मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
लकडाउन खुकुलो भएसँगै बजारमा किनमेल गर्ने ग्राहकको संख्या पूर्ववत् रूपमा बढेको छ : असन बजार । तस्बिर : विनोद विष्ट/नयाँ पत्रिका
अर्थ ब्युरो
२०७७ फाल्गुण १५ शनिबार ०६:१६:००
Read Time : > 5 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोभिड महामारीपछि तंग्रिँदै अर्थतन्त्र : पर्यटन र चलचित्र क्षेत्र अझै समस्यामै

Read Time : > 5 मिनेट
अर्थ ब्युरो
२०७७ फाल्गुण १५ शनिबार ०६:१६:००

जीवनभरिको पुँजी र ऋणसमेत थपेर उद्योग–व्यापार क्षेत्रमा लागेका व्यवसायीलाई कोभिड–१९ महामारीले नराम्ररी थला पा¥यो । पूर्ण अनिश्चित वातावरणका बीचमा पर्खनु र हेर्नुबाहेक व्यवसायीले केही गर्न सकेका थिएनन् । देश पूर्ण लकडाउनमा हुँदा लगानी डुब्ने मात्र होइन, आफ्नो अनिश्चित भविष्यका बारेमा विभिन्न आशंका लिनु र मन अमिलो पार्नुको विकल्प उद्योगीसँग थिएन । तर, ‘रातपछि दिन आउँछ’ भन्ने भनाइजस्तै लकडाउन खुकुलो भएसँगै र मानिसहरूमा डरभन्दा भोक ठूलो हुँदै गएपछि विभिन्न आर्थिक क्षेत्र बिस्तारै लयमा फर्कन थाले । 

कोभिड महामारीका बीचमा पनि औद्योगिक उत्पादन र ढुवानी सेवा त्यति प्रभावित नहुँदा ‘सप्लाई चेन’ पनि बिग्रिन पाएन । त्यसैको बलमा पनि अहिले कोभिडको भुमरीबाट उद्योग–व्यवसायहरू तंग्रिन थालिसकेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा बताउँछन् ।

उनी भन्छन्, ‘केही साना तथा मझौला उद्योग, पर्यटन क्षेत्र, हस्पिटालिटी, वायुसेवा, चलचित्र उद्योगबाहेकका उद्योग–व्यवसायहरू पुरानै अवस्थामा फर्किन थालिसकेका छन् ।’ कोभिडले थला परेका करिब ४० प्रतिशत साना तथा मझौला उद्योगहरू भने अझै सञ्चालनमा आउन नसकेको उनको अनुमान छ । अधिकांश ठूला उद्योग भने सञ्चालनमा आएको मात्र नभई कतिपय उद्योगले कोभिडको घाटा पनि पूर्ति गर्न थालिसकेको गोल्छाको अनुमान छ । 

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर पनि केही उद्योग–व्यवसाय कोभिडको बीचमा पनि सञ्चालनमा आएको बताउँछन् । उनी थप्छन्, ‘एकजना कर्मचारीलाई ज्वरो आउँदा पूरै उद्योग बन्द गर्नुपर्ने अवस्थामा पनि उत्पादनमूलक उद्योगहरू चलेका थिए ।’ अहिले अधिकांश उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन थालिसकेको उनको बुझाइ छ । तर, अझै कोभिडको प्रभाव यथावत् रहेको हुँदा उद्योगको सञ्चालन खर्च भने उच्च नै रहेको मोर बताउँछन् । 

सिमेन्ट र डन्डीको माग बढ्दै 
कोभिड महामारीले निर्माणका काममा सुस्तता छाएसँगै घटेको सिमेन्ट र डन्डीको बजार बिस्तारै बढ्न थालेको छ । तर, अझै पनि निर्माणका कामले पूर्ण गति लिइनसकेको हुँदा धेरै सिमेन्ट उद्योग ५० प्रतिशतभन्दा कम क्षमतामा चलिरहेको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा बताउँछन् ।

उनी थप्छन्, ‘लकडाउनमा सिमेन्टको माग घटेपछि धेरैपछिसम्म उद्योगहरू करिब ३० प्रतिशत क्षमतामा चलेका थिए । अहिले सिमेन्टको माग बढ्न थालेपछि उद्योग पनि अलि बढी क्षमतामा चल्न थालेका हुन् ।’ माग बढे पनि हुनुपर्ने जति नहुँदा भने परल मूल्यमै सिमेन्ट बिक्री गर्नुपरिरहेको उनको गुनासो छ । 

अहिले ओपिसी सिमेन्टको फ्याक्ट्री मूल्य ५ सय ५० देखि ६ सय ५० रुपैयाँसम्म र पिपिसी सिमेन्टको फ्याक्ट्री मूल्य ४ सय ५० रुपैयाँदेखि ५ सय ५० रुपैयाँसम्म रहेको छ, जुन सामान्य समयको तुलनामा झन्डै १ सय रुपैयाँसम्म कम भएको थापाको जिकिर छ ।

सौरभ समूहका अध्यक्ष विष्णु न्यौपाने बजारमा डन्डीको माग बढिसकेको बताउँछन् । डन्डीको माग कोभिडअगाडिकै अवस्थामा फर्किसकेको उनको ठहर छ । कतिपय डन्डी उद्योगहरू पूर्ण क्षमतामा चल्न थालिसके पनि बजारमा पहुँच बढाउन नसकेका उद्योगहरू अझै आधाभन्दा कम क्षमतामा चलिरहेका छन् । कोभिडकै बीचमा अम्बे र नारायणी स्टिल नयाँ उद्योगका रूपमा सञ्चालनमा आए । न्यौपाने थप्छन्, ‘अहिले कोभिडअघिको भन्दा १५–२० प्रतिशतले माग बढेको छ ।’ डन्डीको मागसँगै दुईवटा ठूला उद्योग थपिँदा आपूर्ति पनि बढेको छ । 

बजारमा डन्डीको माग बढ्न थाले पनि भाउ भने घटिरहेको छ । कोभिडको समयमा डन्डीको भाउ घटेर प्रतिकेजी फ्याक्ट्री मूल्य ५७ देखि ६५ रुपैयाँसम्म झरेको थियो । तर, मंसिरमा एकाएक भाउ २५ रुपैयाँसम्मले बढेर फ्याक्ट्री मूल्य नै ८८ रुपैयाँसम्म पुगेको थियो । तर, पछिल्लो समय डन्डीको भाउ घटेर प्रतिकेजी ७६ रुपैयाँमा झरेको न्यौपाने बताउँछन् ।

 लय समात्दै अटोमोबाइल
कोभिडपछि अटोमोबाइल क्षेत्रले पिकअप लिन थालेको छ । सुरुको तीन महिना लामो लकडाउन खुकुलो भएलगत्तै जुलाईमै दुईपांग्रे सवारीको बिक्री पुरानै अवस्थामा फर्किएको थियो । एचएच बजाजकी सहायक महाप्रबन्धक पुनम सिंह भन्छिन्, ‘लकडाउनपछि पिकअप लिएको दुईपांग्रे सवारीको बिक्री अहिले पुरानै लयमा फर्किसकेको छ ।’ दसैँ–तिहारपछि चारपांग्रे सवारीको बिक्री पुरानै अवस्थामा फर्किसकेको सुजुकी मोटर्सका मार्केटिङ प्रमुख करुण शाक्यको बुझाइ छ । उनी भन्छन्, ‘दसैँपछि चारपांग्रे गाडीको बिक्रीमा सुधार हुँदै अहिले कोभिडअगाडिकै हाराहारीमा बिक्री हुन थालेको छ ।’ 

घरजग्गा किनबेच गर्ने सेवाग्राहीको मालपोत कार्यालयमा भिड : कलंकी मालपोत कार्यालय 

 नेपाल राष्ट्र बैंकको तथ्यांकले पनि गाडीको बिक्री लयमा फर्किन थालेको देखाउँछ । अघिल्लो आवको पहिलो ६ महिनामा ५३ अर्ब ४१ करोड ८८ लाख रुपैयाँबराबरको गाडी तथा पार्टपुर्जा भित्रिएकोमा चालू आवको त्यसै अवधिमा ५० अर्ब ४१ करोड ४०  लाख मूल्यबराबरको गाडी तथा पार्टपुर्जा भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । 

 इतिहासकै सर्वाधिक घरजग्गा किनबेच 
यो वर्षको पुसमा अनलाइन प्रणाली लागू भइसकेका देशभरका १ सय ८ मालपोत कार्यालयबाट ७६ हजार ५ सय ३२ घरजग्गा किनबेच भएका छन्, जुन सम्भवतः इतिहासकै सर्वाधिक धेरै हो । पुसमा २ लाख १४ हजार ४ सय ६० संख्यामा भएको जग्गासम्बन्धी कामले ६ अर्ब ६५ करोड ६३ लाख रुपैयाँ राजस्व उठेको छ । 

यस्तै, माघ महिनामा ७६ हजार २ सय २८ घरजग्गा किनबेच भए । पुस महिनामा भन्दा माघमा घरजग्गा किनबेच सामान्य घटे पनि ६ अर्ब ७३ करोड २८ लाख रुपैयाँ कुल राजस्व संकलन भएको विभागका महानिर्देशक शेषनारायण पौडेल बताउँछन् । माघ महिनामा संकलन भएको राजस्व इतिहासकै सर्वाधिक बढी हो । अनलाइन प्रणाली लागू नभएका १८ मालपोतको कारोबार उल्लेख छैन । विभागका अनुसार अनलाइन लागू नभइसकेका कार्यालयहरूमा त्यति धेरै कारोबार भने हुँदैन । 

 बढ्दै उद्योग दर्ता 
चालू आर्थिक वर्षको सात महिनामा उद्योग विभागमा १ सय १९ उद्योग दर्ता भएका छन् । ती उद्योगले कुल ८२ अर्ब ३३ करोड रुपैयाँ लगानी गर्नेछन् । गत वर्षको सोही अवधिको तुलनामा उद्योगको कुल दर्ता ९३ वटाले र कुल लगानी २५ अर्ब रुपैयाँले कमी हो । तर, पछिल्ला महिनाको तुलनामा उद्योगको दर्ता बढ्दै गएको विभागका महानिर्देशक जीवलाल भुसाल बताउँछन् । उद्योग दर्ता गर्ने तथा विदेशी लगानीका लागि स्वीकृति लिनेको दर सामान्य अवस्थामा जस्तै हुन थालेको उनी बताउँछन् ।  

 लकडाउनपछि नै फस्टाएको सेयर बजार 
कोभिड–१९ को प्रभावमा सबै क्षेत्र रहँदा सुरुवाती दिनमा सेयर बजारका कारोबारी त्रासमा रहे पनि यसको सबैभन्दा ठूलो लाभ यही बजारले पायो । बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा लगानी अभाव हुँदा र निक्षेपमा घटेको ब्याजदरको फाइदा सेयर बजारले पायो । बैंकहरू करिब ३ खर्ब रुपैयाँ अधिक तरलतामा रहन थालेपछि सेयर धितो कर्जा यो अवधिमा ६३ प्रतिशतसम्म वृद्धि भएर ७५ अर्ब रुपैयाँ पुगेको छ । 

बीचमा २ दिन खुलेको बजार १५ असारमा पूर्ण रूपमा खुल्दा त्यसयता मात्रै नेप्सेले १ हजार ४ सय ५२ अंकसम्म जोड्यो । कारोबार रकम ५ गुणाभन्दा धेरै बढेर दैनिक १० अर्ब ६१ करोड रुपैयाँसम्म पुग्यो । लकडाउनताका बजारमा १६ लाख लगानीकर्ताको सेयर डिम्याट खाता रहेकोमा यसमा ८१ प्रतिशतले वृद्धि भएर २९ लाख ५७ हजार पुगेको छ । यो अवधिमा अनलाइन कारोबार सेवा लिनेको संख्या २७ हजारबाट बढेर ३ लाख ७६ हजार पुगेको छ । १ लाख ९५ हजार लगानीकर्ता सक्रिय रूपमा कारोबार गरिरहेका छन् । 

कीर्तिमानी आयातले राजस्व लक्ष्यभन्दा बढी
कोभिड–१९ का कारण प्रभावित आयात व्यापार लयमा फर्किसकेको छ । कोरोना महामारीको संक्रमण तथा जोखिम बढेसँगै आयात व्यापार क्रमशः सुधार हुँदै हालसम्मकै उच्च आकारमा पुगेको छ । माघ महिनामा मात्रै १ खर्ब ४२ अर्ब ३९ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ । जुन अघिल्लो वर्षको सोही महिनामा भएको आयातको तुलनामा ३०.७५ प्रशितले बढी हो । 

आयातको यो आकार हालसम्मकै उच्च भएको भन्सार विभागका महानिर्देशक सुमन दाहाल बताउँछन् । भन्सार विभागको तथ्यांकअनुसार चालू आवको ७ महिनामा ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँबराबरको आयात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४ करोड रुपैयाँले बढी हो । 

आयात वृद्धिसँगै भन्सार राजस्वसमेत उच्चदरमा बढेको छ । माघ महिनामा भन्सार विभागले ३५ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । माघमा लक्ष्यभन्दा साढे ६ अर्ब रुपैयाँ बढी अर्थात् ४१ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सार विभागको तथ्यांक छ । यो गत वर्षको माघको तुलनामा ५२.७८ प्रतिशतले बढी हो । आवको पहिलो ७ महिनासम्ममा भन्सार राजस्व संकलन २ खर्ब ३८ अर्ब ९० करोड पुगेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १४.९ प्रतिशतले बढी हो । आयात बढेसँगै राजस्वसमेत उच्चदरमा बढ्न थालेको महानिर्देशक दाहालको भनाइ छ ।  

 बढ्दै बैंकको लगानी
एक महिनामा वाणिज्य बैंकहरूले करिब १ खर्ब कर्जा लगानी बढाएका छन् । वाणिज्य बैंकहरूले प्रवाह गर्ने तथ्यांकअनुसार माघ पहिलो साता कुल ३२ खर्ब ३६ अर्ब कर्जा लगानी गरेकोमा फागुन पहिलो साता ३३ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा पुर्‍याएका छन् । 

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह भन्छन्, ‘कर्जा वृद्धिसँगै हाम्रो कर्जा निक्षेप अनुपात ८० प्रतिशतमाथि पुग्न थालेको छ ।’ बैंकहरूले कर्जा निक्षेप अनुपात ८५ प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था छ । कर्जा लगानी बढे पनि अझै करिब १ खर्ब रुपैयाँ अधिक तरलता बैंकहरूमा कायम छ । पुस मध्यसम्ममा भने २ खर्बभन्दा बढी अधिक तरलता रहेकोमा नियमित कर्जा प्रवाहले अधिक तरलता कम हुँदै गएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्ट भन्छन्, ‘हामीले करिब ८३ अर्ब रुपैयाँ बैंकहरूमा पुनर्कर्जाका रूपमा लगानी गरेका छौँ, बैंकहरूमा कर्जाको माग नबढेको भए यस आधारमा अधिक तरलता १ खर्बसम्म हुन सक्थ्यो ।’