मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
ब्रेट स्टेफन्स
२०७७ फाल्गुण ९ आइतबार ०८:५९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अरब वसन्तबाट सिक्न सकिने पाठ

Read Time : > 2 मिनेट
ब्रेट स्टेफन्स
२०७७ फाल्गुण ९ आइतबार ०८:५९:००

दश वर्षअघि प्रदर्शनकारीको भीडले कायरोको तहरिर स्क्वायर भरिँदा मैले एक मित्रसँग होनी मुबारकबारे बाजी लगाएको थिएँ । इजिप्टमा झन्डै ३० वर्ष तानाशाही शासन चलाएका मुबारकलाई आन्दोलनकारीले सत्ताच्युत गर्न नसक्ने मेरो मत थियो । सेनामा मुबारकको बलियो पकड रहेको र सेनाको नजरमा इजिप्टका सामु प्रजातन्त्र र तानाशाहीबीच छनोट प्रमुख अन्तरद्वन्द्व थिएन भन्ने मलाई लागेको थियो । सेनाका लागि मुख्य छनोट इस्लामवाद, अराजकता र मुबारकबीच रहेको थियो । 

मैले बाजी हारेँ । तर, म पूर्ण गलत भने भइनँ । आन्दोलनको बलमा मुबारक ढले र स्थायी, प्रतिनिधिमूलक प्रजातन्त्र स्थापनाको आशा ह्वात्तै बढ्यो । यो आशा इजिप्टमा मात्र सीमित थिएन, सम्पूर्ण अरबीभाषी विश्वमा फैलिएको थियो । तर, पछिल्ला परिदृश्यले विगतको आशा यथार्थमा रूपान्तरण भएको देखिएन ।

अरब वसन्तको जन्मभूमि ट्युनिसियामा अर्थतन्त्र र सरकार विखण्डनको मोडमा छ । सिरियामा मर्नेको संख्या लाखमा छ भने शरणार्थीको संख्या करोडमा । यत्रो रक्तपातपछि पनि बसार अल–असाद अझै सत्तामा कायम छन् । लिबियामा मुअम्मर अल–गद्दाफीको बहिर्गमनले एक दशकदेखि सैन्य युद्ध निम्त्याएको छ ।

इराक र सिरिया इस्लामिक स्टेट (आइएस)बाट आतंकित भए । यमन क्षेत्रीय छद्म युद्धभूमिमा रूपान्तरण भएको छ । युद्धका कारण करोडौँ यमनी जनता भोकमरीको जोखिममा बाँचिरहेका छन् । मेरा दिवंगत मित्र फोउद अजामीले पर्खालविनाको बगैँचा भन्ने गरेको लेबनान ‘असफल राष्ट्र’ बनेको छ । 

इजिप्टको राजनीति तीस महिनाको अन्तरमा पहिले तानाशाहीबाट प्रजातान्त्रिक अनि इस्लामवादमा गएर अहिले तानाशाहीको हातमा गएको छ । ‘अरबीभाषी विश्वमा उठेको स्वतन्त्रता र प्रजातन्त्रसम्बन्धी आशा मूलतः दमित भइसक्यो,’ न्युयोर्क टाइम्समा एक समाचार लेख्दै हबार्ड र किर्कप्याट्रिकले लेखेका छन्, ‘अमेरिका भर पर्न नसकिने मित्र साबित भयो ।

प्रतिरोधलाई यो क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउन प्रयोग गर्ने इरान, रुस, टर्की, साउदी अरब र एमिरेटहरू आफ्नो उद्देश्यमा सफल देखिन्छन् ।’ त्यसो भए के मुबारक सही थिए ? मुबारकपन्थ सही थियो ? इजिप्टजस्तो मुलुकका लागि मुबारक शैलीको राजनीति नै उत्कृष्ट हुन्छ त ? मुबारकले देशमा सर्वसत्तावादी शासन चलाए पनि उनलाई कसैले पनि सद्दाम हुसेनजस्तो कठोर मान्दैनथे । 

यो प्रश्नको चर्चा अरब विश्वभन्दा बाहिरसमेत हुन थालेको छ । भ्लादिमिर पुटिन, सी जिनपिङ र अली खमेनीले आफ्ना विपक्षीमाथिको धरपकडलाई आजकल के भनेर सही ठहराउने गरेका छन्, ख्याल गर्नुभएको छ ? उनीहरू आफूले आफ्नो देशलाई सिरिया बन्न दिन नसक्ने बताउँछन् ।

उनीहरू अमेरिकावादविरोधी भावनालाई कसरी उचित ठहराइरहेका छन्, विचार गर्नुभएको छ ? यसमा उनीहरू मानवीय सहयोगको नाममा अत्यधिक शक्ति प्रयोगबाट ध्वस्त बनेको बेन्घाजीको तस्बिर देखाउँछन् । छोटोमा भन्दा ‘अरब वसन्त’ आफैँमा दमन पुष्टि गर्ने शब्दजालमा रूपान्तरण भएको छ । केही मनोवैज्ञानिक तर्क पनि छन् । 

आफ्ना नागरिकको आवाज दमन गर्ने सत्ताले क्रान्तिलाई थप अवश्यम्भावी र हिंसात्मक बनाउँछ

यी तर्क–वितर्कलाई पन्छाउनु मुख्र्याइँ हुन्छ । बुस तथा ओबामा प्रशासन मध्यपूर्वमा असफल हुनुमा त्यही मुख्य कारण छ । इतिहासको लामो कालखण्ड विभिन्न प्रकारको तानाशाही भोगेका समाज रातारात उदार प्रजातन्त्रमा रूपान्तरण हुँदैन । तर, विकल्प मुबारक होइनन् ।

एक दशकदेखि अरब विश्व तरंगित छ र अझ यसमा क्षय आउने क्रम जारी छ । तर, यो अवस्था दमनकारी व्यवस्थाको अन्त्यका कारण आएको होइन । बरु इतिहासको बोझले यो थलिएको हो । अब्देल फताह अल–सिसीले मुबारकभन्दा बढी करिस्म्याटिक र दमनकारी बनेर इजिप्टमा शासन गर्न सक्छु भन्ने ठानेका होलान् । तर, अमेरिकाले तिनको विश्वास गर्नुहुँदैन । तर, बाइडेन प्रशासनले अहिले नै अल–सिसी वा सो क्षेत्रका अन्य तानाशाही (जस्तो– साउदी अरब)बाट दूरी कायम गर्नुपर्छ भन्ने होइन ।

अमेरिकी सेक्रेटरी अफ स्टेट एन्थोनी ब्रिन्केनले एक दशकअघि मुबारक अपदस्थ हुनुअघि जोन म्याकेनले दिएको सझुाबलाई पछ्याउन सक्छन् । ‘हामी थप सहयोगी हुनुपर्छ, साथमा अतिरिक्त के गर्ने सुझाब पनि दिनुपर्छ,’ सन् २०११ मा म्याक्केनले ‘अलोकतान्त्रिक मित्रका सम्बन्धमा अपनाउनुपर्ने नयाँ सम्बन्धबारे’ भनेका थिए । 

आगामी दिनमा पनि कायरोलाई आर्थिक सहायता र रियादलाई सुरक्षा प्रत्याभूति दिन आवश्यक छ । किनकि, अमेरिकाको सो क्षेत्रमा वास्तविक शत्रु छन् । त्यसैले उसलाई आफ्नो विदेश नीति कुनै नैतिक परियोजनाजसरी सञ्चालन गर्ने सुबिस्ता छैन ।

तर, सहायतासँगै आर्थिक तथा राजनीतिक उदारीकरणतर्फको निश्चित कदमलाई पनि जोड दिनुपर्छ । यसको सुरुवात शान्तिपूर्ण प्रदर्शनकारीलाई रिहा गरेर गर्न सकिन्छ । जुन सत्ताले आफ्ना नागरिकको आवाजलाई दबाउँछन्, तिनले आफ्ना नागरिकलाई अलग प्रकारको असन्तोषतर्फ धकेलिरहेका हुन्छन् ।

अरब वसन्तको पहिलो पाठ क्रान्ति असफल हुन्छ भन्ने रहेको छ भने दोस्रो पाठ दमनले क्रान्तिलाई थप अवश्यम्भावी र हिंसात्मक बनाउँछ भन्ने रहेको छ । बाइडेन प्रशासनले आफ्ना मित्रशक्तिलाई सुधारतर्फ दबाब दिऊन्, अन्यथा क्रान्तिको दोस्रो लहरले अराजकतालाई थप विस्तार गरिदिन सक्छ । 

न्युयोर्क टाइम्सका स्तम्भकार ब्रेट स्टेफेन्स पुलिट्जर पुरस्कार विजेता हुन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य