मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २३ सोमबार ०६:०८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

काठमाडौंमा  खनाल–नेपाल समूहको समानान्तर जिल्ला कमिटी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २३ सोमबार ०६:०८:००

प्रदेश सांसद वसन्त मानन्धरको अध्यक्षतामा दुई सय २५ सदस्यीय कमिटी गठन

‘पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान’ सार्वजनिक गरेको अर्को दिन एमालेको झलनाथ खनाल र माधव नेपाल समूहले संघीय राजधानी काठमाडौंबाट समानान्तर जिल्ला कमिटी गठन गरेको छ । आइतबार काठमाडौंमा अगुवा कार्यकर्ता भेला आयोजना गरेर खनाल–नेपाल समूहले देशव्यापी समानान्तर कमिटी गठनको औपचारिक अभियान अगाडि बढाएको हो ।

भेलाले प्रदेश सभा सांसद वसन्त मानन्धरको अध्यक्षतामा दुई सय २५ सदस्यीय समानान्तर जिल्ला कमिटी घोषणा गरेको छ । मानन्धर तत्कालीन नेकपाको प्रचण्ड–नेपाल समूहमा पनि अध्यक्ष थिए । यद्यपि, अभियानअगाडि नै खनाल–नेपाल समूहले अर्घाखाँची, कास्की र गोरखालगायत केही जिल्लामा समानान्तर जिल्ला कमिटी घोषणा गरिसकेको छ । 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली समूहले दुई साताअघि काठमाडौंमा जिल्ला भेला गरेर नेपाल–खनाल समूहबाहेक जिल्ला कमिटी पुनर्गठन गरेको थियो । खनाल–नेपाल समूहले आइतबारको भेलाबाट देशव्यापी जवाफी कमिटी पुनर्गठन सुरु भएको र त्यसलाई जिल्ला हुँदै वडा र टोलसम्म पुर्‍याइने घोषणा गरेको छ  ।

खनाल–नेपाल समूहको काठमाडौं जिल्ला कमिटीको उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुशुम कार्की र उपसचिवमा लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठ चयन भएका छन् । उपाध्यक्ष सापकोटा काठमाडौं– १४ की वडाध्यक्ष तथा कार्की बागमती प्रदेश सभा सदस्य हुन् । कमिटी घोषणा कार्यक्रममा वरिष्ठ नेता खनाल र नेपाल, नेतृ अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्यहरू जीवनराम श्रेष्ठ, सावित्रा भुसाल र सुरेन्द्र मानन्धरलगायत सहभागी थिए ।

खनाल–नेपाल समूहमा रहेका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले देशभर संगठन निर्माण अभियान चलाउने घोषणा गरेलगत्तै संघीय राजधानी काठमाडौंबाटै तीव्रताको सन्देश दिने उद्देश्यले जिल्ला कमिटी पुनर्गठन गरिएको जानकारी दिए । ‘पार्टीले शनिबार देशभर संगठन विस्तार र पुनर्गठन अभियानको घोषणा गरेको थियो, त्यसलाई देशव्यापी बनाउन हामीले संघीय राजधानीबाटै सुरु गरेर सकारात्मक सन्देश दिन खोजेका छौँ,’ मानन्धरले भने, ‘यो सन्देशले गर्दा अब देशभर रफ्तारमा गठन, पुनर्गठन अभियान अघि बढ्नेछ भन्ने हामीलाई विश्वास छ ।’ 

खनाल–नेपाल समूहले १९ र २० चैतमा कीर्तिपुर र शंकरापुर नगरपालिकामा पनि नगर कमिटी पुनर्गठन गरेको छ । केन्द्रीय सदस्य मानन्धरले काठमाडौंका दशवटै निर्वाचन क्षेत्र, नगर र वडा कमिटीहरूमा रफ्तारमा पुनर्गठन अभियान सञ्चालन गर्ने कार्ययोजना बनेकोसमेत जानकारी दिए । ‘हामी २ जेठ ०७५ अघिको एमालेको निर्वाचित कमिटीलाई मान्यता दिने पक्षमा उभिएका छौँ, त्यसलाई मान्यता नदिने गरी अर्को समूहमा लागेको रिक्त स्थानमा मात्र पुनर्गठन गर्छौँ, हाम्रो मान्यता सही छ, कसैलाई कारबाही गर्दैनौँ, सबै साथीहरू यो अभियानमा जोडिनुहुनेछ,’ मानन्धरले भने । खनाल–नेपाल समूहको भेलाले बागमती प्रदेश कमिटी सदस्यका लागि २१ जनाको नामसमेत सिफारिस गरेको छ । 

उद्घाटन र शिलान्यास तमासा मात्रै : नेपाल 
भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले प्रधानमन्त्री केपी ओलीले उद्घाटन र शिलान्यासको तमासा देखाएको टिप्पणी गरेका छन् । शनिबार प्रधानमन्त्री ओलीले एक सय ६५ वटा निर्वाचन क्षेत्रमा रणनीतिक सडक शिलान्यास कार्यक्रमलाई व्यंग्य गर्दै नेपालले त्यस्तो बताएका हुन् ।

‘डिपिआर छैन, कति लागत हो त्यो पनि छैन । बालुवाटारमा बस्यो, स्विच थिचेर शिलान्यास गर्‍यो । सबै ठाउँमा नाम लेखाउन कस्तो रहर हो । कति फोटो टाँस्ने रहर हो । आफ्नै कोठामा झुन्ड्याए भैगो नि, किन अरूलाई दुःख दिनु ?’ नेपालले भने, ‘अहिले ओलीले शिलान्यासको तमासा मात्रै देखाइरहेका छन् ।’ 

नेपालले ओलीले नेपालको कम्युनिस्ट आन्दोलनलाई विर्सजनतिर लैजाने कामको नेतृत्व गरिरहेको आरोपसमेत लगाएका थिए । त्यस्तै, अर्का वरिष्ठ नेता झलनाथ खनालले ओलीको व्यक्तिवादकै कारण एमालेभित्र गम्भीर समस्या उत्पन्न भएको बताए । उनले ३ जेठ ०७५ अघिको एमालेको केन्द्रदेखि तलसम्मको निर्वाचित कमिटीको अस्तित्वलाई स्विकारेको अवस्थामा मात्र ओलीसँग सहमति हुन सक्ने अन्यथा देशैभर कमिटी गठन अभियान अघि बढ्नेसमेत प्रस्ट्याएका थिए ।