१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार ११:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

हुलाकी राजमार्गका १३ प्याकेजको निर्माण सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार ११:४१:oo

भौतिक योजनामन्त्री नेम्वाङ र भारतीय राजदूत क्वात्राले गरे उद्घाटन

भारत सरकारको करिब आठ अर्ब रुपैयाँको सहयोगमा निर्माणाधीन तराई मधेसको हुलाकी सडकका १३ वटा प्याकेजको निर्माण सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बुधबार संयुक्त रूपमा हुलाकी सडक उद्घाटन गरेका छन् । हुलाकी राजमार्गलाई १० खण्डमा विभाजित गरी १४ प्याकेजमा निर्माण थालिएको थियो । 

निर्माण सम्पन्न भएर प्रयोगमा आएका हुलाकी राजमार्गका विभिन्न खण्डमा बाराको मनमत–कलैया–मटियर्वा, प्याकेज १ र २, धनुषाको वीरेन्द्रबजार–यदुकुहा–महिन्थपुर प्याकेज १ र २, जनकपुर–यदुकुहा, महोत्तरीको माइस्थान–गौशालाबजार–सम्सी, महोत्तरीको जलेश्वर–हर्दी, दाङको लमही–कोइलाबास, मोरङको कानेपोखरी–रंगेली, सप्तरीको कल्याणपुर–बरसाइ–सुभ्रानपट्टी, बाराको तामागढी–सिम्रौनगढ, प्याकेज १ र १, पर्साको वीरगन्ज–ठोरी, प्याकेज १ र २ निर्माण सम्पन्न भएका छन् ।

तराई क्षेत्रका सडक पूर्वाधारलाई स्तरोन्नति गर्ने हुलाकी राजमार्गले पूर्व–पश्चिम राजमार्गमा अवस्थित प्रमुख सहरलाई भारत–नेपाल सीमासँग जोडेका छन् । प्रदेश नम्बर १, २ र लुम्बिनीका सात सीमावर्ती जिल्लामा अवस्थित यी सडकले २८४ भन्दा बढी वडा, १४९ वटा गाउँ, १८ वटा गाउँपालिका, १८ वटा नगरपालिका, एक उपमहानगरपालिका र एक महानगरपालिका जोडेका छन् ।

सडक विभागले निर्धारण गरेको मापदण्डअनुरूप सडकहरूको निर्माण गरिएको हो । प्रत्येक सडकमा सात मिटर कैरियज वे र सडकको दुवैतर्फ दुई मिटरको रोड सोल्डरको व्यवस्था गरिएको छ । यी सडकमा ढल, बसोवास क्षेत्रमा रेलिङसहितको पदमार्ग, सडक चिह्न र अन्य सडक फर्निचरको सुविधा पनि राखिएको छ । परियोजनाअन्तर्गत ६५२ भन्दा बढी कल्भर्ट र १११ किलोमिटरभन्दा बढी ड्रेनेज नेटवर्कको पनि निर्माण गरिएको भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले जानकारी दिएका छन् । 

भारत सरकारको आर्थिक सहयोग र नेपाल सरकारको कार्यान्वयन मोडालिटीअनुरूप सडक निर्माण भएको हो । ठेक्का उद्देश्यका लागि १० सडकहरूलाई १४ वटा प्याकेजमा विभाजन गरिएको थियो । यी सडकहरूको निर्माणका लागि सन् २०१६ अक्टोबरदेखि सन् २०१७ नोभेम्बरसम्ममा सडक विभागले १४ वटा ठेक्का हस्तान्तरण गरेको थियो । हुलाकी राजमार्ग परियोजनाका लागि भारत सरकारको परामर्शदाताको रूपमा राष्ट्रिय राजमार्ग एवं पूर्वाधार विकास निगम लिमिटेडले काम गरेको थियो । 

‘भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएका तराई सडक परियोजनाले नेपालको तराई क्षेत्रको सडक पूर्वाधारलाई स्तरोन्नति गर्न ठूलो सहयोग पुर्‍याउनुका साथै दुई देशका जनताबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ,’ भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यी हुलाकी सडकले हालै भारतले नेपालमा निर्माण सम्पन्न गरेका र निर्माणाधीन अन्य प्रमुख सीमा पूर्वाधार, जस्तै– वीरगन्ज र विराटनगरमा अवस्थित एकीकृत चेकपोस्ट तथा अन्तरदेशीय रेलमार्गलाई पनि सहजता प्रदान गरेको छ ।’ 

भारत सरकारको आर्थिक सहयोगमै भारतको जयनगरदेखि नेपालको कुर्थासम्म अन्तरदेशीय रेलमार्गको निर्माण सम्पन्न भइसकेको छ । यो परियोजनलाई सञ्चालनमा ल्याउने गरी नेपाल सरकारलाई हस्तान्तरण गर्न तयारी अवस्थामा छ । यस सम्बन्धमा दुवै पक्षले यात्रुवाहक रेल सञ्चालनमा ल्याउन अन्तिम तयारी गरिरहेको पनि भारतीय दूतावासले जनाएको छ । 

ad
ad