१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ फाल्गुण २४ सोमबार ०९:३१:००
Read Time : > 3 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

गर्भवती स्वयंले रोज्छन् सिजरियन 

Read Time : > 3 मिनेट
२०७७ फाल्गुण २४ सोमबार ०९:३१:००

सिजरियन सजिलो मानिए पनि आमा र शिशुको स्वास्थ्यमा यसले दीर्घकालीन असर गर्छ । अस्पतालमा लामो समयसम्म बस्नुपर्ने,  खर्च बढ्ने, रक्तस्राव र संक्रमणको जोखिम बढी हुने र बच्चाको श्वासप्रश्वासमा समेत समस्या हुने अध्ययनले देखाएको छ ।

सिजरियन अर्थात् शल्यक्रियामार्फत १० देखि १५ प्रतिशत सुत्केरी गराइनुलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ‘आइडल रेट’ मानेको छ । डब्लुएचओले मातृ र नवजात शिशु मृत्युदर नियन्त्रणका लागि सन् १९८५ मा यो मापदण्ड कायम गरेको हो । 

डब्लुएचओका अनुसार पाँच प्रतिशत आमाको असामान्य स्वास्थ्य अवस्था, पाँच प्रतिशत शिशुको स्वास्थ्य अवस्था र पाँच प्रतिशत अन्य स्वास्थ्य समस्याका कारण सिजरियन आवश्यक हुन सक्छ । तर, विकसित र विकासशील देशमा सिजरियन डेलिभरी सामान्य हुँदै गएको छ । नेपालको सन्दर्भमा त अझै गर्भवतीकै रोजाइमा अधिकांश सिजरियन डेलिभरी हुने गरेको छ । 

स्वास्थ्यसेवा विभागको तथ्यांकअनुसार नेपालको सहरी क्षेत्र र खासगरी निजी अस्पतालहरूमा ९० प्रतिशतसम्मले शल्यक्रिया विधि ( सिजरियन)मार्फत सुत्केरी गराउने गरेका छन् । मातृशिशु मृत्युदर नियन्त्रणका लागि सिजरियन प्रविधि प्रयोगमा ल्याइए पनि अनावश्यक रूपमा प्रयोग गर्दा मातृशिशु स्वास्थ्यमा दीर्घकालीन असर पुगिरहेको विभिन्न अध्ययनले देखाएका छन् । 

नेपालमा सबैभन्दा बढी प्रसूति हुने अस्पताल परोपकार प्रसूतिगृहमा समेत ३८ प्रतिशतसम्म शल्यक्रियामार्फत सुत्केरी हुने गरेका छ । जुन प्रत्येक वर्ष बढ्दै गएको छ । प्रसूतिगृहको सिजरियन सेक्सनको तथ्यांकअनुसार आर्थिक वर्ष ०७१÷७२ मा २५ प्रतिशतले सिजरियन डेलिभरी अपनाएका थिए । हाल यहाँ करिब ३८ प्रतिशतले सिजरियन डेलिभरी गर्ने तथ्यांकमा उल्लेख छ । २० वर्षअघिसम्म प्रसूतिगृहमा १३ देखि १४ प्रतिशलले सिजरियन सेक्सन अपनाउँथे । यस्तै, १० वर्ष यो बढेर १८ देखि १९ प्रतिशत पुगेको थियो । प्रसूतिगृहमा मात्रै नभई अन्य ठूला सरकारी अस्पतालमा पनि सिजरियन डेलिभरीदर बढ्दै गएको छ । 

यसकारण सिजरियन सेक्सन बढ्दै
स्वास्थ्यसेवाको उपलब्धता, आमा र परिवारको रोजाइ र शल्यक्रियाप्रति बढ्दै गएको विश्वासका कारण सिजरियन सेक्सन बढेको चिकित्सकहरू बताउँछन् । वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. गेहनाथ बरालका अनुसार सहरी क्षेत्रमा सानो परिवारको अवधारणाका कारण पनि सिजरियन सेक्सन बढेको हो । उनी भन्छन्, ‘सहरी र शिक्षित वर्गमा एउटा मात्रै बच्चा जन्माउँदा किन प्राकृतिक प्रसूतिको जोखिम लिने भन्ने भ्रम छ ।’ छोटो समयमा डेलिभरी गर्न सकिने, आमामा जोखिम नहुनेजस्ता धारणाले धेरैजसोले शल्यक्रिया रोज्ने गर्छन् ।

प्रतिकूलताबाहेक सिजरियनमार्फत  सुत्केरी गराउनु गलत
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लक्ष्मी तामाङका अनुसार प्राकृतिक प्रसूति गराउन नसक्ने अवस्था अर्थात् बच्चाले दिसा खाएमा, बच्चा छड्के वा तेर्साे परेर बसेमा, पाठेघरको मुख सानो भएमा र अन्य स्वास्थ्य समस्या भएको अवस्थामा मात्रै सिजरियन डेलिभरी आवश्यक हुन्छ ।

स्वास्थ्यको प्रतिकूलताबाहेक शल्यक्रियामार्फत सुत्केरी गराउनेको संख्या बढ्नुको मुख्य कारण आमाको रोजाइ भएको चिकित्सकहरू बताउँछन् । प्राकृतिक प्रसूति गराउन ८ देखि १२ घन्टासम्म लाग्ने हुँदा आमा स्वयंले सिजरियन रोज्ने गरेका छन् । डा. लक्ष्मी तामाङ भन्छिन्, ‘आमा वा परिवारका सदस्यहरूले जोखिम लिन नचाहने कारणले समेत सिजरियन बढेको पाइन्छ । कतिपयले साइतमा बच्चा जन्माउन चाहने, तत्कालीन दुखाइ कम गर्नका लागि दीर्घकालीन समस्यालाई ध्यानमै नराखेर शल्यक्रिया विधि अपनाउँछन् ।’

सिजरियन सेक्सनले आमा र  शिशु दुवैलाई हानि
अध्ययनअनुसार सिजरियन सेक्सन गरेको र नगरेको बच्चाबीच तुलनात्मक रूपमा जन्मेदेखि १८ वर्षसम्मको अवधिमा दम, मोटोपना, मधुमेहको समस्या देखिने गरेको पाइन्छ । यस्तै, आमामा पनि दोस्रो बच्चा जन्माउनु परेमा स्वास्थ्य समस्या हुन सक्ने अध्ययनमा उल्लेख छ । यो विषय आमाहरूले ध्यान नदिएको चिकित्सकहरूको भनाइ छ । 

 

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार सिजरियन सेक्सन अपनाउनेहरूमा शिक्षित, सहरिया र सम्पन्न महिला बढी छन् । नेपाल सोसाइटी अफ अब्स्ट्रेसन्स एन्ड गाइनाकोलोजिस्ट (नेपाल प्रसूति रोग विशेषज्ञ संघ)की अध्यक्ष प्रा.डा. हीरा तुलाधरका अनुसार नेपालभरको तथ्यांक हेर्दा शल्यक्रिया आवश्यकभन्दा कम छ । उनी भन्छिन्, ‘तथ्यांक हेर्दा जम्मा नौ प्रतिशतले मात्र शल्यक्रिया गराउने देखिन्छ । तर, सहरी क्षेत्रमा सिजरियनको ट्रेन्ड नै बनेको छ ।

पहिलोपटक सिजरियन गरेकाहरूले दोस्रोपटकमा प्राकृतिक सुत्केरीका लागि प्रयास नै गरेको पाइँदैन ।’ यसबाहेक बढी उमेरमा बच्चा पाउने ट्रेन्ड, आइभिएफ प्रणालीको विकासले पनि सिजरियन बढाएको उनको भनाइ छ । सिजरियन डेलिभरीका लागि बढीमा ३० मिनेट लाग्छ । प्राकृतिक डेलिभरीका लागि आठदेखि १२ घन्टासम्म लाग्छ ।

जोखिम नलिई छिटोछरितो सुत्केरी हुने आमाहरूको चाहनाले पनि निजी अस्पतालमा सिजरियन बढी छ । सरकारी अस्पतालहरूमा पनि सिजरियनदर बढ्दो छ । त्रिवि शिक्षण अस्पताल, निजामती अस्पताल र परोपकार प्रसूतिगृहमा समेत लगभग ४० प्रतिशतमा सिजरियन डेलिभरी हुने चिकित्सकहरू बताउँछन् । निजी अस्पतालहरूमा भने सिजरियन यसको दोब्बर हुने गरेको छ । डा. बराल भन्छन्, ‘अपवादबाहेक सरकारी अस्पतालमा विशेषज्ञहरू २४ घन्टा उपलब्ध हुने हुँदा शल्यक्रियाका लागि हतार गरिँदैन । तर, निजी अस्पतालमा सेवा–सुविधा निश्चित समयका लागि हुने हुँदा प्राकृतिक सुत्केरी कुरेर बस्दैनन् ।’ 

तत्काल सहज, दीर्घकालीन असर
प्राकृतिक रूपमा सुत्केरी भएमा २४ घन्टाको अन्तरालमा अस्पतालबाट शिशु र आमालाई डिस्चार्ज गरिन्छ । तर, शल्यक्रियाबाट सुत्केरी भएको ४८ घन्टालाई संवेदनशील अवस्था मान्ने गरिन्छ ।डा. तुलाधरका अनुसार तत्कालका लागि शल्यक्रिया विधि सजिलो मानिए पनि आमा र शिशुको स्वास्थ्यमा यसले दीर्घकालीन असर पार्ने गरेको छ ।

अस्पतालमा लामो समयसम्म बस्नुपर्ने, खर्च बढ्ने, रक्तस्राव र संक्रमणको जोखिम बढी हुने, बच्चामा श्वासप्रश्वासमा समस्या हुनेजस्ता जोखिम देखिन सक्ने उनको भनाइ छ । प्राकृतिक डेलिभरीको क्रममा बच्चाको फोक्सो सामान्य अवस्थामा रहन्छ, सिजरियनमा त्यो प्रोसेस नहँुदा बच्चामा पछिसम्म फोक्सोको समस्या देखिने जोखिम हुन्छ । 

यस्तै, डा. तामाङका अनुसार, सिजरियन गरिसकेपछि पाठेघर सामान्य अवस्थामा रहँदैन । पाठेघरमा दाग हुने, सामान्यको तुलनामा पाठेघर नतन्किने, बच्चाको साल पाठेघरमा टाँसिने सम्भावना हुन्छ । दोस्रोपटक प्रसूतिका लागि प्रसूति रोग विशेषज्ञको सहयोग आवश्यक हुन्छ । कतिपयमा पाठेघरमा संक्रमण हुने, उच्च रक्तस्रावका कारण मृत्यु हुने सम्भावना पनि रहने उनको भनाइ छ ।