मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जीवन बस्नेत काठमाडौं
२०७७ चैत २० शुक्रबार ०९:२६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोटेश्वर–जडीबुटी सडकखण्ड ६ लेन विस्तार ५० प्रतिशत सकियो

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७७ चैत २० शुक्रबार ०९:२६:००

विद्युत्का केही पोल हटाउने काम र जडीबुटी चोकनजिक रहेको एउटा निजी घर अझै प्राप्त गर्न बाँकी

साबिक चार लेनको कोटेश्वर–जडीबुटी सडकखण्डलाई थप दुई लेन विस्तार गर्ने कार्य ५० प्रतिशत सम्पन्न भएको छ । चालू आर्थिक वर्ष ०७७÷७८ भित्र नै सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले जानकारी दिए । उनका अनुसार आयोजनाको काम सुचारु रहे पनि विद्युत्का पोल र कोटेश्वरतर्फबाट बायाँ साइडमा पर्ने जडीबुटी मोडमा रहेको एउटा निजी घर प्राप्त गर्न भने अझै बाँकी छ । ‘त्यसमा छलफल भइरहेको छ, तर अझै टुंगो लागेको छैन,’ उनले भने । सडक विस्तार कोटेश्वर चोकदेखि काठमाडौं र भक्तपुर जोड्ने मनोहरा पुलसम्म गरिनेछ ।

यसअघि डिभिजन कार्यालयले असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । सडक विस्तारको ठेक्का निर्माण कम्पनीहरू टुंडी सुसन उपक्रम (ज्वाइन्ट भेन्चर) ले पाएका छन् । जेभीले ७ करोड रुपैयाँमा सडक विस्तारको ठेक्का पाएको हो । 

सडक विस्तारका लागि सरकारले १२ करोड बजेट विनियोजन गरेको थियो । देशको पूर्वक्षेत्रबाट राजधानी भित्रिने प्रमुख नाकामा दैनिक तीन घन्टासम्म जाम हुन थालेपछि सरकारले सडक विस्तार गर्ने योजना अघि सारेको हो । यसअघि बजेटमा समेत सरकारले जामको समस्यामा समाधान गर्न सुरुङमार्ग निर्माण गर्ने घोषणा गर्दै आइरहेको थियो । 

जग्गा प्राप्ति सम्पन्न निजी घर प्राप्त गर्न बाँकी
सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार सडक विस्तारका लागि जग्गा प्राप्तिको काम सम्पन्न गरिसकेको छ । त्यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले चर्चेको क्षेत्रमा नागरिक उड्डयन प्राधिकरणले जग्गा उपलब्ध गराइसकेको छ । प्रााधिकरणले साढे सात रोपनी जग्गा उपलब्ध गराएको हो । त्यस्तै, सडकको दक्षिणी क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिकाको जग्गा पनि प्राप्त भइसकेको छ । त्यस क्षेत्रमा सार्वजनिक शौचालय र अन्य केही कबलहरू रहेकोमा महानगरले हटाएर सडक विस्तारका लागि उपलब्ध गराएको हो । महानगरसँग १० वर्षको सम्झौता भएकोमा अझै ३ वर्ष सम्झौता बाँकी रहेकोमा महानगरपालिकाले शौचालय हटाउने निर्णय गरेको र त्यसका लागि अन्य ठाउँमा जग्गा उपलब्ध गराउने गरी सहमति भएको हो । 

तर, जडीबुटी चोकमा रहेको एउटा सानो निजी घर प्राप्तिमा भने अझै सहमति भएको छैन । घरधनीले धेरै मुआब्जा खोजेका कारण ढिलाइ भएको हो । त्यसलाई पनि मनाउने काम लामो समयदेखि भइरहेको छ । तर, अझै सहमतिमा पुग्न नसकिएको डिभिजन कार्यालयले जानकारी दिएको छ ।

 भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार कोटेश्वरदेखि जडीबुटी जाने सडकको बायाँतर्फ एक लेन र दायाँतर्फ दुई लेन सडक विस्तार गर्न पुग्ने जग्गा प्राप्ति भएको छ । तर, तत्काललाई दुवैतर्फ एक–एक लेन मात्र विस्तार गरिनेछ । सरकारको योजनाअनुसार अहिले तिनकुने–कोटेश्वर–जडीबुटी हुँदै पेप्सीकोलातर्फ जानेलाई मात्र एकतर्फी समर्पित (डेडिकेटेड) एउटा छुट्टै लेन तयार गरिनेछ । त्यस्तै, भक्तपुरतिरबाट कोटेश्वर चोक हुँदै बालकुमारी–ललितपुरतर्फ जानका लागि एकतर्फी दुईवटा डेडिकेटेड लेन तयार गरिनेछ । यसले अहिले कोटेश्वरको जाम गठ्ठाघरसम्म पुग्ने र ‘पिक आवर’मा ३ घन्टासम्म जाममा बस्नुपर्ने अवस्था अन्त्य हुने विश्वास छ ।

विद्युत् र टेलिफोनको तार भूमिगत
कोटेश्वर–जडीबुटी सडकखण्डमा पर्ने विद्युत् र टेलिफोनको तार भूमिगत गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार संस्थानको सहमतिमा तारलाई भूमिगत गरिएको हो । ढल र सडक निर्माणको काम भने एउटै ठेक्कामा गर्ने गरी समन्वय गरिएको छ । यसले पटक–पटक सडक भत्काउने र फरक–फरक निकायले आफ्नो काम गर्दा त्यसको असर सडकमा पर्ने सम्भावना हट्नेछ । विगतमा सडक विस्तारको काम गर्दा अन्य सरोकारवाला निकायसँग समन्वय नहुँदा समस्या हुने गरेको थियो ।