१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण २४ सोमबार ०९:४७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दीपेन्द्रको शतकको बाबजुद पुलिस पराजित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण २४ सोमबार ०९:४७:००

दीपेन्द्र सिंह ऐरीको शतकीय इनिङ र पवन सर्राफको उत्कृष्ट बलिङका बाबजुद नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा पराजय व्यहोरेको छ । पुलिस अर्काे विभागीय टोली एपिएफसँग एक विकेटले पराजित भएको हो । 
यो जितसँगै एपिएफले प्रतियोगिताको फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।

लगातार दुई जित हात पारेको एपिएफ पाँच टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ । राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानका टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । पुलिसको भने यो दोस्रो खेलमा पहिलो पराजय हो । यसअघि एपिएफले पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र पुलिसले बागमती प्रदेशलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको पुलिसले दीपेन्द्रकै सशक्त ब्याटिङमा निर्धारित ओभरमा सात विकेट खर्चेर दुई सय ५८ रनको योगफल तय गरेको थियो । टोलीका लागि दीपेन्द्रले एक सय ४० रनको शतकीय योगदान दिए । दीपेन्द्रले एक सय ३१ बलको इनिङमा ६ छक्का र ११ चौका प्रहार गरेका थिए ।

उनीबाहेक पुलिसका अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । पवन सर्राफले ३५, सुनील धमलाले ३३, अनिल शाहले १८ र कुशल भुर्तेलले १० रन जोडेका थिए । अलराउन्ड प्रदर्शन गरेका पवनले बलिङतर्फ पाँच विकेट पनि लिएका थिए । योगेन्द्रसिंह कार्कीले थप दुई विकेट लिए ।

काठमाडौंको जितमा सन्दीपको उत्कृष्ट प्रदर्शन
आइतबार नै भएको अर्काे खेलमा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा काठमाडौं मेयर ११ विजयी भएको छ । काठमाडौंले बागमती प्रदेशलाई ९४ रनले पराजित गरेको छ । 

मूलपानी मैदानमा टस हारी पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ४४ रनको योगफल तय गरेको थियो । टोलीका लागि सन्दीपले बल र ब्याट दुवैबाट उत्कृष्ट प्रदर्शन गरे । २० बलमै ४२ रन जोडेका सन्दीपले तीन महत्वपूर्ण विकेट पनि लिएका थिए ।

उनीबाहेक सौरभ खनालले ४९ रन र सिद्धान्त लोहनीले ३४ रनको योगदान दिएका थिए ।  जवाफी ब्याटिङमा आएको बागमती प्रदेश ३४.३ ओभरमा एक सय ५० रनमै समेटिन पुगेको थियो । उसका लागि पृथु बाँस्कोटाले ६० रनको योगदान दिएका थिए । यद्यपि, अन्य कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।