मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
ब्रेट स्टेफन्स
२०७८ कार्तिक ११ बिहीबार ०८:५२:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकाको घट्दो वैश्विक हैसियत

अमेरिकाको वैश्विक हैसियत फर्काउनेतर्फ लाग्ने हो भने बाइडेनले पहिले उनको राष्ट्रिय सुरक्षा टिम पुनर्गठन गर्नुपर्छ

Read Time : > 3 मिनेट
ब्रेट स्टेफन्स
२०७८ कार्तिक ११ बिहीबार ०८:५२:००

सोमबार सिरियास्थित अमेरिकी सैन्य पोस्टमाथि पाँच ड्रोनले बमबारी गर्‍यो । आइएसआइएसविरुद्धको संघर्षमा स्थानीय शक्तिलाई बनाउन तैनाथ गरिएको सैन्य पोस्टमाथि इरानसमर्थित मिलिसियाले इरानकै सहयोगमा आक्रमण गरेका थिए । पेन्टागनका प्रेससचिवले आक्रमणलाई ‘जटिल, समन्वयपूर्ण र योजनाबद्ध’को संज्ञा दिए । आक्रमणविरुद्ध अमेरिकाले खासै प्रतिक्रिया दिएको छैन । बरु बाइडेन प्रशासन अझै इरानलाई आणविक सम्झौतासम्बन्धी वार्तामा फर्काउन लागिपरेको छ । यदि कुनै सम्झौता भएमा अर्बौं डलरको कोषमाथि इरानको पहुँच पुग्नेछ । त्यसपछि इरानले यस्ता धेरै आक्रमण गर्न सक्छ ।

सोमबार नै न्युयोर्क टाइम्सका पत्रकार डेभिड स्यांगरले रुसी गुप्तचर एजेन्सी एसभिआरबारे एक खबर लेखेका छन् । एजेन्सीले पुनः अमेरिकी सरकार, कर्पोरेट तथा थिंक ट्यांकका हजारौँ कम्प्युटर सञ्जालमाथि हस्तक्षेप सुरु गरेको स्यांगरले लेखेका छन् । समाचारलाई माइक्रोसफ्टका साइबर सेक्युरिटीविज्ञले पुष्टि गरेका छन् । बाइडेनले केही महिनाअघि मात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई व्यक्तिगत रूपमा यस्तो आक्रमण नगर्न चेतावनी दिएका थिए । तर, यसबीच उनैले रुसविरुद्ध ल्याइएका केही कडा कदमलाई खुकुलो बनाएका छन् । अहिले आएर बाइडेन ‘रुससँग तनाव कम गर्ने वेला आएको’ बताउन थालेका छन् । भलै उनका रुसी सहकर्मी त्यसमा सहमत देखिएजस्तो देखिँदैनन् । 

यी दुई घटनाले अमेरिकाको शक्ति परीक्षण गरिरहेको समयमा चिनियाँ सैन्य वाहनले ताइवानको हवाई क्षेत्रमा प्रवेश गर्ने क्रम बढेको समाचार आयो । बेइजिङले ताइवानलाई कब्जा गर्ने विचार केही साताअघिसम्म सुदूर सम्भावना रहेकोमा अहिले ठोस सम्भावनामा बदलिएको छ । बाइडेनले ताइवानसँग गरिएको सम्झौताका कारण ऊमाथि चीनले आक्रमण गरे अमेरिकाले प्रतिरक्षा गर्ने बताइरहेका छन् । पछिल्लो समय सिएनएन टाउ हलमा उनले यही भनाइ दोहोर्‍याए । लगत्तै, ह्वाइट हाउसले एक स्पष्टीकरण जारी गर्दै ‘ताइवान रिलेसन एक्ट’अन्तर्गत अमेरिकाले ताइवानलाई आत्मरक्षा बलियो बनाउने कार्यमा मात्र सघाउने बतायो । अर्थात्, ताइवानमाथि आक्रमण भएको अवस्थामा अमेरिकी हस्तक्षेपको स्पष्ट ग्यारेन्टी छैन । अर्को शब्दमा भन्दा हाम्रो समयको प्रमुख नीतिगत चुनौतीमध्ये एकमा अमेरिकाका राष्ट्रपति स्पष्ट नरहेको देखियो । अर्को मुद्दामा उनले आफ्नो सन्देशलाई स्पष्ट गर्न सकेनन् भने तेस्रोमा त सुसंगत नीति रहे–नरहेको स्पष्ट छैन । कमजोर मित्रप्रति विश्वसनीय सहयोगी र दुस्साहसी शत्रुविरुद्ध कठोर रहने अमेरिकाको जुन पहिचान थियो, त्यो देखिने गरी कमजोर बनेको छ । यो क्षयको जड खोज्न केही वर्ष पछाडि फर्कनुपर्छ र दोषी पात्रको संख्या गन्ने हो भने धेरैको नाउँ आउँछ । तर, बाइडेनले चुनावमा आफूले जिते ज्ञान, अनुभव र दक्षताका साथ शासन चलाउने वाचा गरेका थिए । तर, के उनले चुनावी वाचालाई यथार्थमा बदल्न सकेका छन् ? अमेरिकी मतदाताले वाचाअनुरूपको व्यवहार पाएका छन् त भन्ने प्रश्न उठ्न थालेको छ । 

ताइवान, इरान र रुसको कुरा मात्र होइन, बाइडेनले सत्ता सम्हाल्दा विश्वले लिएको दिशा बुझेझैँ गरेका थिए । डोनाल्ड ट्रम्पको बहिर्गमनपछि अमेरिकाले आफ्ना मित्रराष्ट्रसँग सम्बन्ध सुधार्ने र प्रतिद्वन्द्वीसँग कम्तीमा कूटनीतिक सहजीकरण सुरु गर्ने अनुमान गरिएको थियो । अमेरिकाको दक्षिणी सिमानामा मानवीय नीति अवलम्बन गरेर मानवीय संकट घटाउन सकिन्थ्यो । महामारीको बोझ जुलाई ४ सम्म उल्लेख्य मात्रामा कम गर्न सकिन्थ्यो भने अफगानिस्तानमा तैनाथ सेना सेप्टेम्बर ११ सम्ममा सुरक्षित र सर्वस्वीकार्य रूपमा बहिर्गमन गर्न सकिन्थ्यो । र, देशको अर्थतन्त्र थप समृद्ध हुन सक्थ्यो । तर, बाइडेनसँग गरिएका कुनै पनि अपेक्षा परिपूर्ति हुन सकेन । 

कमजोर मित्रप्रति विश्वसनीय सहयोगी र दुस्साहसी शत्रुविरुद्ध कठोर रहने अमेरिकाको जुन पहिचान थियो, त्यो देखिने गरी कमजोर बनेको छ । यो क्षयको जड खोज्न केही वर्ष पछाडि फर्कनुपर्छ र दोषी पात्रको संख्या गन्ने हो भने धेरैको नाम आउँछ । तर, बाइडेनले आफ्नो वाचा पूरा गर्न नसक्दा निराशा बढेको छ । 

बाइडेन प्रशासनले जटिल मुद्दामा आफूले सोचेभन्दा फरक स्थिति पैदा हुँदा के गर्ने भन्ने सोच्दैन जस्तो देखिएको छ । प्रशासनले त्यस्तो सोचेको भए पनि त्यसलाई सम्हाल्न योजना बनाएको रहेनछ । अफगानिस्तानलाई नै लिऊँ । जुलाईमा राष्ट्रपति बाइडेनले दूतावासको छतबाट मानिसहरूलाई एयरलिफ्ट गर्नुपर्ने अवस्था नआउने बताएका थिए । तर, एक महिनापछि धार्मिक अतिवादीको कब्जाबाट बच्न हजारौँ अफगानीले आफूलाई देशबाट निकाल्न अनुनय गरेको विश्वले देख्यो । अनि मित्रशक्तिसँगको सम्बन्ध हेरौँ न । विभिन्न सञ्चारमाध्यमका अनुसार अफगानिस्तानबाट गरिएको अव्यवस्थित सैन्य फिर्तीप्रति अमेरिकाको मित्रशक्ति सन्तुष्ट थिएनन् । तर, तिनको असन्तुष्टि र आलोचनालाई बाइडेनले सुन्नै चाहेनन् ।

अफगानिस्तानको पश्चिमासमर्थित सरकार धराशायी भएको कुराले धेरै बेमेल निम्त्याएको छ । अमेरिकाको रवैयाप्रति सबैभन्दा चर्को विरोधको आवाज युरोपमा सुनियो । अमेरिकाको सिमानाको मुद्दाबारे चर्चा गरौँ । मार्चमा आप्रवासीको संख्या बढ्दा बाइडेनले त्यसलाई वर्षको सो समयमा सधैँजसो आप्रवासीको संख्या वृद्धि हुने भनेर पन्छिन खोजे । तर, अघिल्लो वर्ष सीमारक्षकहरूले हालसम्मकै उच्च संख्यामा आप्रवासीको सामना गर्नुपरेको तथ्यांक बाहिरिएको छ । अर्थतन्त्रको सवालमा सरकारको प्रदर्शन कस्तो रह्यो त ? जुलाईमा अमेरिकी राष्ट्रपतिले मूल्यवृद्धिलाई ‘अपेक्षित र अल्पकालीन’ भन्दै चिन्ता लिनु नपर्ने बताए । तर, अस्थायी भनिएको मूल्यवृद्धिले जनताको जीवनस्तरलाई प्रभाव पार्न थालेको छ । 

प्रशासनको वास्तविक रणनीतिक उपलब्धिको रूपमा हेरिएको अमेरिका–बेलायत–अस्ट्रेलियाबीचको पनडुब्बी सम्झौता पनि फ्रान्सलाई चिढ्याएर गरियो । भविष्यमा अमेरिकालाई कुनै सहयोग चाहिँदा फ्रान्सले कूटनीतिक रूपमा बदला लिन सक्छ । यहाँ बाइडेन सरकारका जति पनि गल्ती थिए, ती पन्छाउन सकिन्थ्यो । तर, त्यसो गरिएन । र, प्रशासनको नेतृत्व गरेकाले यी गल्तीको जिम्मेवारी बाइडेनले लिनुपर्छ । पूर्वरक्षामन्त्री रोवर्ट गेट्सले सन् २०१४ मा बाइडेनको समीक्षा गर्दै उनी प्रमुख विदेश नीति तथा राष्ट्रिय सुरक्षाको मुद्दामा सधैँ गलत स्थानमा उभिने गरेको बताएका थिए । गेट्सको भनाइ सम्झना हुनेहरू अहिले केही चिन्तित छन् । तर, राष्ट्रपति बाइडेनका गल्तीमा उनका सल्लाहकारहरूको पनि कमजोरी छ । उनीहरू राष्ट्रपतिलाई गलत सल्लाह दिइरहेका छन् । के ख्याल गर्नुपर्छ भने बाइडेनको प्रशासन सफल हुँदा अमेरिका सफल हुन्छ । 

असफल बाइडेन प्रशासनको विकल्प अलग प्रशासन होइन । बरु विश्वव्यवस्थाको परिवर्तनले अमेरिका थप विपन्न, कमजोर र अनुदार पपुलिस्ट नेताको जोखिममा पर्नेछ । बाइडेनले आफू हिँडेको मार्ग सच्याउने हो भने तत्कालै राष्ट्रिय सुरक्षा टिम पुनर्गठन गर्नुपर्छ । उनले मन ठूलो बनाएर रोवर्ट गेट्सजस्ता मानिसलाई आमन्त्रित गर्नुपर्छ ।

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य
द जेरुसेलम पोस्टका पूर्वप्रधानसम्पादक ब्रेट स्टेफन्स स्तम्भकार हुन् ।