
सिराहाको लहान नगरपालिका0150 ३ डंग्राहा टोलमा बाटो हिँड्ने क्रममा भएको विवादमा स्थानीय एक युवकमाथि निर्घात कुटपिटसहित खुकुरी प्रहार भएको घटना सार्वजनिक भएको छ । स्थानीय नथुनी महतोका छोरा करिब २५ वर्षीय देवकुमार महतो गाउँको भोजबाट घर फर्किने क्रममा छिमेकीसमेत रहेका जीवछ महतो, उनकी श्रीमती सीतादेवी, छोराहरू मुकेश र मनीषले गत बुधबार अपराह्न घेरा हालेर निर्घात कुटपिट गरेर खुकुरी प्रहार हुँदा घाइते भएका छन् ।
कुटपिट र खुकुरी प्रहारले टाउको, घाँटी र ढाडमा चोट लागेका महतोको लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उपचार गरी थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको सिराहा प्रहरीले जनाएको छ ।
सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार कुटपिटमा संलग्नहरूविरुद्ध लहानस्थित इलाका प्रहरी कार्यालयमा शुक्रबार ज्यान मार्ने उद्योगअन्तर्गत किटानी जाहेरी परेपछि कानुनी कारबाहीको थप प्रक्रिया अगाडि बढाइनेछ । प्रहरीले घटनामा संलग्न जीवछ, उनकी श्रीमती सीतादेवी र छोरा मुकेशलाई पक्राउ गरी अनुसन्धान थालेको र घटनालगत्तै फरार भएका मनीषको खोजी भइरहेको उनले बताए ।