१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
निर्मल लामिछाने
२o८१ बैशाख ३१ सोमबार o९:२४:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

विश्व क्यान्सर दिवस : नेपालमा बर्सेनि २६ हजार नयाँ बिरामी

Read Time : > 4 मिनेट
निर्मल लामिछाने
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:२४:oo

ग्लोबोक्यान २०२० अनुसार अहिले नेपालमा क्यान्सरको अवस्था प्रतिलाख ८१ जना र मृत्युदर लगभग ५५ जना रहेको छ 

क्यान्सर एउटा घातक प्रकृतिको रोग हो, जुन शरीरको कुनै अंग वा तन्तुमा कोषिकाहरूको अनियन्त्रित वृद्विले गर्दा उत्पन्न हुन्छ र यो शरीरको अन्य भागमा समेत फैलिएर जान सक्छ । क्यान्सरका कारण सन् २०१८ मा करिब ९६ लाखले ज्यान गुमाएको तथ्यांकहरूले देखाउँछ । क्यान्सर संसारकै मृत्युकोे दोस्रो ठूलो कारण हो । क्यान्सरमा पनि फोक्सोको क्यान्सर, प्रोस्टेट क्यान्सर, आन्द्राको क्यान्सर, पेटको क्यान्सर, कलेजोेको क्यान्सर पुरुषमा धेरै देखिएको छ भने महिलामा स्तन क्यान्सर, आन्द्राको क्यान्सर, फोक्सो, पाठेघरको मुखको क्यान्सर र थाइराइडको क्यान्सर प्रमुख रूपमा देखिएको छ । 

पछिल्लो समय विश्वव्यापी रूपमा क्यान्सरको प्रकोप अत्यन्त द्रुत गतिमा बढेको छ । यसले व्यक्ति, परिवार र समाजमा अत्यन्त ठूलो भौतिक, मानसिक एवं आर्थिक दबाबको सिर्जना गरेको छ । विकसित देशका स्वास्थ्य सेवामा क्यान्सर स्क्रिनिङ र उपचार सेवा गुणस्तरीय भएका कारण क्यान्सरका बिरामीको आयु लम्बिने र जीवनयापनसमेत सहज हुन थालेको छ । तर, न्यून तथा अल्पविकसित देशहरूमा भने गुणस्तरीय स्वास्थ्य उपचार सेवाको अभावका कारण क्यान्सरको उपचारमा भयावह स्थिति सिर्जना हुने देखिएको छ । नेपालको हकमा पनि पछिल्लो समय क्यान्सर एक भयावह जनस्वास्थ्य समस्याको विषय बनेको छ ।

ग्लोबोक्यान २०२० अनुसार अहिले नेपालमा क्यान्सरको अवस्था प्रतिलाख ८१ जना र मृत्युदर लगभग ५५ जना रहेको छ । यसरी हेर्दा नेपालमा बर्सेनि सरदर २६ देखि ३० हजार मानिस क्यान्सरपीडित हुने र १५ देखि २० हजारको बर्सेनि मृत्यु हुने गरेको देखिन्छ । नेपालमा देखिएका मुख्य क्यान्सरहरूमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर छन् । पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (जुन नेपालको पहिलो र सुविधासम्पन्न क्यान्सर अस्पताल पनि हो) ले बर्सेनि १० हजार क्यान्सरका नयाँ बिरामीलाई सेवा दिइरहेको अस्पतालको आँकडाले देखाउँछ । 

क्यान्सर रोगका कारक तत्वहरूमा वंशानुगत, जीवनयापनसँग सम्बन्धित, संक्रमणसँग सम्बन्धित मुख्य हुन् । आहारविहार, शारीरिक व्यायाम, मद्यपान र धूम्रपानको प्रयोगले पनि क्यान्सर रोगको संख्या बढाइरहेको छ । क्यान्सर यसरी भयावह रूपमा फैलनुमा जनमानसमा स्वास्थ्यसम्बन्धी जानकारीको कमी, स्क्रिनिङका कार्यक्रम नहुनु वा भए पनि ढिलो हुनु, सामाजिक आर्थिक रूपमा स्वास्थ्य सेवा पहुँचबाहिर हुनु, स्वास्थ्य सेवा प्रवाह सामञ्जस्यविहीन हुनुजस्ता कारणले भूमिका खेलेका छन् । नेपालमा क्यान्सर उपचारको नतिजा कमजोर देखिन्छ । यसर्थ, नेपालमा क्यान्सर नियन्त्रणको बृहत् एवं दीर्घकालीन योजना अत्यावश्यक देखिन्छ । क्यान्सर स्क्रिनिङका कार्यक्रम तहगत रूपमा अनिवार्य रूपले लागू गरी क्यान्सरसम्बन्धी सेवा प्रवाहलाई रणनीतिका रूपमा समायोजन गरेर कार्यक्रम अगाडि बढाउन सके क्यान्सरको प्रकोपबाट जोगिन सकिने थियो । 

क्यान्सरका कारण सन् २०१८ मा करिब ९६ लाखले ज्यान गुमाएको तथ्यांकहरूले देखाउँछ । क्यान्सर संसारकै मृत्युकोे दोस्रो ठूलो कारण हो ।

अल्पविकसित तथा गरिब मुलुकहरूमा करिब तीन करोड १५ लाख प्रकारका नसर्ने रोग रहेको अनुुुसन्धानका तथ्यांकहरूले देखाएका छन् । क्यान्सर यसमध्येमा मुख्य रहेको र मृत्युको समेत प्रमुख कारण रहने गरेको छ । क्यान्सरबाट विश्वमा बर्सेनि ७६ लाख मानिसको मृत्यु हुने गर्छ । नेपालमा पनि प्रत्येक वर्ष २६ हजार क्यान्सरका नयाँ बिरामी देखिन्छन् । ग्लोबोक्यान २०१८ को आँकडाअनुसार विश्वव्यापी रूपमा क्यान्सरको घटनादर १०३.७ र मृत्युदर ७७.८ प्रतिलाख रहेको छ । 

नेपाल अन्य अल्पविकसित देशहरूकै तुलनामा पनि स्वास्थ्य सेवा विशेष गरी क्यान्सरसम्बन्धी सेवा प्रवाहमा पछाडि छ । नेपालको सामाजिक–आर्थिक अवस्था, भौगोलिक विषमता, सांस्कृतिक अड्चन आदिका कारण सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहमा पछाडि परेको हो । देशव्यापी स्क्रिनिङका कार्यक्रम लागू गर्न नसकिनु, क्यान्सर रोकथाम तथा नियन्त्रणका कार्यक्रम सर्वसुलभ रूपमा गर्न नसकिनु, स्वास्थ्य जनचेतनाको स्तर उकास्न नसकिनु आदिले क्यान्सरको उपचारमा अपेक्षित नतिजा आउन नसकेको देखिन्छ । नेपालमा क्यान्सर बिरामीले उपचारका क्रममा आर्थिक व्यायभार आफैँले वहन गर्नुपर्ने, बिमाको राम्रो व्यवस्था नभएको कारणले पनि उपचारमा असर गर्ने गरेको छ । त्यसैगरी, क्यान्सर ढिलो पत्ता लाग्ने भएका कारण पनि उपचार खर्च बढ्ने र उपचारको नतिजासमेत सन्तोषजनक नहुने गरेको देखिन्छ । 

क्यान्सर रोगसम्बन्धी जानकारीको कमीले पनि क्यान्सरबाट हुने मृत्युलाई बढाइरहेको छ । बिरामी, परिवारजनका साथै स्वास्थ्यकर्मीहरूमा समेत क्यान्सर उपचार नलाग्ने रोग हो भन्ने मानसिकता प्रगाढ छ । क्यान्सरको निदान र उपचारमा सुविधासम्पन्न अस्पतालको कमी, रोगसम्बन्धी दक्ष स्वास्थ्यकर्मीको कमी, निदान तथा उपचारमा प्रयोग हुने उपकरणहरूको कमीले पनि क्यान्सरबाट हुने मृत्युलाई कम गर्न नसकिरहेको अवस्था छ । तसर्थ, क्यान्सर स्क्रिनिङ र प्रारम्भिक पहिचानका कार्ययोजना मौजुदा स्वास्थ्य प्रवाहका संयन्त्रमा समायोजन गर्दै भौतिक पूर्वाधार र मानव संसाधनको विकास पनि सँगसँगै गर्दै लान सके क्यान्सरको बढ्दो प्रकोपलाई यथोचित सम्बोधन गर्न सकिने देखिन्छ । 

नेपालमा क्यान्सरको आँकडा हेर्दा अस्पतालमा क्यान्सर दर्ता सन् २००३ देखि र समुदायमा आधारित क्यान्सर दर्ता सन् २०१३ देखि सुरु भएको देखिन्छ । यी दर्ताका आँकडाहरूले देशको विद्यमान स्थितिको जानकारी गराउनुका साथै भविष्यमा यससम्बन्धी निराकरणका योजना बनाउन सहयोग पुग्नेछ । तर, यस्तो आँकडा सापेक्षिक रूपले देशका सम्पूर्ण क्षेत्रबाट आउने विधिको विकास गर्नु आजको आवश्यकता हो । 

क्यान्सरको उपचारमा आवश्यक भौतिक पूर्वाधार र मानव संसाधनको विकास पहिलेको तुलनामा सुधारोन्मुख देखिए पनि आवश्यकताअनुरूप भने नभएको स्थिति छ । देशमा केही राष्ट्रियस्तरका क्यान्सर अस्पताल छन् । जसमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सुशील कोइराला मेमोरियल अस्पताल हुन् । यसैगरी, केही निजी क्षेत्रका क्यान्सर अस्पतालले पनि क्यान्सर उपचार सेवालाई सर्वसुलभ बनाउन सहयोग गरेका छन् । यति हुँदाहुँदै पनि ठूलो संख्यामा सेवाग्राही छिमेकी मुलुक भारतका साथै अन्य मुलुकमा क्यान्सर रोग निदान तथा उपचारका लागि जाने गरेका छन् । 

क्यान्सरको उपचार तथा निदानका लागि प्रयोग हुने रेडियोलोजी, न्युक्लियर मेडिसिन, हिस्टोलोजी, मोलिक्युलर बायोलोजीलगायतमा पनि हाम्रा अस्पतालमा उच्चस्तरका उपकरण तथा प्रविधिको कमी छ । यसले रोगको निदान समयमा हुन नसक्ने, विस्तृत विवरणसहितको जानकारीको गहिराइमा पुग्न नसकिने भएकाले उपचारमा कठिनाइ रहिआएको छ । उपचारमा प्रयोग हुने विधिमा सर्जरी सेवा, रेडिएसन सेवा, मेडिकल अन्कोलोजी सेवा मुख्य हुन् । क्यान्सरको सर्जरी अन्य सर्जरीभन्दा पृथक र जटिल पनि हुने भएकाले यस सेवामा दक्ष जनशक्तिको अभाव छ । प्रतिष्ठित जर्नल ल्यान्सेटको रिपोर्टले न्यून तथा अल्पविकसित मुलुकहरूमा क्यान्सरसम्बन्धी सर्जरीको मानव संसाधनको अवस्था असाध्यै अपुग रहेको र सन् २०४० सम्ममा यस्ता सर्जनको संख्या दोब्बर बनाउन सके मात्र सेवा प्रवाह सुचारु हुने औँल्याइएको छ । 

यस्तै, पाँच लाख जनसंख्याबराबर एउटा रेडियोथेरापी मेसिन चाहिने विश्वव्यापी मान्यतालाई हेर्दा नेपालमा हाल विभिन्न संस्थामा भएका यस्ता मेसिनको संख्या चालू अवस्थामा पाँचवटा लिन्याक र दुईवटा कोवाल्ट मेसिन रहेको देखिन्छ । जुन एकदमै अपर्याप्त हो । यसमा प्रयुक्त हुने मानव संसाधन अर्थात् रेडिएसन अन्कोलोजी डाक्टर, मेडिकल फिजिसिस्ट, रेडियोथेरापी टेक्निसियन, बायोमेडिकल इन्जिनियर सबैको संख्या ज्यादै अपुग रहेको छ । भएको जनशक्तिमा पनि अत्याधुनिक प्रविधि र ज्ञानको कमी छ । 

मेडिकल अन्कोलोजी सेवा भनेको केमोथेरापी र अन्य औषधिको प्रयोग गरेर क्यान्सरको उपचार गरिने विधा हो । यसअन्तर्गत विशेषज्ञ चिकित्सक, नर्स र फार्मेसिस्टको टोलीले बिरामीको उपचारमा औषधिको प्रयोग गर्छन् । औषधिको प्रयोगले बिरामीमा साइड इफेक्टसमेत धेरै हुने भएकाले विशेषज्ञहरूको यस विषयमा समेत विशेष दक्षता र अनुभव हुनुपर्ने हुन्छ । हाल थोरै मात्र विशेषज्ञ चिकित्सक, केही मात्र तालिमप्राप्त नर्स यस क्षेत्रमा रहेकाले सामान्य जनरल मेडिसिनका डाक्टर र नर्सबाट यो सेवा दिइरहेको अवस्था छ । यसो हुँदा क्यान्सरको उपचारमा चाहिने अति सघन खालका उपचार हुन नसक्ने र भएको उपचारको नतिजासमेत गुणस्तरीय नभएको गुनासो छ । पेन एन्ड प्यालिएटिभ केयर, फुट एन्ड न्युट्रेसन थेरापी, रिह्याबिलिटेसन सेवासमेत अझै सर्वसुलभ हुन सकेको देखिँदैन । 

क्यान्सरको बढ्दो प्रकोपलाई ध्यानमा राखी रोकथाममूलक कार्यक्रमहरू रणनीतिक रूपमा विद्यालय शिक्षा कार्यक्रम, जनस्वास्थ्य कार्यक्रम, स्वास्थ्यकर्मी अभिमुखीकरण कार्यक्रममार्फत सम्पूर्ण जनमानसमा पु¥याउनुपर्ने देखिन्छ । त्यसैगरी, क्यान्सर स्क्रिनिङका कार्यक्रम तहगत रूपबाटै उपलब्ध गराउँदै सोको प्रयोगका लागि जनमानस तथा स्वास्थ्यकर्मी दुवैलाई जानकारी तथा अभिमुखीकरण गरी अधिकतम प्रयोग गर्नुपर्ने देखिन्छ । हाल अनुभव सँगालेका क्यान्सर अस्पताललाई मानव संसाधन स्रोत केन्द्रका रूपमा विकास गर्न सकिन्छ । यसो गर्न सके विभिन्न तहका क्यान्सर उपचारमा संलग्न हुने प्राविधिक जनशक्तिको उत्पादन देशमै आवश्यकताअनुसार हुन सक्ने र देशमा क्यान्सरको गुणस्तरीय सेवा सर्वसुलभ बनाउन सकिने थियो । पछिल्लो समय क्यान्सरको प्रकोप बढिरहेकोतर्फ वेलैमा सचेत हुन र उपचार तथा निदानका सेवाहरूको विस्तार, सुदृढीकरण गर्न पनि जरुरी छ । 

(लामिछाने बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, सर्जिकल अन्कोलोजी विभागका कन्सल्ट्यान्ट सर्जन हुन्) 
 

ad
ad