मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मुक्तिनाथ खनाल
२०७७ चैत १५ आइतबार ०९:५७:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

क्षयरोगको महामारी

Read Time : > 5 मिनेट
मुक्तिनाथ खनाल
२०७७ चैत १५ आइतबार ०९:५७:००

नेपालमा क्षेत्रगत रूपमा क्षयरोगका बिरामीको दर समान भए पनि उमेर र वर्गीय रूपमा भने फरक छ

पहिले क्षयरोग मानव शरीरको फोक्सोमा मात्र लाग्छ भनिन्थ्यो । तर, अहिले यो रोगले आक्रमण नगर्ने शरीरको कुनै अंग छैन । यो रोगले कुनै पनि वर्ग, समुदाय, उमेरलाई अछुतो छोडेको छैन । क्षयरोग सामाजको एक प्रमुख रोगको रूपमा जरो गाडेर बसेको छ । यो रोगले मानव शरीरलाई मात्रै असर गरेको छैन, समाज र परिवारलाई समेत सामाजिक, आर्थिक, सांस्कृतिकलगायत क्षेत्रमा पनि असर गर्ने गरेको छ । छोटो अभियान र सानो प्रयासबाट क्षयरोगलाई उन्मूलन गर्न सम्भव छैन । 

क्षयरोग सरुवा रोग हो । यो रोग लागेका बिरामीले खोक्दा, हाछिउँ गर्दा रोगका जीवाणु हावामा पुग्छन्, त्यही हावा स्वस्थ मानिसले श्वासप्रश्वासको माध्यमबाट लिँदा क्षयारोग अर्काे व्यक्तिमा सर्न पुग्छ । मानव जातिको उत्पत्तिसँगै क्षयरोग पनि जन्मिएको अनुमान गरिएको छ । क्षयरोग रोग त हुँदै हो, आफैँमा एउटा सामाजिक समस्या पनि हो । २१औँ शताब्दीमा पनि क्षयरोग कम तथा अल्पविकसित मुलुकमा जनस्वास्थ्यको एउटा प्रमुख समस्याका रूपमा रहेको छ । यस्ता मुलुकमा मानिसको मृत्यु गराउने १० प्रमुख कारणमध्ये क्षयरोग पनि एक हो । क्षयरोगको स्रोत मूलतः गरिबी, अशिक्षा र भोकमरीलाई मान्न सकिन्छ । 

नेपालमा क्षयरोगका बिरामी पत्ता लाग्ने दर भौगोलिक क्षेत्रअनुसार फरक–फरक देखिन्छ । क्षयरोगका बिरामी पहाडी क्षेत्रको उत्तरी भेगमा कम र तराई क्षेत्रको दक्षिणी भेगमा बढी पाइएका छन् । नेपालका २० जिल्लामा प्रतिलाख जनसंख्यामा १२० जना क्षयरोगका बिरामी छन् । यीमध्ये १३ जिल्ला तराई र सात जिल्ला पहाडका छन् । त्यस्तै, नेपालका २४ जिल्लामा प्रतिलाखमा सरदर ७५–१२० जना र बाँकी ३३ जिल्लामा प्रतिलाख औसतमा ७५ क्षयरोगका बिरामी पाइएका छन् । प्रदेश तहमा क्षयरोगको बढी भार भएका जिल्ला लुम्बिनी प्रदेशका छन् । सन् २०१२ देखि २०१९ सम्म प्रदेश तहमा क्षयरोगका बिरामीको पत्ता लागेको दर समग्रमा घटेको देखिन्छ । 

नेपालमा क्षयरोगका नयाँ बिरामीको दर प्रतिलाखमा २४५ जना रहेको अनुमान छ । क्षयरोगका नयाँ बिरामीको पछिल्लो अनुमान दर अघिल्लो अनुमान दरभन्दा बढी छ । यद्यपि, २०००–२०१८ को अवधिमा क्षयरोगका नयाँ बिरामी दरमा ३५ प्रतिशतले कमी हुँदै गएको आकलन छ । बढ्दो उमेर समूहमाझ क्षयरोग प्रिभ्यालेन्सको दरमा देखिएको गिरावटले रोग सर्ने दर घटेको देखाउँछ । तर, २०१८ को प्रतिवेदनअनुसार क्षयरोग पत्ता लागेको दर (सबै प्रकारका क्षयरोगीमा) ४५.६५ पाइएको थियो, जुन सम्भावित बिरामीहरूको पर्याप्त रोग निदान नभएको अवस्था हो । सन् २०१८/१९ मा नयाँ र पुनः बल्झिएका क्षयरोगीको संख्या ३२ हजार ४३ थियो ।

क्षयरोगका सबैभन्दा बढी बिरामी वृद्ध उमेर समूहका देखिन्छन् । बच्चामा भने क्षयरोगको दर घट्दो देखिन्छ । बच्चामा क्षयरोगको दर सन् २०१५ मा ६.२५ प्रतिशत थियो, जुन सन् २०१८ मा घेटर ५.५० प्रतिशत मात्रै छ । नेपालमा पुरुष र महिलामा क्षयरोगी अनुपात फरक छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०२० मा प्रकाशित गरेको प्रतिवेदनअनुसार विश्वमा वार्षिक एक करोडभन्दा धेरै क्षयरोगका नयाँ बिरामी देखिने गरेका छन् । जसमध्ये करिब ५७ लाख पुरुष, ३२ लाख महिला, ११ लाख बालबालिका छन् । वार्षिक रूपमा करिब १५ प्रतिशत क्षयरोगीको मृत्यु हुने गरेको अनुमान छ । भारत, चीन, पाकिस्तान, बंगलादेश, इन्डोनेसिया र केही अफ्रिकी मुलुक विश्वमा सबैभन्दा बढी क्षयरोगबाट प्रभावित मुलुक हुन् । छिमेकी मुलुकको असर स्वाभाविक रूपमा नेपालमा पनि पर्ने नै भयो । सन २०१८–२०१९ मा गरिएको क्षयरोग प्रिभेलेन्स सर्वेक्षणअनुसार नेपालमा बर्सेनि सरदर ६९ हजार क्षयरोगका नयाँ बिरामी थपिने गरेका छन् । जसमा पुरुषको संख्या ६५ र महिलाको ३५ प्रतिशत हाराहारी पाइएको छ । क्षयरोगका बिरामी तराई र उपत्यकामा बढी र अन्य क्षेत्रमा कम भएको आकलन थियो, तर सर्वेक्षणले नेपालका सबै क्षेत्रमा क्षयरोगका बिरामी समान रूपमा रहेको देखाएको छ । साथै, नेपालमा वार्षिक करिब १७ हजार क्षयरोगीले ज्यान गुमाउने गरेको पनि सर्वेक्षणले देखाउँछ । यसर्थ, नेपालमा क्षयरोगको महामारी नै रहेको भन्न सकिने अवस्था छ ।

नेपालमा क्षेत्रगत रूपमा क्षयरोगका बिरामी दर समान भए पनि उमेर र वर्गीय रूपमा भने फरक छ । निश्चित वर्ग र समुदायका मानिस क्षयरोगको उच्च जोखिममा छन् । ज्येष्ठ नागरिक, बालबालिका, कैदीबन्दी, एचआइभी संक्रमित, मधुमेहका रोगी, दुर्व्यसनी, गर्भवती, मौसमी बसाइँसराइ गर्ने समूह, गुम्बा, मस्जिद, मदरसा, सुरक्षा निकायका आवासीय क्षेत्र, घना बस्ती, इँटाभट्टामा काम गर्ने मजदुर, निर्माण क्षेत्र र उद्योग कलकारखानाका मजदुर बढी जोखिममा छन् । 

क्षयरोगसँग गरिबी, भोकमरी, अशिक्षा, अन्धविश्वास, पछौटेपनसमेत जोडिएको छ । यो रोग निवारण गर्नु नेपाल सबै प्रकारका विभेद, विसंगति, विकृति र अभावबाट समेत मुक्त हुनु हो ।

क्षयरोगको यस्तो स्थिति हुँदाहुदै पनि नेपालमा क्षयरोगका बिरामी पत्ता लाग्ने दर भने न्यून छ । गरिबी, अशिक्षा, चेतनाको कमी, स्वास्थ्य सेवामा पहुँच, पहुँच भएकाहरू पनि रोग पहिचानका लागि स्वास्थ्य संस्थामा नजाने प्रवृत्ति, सेवा लिन गएकाको पनि समयमै रोग पत्ता नलाग्नु, रोग पत्ता लागेर उपचार भएका बिरामीहरूबारे स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरूले समयमै सही जानकारी प्रवाहित नगर्नुले क्षयरोगीको पहिचानलाई नै चुनौतीपूर्ण बनाएको छ । 

नेपाललाई क्षयरोगमुक्त देश बनाउने दिशामा विगतयता थुप्रै काम भएका छन्, तर अझै धेरै काम गर्नुपर्ने देखिन्छ । संघीयताको कार्यान्वयनपछि दक्ष र प्रशिक्षित जनशक्तिलाई सबै स्वास्थ्य संस्थामा पुर्‍याउनु, स्वास्थ्य प्रणालीको सुदृढीकरण र स्वास्थ्यमा सर्वव्यापी पहुँच वृद्धि गरी क्षयरोगको पहिचान र गुणस्तरीय उपचारको सुनिश्चितता गर्नु, क्षयरोग नियन्त्रणको समग्र कार्यक्रममा समुदायको संलग्नता र स्वामित्वको सुनिश्चितता गर्नु, बिरामीको विस्तृत विवरणमा आधारित विद्युतीय निगरानी प्रणालीको निर्माण, विस्तार र सुदृढीकरण गर्नु, प्राकृतिक विपत् तथा आपत्कालीन अवस्थामा समेत क्षयरोगका सेवाहरूको निरन्तरताको सुनिश्चितता, क्षयरोग प्रयोगशाला सेवाको सुदृढीकरण र विस्तार गरी क्षयरोग प्रयोगशालाको सञ्जाल निर्माण गर्नु अहिलेका प्रमुख चुनौती हुन् । 

सबै प्रकारका क्षयरोगी पत्ता लगाउने दरमा वृद्धि नगरी उल्लेख्य प्रगति हासिल गर्न सकिँदैन । गुणस्तरीय सेवामा निजी क्षेत्रको संलग्नतामा वृद्धि गरी स्वामित्वसमेत लिने गरी नीतिगत, कानुनी र संस्थागत संरचनाको निर्माण गर्नु पनि अपरिहार्य छ । क्षयरोग सेवामा बहुपक्षीय र बहुक्षेत्रीय अवधारणालाई पूर्ण रूपमा लागू गर्नु, क्षयरोगको सह–संक्रमणलाई सम्बोधन गर्नु, क्षयरोग रोकथाम थेरापीको सेवालाई सबैको पहुँच पुग्ने गरी विस्तार गर्नु, सबै प्रकारका संक्रमण नियन्त्रणका उपायहरूको सुदृढीकरण गर्नु र क्षयरोगको गुणस्तरीय उपचारको सुनिश्चतता गर्नु पनि उत्तिकै चुनौतीपूर्ण छ । यी चुनौतीको सम्बोधन गरी अघि बढेमा नेपालबाट क्षयरोग निवारण गर्न सकिन्छ । 

दिगो विकास लक्ष्यले अन्य सूचकहरूका अतिरिक्त क्षयरोगको पनि निश्चित लक्ष्य र सूचक निर्धारण गरेको छ । यसअनुसार सन् २०३० सम्ममा विश्वबाट क्षयरोगको महामारीको अन्त्य गर्ने (क्षयरोगका बिरामी प्रतिलाख २० जनाभन्दा कममा झार्ने) लक्ष्य निर्धारण गरिएको छ । सन् २०३५ सम्ममा विश्वबाट क्षयरोगको अन्त्य गर्ने (प्रतिलाखमा १० भन्दा कम बनाउने) लक्ष्य छ । नेपाल सरकार पनि दिगो विकासको यो लक्ष्य हासिल गर्न प्रतिबद्ध छ । यसैलाई आधार बनाएर नेपालले अहिले मुलुकबाट क्षयरोग उन्मूलनको लक्ष्य निर्धारण गरेको छ र रणनीतिक योजना निर्माणको चरणमा छ । नेपालले उल्लेखित लक्ष्यहरूलाई आत्मसात् गर्दै सन् २०५० सम्ममा नेपालबाट क्षयरोग उन्मूलन (प्रति दसलाखमा एकभन्दा कम) गर्ने लक्ष्य निर्धारण गरेको छ । 

यो लक्ष्य हासिल गर्न स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्दै सबै नागरिकको स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच वृद्धि गरी गुणस्तरीय क्षयरोग सेवा सुनिश्चित गर्दै जानुपर्छ । क्षयरोग सेवामा समुदायको संलग्नता, समुदायको नेतृत्वको विकास, सबै क्षयरोगका बिरामीको विस्तृत विवरण विद्युतीय प्रणालीमा राख्ने व्यवस्थाको सुनिश्चिततासहित हरेक बिरामीको निगरानी गर्ने प्रणालीको विकास गर्ने, विपत् र आपत्कालीन समयमा पनि क्षयरोगका बिरामीलाई सेवाको सुनिश्चित गर्ने उपाय अवलम्बन गर्नुपर्ने हुन्छ । सबै पालिकाले क्षयरोगका बिरामी पत्ता लगाउने सम्बन्धमा सूक्ष्म निगरानीको योजना बनाएर कार्यान्वयनमा लैजानु अझै प्रभावकारी हुन्छ । योजना कार्यान्वयनका आधारमा पालिकाहरूलाई क्रमशः क्षयरोगमुक्त घोषणा गर्दै जाने गर्नुपर्छ । क्षयरोग निवारणका लागि बहुपक्षीय र बहुक्षेत्रीय अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान सक्नुपर्छ । क्षयरोगको सहसंक्रमणलाई सम्बोधन गर्ने, क्षयरोग रोकथाम थेरापीको सेवालाई सर्वव्यापी बनाउने र संक्रमण नियन्त्रणका सबै उपायलाई अपनाउने, क्षयरोगको गुणस्तरीय उपचार सेवालाई सुनिश्चितताका लागि निजी क्षेत्रको संलग्नतालाई क्रमशः वृद्धि गर्दै लैजाने कार्यलाई पनि अगाडि बढाउनुपर्ने हुन्छ । 

नेपालबाट क्षयरोग उन्मूलन गर्न उच्चस्तरीय राजनीतिक प्रतिबद्धता र नेतृत्वको खाँचो छ । यसका लागि संघमा प्रधानमन्त्रीको नेतृत्वमा सबै सरोकारवालाको समेत संलग्नतामा उच्चस्तरीय क्षयरोग निवारण निर्देशक समिति बनाउनु उचित हुन्छ । सबै प्रदेशमा मुख्यमन्त्रीको नेतृत्वमा प्रदेशस्तरीय क्षयरोग निवारण समिति, पालिकास्तरमा पालिका प्रमुखको नेतृत्वमा र वडा तहमा वडाअध्यक्षको नेतृत्वमा क्षयरोग निवारण समिति बनाएर सबै प्रकारका साधनस्रोतको सुनिश्चितता गरी सम्भावित क्षयरोगीको खोजी, पहिचान, निःशुल्क परीक्षण र उपचार गर्ने व्यवस्था मिलाउनु राम्रो हुन्छ । क्षयरोगका बिरामीलाई आधारभूत स्वास्थ्य सेवाको प्याकेजमा समावेश गरी सबै स्वास्थ्य संस्थाबाट सेवा प्रदान गर्ने, सबै प्रकारका क्षयरोगका बिरामीलाई स्वास्थ्य बिमामा समाहित गरी निःशुल्क परीक्षण र निदानको सुनिश्चितता गर्ने, परिवार वा छिमेकीको प्रत्यक्ष निगरानीमा बिरामीलाई औषधि खुवाउने व्यवस्था हुनु पनि अनिवार्य छ । 

क्षयरोगलाई एउटा रोग मात्रै ठान्नु हुँदैन, यसलाई सामाजिक रोगकै रूपमा लिएर निवारण गर्नेतर्फ लाग्नु पर्छ । क्षयरोगसँग गरिबी, भोकमरी, अशिक्षा, अन्धविश्वास, पछौटेपनसमेत जोडिएको छ । यो रोग निवारण गर्नु नेपाल सबै प्रकारका विभेद, विसंगति, विकृति र अभावबाट समेत मुक्त हुनु हो । राजनीतिक नेतृत्व, राजनीतिक स्वामित्व, समुदायको अग्रसरता र नेतृत्व, निजी क्षेत्रको सक्रियता र नेतृत्व भएमा मात्र क्षयरोग उन्मूलनको कार्य सम्भव छ ।

(खनाल राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका उपसचिव हुन्)