दिन सबैभन्दा धेरै ९८ हजार जनासम्ममा संक्रमण देखिएको थियो । त्यसपछि निरन्तर घटेर दैनिक करिब नौ हजारमा झरेको थियो । एक महिनायता भारतमा संक्रमण तीव्र भएको छ । सबैभन्दा धेरै प्रभावित महाराष्ट्र बनेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो दुई सातामा संक्रमण पुष्टि भएका केसमध्ये ६० प्रतिशत महाराष्ट्रमा छन् । आइतबार मात्र महाराष्ट्रमा ५७ हजारमा संक्रमण देखिएको थियो । महाराष्ट्रपछि छत्तिसगढ, कर्णाटक, उत्तर प्रदेश र दिल्लीमा संक्रमण बढेको छ । 

संक्रमण उच्च दरमा बढेपछि महाराष्ट्रमा साँझमा कफ्र्युसमेत लगाइएको छ । धेरै संक्रमण देखिएका अन्य प्रदेशमा पनि कडाइ सुरु भएको छ । भारतमा कुल संक्रमितको संख्या एक करोड २५ लाख ८९ हजार ६७ पुगेको छ । करिब एक लाख ६५ हजारले ज्यान गुमाइसकेका छन् । करिब सात करोड ६० लाखले भ्याक्सिन लगाइसकेका छन् । 

बंगलादेश र पाकिस्तानमा फेरि लकडाउन 
संक्रमण बढ्न थालेपछि बंगलादेशमा पनि सोमबारदेखि लकडाउन गरिएको छ । आइतबार एकै दिन सात हजार ८७ जनामा संक्रमण पुष्टि भएको थियो । बंगलादेशमा हालसम्म ६ लाख ४० हजारमा संक्रमण भएको छ भने नौ हजार दुई सय २२ जनाले ज्यान गुमाएका छन् । 

पाकिस्तानमा संक्रमण बढेको छ । आइतबार पाकिस्तानमा चार हजार तीन सय २३ जनामा संक्रमण पुष्टि भएको थियो । शनिबार पाँच हजारभन्दा धेरैमा संक्रमण देखिएको थियो । संक्रमण बढेपछि भएपछि १० अप्रिलदेखि पाकिस्तानमा अन्तरप्रदेश यातायात सेवामा रोक लगाइएको छ । पाकिस्तानमा हालसम्म करिब सात लाखमा संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या १४ हजार नाघेको छ । अझै संक्रमण बढे कडा लकडाउन लागू गरिने पाकिस्तानको तयारी छ । 

श्रीलंकामा घट्दो, माल्दिभ्समा उस्तै गति 
दक्षिण एसियाली देशमध्ये श्रीलंकामा भने संक्रमण घटिरहेको छ । आइतबार श्रीलंकामा एक सय ४१ जनामा संक्रमण पुष्टि भएको छ । श्रीलंकामा हालसम्म करिब ९३ हजारमा संक्रमण पुष्टि भएकोमा आइतबारसम्म पाँच सय ८१ जनाले ज्यान गुमाएका छन् । 

माल्दिभ्समा दुई महिनायता संक्रमणदर उस्तै छ । जहाँ फेब्रुअरीदेखि हालसम्म दैनिक संक्रमण एक सयदेखि दुई सयको बीचमा छ । एक हप्तामा औसतमा दैनिक एक सय ८० जनामा संक्रमण भएको छ । माल्दिभ्समा हालसम्म २४ हजार आठ सयमा संक्रमण भएकोमा ६७ जनाले ज्यान गुमाएका छन् ।

भुटानमा नियन्त्रणमै, अफगानिस्तानमा न्यून 
अफगानिस्तानमा पनि संक्रमण नियन्त्रणमै छ । जहाँ ८१ जनामा संक्रमण देखिएको थियो । जनवरीदेखि नै अफगानिस्तानमा संक्रमण घटिरहेको छ । अफगानिस्तानमा हालसम्म ५६ हजार ६ सयमा संक्रमण पुष्टि भएकोमा दुई हजार चार सय ९७ जनाले ज्यान गुमाएका छन् । 

कोरोना संक्रमणबाट सबैभन्दा कम प्रभावित सार्क राष्ट्रमा भुटान पर्दछ जहाँ आइतबार नयाँ संक्रमण शून्य छ । पछिल्लो एक सातामा औसत तीनजनामा संक्रमण देखिएको छ । भुटानमा आठ सय ९१ जनामा संक्रमण भएकोमा एकजनाले ज्यान गुमाएका छन् । 

ad
ad