१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o९:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
सम्पादकीय प्रिन्ट संस्करण

घरेलु हिंसाको बीभत्स परिणाम

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:४५:oo

देशभर १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको कार्यक्रम मनाइरहँदा त्यस्ता कार्यक्रमप्रति एकप्रकारको व्यंग्य गरेजस्तो घटना कर्णाली नदीमा देखियो । दैलेखको आठबिस नगरपालिका–३ निमाइलकी सुकु बडुवालले आफ्ना चार सन्तानसहित कर्णालीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनका पतिले नियमित रूपमा मदिरा सेवन गरेर पत्नीसहित सन्तानमाथि पनि हिंसा गर्ने गरेको देखाएको छ । अघिल्लो दिन पति–पत्नीबीच मदिरा सेवन गरेर पतिले पैसा फुर्मास गरेको विषयमा झगडा भएपछि सुकु भौतिक हिंसाको सिकार हुनुपरेको थियो । त्यसपछि उनले सन्तानसहित आत्महत्याको बाटो रोजेको बुझिएको छ । १५, १२ र ५ वर्षका तीन छोरी र ८ वर्षीय एक छोरासहित उनी कर्णालीमा हामफालेकी छिन् । ५ वर्षकी छोरीबाहेक अरूमा नदीमा फाल हाल्ने मानसिकता तयार हुनुले पनि घरेलु हिंसाको चरम र निकृष्ट रूप अपनाइएको अनुमान गर्न सकिन्छ । 

अत्यधिक मदिरा सेवन गर्नेमाथि नियन्त्रणका कानुनी तथा व्यावहारिक उपाय अपनाइनु जरुरी छ । मदिरा सेवन र हिंसा जुन वर्गकाले पनि गर्न सक्छन्, तर गरिबी र मदिरा सेवन मिसिएपछि त्यो झन् भयावह बन्छ ।

यो घटनाका पछाडि गरिबी होला, अभाव र बेरोजगारी पनि होला । तर, मुख्य पक्ष भने घरेलु हिंसा नै हो, जहाँ एउटा पुरुष आफ्नी पत्नी र सन्तानमाथि आफ्ना सारा असफलताको दोष थोपरेर उनीहरूको जीवन नर्कमा धकेली बाँचेको छ । यो घटना नेपालमा मुख्यतया महिला र केटाकेटीले व्यहोर्नुपरेका अनेक हिंसाको एउटा बिम्ब मात्र हो । घरेलु हिंसाका अधिकांश दृश्यमा घरमुली पुरुषले आफ्ना श्रीमती र सन्तानमाथि थोपर्ने कुटपिट, खान नदिने, कमाएको ज्याला खोसेर आफूले रक्सी पिउने, अनावश्यक आरोप लगाएर लाञ्छित गर्ने, घरबाट निकाल्ने, दोस्री पत्नी ल्याउने, जुवातास खेलेर सम्पत्ति सक्ने र परिवारको लालनपालन पत्नीले मिलाउनुपर्ने तथा यौनहिंसाजस्ता घटना पर्छन् । अत्यधिक मदिरा सेवन यसको एउटा कारणका रूपमा रहेको देखिन्छ । 

जताततै उपलब्ध हुने खोयाबिर्के या निम्नकोटीको मदिरा सेवन गरेर जीवन बर्बाद पारिरहेका पुरुषहरू हरेक गाउँमा यत्रतत्र भेटिन्छन् । मदिरा उत्पादन र सेवनमा रहेको जथाभावीका कारण उत्पन्न समस्यामध्ये घरेलु हिंसा पनि एउटा हो । यसैकारणले पञ्चायतकालका आखिरी वर्षमा विभिन्न जिल्लामा मदिराविरोधी अभियान मूलतः महिला समूहको सक्रियतामा चलेका थिए । यस्ता समस्या अत्यधिक रहेका र सुदूर पश्चिमका पहाडी जिल्लामा अभियानले एक हदसम्म सफलता पनि पाएको थियो । पछि–पछि पनि यस्ता कार्यक्रम चले, माओवादीको विद्रोहका समयमा रक्सीको उत्पादन र उपभोगमा केही हदसम्म नियन्त्रण गरिएको थियो । तर, अहिले स्थिति जस्ताको तस्तै छ । 

घरेलु हिंसा र मदिरा सेवनबीच बहुआयामिक सम्बन्ध हुन्छ । मदिराले एकै समयमा व्यक्तिको उत्पादन क्षमतामा ह्रास आउँछ र उसले कमाउन नसक्ने हुन्छ । कमाउन नसक्नेको सम्बन्ध जति उसको स्वास्थ्यसँग जोडिएको हुन्छ, त्यति उसको सामाजिक प्रतिष्ठासँग पनि जोडिन पुग्छ । आर्थिक र सामाजिक रूपमा पंगु हुँदै गएपछि कुनै पनि मानिस गरिबीको जालोमा झन्–झन् जेलिन पुग्छ र अन्ततः त्यो तुस हिंसाको रूपमा सतहमा प्रकट हुन थाल्छ । यो आफैँमा एउटा दुश्चक्र हो । यसैले अत्यधिक मदिरा सेवन गर्नेमाथि नियन्त्रणका कानुनी तथा व्यावहारिक उपाय अपनाइनु जरुरी छ । मदिरा सेवन र हिंसा जुन वर्गकाले पनि गर्न सक्छन्, तर गरिबी र मदिरा सेवन मिसिएपछि त्यो झन् भयावह बन्छ । बडुवाल परिवारका यी पाँच सदस्यको आत्महत्या त्यसको पछिल्लो उदाहरण मात्र हो ।

ad
ad