मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
शान्ति तामाङ काठमाडौं
२०७७ फाल्गुण ७ शुक्रबार १८:१०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंमा ६५ रुपैयाँमै पेटभरि खाना (भिडियोसहित)

Read Time : > 2 मिनेट
शान्ति तामाङ, काठमाडौं
२०७७ फाल्गुण ७ शुक्रबार १८:१०:००

काठमाडौंमा ६५ रुपैयाँमै पेटभरि खाना खान पाइन्छ भन्दा पत्याउन गाह्रो पर्छ । तर, ‘हाम्रो खानाघर’ अनामनगरमा ६५ रुपैयाँमै पेटभरि खाना पाइन्छ । सस्तो मूल्यमा खाना खान बिहान नाै बजेदेखि बेलुका नाै बजेसम्म हाम्रो खानाघरमा भिड लाग्छ । 

दैनिक खाना खानेमध्येका उमेश बस्नेत सस्तोमा राम्रो खाना पाउँदा दं‍ग छन् । उनी भन्छन्, ‘मैले त सुरु भएदेखि नै यहाँ खाना खान थालेको छु । यहाँ सस्तोमा मीठो खाना खान पाइन्छ । पैसा पनि बचत भएको छ ।’ घर निर्माणको काम गर्ने उनको खानाका लागि दैनिक तीन सय रुपैयाँ खर्च हुन्थ्यो । तर, अहिले खानाका लागि उनले छुट्याएको रकममध्ये दैनिक एक सय ७० बचत हुन थालेको छ । ‘सस्तोमा मीठो खाना पाइने भएकाले अरूलाई पनि आउन भन्छु । १५ जनाजति साथीलाई त ल्याइसकेको छु । मिठो, राम्रो अनि सस्तोमा पेटभरि खान पाइने भएपछि किन नआउने ?’ उनले भने । 

राज पटेल पनि केही दिनदेखि हाम्रो खानाघरमै खाना खान आउन थालेका छन् । ज्याला–मजदुरी गर्ने उनी खानाको सट्टा रोटी खान्थे । सस्तोमा पेटभरि खान पाइने भएपछि उनी आजभोलि खाना नै खान थालेका छन् । ‘पहिला रोटी खाइरहेको थिएँ । साथीले सस्तोमै भात खान पाइन्छ भनेर सुनाएपछि यहाँ आउन थालेको हुँ,’ पटेलले भने, ‘भातै ठीक छ । यहीँ नजिकै काम गरिरहेको छु । त्यसैले आउन पनि सजिलो छ । अब दिनहुँ आउँछु ।’ 

सुमन मगरले पनि दैनिकजसो हाम्रो खानाघरमै खाना खान खाइरहेका छन् । उनी सुरुवाती दिनदेखि नै यहाँ खानाका लागि आउने गरेको बताउँछन् । ‘मिठो खाना, सस्तोमा पाइन्छ । त्यही भएर खुलेको दिनदेखि नै यहाँ आइरहेको छु,’ मगरले भने ।

दैनिक एक हजारलाई खाना खुवाउने लक्ष्य
दैनिक एक हजारलाई खाना खुवाउने लक्ष्य बोकेर हाम्रो टिम नेपालले हाम्रो खानाघर गत १७ माघदेखि सञ्चालनमा ल्याएको हो । हाम्रो खानाघर कम आम्दानी हुने, ज्याला–मजदुरी गर्नेहरूको मात्र होइनऽ सस्तो र राम्रो खाना खानेहरूको लागि उपयुक्त गन्तव्य बनेको छ । एकपटकमा ५२ जनाले खाना खान सक्ने हाम्रो खानाघरको भान्सादेखि खाने ठाउँसम्म चिटिक्क र सफा छ । जसकारण बिहान नाैदेखि दिउँसो तीन बजेसम्म र साँझ पाँचदेखि राति नाै बजेसम्म खाना खानेको भिड नै लाग्छ । बिहान नाै बजेदेखि बेलुका नाै बजेसम्म नै भिडभाड हुने हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए । ‘बिहान नाै बजेदेखि बेलुका नाै बजेसम्मै भिड हुन्छ । बेलुकाभन्दा बिहानको खाना खान आउने धेरै हुनुहुन्छ,’ पन्तले भने, ‘अहिलेसम्म हामीले एकदमै राम्रो प्रतिक्रिया पाइरहेका छौँ । यति राम्रो खाना छ । घरमा खाएजस्तो छ भन्नुहुन्छ । हामीले खाँदै गर्दा तपाई‌हरु पनि बाँच्नुपर्छ । एक दिन आएर खाना खाएर मात्र हुँदैन । सधैँ हामीजस्तै मानिसहरू यहाँ आएर खाना खाने वातावरण हुनका लागि सबैभन्दा पहिला तपाई‌हरू बाँच्नुपर्छ भन्नुहुन्छ । हामी एकदमै खुसी छौँ ।’ 

यहाँ खानाबाहेक पानी, दही र मोही पनि पाइन्छ । तर, त्यसका लागि प्रतिबोतल पानीको १५, दहीको प्रतिगिलास २५ र मोहीको प्रतिगिलास २० रुपैयाँ अतिरिक्त पैसा तिर्नुपर्छ । तपाई‌ंले खाएको खानाबाट बचेको पैसाले अर्को भोको पेट भरिन्छ भन्ने नाराका साथ सुरु भएको खानाघरबाट विभिन्न ठाउँमा निःशुल्क खाना वितरण पनि हुँदै आएको छ । पाँच वर्षदेखि काम गरिरहे पनि गत असारदेखि संस्था दर्ता गरेरै काम अगाडि बढाएको पन्तले बताए । 

कसरी सम्भव भयो ?
सेवाभावले खोलिएको खानाघरमा ६५ रुपौयाँमै खाना खुवाउन कसरी सम्भव भयो ? पन्तले भनेऽ ‘हामीले हरेक सामग्री सीधै किसानसँग किनेर ल्याएका छौँ । चालम पनि मिलबाट लिने गरेका छौँ । तरकारीदेखि सबै कुरा उत्पादकबाटै किनेर ल्याउँदा सम्भव भएको छ । हामी धेरैजना स्वयंसेवी हिसाबले पनि काम गरिरहेका छौँ । हामीले नाफामूलक होइन कि समाजमा कोही पनि मानिस भोकै नहोस्, हुनेदेखि नहुनेसम्मलाई सुविधा होस् भनेर यो काम गरेका हौँ । यहीकारण नै यति सस्तोमा गुणस्तरीय खाना खुवाउन सम्भव भएको हो ।’ 

सामाजिक कामको लामो संघर्षबाट हाम्रो खानाघरको उदय भएको अध्यक्ष पन्त बताउँछन् । ‘देशमा विभिन्न प्राकृतिक प्रकोप र महामारी आउँदा हामी जुन पेसा–व्यवसाय गरेको व्यक्ति भए पनि विशुद्ध रूपमा देशमा संकट पर्दा दुःखी, गरिब, असहाय, असक्तको सेवा गर्नुपर्छ भनेर हाम्रो टिम नेपालको स्थापना गरेका हौँ । सोहीअनुसार काम पनि गरिरहेका छौँ । यसकै प्रतिफल हो हाम्रो खानाघर,’ उनले भने । 

अनामनगरमा सोचेभन्दा धेरै मानिस खाना खान आउन थालेपछि उनीहरू झन् हौसिएका छन् । जसले गर्दा हाम्रो खानाघरको शाखा विस्तार गर्ने सोचसमेत बनाएको पन्तले बताए । ‘चरम महँगी बढ्यो । कामदार र लगानीकर्ताबीचको सम्बन्ध बिग्रियो । अर्थतन्त्र दिनानुदिन धराशायी बन्दै गयो । यसलाई चिर्न हामीले यहाँ मात्र होइन सम्भव भयो भने देशैभर हाम्रो खानाघरको शाखा विस्तार गर्नेछौँ,’ उनले भने, ‘हाम्रो खानाघर विशुद्ध सामाजिक भावले खोलिएको हो । नाफामूलक भएको भए सम्भावना थिएन । सामाजिक भावले खोलेका कारण सम्भव भएको छ । असम्भवलाई सम्भव बनाउन संघर्ष गरिरहेका छौँ ।’ अध्यक्ष पन्तका अनुसार संसारभर छरिएर रहेका नेपालीको साथ र सहयोगले यो काम सम्भव भएको हो ।