मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एएफसी कपअन्तर्गत प्रारम्भिक चरणको तयारीबारे जानकारी दिँदै त्रिभुवन आर्मी फुटबल क्लबका पदाधिकारी ।
नयाँ पत्रिका काठमाडौं
२०७७ चैत २१ शनिबार ०९:०३:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एएफसी कप प्रारम्भिक चरण : रंगशालाको क्षमताभन्दा आधा दर्शकलाई मात्रै अनुमति 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ चैत २१ शनिबार ०९:०३:००

एसियाली फुटबल महासंघ (एएफसी) कपअन्तर्गत प्रारम्भिक चरणको प्रतिस्पर्धामा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले श्रीलंकाली क्लबविरुद्ध यही बुधबार घरेलु मैदानमा प्रतिस्पर्धा गर्दै छ । खेल साँझ ५:३० बजे सुरु हुनेछ । सो खेलका लागि श्रीलंका पुलिस स्पोट्स क्लब आइतबार काठमाडौं आइपुग्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलको तयारी जारी छ । 

खेलमा रंगशाला क्षमताको आधा मात्रै दर्शकले अनुमति पाउने भएका छन् । एएफसीले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण आधा मात्रै दर्शक राखेर खेल खेलाउन अनुमति दिएको हो । एएफसीको कार्यक्रमअनुसार यो खेल आर्मी क्लबको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुन लागेको हो । खेलका लागि भिआइपी प्यारापिटतर्फ पाँच सय र साधारण प्यारापिटतर्फ तीन सय टिकट शुल्क तोकिएको छ । एएफसीको लाइसेन्स प्राप्त नेपालको एउटै मात्र क्लबको हैसियतमा आर्मीले एएफसीकपमा प्रतिस्पर्धा गर्न लागेको हो । 

सहिद स्मारक ए डिभिजन लिग २०१९–२० को सिजनको विजेताको हैसियतले मच्छिन्द्र फुटबल क्लबले प्रतिस्पर्धा गर्नुपर्ने थियो । यद्यपि, एएफसीको क्लब लाइसेन्सिङको मापदण्ड पूरा गर्न नसकेपछि आर्मीले अवसर पाएको हो । प्रतियोगिताका लागि आर्मी प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा तयारीमा छ । आर्मीले खेलको तयारी स्वरूप गत आइतबार किर्गिस्तानको यु–२३ टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

एएफसीले कोरोना महामारीका कारण रंगशालाको क्षमताभन्दा आधा मात्रै दर्शक राखेर खेल गराउन अनुमति दिएको छ, पहिलो खेलमा आर्मी क्लबले बुधबार श्रीलंकन क्लबसँग प्रतिस्पर्धा गर्दै छ

खेलमा आर्मीले किर्गिस्तानको ओलम्पिक टोलीलाई गोलरहित बराबरीमा रोकेको थियो । प्रारम्भिक चरणको प्रतिस्पर्धामा विजयी भएको अवस्थामा आर्मीले प्रारम्भिक चरणकै दोस्रो खेलमा भारतको बेङ्गलुरुसँग प्रतिस्पर्धा गर्नेछ । बेङ्गलुरुलाई पराजित गरे आर्मीले प्लेअफमा म्यानमारको हान्थावाडी युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । 

बुटवल लुम्बिनीले भित्र्यायो तीन विदेशी खेलाडी 
बुटवल लुम्बिनी फुटबल क्लबले वैशाखको दोस्रो साताबाट काठमाडौंमा सुरु हुने तय भएको नेपाल सुपर लिग (एनएसएल)का लागि तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ । क्लबले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो टोली सार्वजनिक गरेको हो । क्लबले प्रतियोगिताका लागि तीनैजना अफ्रिकी खेलाडीलाई अनुबन्ध गरेको जनाएको छ । क्लबका जनरल म्यानेजर राजुकाजी शाक्यले घाना, नाइजेरिया र चादका एक–एक खेलाडी भित्र्याएको बताए । 

क्लबले नाइजेरियन ओमोलाजा नुरन करिम, घानाबाट विलियम ओपोकुएसिड र चादका अर्मान्ड बिदम रहेका छन् । शाक्यका अनुसार अर्मान्डले यसअघि पनि नेपालमा फुटबल खेलेका छन् । उनी गत सिजन च्यासलबाट सहिद स्मारक ए डिभिजन लिग खेल्न काठमाडौं आएका थिए । यद्यपि, उनले लिग खेल्न पाएनन् । उनले च्यासलबाट मोफसलको प्रतियोगिता भने खेलेका छन् । बाँकी दुई खेलाडीका लागि नेपाली फुटबल नयाँ अनुभव हुनेछ ।

क्लबले शुक्रबार बाँकी आफ्नो टोली पनि सार्वजनिक गरेको छ । क्लबले अक्सनमार्फत १४ खेलाडीलाई लिएको छ । टोलीको मार्की खेलाडीमा गोलरक्षक विशाल श्रेष्ठ रहेका छन् भने प्रशिक्षकमा सनोज श्रेष्ठ रहेका छन् । क्लबका अध्यक्ष राजकुमार तिमिल्सिनाले उपाधि जित्ने उद्देश्यले टोली तयार पारेको जनाए । ‘हामीले विदेशी खेलाडीको अनुबन्ध पनि गरिसकेका छौँ,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘हामी उपाधि जित्ने लक्ष्यमा छौँ । त्यसका लागि टोलीलाई आवश्यक सबै सुविधा उपलब्ध गराउनेछौँ ।’ क्लबका अनुसार प्रतियोगिताको तयारी स्वरूप खेलाडीहरूलाई अर्काे साताबाट बन्द प्रशिक्षणमा राखिनेछ ।

टोलीका मार्की खेलाडी विशालले प्रतियोगिताका लागि आफ्नो टोली राम्रो बनेको बताएका छन् । ‘अक्सनमा हामीले चाहेको केही खेलाडी त पाएनौँ । तर, जति खेलाडी पाएका छौँ, राम्रा पाएका छौँ । सन्तुलित टोली बनेको छ,’ विशालले भने, ‘हामी उपाधिकै लागि खेल्नेछौँ ।’

च्याम्पियन खेलाडीले जनही चार लाख पाउने
सरकारले थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यलाई जनही चार लाख दिने घोषणा गरेको छ । शुक्रबार मन्त्रिपरिषद्को बैठकले च्याम्पियन खेलाडीलाई सो रकम दिने निर्णय गरेको हो । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनही एक लाख दिने जनाएको थियो । गत सोमबार दशरथ रंगशालामा नेपालले तीन राष्ट्र सहभागी प्रतियोगिताको फाइनलमा बंगलादेशको राष्ट्रिय टोलीलाई २–१ ले हराउँदै उपाधि हात पारेको थियो । 

नेपाली टोलीले ३७ वर्षपछि घरेलु भूमिमा पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेको हो । नेपालले अन्तिमपटक रंगशालामा सन् १९८४ मा सम्पन्न दक्षिण एसियाली खेलकुद प्रतियोगिताको स्वर्णपदक जितेको थियो । सन् १९९९ मा नवौँ दक्षिण एसियाली खेलकुदमा नेपाल फाइनलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो । साढे तीन दशकपछि नेपाललाई अन्तर्राष्ट्रिय उपाधि दिलाउने क्रममा सन्जोग राई तथा विशाल राई बीले एक–एक गोल गरेका थिए । बंगलादेशबाट महबुबुर रहमानले एक गोल फर्काएका थिए । प्रतियोगिताको विजेता नेपालले पाँच हजार डलर प्राप्त गरेको थियो । उपविजेता बंगलादेशले तीन हजार डलर हात पारेको थियो ।