
नेपाल प्रहरीको युनिट संघीय प्रहरी इकाई कार्यालय जनकपुरमा केहि वर्ष कार्यालय संचालन गरेपछि वीरगन्जमा सरेको छ । मधेश प्रदेश विपत् व्यवस्थापन गुल्म वीरगन्जको कार्यालयमा संघीय प्रहरी इकाई कार्यालय सरेको वरिष्ठ प्रहरी नायब निरीक्षक मुक्तिनारायण यादवले जानकारी दिए ।
उनका अनुसार यहाँको मधेस प्रदेश विपत् व्यवस्थापन गुल्म जनकपुरमा सरेको र जनकपुरको संघीय प्रहरी इकाई कार्यालय वीरगन्जमा सरेको हो । गत सातादेखि संघीय प्रहरी इकाई कार्यालय जनकपुरबाट कार्यालयका विभिन्न समाग्री वीरगन्ज ओसार्दै आएको छ। यस्तै संघीय प्रहरी मातहतका प्रहरीहरु पनि आउने क्रम जारी रहेको छ ।
कार्यालय वीरगन्जमा सार्न व्यवस्थापन गर्ने सामाग्री र प्रहरीहरु वीरगन्ज कार्यालयमा आउने क्रममा जारी रहेको उनले बताए । कार्यालय सरेपनी कार्यालय व्यवस्थापनको काम भइरहेकाले अवको तीन दिनपछि कार्यालय पुर्ण रूपमा संचालनमा आइसक्ने वरिष्ठ प्रहरी नायब निरीक्षक यादवले बताए ।
कार्यालय व्यवस्थापनका लागि संघीय प्रहरी इकाई कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइराला शुक्रबार वीरगन्ज आइसकेका छन्। अहिले उनकै प्रत्यक्ष निगरानीमा संघीय प्रहरी इकाइ कार्यालयको व्यवस्थापनको काम भइरहेको अवस्था छ । संघीय प्रहरी इकाई कार्यालयले प्रदेश भरीका जिल्लाका अपराध अनुसन्धानसहित आफ्नो मातहतमा पर्ने विभिन्न कार्यहरु सिधै प्रहरी प्रधान कार्यालयमा रिपोर्टिङ गर्नेछ ।
प्रहरीका अनुसार केन्द्रको प्रत्यक्ष नियन्त्रणमा रहने गरी संघीय प्रहरी इकाइ कार्यालय सबै प्रदेशमा संघीय प्रहरी इकाइ कार्यालय रहेको छ ।नेपाल प्रहरीका अनुसार देशको विभिन्न भौगोलिक परिवेशअनुसार अवस्थित प्रहरी इकाइहरुको कार्य संचालनमा परि आउने कठिनाइ तथा अवरोधहरुको निराकरण गरी सरल एवं सुलभ प्रणाली विकसित गरी प्रहरी प्रधान कार्यालयअन्तर्गत विभिन्न विभाग र इकाईहरुको गठन भएको छ ।