१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ माघ २३ शुक्रबार १९:२३:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

यौन दुर्व्यवहार गर्ने शिक्षकलाई गाउँपालिकाको उन्मुक्ति, जाहेरी दिने तयारीमा अभिभावक

Read Time : > 2 मिनेट
२०७७ माघ २३ शुक्रबार १९:२३:००

विद्यालयमै विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने झापाको एक विद्यालयका दुई शिक्षकलाई गाउँपालिकाले उन्मुक्ति दिएको छ । कमल गाउँपालिका– ३ को सहिद धर्मभक्त माध्यमिक विद्यालयका शिक्षक शालिकराम पोखरेल र शिव भट्टराईले गल्ती गरेको निष्कर्ष निकाल्दै उन्मुक्ति दिएको हो । 

कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेसहित बसेको शिक्षा समितिको बैठकले शिक्षकले गरेको अपराधमा घरपायक सरुवा गर्ने सिफारिस गर्ने निर्णय गरेको छ । शिक्षक पोखरेल र भट्टराईले वर्षौँदेखि माथिल्लो कक्षाका बालिकालाई असहज हुने गरी छुने, चलाउने, गाला मसार्नेजस्ता अस्वाभाविक गतिविधि गर्ने गरेको आरोप छ । 

उनीहरूले विद्यार्थीमाथि गरेको दुव्र्यवहारबारे नयाँ पत्रिका दैनिकले समाचार प्रकाशन गरेको थियो । पोखरेल प्रावि तहका स्थायी शिक्षक हुन् । शिक्षक अभावका कारण उनले माध्यमिक तहमा पनि नेपाली विषय पढाउँदै आएका छन् । उनी यो विद्यालयमा दुई दशकदेखि शिक्षण पेसामा छन् । भट्टराई भने मावि तहका अंग्रेजी विषयका शिक्षक हुन् । उनी पाँच वर्षदेखि यस विद्यालयमा पढाउँदै आएका छन् । शिक्षकहरूले पढाउने र अनेक बहानामा बालिकाको संवेदनशील अंग छुने, गाला मसार्नेलगायत दुव्र्यवहार गर्ने गरेको पीडित बालिकाले बताएका छन् । 

गाउँपालिकाले पोखरेललाई कमल– ५ को मंगलमय मावि र भट्टराईलाई कमल– २ को कमला मदनआश्रित माध्यमिक विद्यालयमा सरुवाका लागि सिफारिस गर्ने निर्णय भएको गाउँपालिकाकी अध्यक्ष काफ्लेले जानकारी दिइन् । कमल– ५ मा रहेको मंगलमय मावि पोखरेलका लागि घरपायक पर्छ । उनी दमकका स्थायी बासिन्दा हुन् । दमकबाट मंष्लमय मावि करिब दुई किलोमिटरको दूरीमा छ भने यसअघि सहिद धर्मभक्त मावि करिब पाँच किलोमिटरको दूरीमा थियो । ‘छानबिन त शिक्षा समन्वय इकाइले पनि गर्छ । सरुवाका लागि हामीले अनुरोध मात्र गर्न सक्छौँ,’ उनले भनिन्, ‘अनुसन्धानको विषय त अरूले पनि गर्लान् । हामीले गर्ने त यति मात्र हो ।’ 

यद्यपि शिक्षकले गल्ती गरेको निष्कर्षमा गाउँपालिका पुगेको छ । ‘शिक्षकले विद्यार्थीलाई यसो गर्नुहुँदैन थियो । उहाँहरूले गल्ती गर्नुभयो,’ उनले भनिन्, ‘विद्यार्थीलाई उहाँहरूले छुनुहुँदैन । महिलालाई एउटा पुरुषले छुनु हिंसाभित्र पर्छ । त्यसैले यस्तो काम गर्नुहुँदैन । छानबिन प्रहरीले गर्छ । गल्तीको नसिव हामीले तत्काललाई सरुवाका लागि अनुरोध गरेका छौँ ।’

महिला अध्यक्ष भएको गाउँपालिकाको विद्यालयमा यौन दुव्र्यवहार गर्ने शिक्षकलाई उन्मिुक्त दिएको भन्दै महिला अधिकारकर्मीहरूले आलोचना गरेका छन् । शिक्षकलाई कारबाही गर्नुको सट्टा उल्टै ‘उपहार’को रूपमा घरपायक सरुवा गरेको महिला अधिकारकर्मी भूमिका कोइरालाले बताइन् । ‘महिला अध्यक्ष भएको गाउँपालिकामा महिलाले न्याय नपाउने ? अपराधीलाई उहाँले कारबाही गर्न नमिल्ने ?’ उनी भन्छिन्, ‘उहाँ (मेनुका काफ्ले)ले कारबाही गर्न नसक्ने भए कम्तीमा प्रहरीसम्म ती बालबालिकालाई लैजानुपर्दैन ? उनीहरूलाई उन्मुक्ति दिने ?’

जाहेरी दिने तयारीमा अभिभावक
नयाँ पत्रिका दैनिकमा समाचार प्रकाशित भएपछि प्रहरीले यो घटनामा चासो देखाएको थियो । विद्यार्थीका अभिभावकका अनुसार प्रहरी विद्यालयमै पुगेर बालिकाहरूलाई घटनाबारे सोधेको थियो । गाउँपालिकाले आरोपित शिक्षकलाई उन्मुक्ति दिएपछि अभिभावकले भने जाहेरी दिने तयारी गरेका छन् । इलाका प्रहरी कार्यालय दमकमा गएर जाहेरी दिन अभिभावकले शुक्रबार प्रहरीसँग परामर्श गरे । ‘जाहेरी लेख्दालेख्दै साँझ भयो । अब शनिबार दर्ता गर्ने तयारीमा छौँ,’ अभिभावक सीता गुरुङले भनिन्, ‘मन्दिरजस्तो मानेको विद्यालयका भगवान् सम्झेका शिक्षकले यस्तो गरेका छन् । हामीलाई न्याय चाहिन्छ । यो घटना राजनीतीकरण नहोस् ।’ 

ती शिक्षकलाई गाउँपालिकाले सरुवा गरेर कारबाहीको सट्टा उपहार दिएको अनुभूति भएकाले प्रहरी कार्यालयमा जाहेरी दिनुपरेको अभिभावक राजेश दाहालले बताए । ‘यो कानुनी रूपमा अपराध हो । महिला अध्यक्ष भएको गाउँपालिकामा विद्यालयले नै शिक्षकलाई केही कारबाही गर्छ कि भनेर यत्रो दिन पर्खियौँ,’ उनी भन्छन्, ‘कारबाही गर्नुको सट्टा उपहार दिएजस्तो घरनजिक सरुवा गरिदियो । विद्यालयले त यो कुरा दबाएर राख्न खोज्यो ।’

मुलुकी अपराध संहिताको दफा २२५ (२) अनुसार कसैले करणीका आसयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अंग छोएमा वा समातेमा यौनसम्बन्धी आफ्नो अंग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग यौनसम्बन्धी अन्य कुनै यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बाल यौन दुरुपयोग हुने उल्लेख छ । यसो गरेमा तीन वर्ष कैद र ३० हजार जरिवाना हुने उल्लेख छ । 

शिक्षकबाटै छात्रामाथि यौन दुर्व्यवहार, दुई घन्टा कोठाभित्र  थुनेर हल्ला नगर्न निर्देशन