मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ बैशाख १ बुधबार
  • Wednesday, 14 April, 2021
हेमन्त मल्ल
२०७७ फाल्गुण २ आइतबार ११:१७:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भागरथी अनुसन्धान असफलता कसको ? 

Read Time : > 4 मिनेट
हेमन्त मल्ल
२०७७ फाल्गुण २ आइतबार ११:१७:००

भागरथी बलात्कार घटनामा उठेको विरोधका स्वर, प्रहरी प्रधान कार्यालयप्रति लक्षित छन् कि गृह मन्त्रालयप्रति? 

बैतडी दोगडाकेदार नगरपालिका–७ की १८ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि भएको हत्यालाई लिएर समाज आन्दोलित छ । गत बुधबार भएको घटनाका अभियुक्त यो लेख तयार हुँदासम्म पक्राउ पर्न सकेका छैनन् । राजधानीदेखि बैतडीसम्म नियाल्दा विविध शिराबाट विरोधका स्वर सतहमा आएको देखिन्छ ।

वारदातस्थलमा भेटिएका दसी–प्रमाणका आधारमा विश्लेषण गर्दा अनुसन्धानमा त्रुटि भएझैँ देखिँदैन । अनुसन्धानमा खटिएका अनुसन्धान अधिकृतको क्षमतामा पनि प्रश्न गरिहाल्नुपर्ने अवस्था छैन । तर, परिणाम सतहमा आएको छैन । न कुनै अभियुक्त नै पक्राउ गरिएका छन् । अनुसन्धान सधैँ सरल रेखामा बग्दैन, न गतिणमा झैँ ‘टु प्लस टु इज इक्वेल टु फोर’ कै सूत्र यसमा लागू हुन्छ । भन्नुको अर्थ के भने अनुसन्धानले कहिलेकाहीँ समय लिन्छ । जस्तो– रानीबारी हत्याकाण्ड १२ वर्षपछि सल्टियो । 

तर, दबाब बढेका छन् । निर्मला पन्त बलात्कार घटना र अहिलेको घटना यसैका उदाहरण हुन् । यस्ता घटनामा दबाब सिर्जना हुनु स्वाभाविक पनि हो । दबाब रहनु पनि पर्छ । तर, दबाब त्यति धेरै नहोस्, जसले अनुसन्धानलाई प्रभावित बनाओस् । निर्मला पन्त बलात्कार घटनामा त्यस्तै भएको देखियो । आशा छ, भागरथी बलात्कार घटनामा त्यस्तो हुनेछैन । 

निर्मला पन्त होस् या भागरथी बलात्कार घटनामा उठेका विरोधका स्वर, के यी प्रहरी अनुसन्धानप्रति मात्रै लक्षित होलान् ? सरकारबाट सेवा डेलिभरी हुन नसक्दा गुम्सिएर बसेका असन्तुष्टि यहाँ प्रतिबिम्बित भएका पो हुन् कि ? विरोधका यी स्वर प्रहरी प्रधान कार्यालयप्रति लक्षित छन् कि गृह मन्त्रालयप्रति ? कतै बालुवाटार वा राजनीतिक दलतर्फ त यी परिलक्षित छैनन् ? सामान्यझैँ लाग्ने यी विषयप्रति गमेर विश्लेषण गर्न जरुरी छ ।

सिंगो समाजको मनोविज्ञानले अपराध घट्नु र बढ्नुमा भूमिका खेल्छ । यसका लागि निर्मला पन्त या भागरथी भट्टको मात्रै नभई समग्रमा अपराध टे«न्ड हेर्न जरुरी देखिन्छ । विगत चार–पाँच वर्षयताका नेपाल प्रहरीको अपराध तथ्यांक हेर्दा मुलुकभर सबै किसिमका अपराध बढेका छन् । यस्ता अपराध अनुसन्धानमा प्रहरीको सफलता करिब ७० प्रतिशत देखिन्छ । जबकि विगतका दिनमा यो दर ४० प्रतिशत मात्रै थियो । 

अपराध भएपछि मात्रै अनुसन्धान गर्ने हामीकहाँ चलन छ । तर, प्रहरीको लक्ष्य त अपराध हुनै नदिने हो । यो काम प्रहरीबाट मात्रै सम्भव छैन । अपराध हुन नदिनका लागि भएका अपराध के र कस्ता कारणबाट भइरहेका छन् ? त्यसको कारण पत्ता लगाउनुपर्छ । यसका लागि गहन अध्ययन हुन आवश्यक छ । जसमा प्रहरीका सुरक्षाविद् मात्र होइन, अपराधशास्त्री, समाजशास्त्री, मानवशास्त्री र मनोवैज्ञानिकसम्मको योगदान रहोस् । तर, यस्ता अध्ययन नेपालमा न प्रहरी संगठनमा भएका छन्, न सरकारबाट नै हुन सकेका छन् । कारण नै पत्ता नलगाई अपराध नियन्त्रण कसरी हुन सक्छ ? गम्भीर हुनुपर्ने यहाँ छ । 

अपराध हुन नदिनका लागि भएका अपराध के र कस्ता कारणबाट भइरहेका छन्, त्यसको कारण पत्ता लगाउनुपर्छ । यसका लागि गहन अध्ययन हुन आवश्यक छ । जसमा प्रहरीका सुरक्षाविद् मात्र होइन, अपराधशास्त्री, समाजशास्त्री, मानवशास्त्री र मनोवैज्ञानिकसम्मको योगदान रहोस् ।

पञ्चायती कालमा सरकारको मेरुदण्ड प्रहरी, निजामती र गृह प्रशासन थियो । ३० वर्षसम्म त्यही कारणले त्यो सिस्टम टिक्यो । जब सिस्टम ढल्यो, त्यसपछि सबैभन्दा ठूलो प्रहार प्रहरी संगठन र गृह प्रशासनमाथि भयो । जसले संगठन र प्रशासन दुवैलाई भुत्ते बनायो । राजनीतिक पार्टीअनुकूलका आइजिपी नियुक्त भए । पार्टीअनुकूल नभएकाहरू बर्खास्तीमा परे । राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण यही कालमा भयो । दण्डहीनता बढ्यो । लगत्तै समाज द्वन्द्वमा फस्यो । बचेखुचेका स्ट्रेन्थ पनि अब ध्वस्त बन्न पुगे । यसको असर त समाजमा पर्ने नै भयो । प्रहरीको अनुसन्धान फितलो हुनुका कारण यिनै त होइनन् ? यतातर्फ गम्भीर बन्ने कि नबन्ने ? 

अपराध समाजका बाइप्रोडक्ट (सह–उत्पादन) हुन् । त्यसका लागि सामाजिक इन्जिनियरिङ बुझ्नुपर्ने हुन्छ । अपराध नियन्त्रण निकाय प्रहरी र राज्यका संयन्त्र मात्रै होइनन्, महŒवपूर्ण पक्ष त समाज हो । विगतका दिनमा हामीकहाँ नैतिक शिक्षाको व्यवस्था थियो । यसैको जगमा उभिएर अपराधीलाई समाजले नै दण्ड दिन्थ्यो । र, समाजमा अब्बल काम गर्नेलाई त्यही समाजले पुरस्कृत पनि गथ्र्यो । त्यसैको डरले अपराध कम हुन्थे । तर, अहिले त्यो शैक्षिक प्रणाली समाप्त भएको छ । दण्ड र पुरस्कृत गर्ने दायित्व प्रहरी र राज्य संयन्त्रको मात्रै भएको बुझाइ हामीकहाँ स्थापित भएको छ । प्रहरी र राज्य संयन्त्रसँग सधैँ सबै सन्तुष्ट हुन्छन् भन्ने छैन । जसले ती पक्षमा आपराधिक मनोविज्ञान जगाउँछ । अपराध हुन त्यहीँबाट सुरु हुन्छ । अपराध बढ्नुका धेरैमध्ये एउटा कारण यो पनि हो । 

विगतका दिनमा मान्छेले अपराध सहन्थे । इज्जतसँग पनि घटनालाई जोड्थे । त्यसो हुँदा ती घटना प्रहरीमा उजुरी नै हुँदैनथे । तर, पछिल्ला दिन समाजको मनोविज्ञान बदलिएको छ । सहनुहुन्न र अपराध भएपछि प्रहरीमा उजुरी दिनुपर्छ भन्ने चेत मान्छेमा आएको छ । बलात्कारका घटना यसैका उदाहरण हुन् । जुन राम्रो पक्ष हो । योसँगै नराम्रो अर्को पनि पक्ष छ । ८० प्रतिशत बलात्कार आफन्त र चिनजानकै व्यक्तिबाट हुन्छन् । घटना प्रहरीसम्म पुग्ने भएपछि घटनामा संलग्न अभियुक्तलाई पक्राउ परिने र चिनिने डर हुन्छ । ऊ यसबाट बच्न खोज्छ । यसका लागि हत्याबाहेक अर्को विकल्प उसले देख्दैन । निर्मला पन्त या बलात्कारपछि हत्याका अन्य घटनामा यस्तै भएका छन् । भागरथी भट्ट घटनामा पनि यस्तै त भएको छैन ? अनुसन्धान त्यसतर्फ पक्कै पनि गएको हुनुपर्छ ।

रह्यो अपराधका यस्ता घटनामा अनुसन्धानको नतिजा किन चाँडो आउँदैन ? यसको विविध कोणबाट अध्ययन हुन आवश्यक छ । नेपाल प्रहरी अनुसन्धानमा विश्वभर कहलिएको संस्था हो । तर, अहिले विवादित किन बनिरहेको छ ? यसमा अध्ययन हुन आवश्यक छ । यसका लागि धेरै होइन, दुई वर्षअघिको ३३ किलो सुन तस्करी काण्डसम्म पुगौँ । घटना अनुसन्धानमा नेपाल प्रहरीका काबिल प्रहरी अफिसर खटिए । मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’देखि ४० भन्दा धेरै अभियुक्त समातिए । 

तर, दुःखको विषय के भने अनुसन्धान गर्ने अधिकृत घटनामा मुछिएनन् मात्रै, जेल नै परे, जसले विविध जोखिम मोलेर घटनाको अनुसन्धान गरेका थिए । निर्मला पन्त बलात्कार घटनामा भयो त्यही । जुन सच्चा अनुसन्धान अधिकृतले कल्पना पनि गर्न सक्दैन । अपराध अनुसन्धानमा जोखिम मोल्नैपर्ने हुन्छ । किनकि, अनुसन्धान कालो र सेतो नभई कहिलेकाहीँ खैरो एरियाबाट पनि गर्नुपर्ने हुन्छ । जसको परिणाम जेल जानु छ भने अनुसन्धानमा खटिने अनुसन्धान अधिकृतले जोखिम किन मोल्छन् ? जटिल अनुसन्धानको परिणाम चाँडो नआउनुमा कतै यस्तै कारण पो हुन् कि ? अध्ययन हुन जरुरी छ । 

अनुसन्धान ‘बाई बर्थ’ गुण हो । तालिमले त्यसलाई निखार्ने मात्रै हो । तर, यसमा ‘राइट मेन इन राइट प्लेस’ र समयमा नै हुने वृत्तिविकासले ठूलो भूमिका खेल्छ । जुनियर प्रहरी अधिकृत नेपाल प्रहरीका खम्बा हुन् । विशेष गरी माथिको लाइनबाट प्रभावित र प्रताडित हुने नेपाल प्रहरीमा जुनियर प्रहरी अधिकृत ज्यादा छन् । १७ वर्षदेखि एउटै पदमा रहेको भन्दै उनीहरूका समाचार त पत्रपत्रिकामा बाहिर आएकै छन् । तर, याथार्थ के पनि हो भने अनुसन्धानमा जोखिम मोल्ने पनि उनीहरू नै हुन् । करिअरको ग्यारेन्टी नहुँदा उनीहरू जोमिख मोल्न तयार छैनन् । 

जोखिम नमोली अनुसन्धान कसरी अब्बल साबित हुन्छ ? पछिल्लो घटनामा अनुसन्धानले गुणात्मक परिणाम ल्याउन नसक्नुमा कारण यी त होइनन् ? मनन गर्न जरुरी छ । किनकि, प्रहरीलाई चिन्ने प्रहरी हेडक्वाटर हो, नकि गृह वा बालुवाटार । तर, हामीकहाँ यसको ठीक विपरीत सरुवा र बढुवामा समेत प्रहरी हेडक्वाटर होइन, गृह र बालुवाटार हावी भइरहेको छ । कमजोर अनुसन्धान यसैको परिणाम त होइन ? मुलुकको दूरदराजसम्म राज्यको प्रभावकारी प्रतिनिधि प्रहरी नै हो । यस्तै कारणले प्रहरी संगठन कमजोर भयो भने यसबाट आउने दुष्परिणाम हामी थेग्न सक्छौँ ? यो कोणबाट विश्लेषण हुन अब जरुरी छ ।

(मल्ल नेपाल प्रहरीका पूर्वडिआइजी हुन्)